युवराज भट्टराई | वर्तमान परिस्थितिमा शरीरको तौल सबैको चासोको विषय हो । मानिसहरू आफ्नो शरीरको तौल नियन्त्रित राख्न र धेरै भएको तौल घटाउन विभिन्न उपाय अपनाउँछन् तथा तौल घटेमा खुसी व्यक्त गर्छन्। तर, तौल घट्नु सधैँ खुसीको खबर हुँदैन । खानपानमा सचेत भएर, व्यायाम गरेर वा शारीरिक सक्रियता बढाएर घटेको तौल स्वाभाविक हुन सक्छ; तर कुनै स्पष्ट कारणबिना तौल निरन्तर घटिरहेको छ भने त्यसलाई बेवास्ता गर्नु उचित हुँदैन । छ महिनाभित्र तीन किलोभन्दा बढी अनपेक्षित तौल घट्नुलाई सामान्य मान्न सकिन्न र कहिलेकाहीँ यसको पछाडि कुनै अन्तर्निहित रोग हुन सक्छ ।
तौल घट्नुका सबैको एउटै कारण हुँदैन
कोही व्यक्तिको शरीरको तौल अनपेक्षित रूपमा घट्छ भने यसका विभिन्न कारण हुन सक्छन् । तौल घट्नुका कारणलाई सामान्यतया शारीरिक स्वास्थ्यसम्बन्धी समस्या, मानसिक स्वास्थ्यसम्बन्धी समस्या, प्रणालीगत रोग, पाचन प्रणालीका रोग, हर्मोनसम्बन्धी समस्या र अन्य कारणका रूपमा बुझ्न सकिन्छ । तर, कतिपय अवस्थामा भने स्पष्ट कारण नदेखिन पनि सक्छ र केही समयपछि तौल आफैँ स्थिर वा पुनः बढ्न सक्छ ।
१. सामान्य शारीरिक अवस्था र जीवनशैली
गम्भीर रोग नभएका स्वस्थ व्यक्तिमा शारीरिक सक्रियता वा सामाजिक परिस्थितिमा आएको परिवर्तनसँगै तौल घट्न सक्छ । डाइटिङ, व्यायाम, भोकै बस्नु वा पोषणयुक्त खाना कम खानु यसका साधारण कारण हुन् । वृद्ध व्यक्तिमा खानपानको शैली वयस्कको भन्दा फरक हुन सक्ने भएकाले यस्तो अवस्थामा खानपानको वास्तविक अवस्था बुझ्नु महत्वपूर्ण हुन्छ ।
२. मानसिक स्वास्थ्यसँग सम्बन्धित कारण
खाना र खाने बानीलाई प्रत्यक्ष प्रभाव पार्ने विषय मानसिक स्वास्थ्य पनि हो, त्यसैले तौल घट्नुको कारण शरीरमै मात्र खोज्नुपर्दैन । एनोरेक्सिया नर्भोसा, बुलिमिया, भावनात्मक वा मानसिक अवस्थासँग सम्बन्धित समस्यामा तौल घट्न सक्छ । डिप्रेसनले पनि खानामा रुचि घटाएर तौल कम गराउन सक्छ । मदिरासम्बन्धी समस्यामा आत्महेरचाह र खानपान कमजोर हुँदा तौल घट्ने अवस्था देखिन सक्छ ।
३. संक्रमण र सुजनसम्बन्धी रोगहरू
दीर्घकालीन संक्रमण पनि अनपेक्षित तौल घट्नुको कारण हुन सक्छ । क्षयरोग, बारम्बार हुने पिसाब वा छातीका संक्रमण तथा केही परजीवीको संक्रमण पनि तौल घटाउने कारण हुन सक्छन्, त्यसैले यसलाई पनि विचार गर्नुपर्छ ।
साथै, हल्का ज्वरो आउनु, राति पसिना आउनु, जाडो लागेर काम्नु, लगातार खकारसहितको खोकी वा पिसाब गर्दा दुख्ने जस्ता लक्षणसँगै तौल घटेको छ भने यी संकेतहरू महत्वपूर्ण हुन्छन् ।
दीर्घकालीन सुजनयुक्त रोगहरू, जस्तै रुमेटोइड आर्थराइटिस र पोलिमायल्जिया र्युमाटिका पनि तौल घट्नेसँग सम्बन्धित हुन सक्छन् । उन्नत अवस्थाका केही गम्भीर रोगमा पनि तौल घट्नु देखिन सक्छ ।
४. पाचन प्रणालीका रोग
