२०८३ आश्विन १६ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन १६ शुक्रबार

काठमाण्डौं, १३ जेठ । नेपालको पेट्रोलियम पदार्थको भण्डारण क्षमता २०८२ असारसम्म १ लाख २ हजार २ सय ८१ किलोलिटर पुगेको छ ।

बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार पेट्रोलियम पदार्थको उक्त मौज्दात क्षमता सरदरमा १६ दिन बराबरको माग धान्न पर्याप्त छ । गण्डकी प्रदेशमा सबैभन्दा बढी ३७ दिनको माग धान्न सक्ने र कर्णाली प्रदेशमा सबैभन्दा कम १ दिनको माग धान्न सक्ने मौज्दात क्षमता रहेको छ ।

पेट्रोल, डिजेल, मट्टितेल र हवाई ईन्धनको भण्डारण मधेश प्रदेशको अमलेखगञ्ज डिपोमा मात्र कुल क्षमताको ४३.५ प्रतिशत रहेको छ ।

काठमाडौंमा यस्तो भण्डारण क्षमता २१.९ प्रतिशत, पोखरामा १३.३ प्रतिशत, विराटनगरमा ९.९ प्रतिशत, भैरहवामा ४. १ प्रतिशत, नेपालगञ्जमा ३.६ प्रतिशत र धनगढीमा २.६ प्रतिशत रहेको छ । दाङ, सिमरा, भद्रपुर, मन्थली, दिपालयलगायतका स्थानमा यस्तो भण्डारण न्यून रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

काठमाण्डौं, १३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २४ गते भएको घटनालाई आपराधिक कार्य भनेको छ भने यसमा संलग्न व्यक्तिमाथि सुक्ष्म अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरेको छ। 

आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा भदौ २४ गतेको घटना भदौ २३ गतेको घटनाबाट प्रभावित भएको देखिए पनि देशभर एकै प्रकृतिको देखिएकाले पूर्वयोजना अनुसार भएको जनाएको छ। जेनजी आन्दोलनका क्रममा युवाको मृत्यु भएपछि भदौ २४ गते देशभर आगजनी र तोडफोड गरिएको थियो। त्यसलाई आयोगले पूर्वयोजना अनुसार भएको ठहर गरेको छ। 

आयोगको प्रतिवेदनमा भनिएको छ, ‘भदौ २४ गतेको घटनाको प्रकृति अवस्था एकै समयमा एकै उद्देश्य लिई देशैभरी भएको देखिँदा यी घटनाहरू अगाडिदेखि नै गरिएको पूर्वयोजना अनुसार संगठित रुपमा गरिएको आपराधिक कार्य हुन् भन्नेमा अनुसन्धान प्रतिवेदनको रायलार्य अन्यथा भनी रहनु पर्ने अवस्था देखिएन।’

भदौ २४ मा तीन जना प्रहरीको हत्या गरिएको, राजनीति दलका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका कर्मचारीमाथि सांघातिक आक्रमण, प्रदर्शनकारीले गरेको आगजनीमा परि २१ जनाको मृत्यु भएको आयोगले उल्लेख गरेको छ। त्यस दिन मृत्यु भएकामध्ये अझै पनि १२ जनाको पहिचना नहुन नसकेको, प्राध्यापक रवि लक्ष्मी चित्रकारलगायत कयौँ व्यक्ति जलेर गम्भीर घाइते भएको, देशभरी अर्बौँ रुपैयाँको धनसम्पत्ति तोडफोड र आगजनी भएको आयोगले उल्लेख गरेको छ। 

यी सबै घटनाको जिकिर गर्दै आयोगले भनेको छ, ‘उक्त दिनका प्रायः सबै घटनालाई आपराधिक गतिविधिको रुपमा हेरी र सम्बोधन गर्नुपर्ने देखियो।’

आयोगले भदौ २४ का घटनामा थप सुक्ष्म अनुसन्धान गर्न भनको छ। ‘२४ गतेको घटनाको विषय अधिकांश आपराधिक कार्य हो भनी माथि विभिन्न प्रकरणमा विवेचना गरी सकिएको हुँदा त्यस्तो आपराधिक घटनाका सम्बन्धमा थप सुक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाई कानुन बमोजिम कारबाही गर्न,’ आयोगको सिफारिसमा भनिएको छ। 

मलंगवा, १० जेठ । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

शनिबार मलङ्गवामा शाखाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरिएको हो । महासंघका केन्द्रिय सदस्य राजेश कर्णको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा महासंघले प्रदान गर्दै आएको स्व.गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार समेत वितरण गरिएको थियो । यस वर्षको उक्त पुरस्कारले पत्रकार श्रवण थापालाई सम्मानित गरिएको महासंघले जनाएको हो । 

