जिल्ला समन्वय समिति बाराले निजगढका क्रसर उद्योगहरू तत्कालका लागि बन्द गर्न स्थानीय तह निजगढ नगरपालिकालाई निर्देशन दिएको छ।
निजगढ, कोल्हवी भएर बग्ने बकैया र धन्सार खोलामा जुनसुकै ढङ्गले भइरहेको उत्खनन, सङ्कलन कार्यलाई तत्कालै बन्द गर्ने निर्णय गरी उक्त निर्देशन दिएको जनाइएको छ। अनुगमनका क्रममा ठेक्का नलागेका खोलाबगरहरूमा समेत जथाभावी नदीजन्य पदार्थको उत्खनन, दोहन भइरहेको पाइएकोले सो निर्देशन दिएको जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिंहले बताएका छन्।
खोलामा मानिसले समेत ८/१० फिटभन्दा गहिरो खाडल खन्दै नदीजन्य पदार्थ झिक्ने गरेको पाइएपछि सो कार्य तत्कालै बन्द गर्न सम्बन्धित नगरपालिकालाई निर्देशन दिएका हौं, उनले भने। निजगढमा रहेका क्रसर उद्योगहरूका नदीजन्य पदार्थ रोडा, गिट्टी, बालुवाको मौज्दाद, सङ्कलन प्रक्रियासहित आवश्यक कागजात जिल्ला समन्वय समितिमा पेश गर्न स्थानीय तह निजगढ नगरपालिकालाई जानकारी दिइसकेको र सो सम्बन्धमा अर्को निर्णय नहुन्जेलसम्मका लागि क्रसर उद्योगहरू बन्द गर्न निर्देशन दिएको संयोजक सिंहले जानकारी दिएका छन्।
यसअघि वनक्षेत्र, आरक्ष, निकुञ्जदेखि २ किलोमिटरभित्र पर्ने, स्थानीय सुरक्षा निकाय, शैक्षिक संस्थादेखि १ किलोमिटरभित्र रहेका क्रसरलाई तीन वर्षभित्र बन्द वा स्थानान्तरण गर्नुपर्ने २०६७ चैत ६ गते सर्वोच्च अदालतद्वारा गठित अनुमगन समितिले मापदण्ड निर्धारण गरेको थियो। म्याद सकिए पनि करीब ३ वर्ष म्याद थप्दै क्रसर उद्योग चल्दै आइरहेको र पछिल्लोपटक म्याद थप नहुँदा पनि क्रसर उद्योग निर्बाध चल्दै आइरहेका छन्।
क्रसर उद्योग वर्षौंदेखि नवीकरण नभए पनि आन्तरिक राजस्व कार्यालयले राजस्व बुझ्ने, विद्युत् सेवा उपलब्ध गराइरहने जस्ता उद्योगका लागि आवश्यक सेवा कटौती नगर्ने, उद्योग सञ्चालन गर्न विकल्प पनि नदिने अनि नवीकरण पनि नगर्ने दोहोरो नीतिका कारण बेला बेलामा क्रसर उद्योगको नाम जोडेर सरकारप्रति स्थानीय नागरिकले आपत्ति प्रकट गर्ने गरेका छन्। त्यस बेला हामीले सबै प्रक्रिया पूरा गरी इजाजत लिई उद्योग चलाएका हौं। जसबाट सरकारलाई राजस्व बुझाइरहेका छौं क्रसर सञ्चालकहरू भन्छन्। त्यसपछि सरकारले मापदण्ड निर्धारण गर्यो। हामी यस अघि वा पछि जहिल्यै पनि उद्योग स्थानान्तरण गर्न तयार छौं।
तर त्यसका लागि सरकारले सडक, विद्युत्, खानीलगायतका उचित व्यवस्थापनसहितको स्थान उपलब्ध गराउन देशभरका क्रसर व्यवसायीहरूले माग गर्दै आइरहे पनि अहिलेसम्म उपलब्ध गराइएको छैन क्रसर सञ्चालकहरूको भनाइ छ। अहिले स्थानीय तहका सरकारलाई समेत हामीले उचित स्थान उपलब्ध गराउन निवेदन दिइसकेका छौं निजगढका क्रसर व्यवसायीहरूले भने।
यता निजगढ नगरपालिकाले औद्योगिक ग्रामको स्थान निश्चित गरी सो उद्योगहरूलाई सार्ने जनाउँदै आएको छ।
ऊर्जामन्त्री वर्षमान पुनले सरकारी निवास र गाडी छाडेर आफ्नै निवास फर्किएका छन् । आज मन्त्री पुनले प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णयमा असहमति जनाउँदै राजीनामा दिएका थिए ।
लगत्तै उनले मन्त्रीका रुपमा चढिरहेको सरकारी गाडी र बस्दै आएको सरकारी निवास छाडेका हुन् । आइतबार पुनसहित सात मन्त्रीले सामूहिक राजीनामा दिएका थिए ।
शीतलहर, हिमपात तथा चिसोको जोखिम र प्रभाव न्यूनीकरण गर्न केन्द्रीय विपद् व्यवस्थापन समितिले यस वर्ष जिल्लामा तत्कालका लागि रु पाँचदेखि रु १५ लाखसम्म राहत रकम उपलब्ध गराउने भएको छ ।
