रहेनन् भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउने हिराबहादुर

385
Friendship Mobile

तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाण्डौंसम्म गाडी बोकेर भित्र्याउने मध्ये जिउँदा इतिहास बनिरहनुभएका हिराबहादुर घलानको निधन भएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय घलानको मंगलबार राति निधन भएको हो । घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ । 

दुई वर्षअघि थाहा नगरपालिका–५ कै जुक्तबहादुर वाइबाकोे निधन भएपछि घलानमात्र राणा शासकहरुका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र हुनुहुन्थ्यो । जीवन भरमा २५ वटा गाडी बोक्नु भएका घलानले वि.सं. २००६ सालदेखि नै गाडी बोक्न शुरु गर्नुभएको थियो । उहाँले ९६ जनाले बोक्ने गाडी एक पटकमात्रै बोक्नु भएको थियो भने ६४ जनाले बोक्ने गाडी १० पटकजति बोक्नुभएको थियो ।

राणाकालमा भीमफेदीबाट काठमाण्डौंका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेल लगायत क्षेत्रका स्थानीय भरिया जाने गर्थे । थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ जना भरियाले गाडी बोकेका थिए । 

घलानले १८ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका थिए । उनलाई मार्खुका नाइकेले यो काममा लगाएका थिए । घलानले लगातार २५ वर्ष भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याए । त्यही कमाइले पुरन्डीमा ३० रोपनी जग्गा जोडेका थिए । घलानका अनुसार आफू बलियो र अग्लो भएका कारण नाइकेले उनलाई सधैं अग्रभागमा राखेर गाडी बोकाउँथे । सुरुमा उनले ३२ जनाको टोलीमा साना गाडी बोकेका थिए । सात दिनमै गाडी बोकेर काठमाडौं पुर्‍याएबापत उनको टोलीलाई राणाहरूले २० रुपैयाँ बक्सिस दिएका थिए ।