कार्यक्रमका प्रमुख अतिथि कर्णले थापालाई प्रमाण पत्र, दोसल्ला र नगद १५ हजार ५५५ रुपैयाँले सम्मानित गरे । सर्लाहीलाई कर्मथलो बनाएर सक्रिय पत्रकारिता गर्दै आएका थापाले समाजमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘‘स्व.गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार–२०८३’’ बाट सम्मान गरिएको शाखा अध्यक्ष ओम प्रकाश ठाकुरले जानकारी दिए । 

स्व.गजेन्द्र नारायण सिंहको सम्झनामा स्थापना गरिएको यस पुरस्कार शाखाले   विगत तीन वर्ष देखी जिल्लाका सकृय पत्रकार छनोट गरेर वितरण गर्दै आएको छ । तत्कालिन मधेश प्रदेश प्रमुख राजेश अहिराजले प्रदान गरेको ५० हजारबाट स्थापना गरिएको अक्षयकोष र नेपाल पत्रकार महासंघ सर्लाही शाखाले व्यवस्थापन गरेको रकमबाट उक्त पुरस्कार राशी प्रदान गर्ने गरिएको शाखाले जनाएको हो । 

यस्तै साधारण सभाको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै पत्रकार महासंघका केन्द्रिय लेखा समिति संयोजक लामिछानेले प्रेस स्वतन्त्रता, निष्पक्ष पत्रकारिता तथा पत्रकारहरूको पेशागत सुरक्षाका विषयमा महासङ्घले जोड दिएको बताए । उनले पत्रकारिता क्षेत्रलाई अझ मर्यादित, विश्वसनीय र जनउत्तरदायी बनाउन सम्पूर्ण पत्रकार एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे । 

पछिल्लो सरकारले लोकतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निभाएको पत्रकारिता क्षेत्रलाई अवमूल्यन गरेर अघिबढेको उनको आरोप थियो । कार्यक्रममा अर्का वक्ता नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले स्वतन्त्र पत्रकारिता विनाको लोकतन्त्र कल्पना गर्न समेत नसकिने बताए । राज्यको पत्रकारिता र सञ्चार माध्यमलाई घेराबन्दीमा पार्ने काम गरेको उनको आरोप थियो ।

त्यस विरुद्ध अहिले सिङ्गो महासङ्घ सङ्घर्षरत रहेको भन्दै यस तर्फ बेलैमा ध्यान दिन समेत उनले सरकार सँग माग गरे । कार्यक्रममा महासङ्घको वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना माथि विस्तृत छलफल गरिएको थियो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कर्ण, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा तथा मधेस प्रदेश महासचिव शैलेन्द्र महतोको विशेष आतिथ्यतामा सभा सम्पन्न भएको महासंघ सर्लाहीले जनाएको हो ।

यस्तै कार्यक्रममा महासङ्घका पूर्व अध्यक्ष चुडामणि वाग्ले, कृष्णकुमार इस्माली, रोशन न्यौपाने, विश्वनाथ ठाकुर, टंकबहादुर क्षेत्री लगायत जिल्लाका अधिकांस सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो । 

सर्लाही, ९ जेठ । मौसम विभागले तीन दिन ६ वटा जिल्लामा तातो लहर चल्ने जनाएको छ। विभागले हिजो तातो दिन तथा तातो लहर सम्बन्धी विशेष बुलेटिन-३ जारी गरेर कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा तातो लहर चल्ने जनाएको हो। 

विभागले बैतडी, डडेलधुरा,अछाम,  सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची,  रुपन्देही र कपिलवस्तुमा अद्यावधिक रहने जनाएको छ। 

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन विभागले अनुरोध गरेको छ। 

तातो हावा तथा तातो लहरबाट हुने थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्छ। तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा ) लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहन आवश्यक रहेको विभागले जनाएको छ।

सर्लाही, ८ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल रही बाँकी भू(भागमा आंशिक बादल लागिरहेको छ । गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केहि स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा तातो लहर चल्ने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल जेठ ८ गते । शुक्रबार । इस्वी सन् २०२६ मे २२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष । तिथि–षष्ठी, १७ घडी ४० पला, दिउँसो १२ बजेर १८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–तिष्य, ८ घडी ३३ पला, बिहान ८ बजेर ३९ मिनेट उप्रान्त अश्लेषा । योग–वृद्धि, २२ घडी ३ पला, दिउँसो २ बजेर ३ मिनेट उप्रान्त ध्रुव । करण–तैतिल, दिउँसो १२ बजेर १८ मिनेट उप्रान्त गर, बेलुकी ११ बजेर २६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कर्कट ।

आजको राशिफल

मेष : अध्ययन अध्यापनमा अलि बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाई जनमानसमा लैजान सकिनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । तर पनि काम बिग्रने हुँदा मान सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् ।

