सेवाग्राहीलाई काम सकेर मात्र पठाउन सिडियाे कडरियाकाे निर्देशन

26

मलंगवा, २० चैत । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले कार्यालयमा आउने सेवाग्राहीको काम सम्पन्न गरेर मात्र घर फर्काउन कर्मचारीलाई निदेर्शन दिएका छन् ।

कार्यालयका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी कडरियाले सम्पूर्ण कागजातसहित सेवा लिन आउने सेवाग्राहीलाई कार्यालय समयभन्दा बढी समय बसेर भए पनि काम सकाएर मात्र घर पठाउन कर्मचारीहरुलाई कडा निर्देशन दिएका हुन् ।

शुक्रबार मात्र कडरियाको अध्यक्षतामा बसेको जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुको बैठकले सेवाग्राही सेवा लिन आएकै दिन काम फर्छ्याैट गरेर पठाउने निर्णय गरेको छ । कागजात नपुगेका सेवाग्राहीलाई कुन-कुन कागजात अपुग छन् सोबारे प्रष्ट बताएर पठाउने निर्णय गरेको छ ।

सर्लाहीमा गएको बुधबार बसेको कार्यालय प्रमुखहरुको बैठकले समेत चैत १३ गते मन्त्रीपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधार सम्वन्धी कार्यसूचीहरु अन्तर्गत आ-आफ्नो कार्यालयसँग सम्वन्धित बुँदाहरु अक्षरशः पालना गरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।