माग भएमा प्रभावित जिल्लाअनुसार उक्त रकम उपलब्ध हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तराईका र बढी प्रभावित ११ जिल्लास्थित विपद् व्यवस्थापन कोषमा रु १५ लाखसम्म उपलब्ध गराइनेछ । त्यसरी रकम प्राप्त गर्ने जिल्लामा बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सुनसरी, सप्तरी, सिरहा, नवलपरासी र कपिलवस्तु रहेका छन् ।
बाँकी तराईका अन्य जिल्ला र भित्री मधेशका ११ जिल्लामा रु १० लाखका दरले रकम उपलब्ध हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार २१ हिमाली जिल्लाका लागि रु सात लाख र बाँकी ३४ पहाडी जिल्लाका लागि रु पाँच लाखका दरले रकम उपलब्ध गराइने उनले जानकारी दिनुभयो ।
नेपालमा शनिबार थप ७१० जनामा कोरोना देखिएको छ । देशका बिभिन्न ८० प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ७१० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालका कोरोनाका कारण १७ सय ७७ जनाको मृत्यु भएको छ ।
नेपालमा थप ११७५ जना कोरोनमुक्त हुदा नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ । नेपालमा हाल ८ हजार ८४० जना आइशोलेशनमा छन् भने ४२१ जना क्वारेन्टाइनमा छन् ।
हालसम्म १८ लाख ६६ हजार २१० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा बम बिस्फोटका कारण १५ बालबालिकाको मृत्यु भएको छ र २० जना घाइते भएका छन् ।
गिलान जिल्लामा भएको यस बिस्फोट कारण अझै स्पष्ट हुन नसकेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।प्रहरी प्रवक्ता अहमद खानले यस आक्रमणको आरोप तालिवानमाथि लगाएका छन् । स्थानीयका अनुसार बालबालिकाहरुले फुटपाथ व्यापारीलाई एउटा सामग्रीको टुक्रा बेच्न खोज्दा त्यो बिस्फोट भएको थियो । तालिवानी मिलिसियाहरुले यस बिस्फोट दुर्घटनावस् भएको दाबी गरेका छन् । दिउँसो १ बजेको समयमा गाउँको एउटा घर नजिक यो बिस्फोट भएको अधिकारीहरुले जनाएका छन्, त्यस घरमा त्यतिबेला कुुरान वाचन भइरहेको थियो । एशोसियट प्रेससँगको कुराकानीमा गजनीका प्रान्तीय गर्भनरका प्रवक्ता वाहीदुल्लाह जुमाजादाले बताएअनुसार मोटररिक्सा चलाइरहेका एक व्यक्ति गाउँमा प्रवेश गरेसँगै उनको वरपर बच्चाहरु झुम्मिएका थिए, त्यही समय बिस्फोट भयो ।
मृतकको संख्या अझै बढ्न सक्ने उनले जनाएका छन् ।सरकार र तालिवानबीच वार्ता सुरु भइसकेपनि अफगास्तिानमा हिंसा कम भएको छैन ।
बाराको निजगढमा ज्येष्ठ नागरिक तथा अपङ्गगता भएका ब्यक्तिहरुलाई न्यानो सिरक डस्ना वितरण गरिएको छ । निजगढ नगरपालीकाको वडा नम्बर ४ को कार्यालयले केहि दिन देखि बढेको चिसोलाई मध्यनजर गर्दै सिरक डस्ना बितरण गरेको वडाध्यक्ष जयराम कुँवरले जानकारि दिए ।
वडाले ३५ जना ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो ओढ्ने ओछ्याउने बितरण गरिएको छ । तराईको जाडोले हरेक बर्ष बिपन्न, ज्येष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिहरु प्रभावित हुने गर्छन ।
कार्यालयले गएको बर्षमा पनी ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा बितरण गरेको थियो ।
रौतहटको कटहरियामा आज शनिवार वडा कार्यालयले बाल पोषण भत्ता वापतको रकम बितरण गरेको छ । नगरपालीकाको वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल प्रसाद गुप्ताको उपस्थितीमा वडाका क्षेत्र तोकिएको बालवालीकालाई बालपोषण भत्ता वितरण गरिएको हो ।

