ठेकेदारको लापरवाहीले रौतहटका सडक र नाला समयमै निर्माण भएन, कटहरिया बजारमा दुर्घटनाको जोखिम

314
Friendship Mobile

सहरी विकास तथा भवन डिभिजन कार्यालय वीरगंजका कर्मचारीको मिलोमतोमा रौतहटमा करोडौंको टेण्डरको काम पेटि ठेकदारले गरिरहेका छन । मुल ठेकदारले टेण्डर पारेवापत मोटो कमिसन लिएर सरकारको करोडौं लगानीको निर्माणको जिम्मा साना पेटि ठेकदारलाई दिएको कारण यस्तो स्थिती आएको स्थानीयको भनाइ रहेको छ ।

२०७४ फागुन महिनामा सहरी विकास वीरगंजबाट रौतहटको कटहरिया नगरपालिकामा नाला र बाटो निर्माणको टेण्डर प्रक्रियाबाट मुल ठेकदार नागेन्द्र साहले सम्झौता गरेका थिए । एकबर्ष सम्म केहि पनी नगरेर बसेका ठेकदार साहले टेण्डर बापत कमिसन लिएर गत बर्ष एकजना पेटि ठेकदार सुबोध यादवलाई सडक र नाला निर्माणको जिम्मा दिएका छन । तिनबर्षको अवधिमा सडक र नाला निर्माणको काम पूरा नहुंदा कटहरिया बासीले सास्ती खेप्नु परेको छ ।

ठेकदार नागेन्द्र साहले प्रतिस्पर्धा मार्फत पारेको ठेक्काको काम आफैले नगरेर पेटि ठेकदारमाई दिएपछि निर्माण काम गुणस्तरहीन भैरहेको गुनासो बढ्न थालेको छ । रमन,आश्रय तथा साह निर्माण सेवाले कटहरिया,सहरी विकास तथा भवन डिभिजन वीरगंजबाट बिर्ती, हंथियाहि हुदै जमुनिया सम्मको बाटो निर्माण तथा केही ठाउमा नाला निर्माण गर्न २५ करोड रुपैयाको टेण्डर घटाघटमा १९ करोड मा ठेक्कालिएका थिय ।

तिनवटै निर्माण सेवाले संयुक्तरूपमा लिएको उक्त ठेक्काको काम आफैले नगरेर पेटि ठेकदार सुबोध यादव संग गराउंदा हालसम्म २५ प्रतिशत काम पनि हुन नसकेको स्थानीयको भनाइ रहेको छ । कटहरिया ४ बहादुरपुर देखि बजार हुदै कटहरिया गाउ सम्म नाला निर्माण तथा बजारको मुख्य बाटो हुदै जमुनिया गाउ सम्म बाटोमा कालोपत्रे तथा केही स्थानमा ढलान गर्नुपर्ने योजना रहेकोे छ । पेटि ठेकदार यादवले एकबर्ष भन्दा बढी समयमा केही स्थानमा नाला र केही स्थानमा बाटो ढलान गरेको र महिनौ देखि काम छोडेर बेपत्ता भएको कटहरियाका एकजना ब्यापारी जयमंगल साहले बताएका छन ।

कटहरिया बजार क्षेत्रको मुलबाटोमा कालोपत्रे निर्माण गर्न ६ महिना अघि पेटि ठेकदार यादवले पुरानो कालोपत्रे जोतेर मिक्स ग्रेभल राखेका थिए । तर ६ महिना बित्दा पनि बाटो कालोपत्रे गरेका छैनन् । बजारको मुख्य बाटोमा मिक्स ग्रेभल राखेको कारण पानी पर्दा जताततै पानी र हिलो जम्ने पानी नपर्दा बजारभरी धुलै धुलो भरिने गरेको छ । धुलोको कारण बजारमा आवतजावत गर्न किनमेल गर्न आउने ग्राहकलाई ठुलो समस्या भएको छ भने ब्यापारी लाई आफ्नो पसलमा बसिसक्ने अवस्था छैन ।

कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले ठेकदारले नियतबस सडक र नाला निर्माणमा ढिलाइ गरेको आरोप लगाएका छन । नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको पहलमा आएको योजना मुलठेकदार नागेन्द्र साह नेपाली कांग्रेस समर्थित भएकै कारण क्षेत्र ३ अन्तरगतको काममा सधै ढिलाइ गर्ने गरेको गुनासो गरेका छन । करोडौंको टेण्डरलिएका ठेकदार साहले नियम बिपरित पेटि ठेकदारलाई निर्माणको जिम्मा दिएकाले पनि निर्माणकाम समयमा पूरा न भएको र गुणस्तरहीन हुनेगरेको मेयर कुसवाहाले दाबी गरेका छन ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय वीरगंजका साईड ईन्जिनियर कमलमणि खतिवडा र ठेकदार नागेन्द्र साहको मिलोमतोकै कारण नियम बिपरित करोडौंको काम पेटि ठेकदार मार्फत भैरहेको मेयर कुश्वाहाले आरोप लगाएका छन । यता साइड इन्जिनियर खतिवडाले लकडाउनको कारण कटहरियाको सडक र नाला निर्माणको काम पूरा गर्न नसके पनि फागुन मसान्तसम्म पूरा गर्ने बताए ।