मलंगवा–गोडैता सडक : धुलोले ज्यानै लेला जस्तो, सरकार सम्झिँदा हाँस्छन स्थानिय

679
Friendship Mobile

सर्लाहीको मलंगवा –गोडैताको पैदल यात्रा गर्नेहरू मात्रै हैन, सवारीमै यात्रा गर्नेले पनि एक पटक सरकारलाई सराप्छन् । किनभने घाम लागेका बेला धुलो उडेर कुहिरो मण्डल बन्ने र झरी पर्दा पानी जमेर ताल बन्नु यो सडक खण्डको विशेषता भइसकेको छ ।

यसबाट सडक आसपासमा कति प्रभाव परेको छ भन्ने पसलमा सजाइएका कपडा, किराना पसलका धुलोले ढपक्कै ढाकेका सामान हेरे पुग्छ । बेला–बेलामा पसलेहरू धुलो कपडाले टकटकाउँछन् । स्थानीयवासी बोलेर वा आवाज उठाएर पार लाग्दो रहेनछ भन्ने मानसिकतामा पुगिसकेका छन् । हुन पनि सडकका ठाउँ–ठाउँमा डरलाग्दा खाल्डाहरू छन् ।

नजिकै डोजरले सडक किनाराको माटो निकालेर ट्रयाक्टरमा हालिरहेको पनि देखिन्छ । मलंगवाबाट गोडैता बजार हुदैं पश्चिमतर्फ जाने सडकको यस्तो दूरावस्था स्थानीयबासीहरुका लागि कहिल्यै निको नहुने घाउ भइसक्यो । स्थानीय तहमा जनप्रतिनीधि आएको तीन बर्ष बितिसक्दा पनि यो सडक खण्डमा वर्षामा हिलो र हिउँदमा धुलो हुँदा होइन, नहुँदा अचम्म मान्नुपर्ने अवस्था बनेको छ । बर्षौदेखि यो सडकको यात्रा निकै कष्टकर बनेको छ ।

‘यी सडक भएर यात्रा गर्ने र स्थानीय क्षेत्रमा बस्ने नागरिकको जीवन त नर्कमा परेजस्तै भएको छ,’ स्थानीय अजीत झा ब्यंग्य गर्दै भन्छन्, ‘यो धुलो–हिलोको राज्य हो, यहाँ सरकार छैन ।’जनताले राम्रोसँग सास फेर्न पनि नपाएको भन्दै उनले फोक्सोमा क्यान्सर होला भन्ने पीर गरेर बाँच्नु परिररहेको बताए ।

एक स्थानीय महिलाले सरकारमा बस्नेले जनतालाई कसरी हेर्छ भन्ने बुझ्न यही सडकको अवस्था हेरे पुग्ने बताइन् । सडकको धुलोकै कारण व्यापार व्यवसाय समेत चौपट भएको स्थानीय व्यापारीहरूको गुनासो छ ।

धुलोकै कारण ग्राहकहरू पसलमा नपस्ने भन्दै एक होटलकर्मीले बेच्न राखिएका सामान बचाउन पनि गाह्रो भएको बताए । धुलो र हिलोले ब्यापार चौपट छ, उनले भने, सरकारले नै आफनो ठाउँमा गरिखान्छु भन्दा पनि नदिने भयो । स्थानीय सरकारले पनि समस्या नसुनेको उनको भनाइ छ ।

Sarlahiupdate बाट ।