पाचन प्रणालीसँग सम्बन्धित लगभग सबै रोगले तौल घटाउन सक्छ । खाना निल्न गाह्रो हुनु वा पेटबाट खाना अगाडि सर्न अवरोध हुनु, खाना पचाउन गाह्रो हुनु र पचेको खाना आन्द्राबाट शोषण हुन गाह्रो हुनु आदि समस्यामा तौल घट्ने देखिन सक्छ । क्रोहन रोग वा अल्सरेटिभ कोलाइटिस जस्ता आन्द्राका सुजनयुक्त रोगमा भोक कम हुनु, खाना खान डर लाग्नु तथा आन्द्राबाट प्रोटिन, रगत र पोषक तत्त्व गुम्नु पनि कारण बन्न सक्छ ।
५. हर्मोनसम्बन्धी समस्या तथा अन्य कारण
मधुमेह र थाइराइडसम्बन्धी समस्यामा पनि तौल घट्न सक्छ । अन्तिम चरणका श्वासप्रश्वास तथा मुटुसम्बन्धी रोगमा पनि तौल घट्ने देखिन सक्छ । त्यसैगरी, दीर्घकालीन दुखाइ वा निद्राको अभाव, सामाजिक रूपमा एक्लोपन वा कुकुपोषण, पहिलेबाट रहेको गम्भीर फोक्सोको रोग वा मुटुको विफलता जस्ता अवस्थाहरू पनि सजिलै छुट्न सक्ने कारणका रूपमा उल्लेख गरिएको छ । एडिसन रोग/प्यानहाइपोपिटुइटारिज्म तथा केही अन्य अवस्थालाई पनि चिकित्सकीय मूल्याङ्कनमा ध्यान दिनुपर्छ ।
ध्यान दिनुपर्ने कुरा:
छ महिनामा तीन किलोभन्दा बढी अनपेक्षित तौल घट्नु उल्लेखनीय हुन सक्छ ।
कारण नखुलेमा के गरिन्छ?
तौल घट्नुको कारण बिरामीको इतिहास र शारीरिक परीक्षणबाट स्पष्ट नभए चिकित्सकले आवश्यकताअनुसार थप जाँचको सहारा लिन सक्छन् । यस सन्दर्भमा पिसाबमा प्रोटिन र रगत परीक्षण; रगतका सामान्य परीक्षणसँगै कलेजोको कार्य, रक्त ग्लुकोज र थाइराइडको जाँच; सीआरपी र इएसआर तथा दिसामा फिकल क्यालप्रोटेक्टिन जस्ता परीक्षण पर्दछन् । केही अवस्थामा हड्डीको मासी परीक्षण, कलेजोको बायोप्सी वा पेट तथा श्रोणिको सिटी स्क्यान जस्ता थप जाँच पनि आवश्यक पर्न सक्छन् ।
अन्त्यमा
तौल घट्नु आफैँमा एउटा रोगको नाम होइन; यो शरीरमा भइरहेको परिवर्तनको संकेत हुन सक्छ । त्यसैले ‘तौल त घटेको मात्र हो’ भनेर पन्छिनुको सट्टा तौल कहिलेदेखि र कति घट्यो, खानपान वा सक्रियतामा के परिवर्तन भयो र अन्य कुनै लक्षण छन् कि छैनन् भन्ने कुरामा ध्यान दिनु उपयोगी हुन्छ । कारण स्पष्ट नभएको तौल घटाइमा समय–समयमा तौल पुनः जाँच्नु र आवश्यक परे चिकित्सकीय मूल्याङ्कन गराउनु नै सुरक्षित बाटो हो । -स्वास्थ्य खबरबाट
सर्लाही । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढ्दै गर्दा सर्लाहीमा चुनावी सरगर्मी बढेको छ । यसैक्रममा सर्लाही क्षेत्र नं. १ बाट पेशागत विज्ञ समूहका तर्फबाट ध्रुवप्रसाद रिजालले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेस मधेश प्रदेश समितिका सदस्य तथा प्रदेश संसदीय बोर्ड सदस्यसमेत रहेका रिजाल लालबन्दी नगरपालिका–५ रञ्जितपुरका स्थायी बासिन्दा हुन् । उद्योग, व्यवस्थापन, सार्वजनिक प्रशासन तथा पार्टी राजनीतिमा लामो समयदेखि सक्रिय रिजालको उम्मेदवारीलाई क्षेत्रीय प्रतिनिधिहरूमाझ चासोका साथ हेरिएको छ ।
