२०८३ आश्विन १६ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन १६ शुक्रबार

लालबन्दी, १६ चैत । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा सर्लाहीमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम मलंगवास्थित कार्यालयमा शुभकामना आदान प्रदानसँगै अन्तरक्रिया गरिएको महासंघकी उपाध्यक्ष बन्दना झाले बताईन ।

महासंघ जिल्ला शाखा सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका केहि बाहेकका पत्रकारहरु उपस्थित भएका थिए । कार्यक्रममा जिल्लाका पूर्व अध्यक्षहरु तथा कविलासि नगरपालिकाकी उपप्रमुख पुनम कर्णको समेत उपस्थिती रहेको थियो ।

दिवसकै अवसर पारेर मलंगवामा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको कार्यालय स्थापना गरिएको हो । मलंगवास्थित जिल्ला समन्वय समिति (साबिकको जिविस) भवनमा कार्यालय स्थापना गरिएको जिल्ला अध्यक्ष ठाकुरले बताए । भवनको एउटा कोठा महासंघलाई प्राप्त भएपछि त्यसैलाई कार्यालय बनाईएको हो ।

कार्यालय स्थापना भएसँगै जिल्लाका पत्रकारलाई छलफल, बैठक, पत्रकार सम्मेलन तथा अन्य कार्यक्रम गर्ने ठाउँको प्रवन्ध मिलेको भन्दै कार्यक्रमका वक्ताहरुले खुसि ब्यक्त गरेका थिए । सो कार्यालयको आज नै प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालगायतले निरीक्षण गर्दै शुभकामना समेत व्यक्त गरेका थिए ।

यस अघि पत्रकार महासंघ सर्लाहीको आफ्नो ब्यवस्थित कार्यालय नहुँदा काम कारवाहिमा समेत असर पर्दै आएको थियो । मलंगवामै महासंघले पाएको एउटा भवन अत्यन्तै जिर्ण हुँदा कार्यालय संचालन गर्न कठिन भएको छ भने लालबन्दी १ स्थित नवलपुरमा महासंघ भवन निर्माणकै चरणमा केहि समस्या भएपछि निर्माण कार्य रोकिएको छ ।

काठमाडौं, १६ चैत । आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण सुरु गरिएको छ ।

काठमाडौं महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा आज अस्पतालमा आयोजित कार्यक्रममा महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण सुरु गरिएको हो ।

क्यान्सर परीक्षण आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ । परीक्षण शुभारम्भमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले क्यान्सर रोग समयमा पत्ता लगाउन सके जीवन बाँच्न सक्ने बताइन् ।

“जाँच गरेर समयमा क्यान्सर पहिचान गर्न सकियो भने उपचार सरल र कम खर्चिलो हुन्छ । जीवन बचाउन सकिन्छ”, उनले भनिन् । सोही क्रममा उनले आफ्नो पनि क्यान्सर परीक्षण गराइन् ।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले यसअघि समयमा क्यान्सर पहिचान गर्न नसक्दा यो डरलाग्दो बनेको उल्लेख गरे ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिलिप शर्माले महिलाले पटकपटक क्यान्सर परीक्षण गर्नुपर्ने र क्यान्सर लाग्दैमा डराउनु नपर्ने बताए ।

महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक केसीले देशभरिका जोसुकै महिलाले अस्पतालमा गएर क्यान्सर परीक्षण गराउन सक्ने बताए । उनका अनुसार क्यान्सर परीक्षणका लागि महानगरका ३२ वटा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट प्रेषण (रिफर) पुर्जी लिएर अस्पतालमा गएर क्यान्सर परीक्षण गराउन सकिनेछ । महिलाको क्यान्सर परीक्षणका लागि महानगरले अस्पताललाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

लालबन्दी, १५ चैत । सर्लाहीको लालबन्दी ९ मा रहेको जनज्योती माविका विद्यार्थीहरुले नगरपालिकासँग क्षतिपुर्तिको माग गरेका छन । विद्यालयको कृषि संकायमा अध्ययनरत विद्यार्थीहरुले आफुहरुको ४ वर्ष बिना सिकाई खेर गएको भन्दै क्षतिपुर्ति उपलब्ध गराईदिन माग गरेका हुन ।

