लालबन्दी महोत्सवमा मधेश प्रदेश नृत्य प्रतियोगिता आयोजना हुने
लालबन्दी, १ चैत्र । उद्योग वाणिज्य संघ, लालबन्दीको आयोजनामा सञ्चालन हुन गइरहेको “तेस्रो लालबन्दी महोत्सव २०८२” को अवसरमा मधेश प्रदेशस्तरीय नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ । स्थानीय कला, संस्कृति तथा युवाहरूमा रहेको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
नृत्य प्रतियोगिता यहि चैत ४ गतेदेखि चैत १५ गतेसम्म लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित हुलास खाद्य उद्योगको मैदानमा सञ्चालन हुने महोत्सव परिसरमा आयोजना गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने सहभागीहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगीतामा प्रथम पुरस्कार १ लाख माथी, द्वितिय पुरस्कार ५० हजार र तृतीय पुरस्कार २५ हजार राशिको रहेको उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् तेस्रो लालबन्दी महोत्सवका संयोजक दिपेन्द्र बलम्पाकीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले यहि चैत ३ गतेभित्र उद्योग वाणिज्य संघ, लालबन्दीको कार्यालयबाट आवेदन फाराम प्राप्त गरी बुझाइसक्नुपर्ने आयोजकले जनाएको छ ।
आयोजकले प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण प्रतिभाशाली कलाकार तथा सरोकारवालाहरूमा अनुरोध समेत गरेको छ ।