२०८३ आश्विन १६ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन १६ शुक्रबार

लालबन्दी, १ चैत । जिल्ला प्रशासन कार्यालय सर्लाहीले ग्याँसको कृत्रिम अभाव र कालो बजारी गरे कारवाही गर्ने चेतावनी दिएको छ ।

आइतबार एक सूचना जारी गर्दै सहज र निर्वाधरुपमा एलपी. ग्याँस निर्धारित मूल्य र परिणाम अनुसार बिक्री वितरण गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको हो । मौखिक तथा सञ्चार माध्यमबाट सूचनाहरू प्राप्त भइरहेको भन्दै बजार अनुगमनको क्रममा त्यस्तो गरेको फेला परे उपभोक्ता संरक्षण ऐन, २०७५ र कालोबजार तथा केही अन्य समाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेद्वारा हस्ताक्षरित सूचनामा हल्लाको भरमा अत्यधिक मात्रामा ग्याँसको भण्डार नगर्न, नगराउन, ग्याँस हुदाँहुदै नभएको भनेर उपभोक्तालाई सास्ती हैरानीमा नपार्न र कालो बजारी नगर्न समेत चेतावनी दिइएको छ ।

लालबन्दी, १ चैत्र । सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पस लालबन्दीको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले लालबन्दी उद्योग वाणिज्य संघद्वारा आयोजना गर्न लागीएको “तेस्रो लालबन्दी महोत्सव २०८२” को समय व्यवस्थापनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आईतबार दिउँसो लालबन्दी नगरप्रमुख बासुदेव अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्ववियुले यो विषयलाई गम्भिरतापूर्वक लिन आग्रह गरेको छ । स्ववियु सभापति समिर सिंहले नगर प्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्रमा विद्यालय तथा क्याम्पसहरूमा वार्षिक परीक्षा तथा एसइई जस्ता महत्वपूर्ण परीक्षा सञ्चालन भइरहेका बेला महोत्सव आयोजना गर्नु विद्यार्थीहरूको शैक्षिक भविष्यप्रति असंवेदनशील निर्णय भएको उल्लेख गरिएको छ ।

पत्रमा परीक्षा अवधिमा हुने अत्यधिक ध्वनि प्रदूषण, भीडभाड तथा अव्यवस्थाले हजारौँ विद्यार्थीहरूको अध्ययन र परीक्षा वातावरणमा प्रत्यक्ष नकारात्मक प्रभाव पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । स्ववियुले विद्यार्थीहरूको भविष्यसँग खेलवाड हुने खालका गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ । स्ववियुले परीक्षा अवधिमा विद्यार्थीहरूलाई कुनै पनि प्रकारको समस्या नपर्ने गरी महोत्सवको समय व्यवस्थापन गर्न वा आवश्यक वैकल्पिक समाधान खोज्न लालबन्दी नगरपालिका र सम्बन्धित आयोजकलाई तत्काल पहल गर्न कडा रूपमा माग गरेको छ ।

यदी विषयलाई गम्भीरतापूर्वक लिएर चाँडो समाधान नगरिए विद्यार्थीहरूको हकहितका लागि विरोध कार्यक्रम तथा सम्बन्धित निकायको घेराउ गर्न बाध्य हुने चेतावनी समेत स्ववियुले दिएको छ । उक्त पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय मलंगवा, लालबन्दी उद्योग वाणिज्य संघ तथा इलाका प्रहरी कार्यालय लालबन्दीलाई समेत पठाइएको छ ।

यसै बिषयलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लालबन्दी नगर कमिटिले पनि मेयर अधिकारीको ध्यानाकर्षण गराएको छ । चैत्र ४ गतेबाट हुने लालबन्दी महोत्सवले एसईई परीक्षा लगायत विद्यार्थीहरुको परीक्षामा असर पार्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर समिति सभापति बालकृष्ण कार्कि लगाएतले मेयर अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन ।

रास्वपा लालबन्दी नगरसभापति कार्किले महोत्सवमा स्थानीय उत्पादन प्रवद्र्धन गर्नुपर्नेमा लण्डन ब्रिज बनाएर आयोजकले मनपरी गरेको भन्दै कडा शब्दमा बिरोध गर्दै आएका छन ।