विद्यार्थीहरुले लालबन्दी नगरपालिकाको शिक्षा शाखालाई निवेदन लेख्दै आफुहरुले करिकुलम अनुसारको सिप सिक्न नपाएको, थेउरी मात्रै पढाउँदा प्रयोगात्मक सिप विकाश नभएको भन्दै उचित क्षतिपुर्तिको माग गरेका हुन । १८ जना विद्यार्थीको हस्ताक्षरसहित शिक्षा शाखा प्रमुख लक्ष्मी सिवाकोटिलाई बुझाईको निवेदनमा सतिष यादव सरले आफुहरुको भविष्यसँग खेलबाड गरेको आरोप लगाईएको छ ।

विद्यार्थीले शिक्षा शाखा प्रमुख सिवाकोटिसँग सरसँग पटक पटक यो विषयमा कुरा राख्दा फेल गराईदिन्छु भनेर धम्क्याउने गरेको गुनासो गरेका थिए । उनिहरुले निवेदनमार्फत सतिष सरलाई आफुहरुको भविष्य अध्यारो बनाउने अधिकार कस्ले दिएको भन्दै उचित छानबिन गरि न्याय दिन अनुरोध गरेका छन ।

जनज्योती माविमा बिहानीको प्रार्थना हुँदै गर्दा लिईएको ड्रोन फोटो

विद्यार्थीहरुको निवेदन पाएपछि शिक्षा शाखाले पनि ३ दिन भित्र छानबिन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । विद्यालयका प्रधानाध्यापक विष्णु बहादुर पोखरेलको नाममा पत्र लेख्दै शाखाले ३ दिन भित्र आवश्यक छानविन गरि प्रतिवेदन पेश गर्न भनिएको शिक्षा शाखा प्रमुख सिवाकोटीले जानकारी दिईन । पत्रको बोधार्थमा वडा ९ को कार्यालयलाई राखिएको छ ।

यो विषयमा बुझ्दा वडाध्यक्ष नारायण अधिकारीले वडामा पत्र आएको खबर आफुलाई सचिवले गराएको तर विषय बुझ्न नपाएको प्रतिकृया दिए । यस अघि विद्यालयमा त्यस्तो कुनै समस्या रहेको बारेमा आफुलाई थाहा नभएको समेत वडाध्यक्ष अधिकारीले बताए ।

विद्यार्थीद्वारा आरोपित शिक्षक सतिष कुमार यादवसँग बुझ्दा आफु र विद्यार्थीबिच कुनै समस्या नरहेको बताए । उनले आफुले एकदम ईमान्दारीताका साथ पढाएको, प्रयोगात्मक कक्षा पनि गराएको र कोर्ष पनि पुरा भएको प्रतिकृया दिए । उनले आफ्नो बारेमा अन्य शिक्षक र कक्षा ११ का विद्यार्थीसँग बुझ्न आग्रह गर्दै १२ का केहि पढाईमा ध्यान नदिने विद्यार्थीहरुले उक्साएर नगरपालिकामा निवेदन दिएको हुनसक्ने आशंका गरे ।

विद्यार्थीहरुको गुनासोका सम्बन्धमा प्रधानाध्यापक पोखरेलसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

पर्सा, १४ चैत । पेट्रोलियम पदार्थ भित्रिने देशको मुख्य नाका वीरगन्जबाट खाना पकाउने एलपी ग्यास र मट्टीतेलको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गएको आर्थिक वर्षको साउनदेखि फागुनसम्मको ८ महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो ८ महिनामा ग्यास र मट्टीतेलको आयात घटेको हो ।

डिजेल, पेट्रोल र हवाई इन्धनको आयात भने सामान्य बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गएको वर्षको साउनदेखि फागुनसम्म २४ अर्ब ६ करोड रुपैयाँ बराबरको २१ करोड ४२ हजार ७ सय ८५ किलो एलपी ग्यास आयात भएकोमा चालू आर्थिक वर्षमा २० अर्ब ५४ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख किलो ग्यास आयात भएको छ ।

यसैबीच वीरगञ्ज भन्सार कार्यालय हुँदै पछिल्लो झन्डै डेढ महिनाको अवधिमा २ हजार १ सय ३६ वटा एलपी ग्यासका बुलेट भित्रिएका छन् ।  वीरगञ्ज नाका हुँदै फागुनमा मात्रै एक हजार ५६० वटा एलपी ग्यासका बुलेट भित्रिएका भन्सार कार्यालयले जनाएको छ ।

माघमा १ हजार ४ सय ३ वटा एलपी ग्यासका बुलेट भित्रिएका थिए । यस्तै गएको आर्थिक वर्षमा ६१ अर्ब ५१ करोड रुपैयाँ बराबरको ६ लाख ८६ हजार ५ सय ५१ किलोलिटर डिजेल आयात भएकोमा चालू वर्षमा ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको ७ लाख २ हजार ३ सय किलोलिटर डिजेल आयात भएको छ ।

