लालबन्दी २६ बैशाख । नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जिल्लामा पछिल्लो समय पत्रकार आचारसंहिता उल्लंघनका घटनाहरू बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्न तथा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।
महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री र अपुष्ट समाचारप्रति सचेत रहन अनुरोध गरिएको छ।
विज्ञप्तिमा पत्रकारिताको नाममा कसैलाई धम्क्याउने, गलत सूचना प्रवाह गर्ने तथा समाजमा भ्रम सिर्जना गर्ने गतिविधि बढेको भन्दै त्यस्ता कार्य पत्रकारिता पेशाको मर्यादाविपरीत रहेको उल्लेख गरिएको छ। महासंघले सञ्चारकर्मीलाई प्रमाण, सत्यता र सन्तुलनका आधारमा मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।
साथै, पत्रकारको नाम प्रयोग गरी अनुचित गतिविधि गर्ने व्यक्तिहरूप्रति पनि सचेत रहन सर्वसाधारण, व्यापारी तथा सरोकारवालालाई अनुरोध गरिएको छ। कानुनविपरीत गतिविधिमा संलग्नमाथि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गरिने महासंघले जनाएको छ।
महासंघले नेपाली पत्रकारिता क्षेत्रलाई अझ व्यवस्थित, मर्यादित, जिम्मेवार र व्यवसायिक बनाउन सबै पक्ष सजग र जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।









