परवानीपुरमा स्थानिय र अटोरिक्सा चालकबिचको भाडा बिवाद

761
Friendship Mobile

परवानीपुरमा स्थानिय र अटोरिक्सा चालकबिचको भाडा बिवाद समाधानका लागी शनिवार बिहान गरिएको प्रयास बिफल भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १५ र १६ को वडा कार्यालयमा शनिवार बिहान भएको छलफलमा अटोरिक्साको भाडा निर्धारण गर्न नसकिएको हो ।

वडाध्यक्षहरु १५ का गोरख बल १६ का गणेश थापा, वडा सदस्यहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु, स्थानिय भद्रभलाद्मी, स्थानियवासि तथा अटोरिक्सा चालकहरुको संयुक्त छलफल भएको थियो । १ घण्टा बढि समय भएको छलफलका क्रममा अटोरिक्सा चालकहरुलाई आफसमा छलफल गरि एउटा निष्कर्ष निकाल्ने २ दिनको समय तोकेर सोमवारको लागी पुनः छलफलका लागी बोलाईएको वडा नम्बर १६ का वडाध्यक्ष थापाले जानकारि दिनुभयो ।

अटोरिक्सा चालकहरुले भने अहिलेसम्म ४ पटक छलफल गरि सकिएको र निष्कर्ष निकाल्न असफल भएको बताएका थिए । अटो चालक बेचु मगरले सम्बन्धित निकायले हालसम्म यो समस्या समाधानका लागी ठोस कदम नचालेको गुनासो गरे । अर्का चालक सुरज बस्नेतले कोहि एक जनाले बद्मासि गर्दा समग्र अटो चालकहरुकै बद्नाम भएको र बिवाद सृजना भएको दुःखेसो पोखे ।

हाल परवानीपुरबाट रानिगञ्जसम्मको भाडा ६० रुपैँया र लालबन्दी सम्मको भाडा ८० रुपैँया लिँदै आईएको अटो चालक लोक मगरले बताए । तर स्थानिय राम बहादुर खत्री चापागाईंले भने आफुले १ सय रुपैयाँ तिरेको बताए भने अर्का एकले आफुले लालबन्दीबाट परवानीपुर आउँदा नै ४ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो सुनाए ।

अटोरिक्साले भाडा धेरै लिएको भन्दै स्थानियले असन्तुष्टि जनाएपछि अटोरिक्सा चालकहरुले शुक्रवार अटो चलाएका थिएनन् । लालबन्दी नगरपालीकाको वडा नम्बर १६ परवानीपुरबाट लालबन्दी नगरपालीका ७ बजारसम्मको अटो भाडा मनपरि भएको भन्दै स्थानियले बिवाद निकालेपछि अटो चालकहरुले स्थानिय निकायले भाडा निर्धारण गरिदिनुपर्ने भन्दै शुक्रवार अटो नचलाएको बताए ।

परवानीपुरका स्थानिय तथा वडा कार्यालयले समेत परवानीपुरबाट रानिगञ्जसम्मको ५० रुपैँया र परवानीपुरदेखि लालबन्दीसम्मको ६० रुपैँया अटोभाडा तिर्दा ठिक हुने धारणा राखेका छन ।

यता अटोवालाहरुले भने रानिगञ्जसम्मको ६० र लालबन्दीसम्मको ८० रुपैँया भाडा ठिकै रहेको दाबि गरे । अस्थायी प्रहरि चौकी परवानीपुरका प्रमुख असई पंकज कुमार सिंह भने लगानी र मेहनतको आधारमा हालको भाडादर कायम गर्दा उचित हुने बताउँछन ।

स्थानिय ब्यवसायी अर्थ बहादुर थिङले प्रहरिले अटोरिक्सा चालकहरुको पनी समय समयमा लाईसेन्स, ब्लु बुक, ईन्स्योरेन्स पेपर लगाएतका कागजातहरु चेकजाँच गर्नुपर्ने धारणा राखे । नियमबद्ध तवरबाट अटोरिक्सा चलाउने हो भने हालको जस्तो कुनैपनी समस्या नआउने थिङको भनाई छ ।