चितवनमा प्रधानमन्त्री ओली समर्थक कार्यकर्ताद्वारा पूर्व अर्थमन्त्री पाण्डेमाथि दुर्व्यवहार, बरिष्ठ नेता नेपाल र खनालद्वारा घट्नाको निन्दा

328
Friendship Mobile

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै कार्यकर्ताले अभद्र व्यवहार गरेका छन् । चितवनमा शनिबार भएको कार्यक्रममा नेता पाण्डेले बोलिरहेको समयमा आफ्नै कार्यकर्ता र त्यहाँका स्थानीयले अवरोध गरेका हुन् । राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला पाण्डेलाई अभद्र व्यवहार गरिएको हो ।


यसैबीच, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेता पाण्डेमाथि केही व्यक्तिले सुनियोजित रूपमा अभद्र व्यवहार गरेको भन्दै असन्तुष्ट हुनुभएको छ । सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिस्ट आदर्श अबलम्बन गर्ने लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि यस्ता गतिविधि पटक्कै नसुहाउने उहाँको भनाइ छ । नेता नेपालले दुर्व्यवहार गर्नेहरूको छानबिन गरेर कडा कारबाही गर्न माग गर्नुभएको छ ।

त्यसैगरि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चितवनमा नेता सुरेन्द्र पाण्डे सुनियोजित रुपमा दुर्व्यवहार गरिएको बताउनुभएको छ । शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै वरिष्ठ नेता खनालले नेता पाण्डेमाथि भएको दुर्व्यवहारको निन्दा एवं भत्र्सना गर्दै सम्लग्न व्यक्तिलाई कडाभन्दा कडा कारवाहीको माग गर्नुभएको छ ।

‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु’, खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको समधानका लागि उपायहरु खोजी भइरहेका बेला यस्ता घटनाले स्थितिलाई झनै उत्तेजक बनाउने भन्दै सचेत रहने नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ ।