कोरोना कहरकै बिच कारगारका कैदीबन्दीले बुनेका २ सयभन्दा बढी मुढा बिक्री

343
Friendship Mobile
  • इश्वर बिश्वकर्मा/चरिकोट ।

दोलखा कारागारका कैदीबन्दीद्वारा निर्मित २ सय भन्दा बढी मुढा बिक्री भएको छ । बन्दाबन्दी खुलेपश्चात साउन देखि मंसिर १३ सम्मको अवधीमा कैदीबन्दीद्वारा निर्मित २ सय ५० वटा मुढा बिक्री भएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी गरिएको बन्दाबन्दीमा मुढाले बजार पाएको थिएन ।

बन्दाबन्दी खुलेको केही साता पछि मुढा बिक्री हुन थालेको हो । कैदीबन्दीले हालसम्म मुढा बिक्रीबाट १ लाख २५ हजार भन्दा बढी आम्दानी गरेको कारागार प्रशासनले जनाएको छ । कारागारबाट उत्पादित मुढा प्रतिगोटा ५ सय रुपैयाँमा बिक्री हुने गरेको जिल्ला कारागार दोलखाका नायब सुब्बा पदम केसीले बताए । यस अघि मिहिनेत गरेर बनाइएको मुढा बिक्री सन्तोषजनक हुने गरेको थियो । तर कोरोना पछि मुढा बिक्रीमा गिरावट आएकोले कम संख्यामा उत्पादन गर्ने गरिएको कैदीबन्दीले बताएका छन् ।

मुढा निर्माणको लागि धागो, बाँस, टायर, डोरी, रङ लगायतका सामग्री आवश्यक पर्दछ । ति सामग्री उपलब्ध गराउन कारागार प्रशासनले सहयोग गर्दछ ।

थन्कियो त्रिशुल

कोरोना संक्रमण नफैलियोस भनि दोलखा भीमेश्वर, कालिञ्चोक लगायतका मठमन्दिर बन्द रहेका छन् । जसको प्रभाव कैदीबन्दीको आयआर्जनमा समेत परेको छ । मठमन्दिर बन्द हुँदा कैदीबन्दीले उत्पादन गरेको त्रिशुल बिक्री हुन सकेको छैन् । मठमन्दिर खुल्ला हुँदा केहि संख्यामा त्रिशुल बिक्री हुने गरेको भएपनि अहिले त्यस्तो नभएको कैदीबन्दीहरुले बताए ।

त्रिशुलसगैँ कारागारमा उत्पादित दियो र चुरा राख्ने स्ड्यान्ड एउटा पनि बिक्री हुन नसकेको कैदीबन्दीले गुनासो गरेका छन् । विभिन्न कारणले बन्दी जीवन बिताइरहेका कैदीबन्दीले मुढा, दियो, त्रिशुल, निर्माणका साथै कपडा सिलाउने काम गर्दै आएका छन् ।

दोलखा कारागारमा हाल १ सय ५७ जना पुरुष कैदीबन्दी रहेका छन् ।