सर्लाही : सेन्टरमै मोबाइल लगेर चिट चोर्ने तीन विद्यार्थी पक्राउ

52

मलंगवा, २० चैत । एसइईको परीक्षा केन्द्रभित्रै मोबाइल फोन लगेर चिट चोरी गर्ने तीन जना परीक्षार्थी पक्राउ परेका छन् ।

दक्षिणी भेग गोडैता नगरपालिका–५, रामवनमा रहेको जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा मोबाइल फोनबाट चिट चोरी गर्दा गर्दै तीन जना विद्यार्थी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जनता नमूना माध्यमिक विद्यालय बलरा नगरपालिका–८, गडहीया डुमरियाका दुई जना छात्र र नारायणहरि माध्यमिक विद्यालय गोडैता नगरपालिका–१०, सिसौटियाका एक जना छात्र रहेका छन् । पक्राउ पर्ने विद्यार्थीको नाम गोप्य राखिएको छ ।

उनीहरुले मोबाइलबाट फोटो खिचेर सेन्टर बाहिर बसेका मानिसहरुलाई प्रश्नपत्र पठाउन ह्वाट्सएप ग्रुप नै बनाएको पाइएको छ । परीक्षा केन्द्रमा जडान गरिएको सिसिटिभीबाट निगरानी गर्दा शंकास्पद गतिविधि गरेको पाइएपछि खानतलासी लिँदा तीन जना विद्यार्थीको साथबाट मोबाइल फोन बरामद भएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका सूचना अधिकारी सुनिलकुमार कुशवाहाले बताए ।

पक्राउ परेका तीनै जना परीक्षार्थीलाई इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखिएको छ । परीक्षाको मर्यादाविपरीत कार्यमा संलग्न तीनै जना परीक्षार्थीको आज दोस्रो दिन भएको अनिवार्य नेपाली विषयको परीक्षा रद्ध गरिएको शिक्षा विकास इकाइका सूचना अधिकारी कुशवाहाले जानकारी दिए ।

एसइई अन्तर्गत हिजो पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा कविलासी नगरपालिका–२, पिपरियास्थित बालगोविन्द जनता माध्यमिक विद्यालयबाहिर बसिरहेका एक जना व्यक्तिको मोबाइलमा परीक्षा जारी रहँदा प्रश्नपत्र फेला परेपछि उनी पक्राउ परेका थिए ।