सर्लाहीमा पहिलो दिन १२९ जनाले लगाए कोरोना बिरुद्धको खोप

422
Friendship Mobile

 सर्लाहीमा १२९ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान १० बजेबाट सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा सूरु भएको खोप लगाउने कार्यक्रममा साँझ ४ बजेसम्म १२९ जनाले सहभागिता जनाएका हुन् ।

जिल्ला अस्पताल मलंगवाका प्रमुख डा. संजिव सिंहले आफैलाई खोप लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए । लगतै जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधिवक्ता केशव गौतम, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकलले पनि खोप लगाएका छन् । खोप कार्यक्रम उद्घाटनका अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहित सुरक्षानिकायका प्रमुखहरु, विभिन्न सरकारी एवं गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बुधबार ४३ जना स्वास्थ्यकर्मी, २६ जना कार्यालय सहयोगि, भान्से र सफाई कर्मचारी, २० जना महिला स्वास्थ्य स्वयं सेविका, १ जना एम्बुलेन्स चालक र ३९ जना सुरक्षाकर्मीलाई खोप लगाईएको जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकले जानकारी दिए । बुधबार १०० जनालाई खोप लगाउने लक्ष्य राखिएकामा २९ जना बढीलाई लगाईएको छ । नायकका अनुसार विहिबार मलंगवा नगरपालिका अन्तर्गत सम्पूर्ण महिला स्वास्थ्य स्वयं सेविका, निजी स्वास्थ्य क्लिनिकका सञ्चालक लगायतलाई खोप लगाईने छ ।

त्यस्तै विहिबार नै ब्रम्हपुरी, पर्सा, हरिपूर्वा, चक्रघट्टा, गोडैता र बसबरियाका स्वास्थ्यकर्मी सहित सरोकारवालालाई मलंगवामा बोलाएर खोप सम्बन्धि विस्तृत जानकारी गराईने जनस्वास्थ्य प्रशासक नायकले जानकारी दिए । नायकका अनुसार शुक्रबार ब्रम्हपुरी, पर्सा र हरिपूर्वा तथा शनिबार चक्रघट्टा, गोडैता र बसबरियामा जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधिको उपस्थितीमा खोप कार्यक्रम संचालन गरिने छ ।

२० वटै पालिकाका स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, अग्रपंक्तिमा खटिने अन्य राष्ट्रसेवक कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविकालाई खोप लगाईने नायकले जानकारी दिए । नायकका अनुसार सर्लाहीमा ५३० भाईल अर्थात ५ हजार ३०० डोज खोप आएको छ । एउटा भाईलमा १० डोज खोप हुनेछ ।

अनुमानित तथ्यांक अनुसार जिल्ला स्थित २० पालिकामा फ्रण्टलाईनमा काम गर्ने झण्डै ६ हजार ६ सय ३९ जना रहेका छन् । सोही तथ्यांंकका आधारमा जिल्लामा कोरोना विरुद्धको ७ हजार डोज खोप माग गरिएको थियो । तथापी ५ हजार ३०० डोजमात्र प्राप्त भएको छ ।

पहिलो पटक लगाएका व्यक्तिलाई पूनः ४ हप्तापछि दोस्रो डोज खोप लगाएपछि कोरोना भाईरस विरुद्धको खोप पूरा हुनेछ । १० दिन भित्र जिल्लाभर अग्रपंक्तिमा काम गर्ने सरकारी तथा गैरसकारी क्षेत्रका व्यक्तिहरुलाई पहिलो डोज दिईसक्ने लक्ष्य राखिएको नायकले जानकारी दिए ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप बुधबारबाट मुलुकभर लगाउन सूरु गरिएको हो । उक्त खोप भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको उज्यालो अभियानमा खबर छ ।