लालबन्दी, १ चैत्र । उद्योग वाणिज्य संघ, लालबन्दीको आयोजनामा सञ्चालन हुन गइरहेको “तेस्रो लालबन्दी महोत्सव २०८२” को अवसरमा मधेश प्रदेशस्तरीय नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ । स्थानीय कला, संस्कृति तथा युवाहरूमा रहेको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

नृत्य प्रतियोगिता यहि चैत ४ गतेदेखि चैत १५ गतेसम्म लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित हुलास खाद्य उद्योगको मैदानमा सञ्चालन हुने महोत्सव परिसरमा आयोजना गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने सहभागीहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगीतामा प्रथम पुरस्कार १ लाख माथी, द्वितिय पुरस्कार ५० हजार र तृतीय पुरस्कार २५ हजार राशिको रहेको उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् तेस्रो लालबन्दी महोत्सवका संयोजक दिपेन्द्र बलम्पाकीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले यहि चैत ३ गतेभित्र उद्योग वाणिज्य संघ, लालबन्दीको कार्यालयबाट आवेदन फाराम प्राप्त गरी बुझाइसक्नुपर्ने आयोजकले जनाएको छ ।

आयोजकले प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण प्रतिभाशाली कलाकार तथा सरोकारवालाहरूमा अनुरोध समेत गरेको छ ।

लालबन्दी, ३० फागुन । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी १ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार बेलुका करिब ७ः३५ बजे विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प.०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र.२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर बस्दै आएका नागेन्द्र महतोका छोरा अन्दाजी ३४/३५ वर्षीय सुनिल महतो गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनापछि बस र बस चालक दाङ जिल्ला तुल्सीपुर नगरपालिका–९ बस्ने ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लालबन्दी, ३० फागुन । ए हजुर, यस्तो अपराध गर्ने पापीहरुलाई चैँ झुण्ड्याएर फाँसि दिन मिल्दैन ? केहि बेर अघि मात्रै प्रदर्शनमा सहभागी भएर आएकी एक महिलाले सोधिन् । प्रदर्शनको नेतृत्व गरेकाहरु एकछिन मौन बसे र बोले, यो सरकारले गर्नुपर्ने काम हो । त्यस्तो नियम त हाम्रो देशमा छैन होला !

बलात्कार पछि हत्या गरिएकी सुर्खेतकि इनिसा बिकको हत्यामा संलग्नहरुलाई हदैसम्मको कारवाहिको माग गर्दै दलित समुदायले शनिबार सर्लाहीको नवलपुरमा प्रदर्शन गरेका छन । उनिहरुले ‘बलात्कारीलाई फाँसि दे, हत्यारालाई फाँसि दे, अपराधिहरुलाई कारवाहि गर, महिला हिंसा अन्त्य गर, इनिसालाई न्याय दे, अपराधिलाई बचाउन पाईंदैन’ लगाएतका नारा लगाएका थिए ।

दलित नेता राजाराम पासवानको अगुवाईमा लालबन्दीका बिभिन्न भागबाट भेला भएका किशोरि, महिला तथा स्थानीयको बाक्लो उपस्थितीमा प्रदर्शन भएको थियो । इनिसाको न्यायका लागी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले नवलपुरस्थित प्रहरी चौकी अघिबाट पूर्व हुँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै पुगेर पुनः नवलपुर जाने रोडसम्म प्रदर्शन गरेका थिए ।

प्रदर्शन पश्चातको कोणसभालाई सम्बोधन गर्दै नेता पासवानले यो देशमा महिला, आमा दिदीबहिनीहरुले खुलेर बाँच्न पनि नसक्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताउनुभएको थियो । भर्खर जिन्दगी सुरु गर्दै गरेका किशोरी, बालिकाहरुको बलात्कारपछि विभत्स हत्या हुनु साह्रै दर्दनाक अवस्था भएको र अबका दिनमा यस्ता घट्नाहरु नहोस भन्नका लागी पनि प्रदर्शन गर्नुपरेको उहाँको भनाई थियो । क्रुर र अमानविय ढगंबाट हत्या गरिएकी बालिका इनिसाको आत्माको चिर शान्तिको कामना गर्दै नेता पासवानले दोषिलाई कडा कारवाहिको माग गर्नुभयो ।