गएको आर्थिक वर्षको पहिलो ८ महिनामा यो नाकाबाट २५ अर्ब ३० करोड रुपैयाँ बराबरको २ लाख ९० हजार किलोलिटर पेट्रोल आयात भएको थियो । चालू आर्थिक वर्षको यस अवधिमा २७ अर्ब ५५ करोड रुपैयाँ बराबरको ३ लाख २५ हजार किलोलिटर पेट्रोल आयात भएको छ ।  

काठमाडौं, १४ चैत । सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने भएको छ ।

सरकारले शासकीय सुधार गर्न तय गरेको १०० कार्यक्रम अन्तर्गत शैक्षिक गुणस्तरको गिरावट रोक्न दलीय संगठन हटाउने भएको हो । दलीय संगठनको सट्टा विद्यार्थी काउन्सिल राख्ने भएको छ ।

‘शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठनका संरचना हटाई ९० दिनभित्र विद्यार्थी काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने,’ सरकारले शासकीय सुधारका लागि भन्दै सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ ।

विश्वविद्यालयहरूबाट लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको क्यालेन्डर अनुसार निकाल्ने भनिएको छ ।

विद्यार्थीहरूलाई स्नातकसम्मको अध्ययन गर्न नागरिकता नचाहिने गरी विश्वविद्यालयहरूले आवश्यक कार्यविधिगत व्यवस्था तत्कालै गर्न निर्णय सरकारले गरेको छ ।

कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने भएको छ । ‘उनीहरूलाई मनोवैज्ञानिक असर र दवाव नपर्ने खालको मूल्याङ्कन प्रणालीबारे विकल्प तयार गर्ने,’ कार्यक्रममा भनिएको छ ।

क्षितिज विश्वकर्मा,
हरिवन, ०९ चैत ।

सर्लाहीको हरिवन नगरपालिका ४ मा रहेको हरिवन नगर अस्पतालमा आज सोमबारबाट आकस्मिक र अन्तरङ्ग सेवा संचालनमा आएको छ । एक कार्यक्रमका बिच हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल), उप–प्रमुख हरिमाया घलान, प्रमुख प्रशासकिय अधिकृत हेमराज फुयाँल, हरिवन नगरपालिकाका स्वास्थ शाखा प्रमुख रामबाबु चौधरी लगायतले स्वास्थ्य सम्बन्धी नारा लेखिएका प्लेकार्ड लिएर संयुक्त रुपमा इमर्जेन्सी सेवाको उद्घाटन गरेका हुन ।

आजबाट संचालनमा आएको आकस्मिक र अन्तरङ्ग सेवाले समग्र हरिवन नगरबासिमा खुसिको सञ्चार भएको हरिन गरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले बताए । २४ सै घन्टा आकस्मिक सेवा सन्चालनमा आएसँगै हरिवन नगर अस्पताल स्वास्थ्य सेवा मार्फत पुर्णतातर्फ लम्किएको हरिवन नगरपालिका स्वास्थ्य शाखाकी लक्ष्मी आचार्यले बताइन् । जनस्वास्थ्यलाई मध्यनजर गर्दै संचालनमा ल्याइएको इमर्जेन्सी सेवा सुभारम्भले जनस्वास्थ्य प्रती सकारात्मक पहलकदमी भएको सासापुर नगर अस्पतालका इन्चार्ज मोहन घिसिङ बताउँछन् । जनताको स्वास्थ्य अधिकारलाई सबैले सम्बोधन गर्नुपर्ने हरिवन नगरपालिकाकी उप–प्रमुख हरिमाया घलानको भनाइ थियो ।

स्वास्थ्य सम्बन्धी नारा लेखिएका प्लेकार्ड लिएर संयुक्त रुपमा इमर्जेन्सी सेवाको उद्घाटन । तस्बिर : पत्रकार भक्ति रिजाल

आगामी दिनमा हरिवन नगरबासीले कुनै पनि स्वास्थ्य समस्या लिएर बाहिर जानू नपर्ने गरि आफुहरुले काम थालेको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल)ले बताए । नगर प्रमुख बुढाथोकीले निशुल्क पाईने ९८ प्रकारका औषधिहरु अन्य पालिकामा भन्दा बढि आफुहरुसँग रहेकाले नगर अस्पतालमा सेवा लिन आउने सेवाग्राहिहरुको संख्या बढ्न सक्ने अनुमान गरे । उनले स्वास्थ्य सेवा जस्तो पुण्यको सेवामा कुनै कसर बाँकी नराखेर सेवाग्राहिहरुको सेवामा लाग्न चिकित्सहरुलाई अनुरोध गरेका थिए । अस्पतालको सेवा प्रवाहमा कुनै पनि किसिमको राजनिति नहुने बताउँदै नगरप्रमुख बुढाथोकीले ढुक्क भएर सेवा लिन र दिन सबै पक्षसँग अनुरोध गरेका थिए ।

नगरअस्पतालबाट एमडिजिपि, एमबिबिएस, ल्याव टेक्निसियन, रेडियोग्राफर, फार्मेसि, नर्सिङ, आयुर्वेदिक चिकित्सकले सेवा दिनेछन । बिहान ८ बजेबाट ओपिडी, ल्याव सेवा संचालन भईरहेको छ भने प्रसुति गराउन आउँदा र जाँदा निशुल्क एम्बुलेन्स संचालन भईरहेको छ । त्यसैगरि निशुल्क शव वाहनको ब्यवस्था पनि रहेको नगर स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए ।

अघिल्ला आर्थिक वर्षमा स्वास्थ्य सेवा सुचांकमा ३ पटक प्रदेश प्रथम भएको हरिवन नगरपालिकामा स्वास्थ्य सेवा प्रवाहमा कुनै कन्चुस्याईं नगरिएको स्थानिय पत्रकार प्रेमनाथ पौडेल बताउँछन । उनका अनुसार सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा उपचार गराउन आउनेको संख्या पनि उल्लेख्य रहेको र स्वास्थ्य सेवा पनि गुणस्तरिय रहेको छ ।

प्रेमचन्द्र झा/राैतहट
चैत्र ७ गते

श्रीराम चिनिमिल्स लामो समयदेखि बन्द अवस्थामा रहँदा पनि केवल एउटा उद्योगका रूपमा सीमित छैन; यो रौतहटका हजारौं उखु किसान, मजदुर, र स्थानीय साना–ठूला व्यवसायसँग प्रत्यक्ष जोडिएको आर्थिक तथा सामाजिक जीवनरेखा हो। उद्योग बन्द भएसँगै यसको प्रभाव केवल उत्पादनमा सीमित रहेन, बरु पूरै स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेको छ।

विगतका हरेक निर्वाचनमा चिनिमिल्स प्रमुख राजनीतिक एजेन्डा बनेको थियो। विभिन्न दल र नेताहरूले यसलाई पुनः सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि ती वाचा व्यवहारमा परिणत हुन सकेनन्। यसले जनतामा निराशा मात्र होइन, राजनीतिक प्रतिबद्धताप्रति अविश्वाससमेत बढाएको छ।हालको परिवेशमा रासपाले प्रचण्ड जनमत प्राप्त गरेपछि जनअपेक्षा पुनः चुलिएको छ। अब चिनिमिल्स सञ्चालनको विषय केवल चुनावी नारा नभई प्रत्यक्ष जिम्मेवारीका रूपमा हेरिएको छ।

उखु उत्पादक संघका अध्यक्ष अशोक यादवसहितका किसानहरूले यथाशीघ्र मिल सञ्चालन गर्न माग गरेका छन्। उनीहरूका अनुसार मिल बन्द हुँदा सबैभन्दा ठूलो असर किसानहरूमा परेको छ, जहाँ उत्पादनले बजार नपाउने, उचित मूल्य नपाउने र आर्थिक संकट गहिरिँदै जाने समस्या देखिएको छ। मजदुरहरू बेरोजगारीको चपेटामा परेका छन् भने स्थानीय व्यापार–व्यवसाय पनि प्रभावित बनेका छन्।

विश्लेषकहरूका अनुसार, उद्योग सञ्चालनमा आएमा हजारौं किसानको उत्पादनले बजार पाउने, रोजगारी सिर्जना हुने र रौतहटको समग्र आर्थिक गतिविधि पुनर्जीवित हुने अपेक्षा गरिएको छ। तर यसको कार्यान्वयनका लागि पुराना उपकरणहरूको मर्मत, लगानीको सुनिश्चितता, प्रशासनिक पारदर्शिता र किसानसँग दीर्घकालीन समन्वय आवश्यक देखिन्छ।
स्थानीय बासिन्दा र सरोकारवालाहरूले अब केवल आश्वासन होइन, ठोस परिणाम चाहिएको बताएका छन्। लामो समयदेखि धैर्य गर्दै आएका जनता फेरि पनि झूटो वाचा सहन तयार छैनन् भन्ने स्पष्ट सन्देश दिएका छन्।

