एकमुठि सास बोकेर तड्पिएकी हर्कमाया

727
Friendship Mobile

गुहेश्वरी मन्दीरको अगाडि आएर उ गर्ल्याम्म लड्छे । होस खुल्दा आफु जिवित रहेको थाहा पाउँछे्, कक्रक्क परेका हातले आफैलाई छामेर महसुस गर्ने प्रयास गरि । टुक्रुक्क बसि र आँखाले भ्याएसम्म यता उती हेर्न खोजि । हप्तादिन देखिको भोको पेट, ज्यानमा तागत छैन । मनमा छुट्टै किसिमको बेचैनी छ, हर्कमायाले कतिखेर लड्न पुगेँ ठम्याउन सम्म सकिरहेकी छैन ।

दिल, दिमाग र आँखाले खोजिरहेको छ त केवल एउटा मान्छे । पट् पट् फुटेका कुर्कुचा, मासिदेखि नै गलिसकेका गोडा, सुकेको घाटी अनि त्यो रित्तो गोजी । उमेरले ६२ नाघेकी हर्कमायाको मन कसैको खोजीमा छ, कसैको पर्खाइमा छ । घिटि घिटि बाँच्नलाई मात्र चलिरहेको श्वास कसैसँगको मिलनका निम्ति मात्र तड्पिरहेको छ ।

वरीपरका बाँदरले पनि उसलाइ छोएका छैनन्, किनकि उ सँग केहि पनी छैन । छ त केवल एक मुठि सास्, त्यो पनी अरु कसैको नाउँमा समर्पित छ, अरु कसैको खोजिमा अर्पित छ ।
खै के के सोचि, मन कुँडिएर आयो, आँशु रित्तिसकेका आँखाहरुले पनी रसाउने जमर्को गरे तर आँसु सुकिसकेका आँखाले रुन मानेनन् ।

दाँत बानेर आँखा चिम्म गरि, अनायासै हात पसारिए । एतिकैमा उसको हातमा कसैले केहि नोट थमाइदियो । उ हात थापिरही । दिनको २ बजेको हुँदो हो । मन्दीरमा आउने भक्तजनको चहलपहल बिस्तारै कम भएको महसुस गरि । उसले आँखाहरु विस्तारै खोलि । वरीपरी केहि नोटहरु थिए, बिश्वास लागेन । बिस्तारै पछाडि हेरि, एउटा रुख थियो अनि फेरि अगाडि फर्किएर ति पैसाहरुलाई केहि बेर हेरिरही र छामि । पक्का नोट नै थियो ।

मनमा हर्ष होकि खोई के हो, के हो ? एक्कासि छटपटि भयो, अनेक कुरा आए । पैसा सबै टिपि, अझै छन कि भनेर हेरि । हातभरि पैसाको मुठो भयो । ज्यानमा केहि तागत भरिए जस्तो भयो, सायद अव टन्न खान पाउँछु भनेर होला । लरखराउँदै उठि र अगाडि बढि । दामपेटारि परेका पेटले धेरै खान त मानेन् तर जति खाई मजैले खाई । किनकी पेटले नमागेपनी मनले हतारिएर लोभ गर्दै थियो अझै । झुत्रोझाम्रो लुगा, भोकले कटमेरिएको पेट, तागत नभएको चाल र कसैको खोजिमा मैलीएको अनुहार । बाहिरै कतै कुनामा बसेर खाएको पैसा तिरेर बाँकी पैसा राखि ।

अघाएको पेट, साथमा पैसाको मुठो । बुढो शरिर आश्रमतिर लाग्यो । आश्रममा उनलाई बस्ने अनुमती भएन । किनकि त्यहाँ त जागिरेहरुले पैसा तिरेर आफन्त राख्ने गर्थे । तर उ सँग त न कोहि आफन्त थिए न त पैसा नै । उ त्यहाँबाट जुरुक्क उठेर पशुपतिको एउटा भत्किएको मन्दिरमा पुगी । विगतका सुख दुःख सम्झिँदा सम्झिँदै भुसुक्क निदाई ।

मन्दिरमा सबेरै देखि भक्तालुको चहल पहल सुरु भईसकेको हुन्छ । उनका आँखा पनी खुल्छन । झिसमिसेमै भिडहरुमा आफुले खोजेको अनुहार ठम्याउने प्रयास गर्छे, तर सक्दिन ।

आज बिहानै हर्कमायाले हिजो खाएर बचेको पैसा गन्छे । ४ हजार जति रहेछ । उनमा संसारै जित्ने खाल्को जोस पलायो । किनभने त्यत्रो पैसा नबोकेको त कयौँ समय भईसकेको थियो । त्यो पैसाले अब उनले आफुलाई छोडेर गएको श्रीमान खोज्ने निधो गर्छे । उनलाई ब्लड क्यानसर भएको छ, आजैका मितीले अव यो धर्तीमा उनले लगभग १० दिन मात्रै बाँच्नु छ ।

जिवनको अन्तिम क्षणसम्म सँगै जिउछु, सात जुनिसम्म साथ निभाउँछु भन्नेले सन्तान नभएपछि छोडेर सहर पसेका हुन्छन् । अर्कै श्रीमतीसँग घरजम बसाएर श्रीमानले हर्कमायालाई विर्सिसकेका छन्, तर जिवनको अन्तिम घडिमा ६ दशक देखि टाढा रहेका रामबहादुरलाई भेटेर मर्ने उनको ठुलो धोको छ ।

