काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने भ्रमणको सिलसिलामा काठमाडौँ आएका छन्।

पाँच सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छिन् । आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनीहरूलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसी र उनकी धर्मपत्नीले स्वागत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
भ्रमणका क्रममा सेनाध्यक्ष सेठलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ ।
सन् १९५० देखि नै दुई देशका सेनाबिच मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन छ ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले समेत भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन् । गत मङ्सिर २७ गते नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहबिच भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई उक्त मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्। .
दुवै देशका प्रधानसेनापति नियुक्त भएपछि एक अर्काको देशमा भ्रमण गर्ने चलन पनि रहिआएको छ। मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ।