रिजालले नगर विकास कोषको अध्यक्षका रूपमा सहरी विकास तथा पूर्वाधार व्यवस्थापनको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यसमेत भइसकेका उनी राज्यका विभिन्न निकाय तथा औद्योगिक संस्थानको व्यवस्थापनमा अनुभव हासिल गरेका व्यक्ति हुन् ।
उनले बुटवल धागो कारखाना र हेटौँडा सिमेन्ट उद्योगजस्ता प्रमुख औद्योगिक संस्थानमा महाप्रबन्धक तथा अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । निजी क्षेत्रको आर्थिक नीति निर्माण तथा प्रवद्र्धनमा समेत सक्रिय रिजाल नेपाल उद्योग परिसङ्घ (सीएनआई) को राष्ट्रिय परिषद् सदस्यका रूपमा कार्यरत छन् ।
पार्टीभित्र पेशागत तथा व्यवस्थापकीय अनुभव भएका व्यक्तिको सहभागिता आवश्यक रहेको बताउँदै रिजालले पेशागत विज्ञ समूहबाट उम्मेदवारी दिएका हुन् । उनका अनुसार राज्यका विभिन्न निकाय र औद्योगिक संस्थानमा काम गरेको अनुभवलाई पार्टी संगठन तथा नीतिनिर्माणमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी अघि बढाइएको हो ।
“म कसैको भाग खोस्न आएको होइन । कांग्रेस सर्लाही क्षेत्र नं. १ का साथीहरूसँग आफ्नो अनुभव साझा गर्दै संगठनलाई सहयोग गर्न र क्षेत्र तथा केन्द्रीय नेतृत्वमा योगदान गर्न आएको हुँ,” रिजालले भने । उनले मतदानमार्फत आफूलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा जाने अवसर प्राप्त भए पार्टीलाई थप बलियो बनाउन अनुभव र क्षमताको उपयोग गर्ने बताए ।
सर्लाही क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधिका लागि विभिन्न समूहबाट उम्मेदवारीहरू अघि बढिरहेका बेला पेशागत विज्ञ समूहबाट रिजाल अघि सरेका हुन । औद्योगिक व्यवस्थापन, सार्वजनिक निकायको नेतृत्व तथा निजी क्षेत्रसँगको अनुभवलाई उनले आफ्नो उम्मेदवारीको आधार बनाएका छन् ।
हरिवन । जनसहिद नारायण उप्रेतीको तस्बिरमा माल्यार्पण गर्दै नारायण उप्रेती स्मृति प्रतिष्ठानको नवनिर्वाचित कार्यसमितिले आफ्नो कार्य सुभारम्भ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–९ डुम्रीघारीस्थित नारायण स्मृति पार्कमा आज बिहान २०४६ सालको योद्धा नारायण उप्रेतीको तस्बिरमा माल्यार्पण तथा मौनधारण गरेपछि कार्यसमितिले औपचारिक रूपमा आफ्नो काम सुरु गरेको हो ।
त्यसपछि हरिवन–८ स्थित प्रतिष्ठानको कार्यालयमा अध्यक्ष चूडामणि वाग्लेको अध्यक्षतामा बसेको पहिलो बैठकले नारायण उप्रेती सहित, प्रतिष्ठानकी प्रमुख संरक्षक टीकालक्ष्मी उप्रेती, संस्थापक अध्यक्ष डिल्लीप्रसाद उप्रेती, निवर्तमान अध्यक्ष राजकुमार उप्रेती र जग्गादाता हरिप्रिया श्रेष्ठको तस्बिर कार्यालयमा सम्मानपूर्वक राख्ने निर्णय गरेको महासचिव बिदुर प्याकुरेलले जानकारी दिनुभयो । बैठकले नारायण स्मृति पार्क संरक्षण उपसमिति गठन गर्ने, कार्यालय व्यवस्थित गर्ने, चाडपर्वका अवसरमा शुभकामना कार्यक्रम गर्ने, दोस्रो नारायण उप्रेती स्मारिका प्रकाशनका लागि सक्रियता बढाउने तथा प्रतिष्ठानको आयव्यय र सम्पत्ति विवरण दुरुस्त राख्ने निर्णय गरेको छ ।