इनिसाको हत्या आरोपमा सुर्खेत प्रहरीले उनका प्रेमीसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । न्याय नमिलेसम्म शव नबुझ्ने भन्दै परिवारले अडान लिएपछि मृतक इनिसाको शव प्रादेशिक अस्पताल सुर्खेतमा नै रहेको छ । वीभत्स ढंगले इनिसाको हत्या भएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनुसन्धान गरिरहेको छ ।

क्षितिज विश्वकर्मा, लालबन्दी ।
सर्लाहीको ईश्वरपुर नगरपालिका ८ मा एउटा कृषि फर्म छ । पोखरीसहितको त्यस फर्ममा लेयर्स कुखुरा छन । त्यस फर्मको नाम हो ‘ईश्वरपुर बहुद्देशिय कृषि तथा पशु फर्म’ । स्थानीय अजित कुमार झासहित ३ दाजुभाई मिलेर ७ वर्षअघिबाट संचालन गरेको फर्ममा १८ हजार लेयर्स कुखुरा छन । अबको एक बर्षमा १२ हजार कुखुरा थपेर ३० हजार पु¥याउने लक्ष्यका साथ काम गरिरहनु भएका अजितको फर्ममा अहिले दैनिक करिव १६ हजार वटा अण्डा संकलन हुन्छ । जसबाट दैनिक २ लाखको कारोबार हुन्छ ।

अहिले एक ठाउँमा २ बिगाहा र अर्को ठाउँमा ३४ कट्ठा जग्गामा फर्म संचालन भईरहेको छ । २ बिगाहा जमिन आफ्नै हो भने ३४ कट्ठा ठेक्कामा हो । अहिले नजिकै तर दुई अलग ठाउँमा गरि १८ हजार कुखुरा पालिरहेका अजितको एउटा फर्ममा ९ हजार कुखुरा छन । अवको एक बर्षमा फर्मको क्षमता बढाएर ३० हजार कुखुरा पाल्ने उनको योजना छ । अहिले अजितको दुबै फर्ममा गरि ९ जनाले रोजगारी पाएका छन । हालसम्म फर्ममा लगानी मात्रै गरिरहेको बताउने अजित आफ्नो पारिवारीक पृष्ठभुमि नै यस्तै भएकोले आफुहरुलाई यसप्रति चासो लागेको प्रतिकृया दिन्छन । ‘बुवा भेट्नरीको जागीरे भएकैले कान्छो भाई अमित कुमार झा कान्तिपुर फर्मासिटिकल्समा जागीरे भयो । हामि ब्यवसायीक रुपमै कुखुरा पालनमा लाग्यौँ ।’ अजित भन्छन् ‘भाई पनि पशुपंक्षीको औषधि र पोषण सम्बन्धि उत्पादन निर्देशकको रुपमा जागीरे भएकाले हामिलाई यो पेशा गर्न सजिलो भएको छ ।

अहिलेसम्म बाहिरबाट डाक्टर तथा विज्ञको आवश्यकता नपरेको उनको भनाई छ । तिन हजार ६०० ओटा कुखुराबाट थालेको ब्यवसायमा अब एक पटक १२ हजार कुखुरामा लगानी गर्ने र त्यसपछि लगानी होल्ड गर्ने योजना अजितले सुनाए । १२ हजार कुखुरा थपेर ३० हजार पुगेपछि लगानी रोकेर त्यसबाट नै ब्यवसाय संचालन गर्ने योजनासहित अघि बढेका अजितलाई भारतसँगको खुला सिमानाकाले भने सताउने गरेको छ । सिमापारि सस्तोमा अण्डा पाईने र बेप्रवाह आयात हुने कारण आफुहरु मारमा रहेको अजितले बताए । भारतिय सेतो अण्डा नेपालमा प्रतिबन्ध भएपनि प्रशासनको बेवास्ताका कारण यहाँका बजारमा सेतो अण्डा खुलेआम बिक्रि भईरहेका छन । जसका कारण यहाँका ब्यवसायीले समस्या भोग्नुपरेको उनको अनुभव छ ।