उनी पनी त स्वास्नि मान्छे हुन, सिन्दुर पोते र श्रीमानको सुहाग लिएर यो समाजमा निर्धक्क बाँच्ने र बुढेसकालसम्मै सँगै बस्ने रहर उनमा पनी त थियो होला । सात जुनीसम्म अरुको बन्न नपरोस भनी देउराली भाकेर कसम खाएका श्रीमानले थारि भन्दै अर्कै लिएर शहर पसेको पिडालाई सहेर हर्कमाया कसरि बाँचेकी छिन भन्ने कुरा कि त उनलाई था छ, कि त केहि नबोली शान्त बस्ने त्यो जुनलाई था छ । पहिलाका बाचा कसम हर्कमायाले अहिले सम्म भुलेकी छैन । र त श्रीमानको काखमा प्राण त्याग्ने संकल्पमा मृत्युलाई सम्म नटेर्दै आफ्नो श्रीमानको खोजिमा निस्किएकी छिन ।

उनको मनमा डर पनि छ । कतै मैले रामबहादुरलाई नचिन्ने पो हुँ कि ? तर फेरी मनको शंकालाई मनकै बतासले उडाउँछ । झसंग हुँदै दाहिने पाखुराको चिनो सम्झिन्छे । हिड्दै गर्दा थाकेकी उ हिजोकै वृद्धाश्रममा आइपुग्छे । आश्रममा भेट्न आएका केहिले उनलाई खानेकुरा र कपडा दिन्छन् ।

उ आज अब हिड्न नसक्ने भाकी छ । दिउँसोको ४ बजिसक्यो । निभ्न जागेका सूर्यका किरणहरु मन्द बिलाउँदै गएका छन्, तरपनी जानु छ । किनकी यहाँ बस्न दिँदैनन् । थकित्त शरिर, थकित्त मन, जुरुक्क उठेर पाइला अघि सार्न खोज्छे, एउटा मैलो, बुढो अनुहार अगाडि आउँछ । कतै देखे जस्तो, कतै चिने जस्तो । ठम्याउने प्रयत्न गर्छे । केहिबेर हेराहेर गर्छन । हर्कमाया झसंग झस्किँदै ति बृद्धको पाखुरामा हेर्न पुग्छे । पृथ्वी नै हल्लिएजस्तो, चट्याङ परेजस्तो, अँध्यारो भएजस्तो खोई के भो के भो । खुट्टा काम्यो, हर्कमायाले गर्ल्याम्म अंगालो हाली र छातीमा मुहार धसार्दै रोई । आँशु सुकिसकेका आँखामा आँसु बगे, राम बहादुर मलाई छोडेर किन आयौ ? भन्दै हर्कमाया निकै बेर रोई ।

उ साँच्चै रामबहादुर नै थियो । एक अर्कालाई सुमसुम्याउँदै दुबै निकै बेर रोए । रामबहादुरका दुई छोरा भएछन कान्छी श्रीमतीबाट । कान्छो छोरो अमेरीका रहेछ, जेठो पनि मनमुटाव भएर छुटिएछ । कान्छी श्रीमतीलाई छोरोले अमेरीका नै लगेको रहेछ, ति रामबहादुर १० वर्ष देखी त्यही आश्रममा बस्दा रहेछन् ।

राम बहादुर सास रोकेर हुँक्क हुँक्क गर्दै बोल्यो, हेर जेठी तलाई मैले धेरै दुख दिएँ, अब …….यस्तै खोई के के, के के भन्दै थियो, हर्कमायाले सुनैकी थि कि थिईन । उ गल्र्याम्म भुईमा पछारिन्छे । राम बहादुर अत्तालीन्छ, हर्कमायालाई उठाउन खोज्छ, गुहार माग्न थाल्छ । तर उ चटपट गर्दिन, केहि बोल्दिन, ज्यान बिस्तारै मुढा हुँदै गयो । उनको सुर्य अस्तायो ।

जिवनको अन्तिम घडिमा भेटिएका श्रीमान सँग अझै कति कुरा साट्न बाँकी नै हुँदो हो, छोडेर जाने रामबहादुरका पनी कति कुरा साट्न बाँकी नै थिए होलान् तर जिवनभर तड्पिएर बाँचेकी हर्कमायालाई अवको साथको के अर्थ थियो होला र ! तर पनी हर्कमायाको चोखोमायाले जित्यो, उनले आफ्नो श्रीमानकै काखमा प्राण त्याग्न पाई ।

पत्निको पतिब्रता धर्म निभाएर उसकै न्यानो स्पर्समा तड्पिरहेकी हर्कमायाले ठुलो युद्ध जित्दै श्रीमानको अंगालोमा प्राणपखेरु त्यागीन् । बाँचुञ्जेल हर्कमायालाई तड्पाएको पाप अव राम बहादुरलाई लाग्ने छ, अब अनेक कुरा सम्झिएर रामबहादुर त्यहि आश्रममा पल पल मर्दै मृत्यु पर्खिरहनेछन् ।

अञ्जना सुवेदी/सर्लाही ।