त्यस्तै, विधान पुनर्लेखन गर्ने र विभिन्न व्यक्तित्वलाई सल्लाहकारका रूपमा जोडिन आग्रह गर्ने निर्णयसमेत बैठकले गरेको छ । अध्यक्ष वाग्लेले प्रतिष्ठानलाई थप व्यवस्थित र सक्रिय बनाउँदै जनसहिद नारायण उप्रेतीको योगदान र स्मृतिसँग जोडिएका कामलाई प्राथमिकताका साथ अघि बढाइने जनाउनुभयो छ ।
२०४६ सालको जनआन्दोलनका योद्धा नारायण उप्रेतीको स्मृतिमा काम गर्ने उद्देश्यले २०५३ सालमा नारायण उप्रेती स्मृति प्रतिष्ठान स्थापना भएको हो । प्रतिष्ठानको प्रथम साधारण सभाबाट चूडामणि वाग्लेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको थियो । समितिको उपाध्यक्षमा सन्जिता घिमिरे, महासचिवमा विदुर प्याकुरेल, सचिवमा प्रल्हाद बुढाथोकी र कोषाध्यक्षमा रामप्रसाद घिमिरे रहेका छन । सदस्यहरूमा प्रज्वल ढुङ्गाना, चन्द्र दोङ, देवी खरेल, भुवनेश्वरी पन्त, नवराज मैनाली, रोशन भट्टराई, जयकुमार दास र हिमाल घिमिरे रहेका प्रतिष्ठानले जनायो ।
हरिपुर । जय नेपाल पार्टीको प्रथम जिल्ला कार्यकर्ता भेला सर्लाहीको हरिपुरमा सम्पन्न भएको छ । पार्टीका केन्द्रिय अध्यक्ष धवलशमशेर राणाको उपस्थितीमा भेला सम्पन्न भएको हो ।
हरिपुरको प्रेमलता पार्टी प्यालेसको सभाहलमा भएको कार्यक्रममा केन्द्रिय अध्यक्षसहितका नेताहरुले सम्बोधन गरेका थिए । पार्टी नेतृ अञ्जु थपलियाको संयोजकत्वमा भएको कार्यक्रममा जिल्लाभरका नेता/कार्यकर्ता सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले राजासहितको हिन्दु राष्ट्र निर्माणका निम्ति पार्टीले भुमिका खेल्नुपर्ने बताएका थिए ।

केन्द्रिय अध्यक्ष राणाले अहिलेसम्म धेरै पार्टीले राजसंस्था र हिन्दु राष्ट्रको नारा लिएर जनतालाई झुक्याएको बताएका थिए । राणाले यहि नारा लिएर आउने स्थानीय चुनावमा लड्न आफ्ना कार्यकर्तालाई आग्रह गरे । आफुले जय नेपाल पार्टी र यसको नितिलाई अन्य पार्टीको भन्दा फरक र जनताले महसुस गर्न सक्ने गरि निर्माण गर्ने बताए ।
त्यसैगरि राणाले विदेशिको नाममा काठमाण्डौँमा गाईको मासु बिफ भन्दै बिक्रि वितरण भईरहेको भन्दै त्यसविरुद्ध आन्दोलनको तयारी भईरहेको बताए । उनले गाई हाम्रो माता र राष्ट्रिय जनावर भएकोले गौ हत्या हुन नदिने बताए ।

कार्यक्रममा लालबन्दीकी ब्युटिपार्लर ब्यवसायी ईन्दिरा खड्कासहितका ब्यक्तिहरुलाई केन्द्रिय अध्यक्ष राणाले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममार्फत गोपाल प्रसाद ढकालको नेतृत्वमा २१ सदस्यिय जिल्ला तदर्थ कमिटि गठन गरिएको नेतृ अञ्जु थपलियाले जानकारी दिईन ।