दुई पटक कुखुरा मरेर लाखौँ घाटा ब्यहोरेका झा दाजुभाईले यहाँ कुखुरामा लाग्ने रोग पत्ता लगाउने राम्रो ल्याव समेत नभएको बताए । अहिलेसम्म कहिँ कतैबाट सहयोग तथा अनुदान समेत नपाएका झा दाजुभाईलाई यति प्रतिशत कमिसन दिने भए राम्रो सहयोग र अनुदान मिलाईदिने प्रलोभनसमेत आउँछ । उनिहरुले दाना बनाउने मिल समेत चलाउने प्रयत्न गरे । तर केहि बर्ष अघिसम्म बिद्युत नियमित नआउँदा मेसिन त्यत्तिकै थन्किएको छ । अब त्यो मेसिन पनि संचालन गर्ने प्रयास रहेको अजितले बताए । उनिहरुको माछा पोखरी पनि छ । पोखरी ठेक्का लागेको छ ।

लेयर्स अण्डा उत्पादनका लागि विशेष रूपमा पालिने कुखुराको जात हो ।

क्षितिज विश्वकर्मा, लालबन्दी

२९ फागुन । एक लाख २० हजार दर्शक तान्ने योजनासहित तेस्रो लालबन्दी महोत्सवको तयारी तिब्र पारिएको छ । आउँदो चैत्र ४ बाट १५ गतेसम्म उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा महोत्सव आयोजना हुँदैछ । अघिल्ला दुई महोत्सवबाट हौसिएको संघले यो वर्षपनि महोत्सवको आयोजना गर्न लागेको हो ।

अहिले महोत्सव स्थलमा युद्धस्तरमा निर्माणका कामहरु भईरहेको छ । सो बिषयमा जानकारी दिनका लागी संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा संघल ‘आर्थिक समृद्धि र स्वरोजगारको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नारासहित तेस्रो पटक महोत्सव लगाउन लागिएको जानकारी दिएको हो । यसपाली पनि पोहोरकै ठाउँ अर्थात लालबन्दी नगरपालिका–९, बस्तीपुरमा रहेको भूदेव खाद्य उद्योग परिसरमा महोत्सव लगाइने महोत्सव व्यवस्थापन समितिका संयोजक एवं उद्योग वाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले जानकारी दिनुभयो ।

महोत्सवमार्फत स्थानीय उत्पादन तथा सेवाको बजारीकरण, आन्तरिक तथा बाह्य लगानी प्रवद्र्धन, रोजगारीका अवसरहरुको सिर्जना, उद्यमशीलताको विकास तथा स्थानीय कला–संस्कृति, परम्परा र पहिचानको संरक्षण एवं प्रवद्र्धनमा योगदान पुग्ने आयोजकले विश्वास लिएको छ । महोत्सवमा कृषि उत्पादन प्रदर्शनी, औद्योगिक तथा व्यवसायिक स्टल, अटोमोबाइल प्रदर्शनी, घरेलु तथा हस्ताकला प्रदर्शनी, होटल तथा रेस्टुरेन्ट सेवा, स्थानीय पर्यटकीय स्थलको प्रचार, होमस्टे अवधारणा प्रवद्र्धन, राष्ट्रियस्तरका कलाकारबाट प्रत्येक दिन साँस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।

महोत्सवस्थलमा सर्वसाधारणका लागि १०० रुपियाँ र विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा ५० रुपियाँ प्रवेश शुल्क तोकिएको छ । महोत्सवको चैत ४ गते मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलको प्रमुख आतिथ्यतामा उद्घाटन गर्ने गरी तीव्र रुपमा तयारी भइरहेको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेशकुमार महतोले पत्रकार सम्मेलनमा बताउनुभयो ।

महोत्सवमा करिव १० करोड रुपैयाँ बराबर आर्थिक कारोबार हुने अनुमान गरिएको व्यवस्थापन समितिका संयोजक बलम्पाकीले बताउनुभयो । १५० को हाराहारीमा महोत्सवस्थलमा स्टल रहने आयोजकले जनाएको छ ।

