कांग्रेसले ग¥यो लालबन्दी नगरको छैठौँ नगरसभा बहिस्कार

247
Friendship Mobile

नेपाली कांग्रेसले सर्लाहीको लालबन्दी नगरपालिकाको आज आयोजित छैठौं नगर सभा बहिष्कार गरेको छ । जनताका माग र आवश्यकता सम्वोधन गर्नुको साटो मेयर केन्द्रित बजेट ल्याइएको आरोप लगाउँदै कांग्रेसले नगर सभा बहिष्कार गरेको हो ।

कांग्रेस लालबन्दी नगर समितिले पत्रकार सम्मेलन गरेरै नगर सभा बहिष्कारको घोषणा गरेको हो । कांग्रेस लालबन्दीका नगर सभापति प्रशान्त आचार्यले समुदायको आवश्यकता भन्दा पनि व्यक्तिले कसरी पैसा बचत गर्न सक्छ र आफ्ना कार्यकर्ताले कसरी नाफा कमाउन सक्छन् भन्नेतर्फ केन्द्रित रहेर बजेट ल्याइएकोमा आफूहरुको आपत्ति रहेको बताउनु भएको छ ।

पत्रकार सम्मेलनमा सभापति आचार्यले जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नगरको कुनै पनि किसिमको हरहिसाब, महालेखाको बेरुजु र पेश्की हिसाब सार्वजनिक नगर्नुले शंका उब्जाएको बताउनु भएको छ ।

कांग्रेसले कोरोना महामारीमा भएको खर्च तथा अनुदान सहयोग आदिको पारदर्शी पूणर् सार्वजनिक गर्न, आफैले निर्माण गरेको नियम विपरीत, कार्यकर्ता एवं आफ्ना निकटका विचार समूह र आस्थाका व्यक्ति तथा संस्थालाई कृषि, बीउ बिजन, विषादी एवं मलखादको बिक्री अनुमती तत्कालै खारेज गरी नियम अनुसार बिक्री वितरणको व्यवस्था मिलाउन, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गरिब जनतासँग मेयर, लक्षियत बर्गसँग उपमेयर, आदि कार्यक्रमको उपलब्धी र औचित्यसहित भएको खर्च र आम्दानी सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ । शिक्षा, स्वास्थ्य, नागरिकको जीवन रक्षा, जीविकोपार्जन, स्थानीय सरकारसँगको सहज पहुँच तर्फ ध्यान केन्द्रित गर्न र चुनाव केन्द्रित नभई आवश्यकता केन्द्रित बजेट निर्माण गर्न, स्वेच्छाचारी प्रवृत्तिको अन्त्य गरी जनहितकारी समन्वयात्मक एवं सार्वजनिक महत्वको कार्यमा ध्यान दिन पनि कांग्रेस नगर समितिले नगरपालिकालाई आग्रह गरेको छ ।

यसैगरी, सँगै सुरु गरिएको छिमेकी नगरपालिकाको भवन निर्माण भएर प्रयोगमा आइसके पनि लालबन्दी नगरपालिकाको भने हालसम्म भवन निर्माण नहनु आश्चर्यजनक रहेको भन्दै यसबारेमा आधिकारिक धारणा सार्वजनिक गर्न पनि कांग्रेसले पत्रकार सम्मेलन मार्फत माग गरेको छ ।

पत्रकार सम्मेलनमा पूर्व मन्त्री एवं नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, क्षेत्र नं. १ का क्षेत्रीय सभापति प्रमोद बराल, नगर प्रमुखका प्रत्यासी द्वोय कुवेर आचार्य र इन्द्र योन्जन, कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्षहरु वडा नं. ९ का गोपालप्रसाद घिमिरे, वडा नं. १० का टोपबहादुर श्रेष्ठलगायत पार्टीका अन्य नेताहरुको उपस्थिति रहेको थियो ।

यता लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले नेपाली कांग्रेसले विज्ञप्ती निकालेर राखेका धेरैजसो माग नीति तथा कार्यक्रममा समेटिएको दावी गर्नुभएको छ । उहाँले नगरको ६० प्रतिसत बजेट वडामा पठाएर ४० प्रतिसत मात्रै नगरले राखेकाले बजेटलाई मेयर केन्द्रित भन्न नमिल्ने बताउनु भएको छ । नगर सभामा १ अर्ब ४ करोड ७९ लाख ५२ हजार ८ सय ८६ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।