बागमती नगरपालिकाले सुबिधा सम्पन्न फन पार्क बनाउँदै

598
Friendship Mobile

बागमती नगरको गौरवको आयोजनाको रूपमा रहेको फनपार्कको निर्माण ठेक्का सम्झौता भएको छ । मंगलबार ठेक्का सकारेको निर्माण व्यवसायी गौरी पार्वती सुनकोसी धुलिखेल जेभी नयाँ बानेश्वर काठमाडौं र बागमती नगरपालिकाबीच ठेक्का सम्झौता भएको हो ।

१७ करोड रुपैयाँमा ठेक्का सकारेको निर्माण कम्पनीले योजनाको ९० प्रतिशत काम सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ । फनपार्क एक वर्षमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गबाट दुई किलोमिटर उत्तर बागमती नगरपालिका– ११ स्थित बुद्ध शान्ति तपोवन नजिक निर्माण हुन लागेको पार्कको क्षेत्रफल ६७ रोपनी रहेको नगरपालिकाका इन्जिनियर सागर पौडेलले बताए । ठेक्का सकारेको निर्माण कम्पनीले सम्झौतालगत्तै निर्माण आरम्भ हुने जनाएको छ । फनपार्क निर्माण हुने भएपछि स्थानीय तथा नगरवासी उत्साहित भएका छन् ।

फनपार्कको पर्खाल निर्माणलगायतका केही कामबाहेक सम्पूर्ण निर्माणका काम यसै ठेक्कामा सम्पन्न हुने नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले बताए । पवित्र तीर्थस्थल नुनथर र बागमती नदी किनार तथा चुरे शृंखलाको काखमा रहेको यो फनपार्क पर्यटकीय हिसाबले प्रदेश २ कै नमुना हुने नगरपालिकाको अपेक्षा छ ।

बागमती नगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएलगत्तै नगरप्रमुख भरतकुमार थापाले नगरको महत्त्वाकांक्षी योजनाको रूपमा फनपार्क निर्माणको अवधारणा अगाडि सारेका थिए । निर्माण स्थलको छनोट, जग्गा अधिग्रहण, मुआब्जा वितरण, ठेक्का प्रक्रियालगायतका कामले फनपार्क निर्माणमा केही ढिलाइ भएको थापाले बताए ।

फनपार्कमा अतिथि गृह, स्वीमिङ पुल, पिकनिक स्पट, होटल लगायतका संरचना निर्माण गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमल प्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार फनपार्क बनेपछि बाग्मती नदीमा बोटिङको व्यवस्था गर्ने योजना छ ।

पूर्व–पश्चिम राजमार्गस्थित बाग्मतीबाट दुई किलोमिटर उत्तरमा बन्न लागेको फनपार्कको २०७५ साल वैशाख १३ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शिलान्यास गरेका थिए ।