सर्लाही, २८ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटाइएका म्यादी प्रहरीको विदाइ कार्यक्रम सर्लाहीमा आज सम्पन्न गरिएको छ । जिल्लामा कुल ३ हजार ९२६ जना म्यादी प्रहरी छनोट गरिएकोमा ९ जना अनुपस्थित भएपछि ३ हजार ९१७ जनालाई औपचारिक रूपमा विदाइ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।

निर्वाचन अवधिभर राज्यले दिएको जिम्मेवारी इमानदारी र कुशलतापूर्वक निर्वाह गरेको भन्दै धन्यवाद दिँदै विदाइ गरिएको हो । सो अवसरमा सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र खडकाले म्यादी प्रहरीले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रशंसापत्र प्रदान गरेका थिए । कार्यक्रममा एसपी खडकाले म्यादी प्रहरीको योगदानको प्रशंसा गर्दै भविष्यमा पनि राष्ट्र र समाजका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालयसहित जिल्लाका बिभिन्न प्रहरी कार्यालयमार्फत म्यादी प्रहरीलाई विदाई गरिएको हो ।

लालबन्दी, २८ फागुन । सर्लाहीको लालबन्दीमा ५ जरुवापानीमा रहेको नेपाल रेडक्रस सोसाइटी सामुदायिक परोपकार आँखा उपचार केन्द्रमा निःशुल्क मोतीविन्दु परीक्षण शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ लालबन्दी सिटी, लालबन्दी सिटी लियो क्लब र लालबन्दी नगरपालिका ७ नं. वडा कार्यालयले संयुक्त रुपमा शिविरको आयोजना गरेका हुन । शिविरमा मोतीयाविन्दुका ८० जना बिरामी भेटिएका छन् ।

मोतीविन्दु देखिएका ४० जना बिरामीलाई फागुन ३० गते र बाँकी ४० जनालाई चैत ७ गते सोहि स्थानमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ ।

लालबन्दी, २५ फागुन । लामो विदापछि खुलेको लालबन्दी नगर अस्पतालमा सेवाग्राहीको भिड लागेको छ । फागु पर्व (होली) देखि संघीय संसदको चुनावको लामो विदापछि आजदेखि सर्लाहीसहित देशभरका सरकारी कार्यालयहरु खुलेका छन ।

लामो विदा भएकाले अहिले अस्पतालमा सेवाग्राहीको भिड बढेको अस्पतालका प्रशासन शाखा प्रमुख जनस्वास्थ्य अधिकृत हिमान्सुशेखर कर्णले बताउनुभयो ।

अहिले मौसम परिवर्तनका बेला देखिने स्वास्थ्य समस्या, धुलोका कारण हुने डस्ट एलर्जी, जेनेरल ओपीडि र बिमाको औषधि सेवन गर्नेहरुको आगमनले अस्पतालमा भिड बढेको जनस्वास्थ्य अधिकृत कर्णको भनाई छ । दिउँसो २ बजेसम्म करिव ३०० जनाले स्वास्थ्य जाँचका लागी पुर्जी लिएका छन । बेलुकासम्म यो संख्या अझै बढ्ने जनस्वास्थ्य अधिकृत कर्णले जानकारी दिनुभयो ।

पछिल्लो समय लालबन्दी नगर अस्पतालले यस क्षेत्रका नागरिकको विश्वास जित्न सफल भएको छ । बिभिन्न विशेषज्ञ सेवा, प्रसुति सेवा, ल्याव सेवा तथा नगरभित्र प्रसुति हुन आउनेका लागी निशुल्क एम्बुलेन्स सेवाका कारण नगर अस्पताल प्रति सेवाग्राहीको विश्वास बढ्दो रहेको लालबन्दी नगर स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत मुमताज मिक्रानीले जानकारी दिए ।

लालबन्दी नगर स्वास्थ्य शाखा प्रमुख मुमताज मिक्रानी । तस्बिर : क्षितिज विश्वकर्मा


लालबन्दी र आसपासका पालिकाबाट नगर अस्पतालमा दैनिक सेवा लिन आउनेको संख्या ठुलो रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।