आज बारामा पनि सरकारप्रति गगनको उस्तै आक्रोश


केपी ओली नेतृत्वको गठबन्धन सरकार सञ्चालनका लागि गठित दुई दलीय संयन्त्रका सदस्य हुन गगन थापा । शुरुवातदेखि नै सरकारलाई सफल बनाउन भूमिका खेल्दै आएका उनी पछिल्लो समय भने सरकारको काम र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका छन् । सरकारको गति र मति ठिक नभएको उनको तर्क रहँदै आएको छ ।
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेबीच भागबण्डाको रस्साकस्सी परिरहेका बेला गगनले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने दाबी गरिदिए । हिजो काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेको अर्थतन्त्रमा बिचौलियाकै कारण समस्या आएको जिकिर गरे ।

‘म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन’, सत्ता साझेदार दलको शक्तिशाली महामन्त्रीले भनेका थिए ।
पहिले राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा कौतुहलता हुने गरे पनि पछिल्लो समय बिचौलियाको मान्छे भनेर खुलारूपमा बहस र छलफल हुने अवस्था आएकोमा गगनले चिन्तासमेत जनाए । सत्ता सहकार्य सहज बनाउन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्यले नै यस्तो टिप्पणी गरेपछि बजारमा सरकार धर्माएको अड्कलबाजी हुन थाल्यो ।
शेखर कोइरालाको निरन्तरको आलोचनाका बाबजुत सरकारको समर्थनमा खम्बा बनेर उभिएका र सरकारलाई सफल बनाउन उत्साहित भएर लागेका गगनको आक्रोशले बालुवाटारमा हल्लियो । प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई बोलाएर कांग्रेस नेताहरुको असन्तुष्टिबारे धारणा मागे । हिजो अपराह्न बालुवाटारमा भएको एक घण्टा लामो संवादमा शेखर, गगन र विश्वप्रकाशको निरन्तरको असन्तुष्टिले गठबन्धनमा पर्ने असरबारे प्रधानमन्त्रीले देउवाको ध्यानाकर्षण गराएका थिए ।
बालुवाटार वार्तामा प्रम ओलीले महामन्त्रीहरुको अभिव्यक्तिलाई लगाम लगाउन घुमाउरो आग्रहसमेत गरेको बताइएको छ । तर, सरकारको निरन्तरतामा ढुक्क रहन विश्वास दिलाएका देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले अभिव्यक्तिमा रोक लगाउन नसकिने भन्दै बरु संयन्त्र बैठकमा छलफल गर्न सुझाव दिए ।
सोहीअनुसार आज साँझ पाँच बजे कार्यदल र छ बजे संयन्त्रको बैठक बोलाइएको छ । तर, गगनले भने आज पनि सरकारको खरो आलोचना गरेका छन् । दुई ठूला दलको सरकार उद्धेश्य अनुरुप हिंड्न नसकेको उनको ठम्याई छ । कुलमान घिसिङ प्रकरणलगायतलाई लिएर उनले सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गर्दै हिँडेको बताउने गरेका छन् ।
‘यस पटक गठबन्धन सुशासनका लागि बनाइयो । जुन अपेक्षाले यात्रा प्रारम्भ गरियो, जुन गतिमा हामी हिँड्नु पर्ने हो भएको छैन’, गगनले भने, ‘जुन तत्काल हुनुपर्ने निर्णय हुँदैन, नगरे पनि हुने तत्कालै हुन्छ ।’

सरकारबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको निष्कर्ष सुनाउँदै उनले प्रधानमन्त्रीका अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाए । ‘यो सरकार बनेपछिको अवधिलाई हेर्दा जुन अपेक्षाअनुसार हामी मिलेका थियौं, त्यो पुरा हुन सकेको छैन, त्यसैले हामीले गम्भीर समीक्षा गर्नैपर्छ’, महामन्त्री गगनले भने, ‘प्रधानमन्त्रीले दिनमा दुई पटक, कहिलेकाहिँ तीन चार मेरो सरकार ठिक छ भन्नुपर्ने अवस्था छ ।’
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारले लय पकड्न नसकेको भन्दै असन्तोष व्यक्त गरेका छन् । सरकारको ९ महिने अवधिको समीक्षा गरेका गर्दै उनले सात बुँदे व्याख्यात्मक टिप्पणीमार्फत् सुधारका लागि सुझावसमेत दिएका छन् ।
गगनले जस्तै शर्माले पनि सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा लागेको बताएका छन् । सामाजिक सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, त्रिविको उपकुलपति प्रकरण आदिलाई उनले गर्न नहुने काम भनेका हुन् । त्यस्तै, राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण र नेपाल प्रहरीको एआइजी नियुक्तको विषय पनि शर्माले उठेका छन् ।
शिक्षकहरुलाई विश्वास दिलाएर अबिलम्ब निर्णय गर्नुपर्नेमा लापरवाही भैरहेको बताएका उनले राष्ट्र बैंकको गर्भनर नियुक्तमा डरलाग्दो गन्ध आएको दाबी गरे ।