सर्लाही : करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु

140

लालबन्दी, २५ चैत । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा करेन्ट लागेर एक ५ वर्षीय बालकको निधन भएको छ । शुक्रबार बिहान करिब पौने ११ बजेको समयमा खेतमा पानी सिँचाइका लागि चलाइएको मोटर नजिकै खेल्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा घारीबथानकै राम बैलकोटीका छोरा ५ वर्षीय वियान्श बैलकोटी रहेका छन् । स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडी आफ्नै खेतमा पानी सिँचाइ गरिरहेको स्थान नजिक वियान्श खेलिरहेको अवस्थामा अचानक करेन्ट लागेर घाइते भएका थिए ।

करेन्ट लागेर घाइते भएका बालकलाई तत्काल उपचारका लागि ईश्वरपुर नगर अस्पताल बयलबास पठाइएको थियो । अस्पतालमा स्वास्थ्यकर्मीले चेकजाँच गर्दा दिउँसो १२ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय, केशरगञ्जले जानकारी दिएको छ । बालकको शव हाल सोही अस्पतालमा रहेको छ ।

घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घारीबथानबाट प्रहरी सहायक निरीक्षक प्रहरी टोली खटिगएको थियो । पछि इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक नितेश कुमार सिंहको कमाण्डमा मुचुल्का सहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनास्थल अस्थायी प्रहरी पोष्ट घारीबथानबाट करिब डेढ किलोमिटर उत्तरतर्फ पर्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।