लालबन्दी । सर्लाहीको लालबन्दी १५ सतभैयास्थित श्री आधारभुत विद्यालयका विद्यार्थीलाई आज पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरिएको छ । लालबन्दी ५ निवासि समाजसेवी समिर बराईलीले आज परेको आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन ।
विद्यालयका प्रधानाध्यापक ललिन्द्र चौधरीका अनुसार शिक्षिका बिन्दु रामदामको पहलमा समाजसेवी बराईलीले बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन । बराईलीले कक्षा २ र ३ का विद्यार्थीलाई कापि र २ जना बिपन्न विद्यार्थीलाई पोशाक, जुत्ता र झोला प्रदान गरे ।
सामुदायिक विद्यालयमा अध्ययनरत बिपन्न विद्यार्थीलाई पठन पाठनमा सहजता होस भनेर आफुले सहयोग गरेको प्रतिकृया दिए । विद्यालयमै पुगेर सो सामाग्री हस्तान्तरण गरेका बराईलीले यसपछि पनि आवश्यक परेको खण्डमा आफु जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताएका थिए ।

विद्यालयका प्रधानाध्यापक चौधरीले बराईलीलाई जन्मदिनको शुभकामना दिँदै विद्यार्थीलाई सहयोग गरेकोमा धन्यवाद दिएका थिए भने आगामि दिनमा पनि यस्तै प्रकृतिको सहयोगको अपेक्षा गरिएको बताएका थिए ।
लालबन्दी । लालबन्दीमा चलिरहेको ‘विश्व शान्ति बौद्ध गुम्बा कप २०८३’ को उपाधि आयोजक श्री जनजागरण सामुदायिक युवा क्लवले हात पारेको छ । आज भएको अन्तिम प्रतिस्पर्धामा उपविजेता बनेको एभरेष्ट फुटबल क्लवलाई पेनाल्टि सुटआउटमा पराजित गर्दै जनजागरणले उपाधि उचालेको हो ।

लालबन्दी ६ स्थित खानेपानी ट्यांकीको पूर्वतर्फ रहेको फुटबल मैदानमा गएको भदौ २५ बाट प्रतिस्पर्धा चलिरहेको थियो । प्रतियोगीतामा १२ ओटा टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगीतामा प्रथम स्थान हासिल गर्न सफल आयोजक जनजागरणले नगद रु पचास हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको एभरेष्टले नगर रु पच्चिस हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लवका अध्यक्ष लंकमान योञ्जनले जानकारी दिए ।
लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीद्वारा उद्घाटन गरिएको प्रतियोगीता संचालनका लागी बिभिन्न ब्यक्ति तथा संस्थाले नगदसहित अन्य सहयोग गरेका आयोजकले जनाएको छ । प्रतियोगीताको द्वितिय पुरस्कारको राशि पच्चिस हजार रुपैँया लालबन्दी भट्रान फुटबल क्लवले प्रदान गरेको हो । क्लवका अध्यक्ष कृष्ण बछार थारुले क्लवका अध्यक्ष लंकमानसहित लालबन्दी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष लालकुमार योञ्जनसहितलाई सो रकम हस्तान्तरण गरेका थिए ।

प्रतियोगीतालाई बिक्रम मोक्तान नेतृत्वको रेफ्रि टोलीले खेलाएको हो ।
