उपसभामुखमा रुबी ठाकुर निर्वाचित

15

सर्लाही, २७ चैत । प्रतिनिधि सभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा ठाकुर उपसभामुख निर्वाचित भएकी हुन् । बैठकमा सांसद आरेन राईले राखेको ठाकुरलाई प्रतिनिधि सभाको उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका थिए । 

प्रस्तावको पक्षमा २२९ मत परेका थिए। त्यस्तै, विक्षक्षमा पाँच मत परेका थिए भने मत दिन्न भन्ने पक्षमा २२ मत परेका थिए । प्रतितिधि सभाको आजको बैठकमा २५६ सांसद उपस्थित रहेका थिए । 

उपसभामुखमा ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टीका सांसदले मत दिएका थिए । 

विपक्षमा राप्रपाका सांसदले मत दिएका थिए भने नेकपा (एमाले)का सांसदले मत दिएनन् । 

यसअघि सभामुख अर्यालले राप्रपा सांसद सरस्वती तामाङलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए । राप्रपा सांसद ज्ञानबहादुर शाहीले राखेको प्रस्तावमा निर्वाचन हुँदा पक्षमा पाँच मत खसेका थिए। राप्रपाका सांसदले मत दिएका थिए । 

प्रस्तावको विक्षमा २१५ मत परेका थिए भने मत दिन्न भन्ने पक्षमा ३७ मत परेका थिए । रास्वपा, कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले विपक्षमा मतदान गरेका थिए भने एमालेले मत दिन्न भन्ने पक्षमा मत दिएको थियो । 

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा २५७ सांसद उपस्थित रहेका थिए। एमालेका सांसदले दुवै उम्मेदवारलाई मत दिइएनन् ।

उपसभामुखमा निर्वाचित भएकी ठाकुर श्रम संस्कृति पार्टीकी सांसद हुन्। उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित भएकी थिइन् ।