लिङ्देनलाई उपप्रधानसहित तीन मन्त्रालयमा राप्रपाको दाबी

155
Friendship Mobile

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ । बढीमा तीन मन्त्रालय लिएर सरकारमा जाने तयारीमा पार्टी रहेको पार्टी उच्च स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जान लागेको हो । राप्रपाले उपप्रधानसहित बढीमा तीन मन्त्रालयको दाबी गरेको छ । 

Agani Group

“अध्यक्षज्यूकै नेतृत्वमा सरकारमा जाने हो,” स्रोतले भन्यो, “बढीमा तीन मन्त्रालयको दाबी हो । मन्त्रालय त कुन–कुन हो म भन्दिनँ । तर, विकास केन्द्रित मन्त्रालयको माग हाम्रो हो ।” पर्यटन मन्त्रालयमा राप्रपाको दाबी छ । 

राप्रपाले साझा न्यूतम कार्यक्रम आएपछि सत्तामा जाने निर्णय गरेको छ । कार्यक्रममा पृथ्वी जयन्तिमा बिदा दिनुपर्ने, मन्त्रिपरिषद्को निर्णय अख्तियारले छानबिन गर्न पाउनुपर्ने, मल अभाव समाधान गर्न मल प्रशोधन कारखाना स्थापनाको काम यसै आर्थिक वर्षभित्र सुरु गर्नुपर्ने लगायत विषय साझा न्यूनतम कार्यक्रमभित्र पर्नुपर्ने उसको माग छ । 

अध्यक्ष लिङ्देनले साझा न्यूतम कार्यक्रम आएपछि मात्र सरकारमा जाने निर्णय हुने बताए । उनले आफ्ना एजेन्डा कार्यक्रममा सहभागी भएपछि कसको नेतृत्वमा कति मन्त्रालय लिएर सरकारमा जाने निर्णय हुने जानकारी दिए । 

“पहिला न्यूनतम साझा कार्यक्रम आउनुपर्यो । हाम्रो  माग सम्बोधन भए पछि मात्र सरकारको विषय निर्णय गर्छौं” लिङ्देनले भने, “अहिले बाहिर आएको हल्ला जस्तो हामीले निर्णय गरिसकेका छैनौं ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरे पछि बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गरिसकेको छ ।