लालबन्दी । नेपाल हृदयरोग निवारण प्रतिष्ठान सर्लाही शाखा लालबन्दीको आयोजनामा मुटु बचाउसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । विश्व मुटु दिवस २०२६ को सप्ताहव्यापी कार्यक्रम तथा प्रतिष्ठानको सर्लाही शाखाको नियमित मासिक कार्यक्रमअन्तर्गत लालबन्दी नगरपालिका–३ जव्दी, भैरवपुरस्थित श्री मनपुरण माध्यमिक विद्यालयलाई लक्षित गरी वडा कार्यालयको सभाकक्षमा कार्यक्रम आयोजना गरिएको हो ।
प्रतिष्ठानका कार्यक्रम संयोजक तथा कोषाध्यक्ष भीमबहादुर जर्गा मगरको अध्यक्षता तथा लालबन्दी नगरपालिका–३ का वडा अध्यक्ष बुद्धदेव चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रतिष्ठानका सर्लाही शाखा सभापति शिवप्रसाद न्यौपानेले संस्थाको परिचय तथा हालसम्म गर्दै आएका गतिविधिबारे जानकारी गराउँदै मुटु स्वस्थ राख्न खानपानमा अपनाउनुपर्ने सावधानीबारे प्रकाश पार्नुभएको थियो ।
त्यस्तै, प्रतिष्ठानका विशेषज्ञ कार्यसमिति सदस्य तथा मोडेल हस्पिटल लालबन्दीका सञ्चालक डा. आलोककुमार कुशवाहाले मुटुरोग के हो, मुटुरोगबाट बच्न अपनाउनुपर्ने उपाय, रोग लागिसकेपछि गरिने उपचार, खानपान तथा जीवनशैलीका कारण मुटुरोगको जोखिम बढ्न सक्ने अवस्थालगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराउनुभयो । प्रशिक्षणपछि विद्यार्थीहरूको तर्फबाट छात्रा समीक्षा गुप्ताले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा प्रतिष्ठानका सर्लाही शाखा सभापति, केन्द्रीय सदस्य तथा श्रेयस्कर सदस्यको हातबाट विद्यालयलाई स्मरणपत्र तथा मुटु बचाउसम्बन्धी विभिन्न सचेतनामूलक सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज थापा, अन्य शिक्षकहरु, कार्यपालिका सदस्य नैनकुमारी चौधरी तथा वडा सदस्य भगलु धामीलगायतको उपस्थिति रहेको थियो । प्रतिष्ठानका केन्द्रीय सदस्य बावुकाजी प्रधान, श्रेयस्कर सदस्य शर्मिला थापा, सर्लाही शाखाका सभापति शिवप्रसाद न्यौपाने, उपसभापति विक्रम भण्डारी र भवानी कोइराला, सचिव सुशीलकुमार थपलिया तथा सदस्यहरू डा. आलोककुमार कुशवाहा, लक्ष्मीनारायण चौधरी र नारायण गुर्मछानलगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा शिक्षक हेमबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपसभापति विक्रम भण्डारीले गर्नुभएको थियो ।
मलंगवा | सर्लाहीको मलंगवा नगरपालिका–२ निवासी पत्रकार मनोज यादवका छोरा आदर्श यादवले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेका छन् । आदर्शले आइतवार बिहान मलंगवा नगरपालिका–८ स्थित सिताराम पोखरीको प्राङ्गणमा विभिन्न जातका बिरुवा रोप्दै जन्मदिन मनाएका हुन् ।
आदर्शसँगै मलंगवा–२ निवासी किशोर अविनाश झाको पनि सोही दिन जन्मदिन परेको थियो । उनले पनि जन्मदिनको अवसरमा वृक्षारोपण गर्दै वातावरण संरक्षणमा योगदान दिएका छन् । जन्मदिनमा अनावश्यक खर्च गरेर उत्सव मनाउनुभन्दा बिरुवा रोपेर प्रकृति संरक्षणको सन्देश दिने उद्देश्यले वृक्षारोपण गरिएको बताइएको छ।

