मुख्यमन्त्री राईसहित आठ सांसद निलम्बित हुने

303
Friendship Mobile

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित आठ सांसदलाई निलम्बन गर्न सिफारिस गरिएको छ।

नेकपाको मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीन जना सांसदहरुलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो। यससम्बन्धी जानकारी आइतबार प्रदेश सभा सचिवालयलाई दिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए।

प्रदेश सभा सचिवालयलाई दिएको जानकारीमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई निलम्बनका लागि सिफारिश गरेको छ। त्यस्तै, प्रदेश सभा सदस्यहरु इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको जनाएको छ।

नेकपा संसदीय दलका नेता भीमप्रसाद आचार्यले बुधबार मुख्यमन्त्री शेरधन राईसहित आठ जनालाई संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टीको हितविपरीत काम गरेको भन्दै २४ घन्टे स्पष्टीकण सोधेको थियो। स्पष्टीकरण सोधेको चार दिनपछि निलम्बन गर्ने निर्णय गरिएको जनाएको छ।

यस अघि पुस १२ गते नेकपाका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। पुस १५ गते मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई चयन गरिएको थियो।

प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गतेदेखि सुरु हुँदै छ। यो अधिवेशनमा मुख्यमन्त्री राईलाई हटाउने तयारी गरिएको छ। प्रदेश सभामा प्रचण्ड–नेपाल समूहको बहुमत रहेको छ।