प्रधानमन्त्री केपी ओली नै

273
Friendship Mobile

विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको बहुमतका आधारमा सरकार गठन प्रयास असफल बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाखमा बहुमतीय सरकार गठनका लागि गरेको आह्वानअनुसार कसैको दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । गत २७ वैशाखमा संसद्बाट विश्वासको मत लिन नसक्दा पदमुक्त भएका ओली तीनदिनमै पुनः प्रधानमन्त्री बनेका हुन् ।


ADVERTISEMENT


‘सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (३)बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता माननीय श्री केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव समूहको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने तयारी गरिए पनि बहुमत संख्या नपुग्ने भएपछि विपक्षी दलले प्रधानमन्त्रीका लागि दाबी पेसै गरेनन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायाण भट्टराईले बहुमतका लागि निर्धारण गरेको समयभित्र प्रधानमन्त्री पदमा नियुक्ति प्रयोजनका लागि कसैको पनि दाबी पेस नभएको जनाएका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतीय आधारमा सरकार गठनका लागि दिएको तीन दिनको समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो । समयसीमाभित्र कसैले पनि बहुमतीय आधारमा सरकार गठनका लागि दाबी नगरेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३)बमोजिम पहिलो दलको हैसियतमा एमाले अध्यक्ष तथा काम चलाउ सरकारका प्रधानमन्त्री ओलीलाई नै पुनः प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

संविधानको धारा ७६ उपधारा ३ बमोजिम बनेको सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । को हुन् ओली ? पूर्वी पहाडी जिल्ला तेह्रथुममा ११ फागुन २००८ मा जन्मिएका ओली तेस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त हुने तर्खरमा छन् । २०२० सालमा झापामा बसाइँ सरेका उनी १४ वर्ष लामो जेल जीवन बिताएका व्यक्ति हुन् ।

उनी बहुदलीय व्यवस्था स्थापनापछिको पहिलो आमनिर्वाचनमा झापा–६ बाट संसद् तल्लो सदन, प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधिसभामा पुनः निर्वाचित भए । १४ मंसिर २०५१÷५२ मा कम्युनिस्ट पार्टीका प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो तथा लोकप्रिय सरकारको उनी गृहमन्त्री हुन् ।

२०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वमा पुनस्र्थापित संसद्मा उनी उपप्रधान तथा विदेशमन्त्रीसमेत नियुक्त भए । तर, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी पराजित हुन पुगे । २०७० सालको निर्वाचनमा भने उनी झापा ७ बाट निर्वाचित बने ।

त्यसो त, एमाले नवौं राष्ट्रिय महाधिवेशनबाट तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भए । २०६५ सालमा सम्पन्न आठौं महाधिवेशनमा भने अध्यक्षका प्रत्यासी झलनाथ खनालसँग पराजित बने ।

ओलीले २०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री बन्ने अवसर पाए भने ३ फागुन २०७४ मा दोस्रोपटक प्रधानमन्त्री बन्दै ४१औं प्रधानमन्त्रीका रूपमा शपथ लिए । गत २७ वैशाखमा संसद्मा विश्वासको मतका लागि भएको निर्वाचनमा उनको प्रस्ताव असफल भएसँगै पदमुक्त भएका उनी पुनः संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त हुनेछन् । तेस्रोपटक देशको ४२ औं प्रधानमन्त्रीका रूपमा उनले आजै दिउँसो शपथ लिने जनाइएको छ । राजधानी दैनिकमा टेनिस रोकाले खबर लेखेका छन् ।