रोपिएका बिरुवाको संरक्षण र हुर्काउन स्थानीय युवाहरूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । वृक्षारोपण कार्यक्रममा सर्लाही क्याम्पसका स्ववियु सभापति सुजित यादव, युवा समाजसेवी दिपेशलगायत स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।
जन्मदिनको अवसरमा गरिएको यस वृक्षारोपणले युवापुस्तामा वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सार्वजनिक स्थललाई हरियाली बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
लालबन्दी । सर्लाहीको लालबन्दीमा निर्मित विश्वकर्मा बाबाको मन्दिर आज उद्घाटन गरिएको छ । मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यमा भएको एक कार्यक्रमका बिच मन्दिर उद्घाटन गरिएको हो ।

लालबन्दी ५ स्थित आँखा उपचार केन्द्रको पश्चिमा निर्मित मन्दिरको सांसद लुंगेलीले उद्घाटन गरेकी हुन । मन्दिर ब्यवस्थापन समिती अध्यक्ष बिष्णुलाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा विश्वकर्मा बाबाको महिमाको चर्चा गरिएको थियो ।

नगरपालिकाले उपलब्ध गराएको जमिनमा सांसद लुंगेलीको संसदिय बिकाश कोषको बजेटबाट मन्दिर निर्माण गरिएको मन्दिर समितीले जनाएको छ । मन्दिरमात्रै निर्माण गरिएको र बाँकी निर्माणको काम धेरै गर्न बाँकी रहेको सम्बन्धमा यस वर्ष पनि करिव एक करोडको बजेट बिनियोजन भएको हुँदा बाँकी आवश्यक निर्माणको काम चाँडै थालीने समितीले जनाएको छ ।

सर्लाही । लालबन्दीमा चलिरहेको ‘विश्व शान्ति बौद्ध गुम्बा कप २०८३’ को प्रथम चरणका खेलहरु आजबाट सक्किएका छन । श्री जनजागरण सामुदायिक युवा क्लवको आयोजनामा भदौ २५ बाट चलिरहेको प्रतियोगीतामा १२ ओटा टिमले प्रतिस्पर्धा गरिरहेका छन । आयोजक र लालभित्ति युवा क्लव बिचको आजको खेल सक्किएसँगै पहिलो चरणको खेल सक्किएको हो ।
आज भएको पहिलो चरणको अन्तिम खेलमा आयोजक क्लवले लालभित्ति युवा क्लवलाई शुन्यका बिरुद्ध ६ गोल गर्दै विजयी भएको छ । आजको खेलमा म्यान अफ दि म्याच जनजागरण युवा क्लवका जर्सि नम्बर ८ का खेलाडी अशोक गोले भएका छन ।
भोली हुने पहिलो क्वार्टरफाईनल खेलमा भब्सि युवा क्लव महोत्तरी र सहारा युवा क्लव बागमति बिच प्रतिस्पर्धा हुने छ । भब्सिले नवलपुर एकेडेमिलाई हराएर आएको हो भने सहाराले युनिक फुटबल क्लव रानिगञ्जलाई हराएर क्वार्टरफानलको यात्रा तय गरेको हो ।

प्रतियोगीतामा प्रथम हुने टिमले ५० हजारसहित शिल्ड र मेडल पाउने छ भने दोश्रो हुने टिमले २५ हजार रुपैँया, शिल्ड र मेडल पाउने आयोजकले जनाएको छ । प्रतियोगीताको फाइनल खेल असोज ६ गते हुने आयोजक क्लवका अध्यक्ष लंक कुमार योञ्जनले जानकारी दिए ।