ग्यासको कृत्रिम अभाव गराउनेलाई कारवाहि गर्ने जिप्रकाको भनाई
लालबन्दी, १ चैत । जिल्ला प्रशासन कार्यालय सर्लाहीले ग्याँसको कृत्रिम अभाव र कालो बजारी गरे कारवाही गर्ने चेतावनी दिएको छ ।
आइतबार एक सूचना जारी गर्दै सहज र निर्वाधरुपमा एलपी. ग्याँस निर्धारित मूल्य र परिणाम अनुसार बिक्री वितरण गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको हो । मौखिक तथा सञ्चार माध्यमबाट सूचनाहरू प्राप्त भइरहेको भन्दै बजार अनुगमनको क्रममा त्यस्तो गरेको फेला परे उपभोक्ता संरक्षण ऐन, २०७५ र कालोबजार तथा केही अन्य समाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेद्वारा हस्ताक्षरित सूचनामा हल्लाको भरमा अत्यधिक मात्रामा ग्याँसको भण्डार नगर्न, नगराउन, ग्याँस हुदाँहुदै नभएको भनेर उपभोक्तालाई सास्ती हैरानीमा नपार्न र कालो बजारी नगर्न समेत चेतावनी दिइएको छ ।