वृष : सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ । नसोचेको काम हुने वा यात्राको अवसर प्राप्त हुनेछ ।

मिथुन : माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादनमूलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरूको नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ । असजिलो परिस्थितिहरूलाई बुद्धिमत्ता पूर्वक सहजतामा ढाल्न सकिनेछ ।

कर्कट : नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेको छ । विद्यार्थी वर्गहरूका लागी मेहनत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेको छ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । लामो दुरीको यात्राको प्रक्रिया बढ्नेछ ।

सिंह : काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । तर पनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् । प्राकृतिक सम्पत्तिको प्रयोग मार्फत लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाई जनमानसमा लैजान सकिनेछ ।

कन्या : पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । नसोचेको धन प्राप्त हुने तथा यात्राको  अवसर जुर्नेछ ।

तुला :  व्यवसाय फस्टाएर जाने तथा व्यावसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो विद्यालाई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईँको काम समयमा गरिदिने हुनाले समय र रुपैयाँ पैसाको बचत हुनेछ । चुनौतीहरूलाई किनारा लगाउँदै राम्रा काम गर्दा समाजमा स्थापित हुन सकिनेछ ।

वृश्चिक : आकस्मिक धन सम्पत्ति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पत्ति हात लाग्ने योग रहेको छ । समस्याहरूको सजिलै समाधान गरी उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।

धनु : आफन्त तथा दिदी बहिनीसँग विवाद सिर्जना हुनेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । तर पनि पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाई जनमानसमा लैजान सकिनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।

मकर : कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवन साथीको साथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ । वित्तीय बजारमा नयाँ लगानीकर्ताको लागी समय राम्रो रहेको छ ।

कुम्भ : छोटो दुरीको अफिसियल यात्राको योग रहेको छ । प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ  । नयाँ काम पाउने वा नोकरीमा बढुवा तथा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । निर्माण सामाग्री, खाद्यान्न, पहिरन तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्ध थप बलियो हुनेछ । प्रणय  सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । ऋण, रोग र शत्रुबाट छुटकारा पाइनेछ ।

मीन : समय राम्रो रहेकोले थोरै समयमा उपलब्धि मूलक कामहरू बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरू बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लागी हुनेछ । पढाइ लेखाइकै सन्दर्भमा लामो दुरीको यात्रा हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नोकरीमा पदोन्नति हुने योग रहेको छ । सन्तान तथा आफन्तको सहयोग पाउँदा मन प्रसन्न हुनेछ ।

तपाईँको आजको दिन शुभ रहोस् ।…

लालबन्दी, ५ जेठ । जिल्ला सुरक्षा समिति सर्लाहीको आयोजना तथा ईश्वरपुर नगरपालिकाको सहकार्यमा सर्लाही जिल्लाको बयलवासस्थित नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा विपद् पूर्वतयारी (आगलागि) सम्बन्धी कृत्रिम घटना अभ्यास (Simulation Exercise) कार्यक्रम सम्पन्न भएको छ । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

आगलागी नियन्त्रण, उद्धार तथा जोखिम न्यूनीकरण सम्बन्धी अभ्यासमार्फत सुरक्षा निकायहरूको समन्वयात्मक क्षमता प्रदर्शन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिको रूपमा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य सहभागी हुनुभएको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, नेपाली सेना कालिध्वज गण पाँचकुमारी ब्यारेकका प्रमुख सेनानी उमेश खड्का, सशस्त्र प्रहरी बल नं. १० गण सर्लाहीका गणपति लगायत सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

अभ्यासका क्रममा ग्यास सिलिण्डर लिक हुँदा अपनाउनुपर्ने सुरक्षा उपाय, फायर एक्स्टिङ्गुइसर प्रयोग गर्ने तरिका तथा आगलागी नियन्त्रणका विभिन्न विधिबारे प्रदर्शन गरिएको थियो । साथै कृत्रिम बस्ती निर्माण गरी विद्युत् सर्ट भई आगलागी भएको अवस्थाको संयुक्त उद्धार तथा नियन्त्रण अभ्यास पनि गरिएको थियो । कार्यक्रमको अन्तिम चरणमा सशस्त्र प्रहरी बलद्वारा लागूऔषध दुव्र्यसन विरुद्ध जनचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरिएको थियो ।

उक्त नाटकमार्फत लागूऔषधको दुष्प्रभाव तथा युवापुस्तालाई कुलतबाट जोगाउन आवश्यक सचेतनाका सन्देश प्रवाह गरिएको थियो ।

सम्बन्धित भिडियो !

