कतारमा हुने विश्वकपलाई ‘स्वस्थ विश्वकप २०२२’ बनाउने घोषणा

224
Friendship Mobile

अर्को वर्ष कतारमा आयोजना हुने विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वस्थ खेल समारोह बनाउने घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा यसको घोषणा भएको हो ।

घोषणा सभामा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल–थवाडी, अन्तर्राष्ट्रिय फुटबल संघ(फिफा) का अध्यक्ष जिआनि इन्फान्टिनो र विश्व स्वास्थ्य संगठन मध्यपर्वि क्षेत्रका संयोजक डा. अहमद विन सलेम अल–मन्धारीको उपस्थिति रहेको बताइएको छ ।

कतार सरकार तथा विश्वकप फुटवल प्रतियोगिताका आयोजक संस्था सुप्रिम कमिटी तथा लेगसीले फिफासँगको सहकार्यमा सबै कृयाकलापलाई जनस्वास्थ्यका दृष्टिकोणमा उपयुक्त बनाउंन काम गर्ने जनाइएको छ । त्यस्तै स्वस्थ्य जीवनयापनका विषयवस्तुहरूको विज्ञापनका माध्यमबाट बुझाउने काम पनि गरिनेछन् ।

यसबाहेक विश्वकप फुटबल आयोजना हुने समय, आगामी वर्षको नोभेम्वर २१ देखि डिसेम्वर १८ सम्मको अवधिभर स्वास्थ्य सुरक्षा र शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा समेत जानकारी गराइने कार्यक्रम रहेको उल्लेख गरिएको छ । कार्यक्रम आगामी दिनमा खेलकुद सम्बन्धि ठुला कार्यक्रमहरूको आयोजना गर्दा स्वास्थ्यसंग सम्बन्धित विषयमा पुर्याउंन सकिने सुरक्षा तथा सावधानीका विषयमा पहिले नै जानकारी लिन उपयुक्त हुने विश्वास पनि गरिएको छ ।

अर्को वर्ष विश्व कप आयोजना गर्ने कतारले सन् २०३० मा एसियली खेलकुदको आयोजना गर्दैछ ।