कटहरिया गाउँ स्थित एक स्थानियको घरको प्रांगणबाट पोषण भत्ता बितरण गरिएको वडाको सचिव सहयोगी नबिन यादवले जानकारि दिए । नेपाल सरकारले बालबालीकालाई बर्षको ३ पटक मासिक ४०० रुपैँयाका दरले चौमासिक १,६०० प्रदान गर्ने गर्दछ । सो वडामा पोषण भत्ता लिने बालवालीकाको संख्या दलित ७४ सहित ५९७ रहेको छ ।
आर्थिक बर्ष २०७७/७८ को पहिलो चौमासिक अन्तर्गत ९ लाख ५३ हजार छ सय रुपैँया बितरण गरिने वडा सचिव बच्चेलाल साहले बताए ।

- खड्ग प्रसाद उप्रेती/निजगढ ।
बाराको कलैयामा शुक्रवार शाहि युवा शक्ति नेपालको जिल्ला कार्यसमिती गठन भएको छ । शाहि युवा शक्ति नेपालका केन्द्रिय सचिव उमेश महतो, केन्द्रिय सदस्य बर्षा आचार्य रेग्मि र केशभेस कुमार श्रेष्ठको बिशेष उपस्थितीमा जिल्ला कमिटि गठन गरिएको हो ।
कलैयाका मोतीलाल प्रसादको संयोजकत्वमा ३ सदसिय सल्लाहकार समिती सहित २२ सदसिय नयाँ कार्यसमिती गठन गरिएको छ । नवगठिन समितीको बरिष्ठ उपाध्यक्षमा मोनिका श्रेष्ठ र शुसान्त थपलिया, सचिवमा राजेश्वर प्रसाद साह सहित २२ सदस्य छन । कमिटिको प्रवक्ताको रुपमा सुजन कुमार तिमल्सिना चुनिएका छन । कार्यक्रममा बोल्दै प्रवक्ता तिमल्सिनाले अहिलेको ब्यवस्थाले बाहिरी हस्तक्षेप बढेको र नेतृत्वको लम्पसारवादका कारण धार्मिक सद्भाव, भौगोलीक अखण्डता र नेपालीको अस्तित्व माथी नै खतरा बढेको बताए ।
१५ बर्षसम्म जनताले गणतन्त्रलाई पर्ख र हेरको अवस्थाबाट नियालीरहेको र नेतृत्वबाट जनभावना अनुरुपमको काम हुन नसकेकाले सिंगो देशले राजसंस्था र हिन्दु राज्य चाहेको अवस्थामा जनअपेक्षा अनुसार संगठित हुँदै जनभावनाको सम्वोधन गर्न शाहि युवा शक्ति नेपालको बारा जिल्ला कमिटी गठन भएको प्रबक्ता तिमल्सिनाको भनाई छ ।
गणतान्त्रिक ब्यवस्था पुर्ण रुपमा असफल भईसकेको अवस्थामा अव पनी गणतन्त्र मान्नु भनेको मरेको लास उठ्छ भनेर पर्खिनु जस्तै भएकोले मरिसकेको गणतन्त्रको मलामि जानुको बिकल्प नरहेको उनको जिकरि थियो ।
सर्वोच्च अदालतकाे बार एशोसिएसनमा नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन हुँदैछ । नेतृत्वका लागि अविधक्ताद्वय रविनारायण खनाल र पूर्णमानव शाक्य चुनावी मैदानमा उत्रिएका छन् ।
प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनालले गर्दै छन् भने बृहत् लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाति) पेशागत कानुन व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमानव शाक्यले गरिरहेका छन् ।
निर्वाचनमा मतदान बिहान ८ बजे सुरू भएर दिउँसाे २ बजेसम्म जारी रहने जनाइएकाे छ । सर्वोच्चकाे बारका सदस्यहरू कुल ६०५ जना कानुनी व्यवसायीले नेतृत्वका लागि मतदान गर्नेछन् । मतदानका क्रममा कुनै मतदाता काेराेना संक्रमित भएमा लाइन नबसीकन सीधै मतदान गर्ने व्यवस्था गरिएकाे छ ।
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ ।त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विहेसम्ममा सहभागी हुन्छन् ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।
रङ्गभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।
रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।
पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।
उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत छ । यस वर्ष भने कोरोना महामारीका कारण जनकपुरधाममा गरिने विवाह महोत्सव कार्यक्रमसमेत संक्षिप्त विधिबाट भौतिक दूरी कायम गरी मनाइने जनाइएको छ ।