लालबन्दी, ३१ बैशाख । स्थानान्तरणका लागी १५ दिने म्याद सहितको सुचना जारी भएपछि सर्लाहीको लालबन्दी १६ भोर्लेनीका सुकुम्बासीहरु त्रसित देखिएका छन । उनिहरुले आफुहरुको अन्यत्र कुनै उपाए नभएको र अहिले बसिरहेको ठाउँबाट पनि उठ्न भनेपछि सहाराबिहिन महसुस भएको प्रतिकृया दिएका छन ।

भोर्लेनीस्थित श्री शिद्धेश्वर नाथ मन्दिरको पूर्व पोखरीको डिलमाथी रानिगञ्ज परवानीपुर सडक किनारामै एउटा सानो बस्ति छ । त्यहाँ करिव ३९ घर रहेको सोहि बस्तिका शंखर विश्वकर्माले बताए । ज्याला मजदुरी गरेरै गुजारा चलाउने दलित र जनजातीको बसोबास रहेको सो क्षेत्रलाई सागरनाथ वन विकास परियोजनाले आफ्नो भुमि अतिक्रमण भएको बताउँदै आएको छ ।

सागरनाथ वन विकास परियोजनाले १५ दिने सुचना जारी गरेपछि त्रसित भएका सुकुम्बासिहरुले आज बिहिबार स्थानीय बुद्धिजिविलाई लिएर परियोजनाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन । परियोजना प्रमुख खेमलाल विश्वकर्मालाई भेटेर सुकुम्बासिहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन । परियोजनाले बैशाख २२ गते बस्ति खाली गर्ने सुचना जारी गरेको छ ।

उनिहरु आजै लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीलाई पनि ध्यानाकर्षण पत्र बुझाए । स्थानीय कृष्ण गौतम, विष्णु दर्जि, सरोज खड्का, सोनम वाईबासहित सागरनाथ वन परियोजना र नगरपालिका पुगेका उनिहरुले आफुहरुले राज्यले प्रदान गर्दै आएको बिजुली र खानेपानीको उपभोग तथा मताधिकारसमेत सोहि स्थानबाट गर्दै आएको र हाललाई बैकल्पिक ब्यवस्था नभएसम्म घर टहरा नहटाउन र आफुहरुको जिउ धनको सुरक्षा गर्न माग गरेका छन ।

नगरप्रमुख अधिकारीले ध्यानाकर्षण पत्र बुझ्दै आजै बसेको कार्यपालिकामा छलफल बगाडी बढाउने प्रतिबद्धता जनाएका थिए । कार्यपालिका बैठक पनि बिहिबार दिउँसो ३ः३० पछि बसेको थियो ।

लालबन्दी २६ बैशाख । सर्लाहीका ६ स्थानीय तहले आइतबारदेखि शुक्रबारसम्म विद्यालय र स्वास्थ्य संस्थाहरू नियमित सञ्चालन गर्ने निर्णय गरेका छन्।

हरिवन नगरपालिकामा सम्पन्न नगर प्रमुखहरूको संयुक्त बैठकले शिक्षा, स्वास्थ्य सेवा तथा सार्वजनिक जग्गा व्यवस्थापनलगायत विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो।

हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको अध्यक्षतामा बसेको बैठकमा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य, बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कटुवाल, लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी, हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पञ्जियार तथा बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्णकुमार लामाको सहभागिता रहेको थियो।

बैठकमा शिक्षा संस्था सञ्चालन, स्वास्थ्य संस्था सञ्चालन तथा सरकारी एवं सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।

लिखित निर्णयमा सार्वजनिक बिदाका कारण विद्यालयको पठनपाठन र स्वास्थ्य सेवा प्रभावित भएको उल्लेख गर्दै नेपाल सरकारसँग सार्वजनिक बिदा सम्बन्धी निर्णय पुनरावलोकन गर्न आग्रह गरिएको छ।

यद्यपि लिखित निर्णयभन्दा अघि नै सहभागी पालिकाहरूले भोलि आइतबारदेखि विद्यालय तथा स्वास्थ्य संस्थाहरू विगतझैं नियमित रूपमा सञ्चालन गर्ने सहमति गरेका छन्।

त्यसअनुसार सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछन् भने स्वास्थ्य संस्थाहरूले पनि नियमित सेवा दिनेछन्।

बैठकले मधेश प्रदेशभर विद्यालय र स्वास्थ्य संस्था सञ्चालनको समय तथा व्यवस्थापनमा एकरूपता कायम गर्न प्रदेश सरकारसँग समन्वय, सहकार्य र आवश्यक सहजीकरणको माग समेत गरेको छ।

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धी विषयमा पनि छलफल गर्दै भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको पहिचान र उचित व्यवस्थापनपछि मात्र आवश्यक प्रक्रिया अघि बढाउन नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको बैठकमा सहभागीहरूले बताएका छन्।

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।