यस अवस्थामा श्रीराम चिनिमिल्सको पुनः सञ्चालन केवल आर्थिक विषय नभई जनविश्वाससँग जोडिएको मुद्दा बनेको छ। यदि यसपटक पनि वाचा पूरा हुन सकेन भने त्यसले जनताको लोकतान्त्रिक विश्वासमै गहिरो असर पार्न सक्ने देखिन्छ।

सर्लाही, ०७ चैत । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् ।

आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक दान गरेर दीन दुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको वचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीन दुःखी एवम् गरीबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ । इद उल फित्रमा हरेक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा त्यो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ ।

यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीन दुःखी र गरीबलाई नै दिइन्छ । आजभन्दा एक महिना अघिदेखि मुस्लिम समुदायको एक महिना लामो ब्रत (रोजा) शुरु भएको थियो ।

यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाइ साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । 

लालबन्दी, ३ चैत ।
तेस्रो लालबन्दी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । उद्योग वाणिज्य संघको आयोजना र औद्योगीक शान्ति नेपालको ब्यवस्थापनमा तेस्रो पटक लालबन्दीमा महोत्सव लाग्दैछ ।

महोत्सवको बुधबार बिहान मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले उद्घाटन गर्नुहुनेछ । महोत्सव १५ गतेसम्म लाग्ने छ । बिहिबारबाट कलाकारहरुले प्रस्तुति दिनेछन । ७ गतेबाट महोत्सवमा नृत्य प्रतियोगीता समेत संचालन हुँदैछ । महोत्सवमा एक लाख २० हजार दर्शक तान्ने योजना उद्योग वाणिज्य संघले बनाएको छ ।

‘आर्थिक समृद्धि र स्वरोजगारको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नारासहित संघले तेस्रो पटक महोत्सव लगाउन लागेको हो । यसपाली पनि पोहोरकै ठाउँ अर्थात लालबन्दी नगरपालिका–९, बस्तीपुरमा रहेको भूदेव खाद्य उद्योग परिसरमा महोत्सव लाग्दैछ । महोत्सवमार्फत स्थानीय उत्पादन तथा सेवाको बजारीकरण, आन्तरिक तथा बाह्य लगानी प्रवद्र्धन, रोजगारीका अवसरहरुको सिर्जना, उद्यमशीलताको विकास तथा स्थानीय कला–संस्कृति, परम्परा र पहिचानको संरक्षण एवं प्रवद्र्धनमा योगदान पुग्ने आयोजकले विश्वास लिएको छ ।

महोत्सवमा कृषि उत्पादन प्रदर्शनी, औद्योगिक तथा व्यवसायिक स्टल, अटोमोबाइल प्रदर्शनी, घरेलु तथा हस्ताकला प्रदर्शनी, होटल तथा रेस्टुरेन्ट सेवा, स्थानीय पर्यटकीय स्थलको प्रचार, होमस्टे अवधारणा प्रवद्र्धन, राष्ट्रियस्तरका कलाकारबाट प्रत्येक दिन साँस्कृतिक कार्यक्रम रहने छ । महोत्सवस्थलमा सर्वसाधारणका लागि १०० रुपियाँ र विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा ५० रुपियाँ प्रवेश शुल्क तोकिएको छ । महोत्सवमा करिव १० करोड रुपैयाँ बराबर आर्थिक कारोबार हुने अनुमान गरिएको व्यवस्थापन समितिका संयोजक बलम्पाकीले बताउनुभयो ।

यसपाली लण्डन ब्रिज लगाएतका थप मनोरञ्जनका समाग्रीबाट मनोरञ्जन लिन सकिनेछ । केहिले सामाजिक संजालमार्फत लण्डन ब्रिजको सट्टा स्थानीय गोलभेडा वा अन्य कुनै पर्यटकिय स्थल राख्नुपर्ने भनाई राखेका थिए भने विद्यार्थीसहित रास्वपाले विद्यार्थीको परिक्षा आईरहेकोले विद्यार्थीमैत्री भईदिन आग्रह गरेका थिए । तर महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेपछि हाललाई केहि गर्न नसकिने अवस्थामा उद्योग वाणिज्य संघ पुगेको थियो ।

सर्लाही, १ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।

दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजेल र मट्टितेलको मूल्य १५१ पुगेको छ ।

त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारि, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

निगमतले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ ।

‘यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवदेनशील छ ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।