हरिपुर । जय नेपाल पार्टीको प्रथम जिल्ला कार्यकर्ता भेला सर्लाहीको हरिपुरमा सम्पन्न भएको छ । पार्टीका केन्द्रिय अध्यक्ष धवलशमशेर राणाको उपस्थितीमा भेला सम्पन्न भएको हो ।

हरिपुरको प्रेमलता पार्टी प्यालेसको सभाहलमा भएको कार्यक्रममा केन्द्रिय अध्यक्षसहितका नेताहरुले सम्बोधन गरेका थिए । पार्टी नेतृ अञ्जु थपलियाको संयोजकत्वमा भएको कार्यक्रममा जिल्लाभरका नेता/कार्यकर्ता सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले राजासहितको हिन्दु राष्ट्र निर्माणका निम्ति पार्टीले भुमिका खेल्नुपर्ने बताएका थिए ।

केन्द्रिय अध्यक्ष राणाले अहिलेसम्म धेरै पार्टीले राजसंस्था र हिन्दु राष्ट्रको नारा लिएर जनतालाई झुक्याएको बताएका थिए । राणाले यहि नारा लिएर आउने स्थानीय चुनावमा लड्न आफ्ना कार्यकर्तालाई आग्रह गरे । आफुले जय नेपाल पार्टी र यसको नितिलाई अन्य पार्टीको भन्दा फरक र जनताले महसुस गर्न सक्ने गरि निर्माण गर्ने बताए ।

त्यसैगरि राणाले विदेशिको नाममा काठमाण्डौँमा गाईको मासु बिफ भन्दै बिक्रि वितरण भईरहेको भन्दै त्यसविरुद्ध आन्दोलनको तयारी भईरहेको बताए । उनले गाई हाम्रो माता र राष्ट्रिय जनावर भएकोले गौ हत्या हुन नदिने बताए ।

कार्यक्रममा लालबन्दीकी ब्युटिपार्लर ब्यवसायी ईन्दिरा खड्कासहितका ब्यक्तिहरुलाई केन्द्रिय अध्यक्ष राणाले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममार्फत गोपाल प्रसाद ढकालको नेतृत्वमा २१ सदस्यिय जिल्ला तदर्थ कमिटि गठन गरिएको नेतृ अञ्जु थपलियाले जानकारी दिईन ।










