रौतहटमा कोरोना संक्रमितको शव ब्यबस्थापन गरिएको छ । जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा कोरोना संक्रमणबाट मृत्यु भएका २ जनाको शव व्यवस्थापन गरिएको जनाइएको छ ।
ईन्द्रबक्स गण गौर रौतहटबाट गएका तालिम प्राप्त नेपाली सेनाको टोलीले कटहरिया नगरपालिका वडा नम्बर ७ वगही र माधवनारायण नगरपालिका वडा नम्बर ७ को अलग अलग स्थानमा कोरोना संक्रमितको शव ब्यवस्थापन गरेको हो ।
कोरोना संक्रमण भई बीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कटहरिया नगरपालिकाको वडा नम्बर ७ का ७० वर्षीय एक पुरुषको बगही गाँउ छेउमै सेनाको टोलीले शनिबार बेलुकी शव ब्यवस्थापन गरेको कर्णेल सामन्तध्वज खाँडले बताउनु भयो ।
त्यसैगरी कारोना संक्रमित भई चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी माधवनारायण नगरपालिकाको वडा नम्बर ७ की ७० वर्षीया १ जना महिलाको मृतकको गाँउमा सेनाले शव ब्यवस्थापन गरेको कर्णेल खाँडले जानकारी दिनु भयो ।
कोरोना भाईरस कोभिड १९ बाट संक्रमित भएर रौतहटमा हालसम्म ११ जनाको मृत्यु भइ सकेको छ ।
मृतक ११ जना मध्ये १० जनाको ईन्द्रबक्स गणका नेपाली सेनाको टोलीले शव ब्यवस्थापन गरेको र एक जनाको यस अघि चितवनमा सेनाले शव ब्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको उपेन्द्र गोलेले समाचार लेख्नुभएको छ ।
निजगढ–काठमाडौं द्रुुतमार्गसँग हेटौंडा–काठमाडौं मदन भण्डारी मार्गलाई जोड्न अध्ययन थालिएको छ ।
बागमती प्रदेश सरकारले काठमाडौं–निजगढ द्रुुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो। प्रदेशले सुरुङसहित विस्तार गरिरहेको मार्गलाई द्रुतमार्गसँग जोड्नका लागि सम्भावित मिलनबिन्दुको खोजी शुरू गरेको छ ।
द्रुतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.८ र इन्द्रसरोवर गाउँपालिका वडा नं.३ को कोगटेदोभानमा जोड्न सके हेटौंडा–काठमाडौंको सडक दूरी ५४ किलोमिटरमा छोटिने भन्दै प्रदेश सरकारले सङ्घीय सरकारसँग प्रस्ताव गरेको हो। प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन शुरू गरेको छ ।
सङ्घीय सरकारको तर्फबाट हालै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित बिन्दुको अवलोकन गरेका छन्।अवलोकनपछि उपाध्यक्ष डा कँडेलले दु्रुतमार्ग शुरू गर्ने बेलामा यस मार्गसँग जोडिने अन्य कुनै मार्गको परिकल्पना नगरिएकाले नयाँ परिस्थिति सिर्जना भएको बताएका छन।
उनले द्रुतमार्ग अनुगमन समितिले द्रुतमार्ग निर्माणको क्रममा प्रदेश ३ सरकारसँग समन्वय गर्ने निर्णय भएको जानकारी गराएका छन्। समितिले प्रदेशसँग समन्वय गर्नुपर्ने भनेकाले नै आफूहरू अवलोकन र अध्ययनका लागि आएको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीका विकासविज्ञ गजेन्द्र थपलियाले प्रदेश सरकारको प्रस्ताव अनुसार सङ्घीय सरकारले यस कार्यमा सहयोग तथा सहकार्य गर्ने बताएका छन मदन भण्डारी मार्गमा सुरुङ निर्माणसहित स्तरीकरण गर्ने र द्रुतमार्गसँग जोड्ने प्रदेश सरकारको योजना रहर नभएर टड्कारो आवश्यकता रहेको मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।
सुरुङबाहेक मदन भण्डारी मार्गको स्तरीकरणको सम्पूर्ण काम धमाधम भइरहेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी गराएका छन् ।
सडक फराकिलो बनाउने, पर्खाल लगाउने र सम्याउने काम भइरहेको र कालोपत्रे गर्ने तयारीमा रहेको उनको भनाइ छ ।
बाराको निजगढमा महिला हिंसा तथा जेष्ठ नागरिक अपमान न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
निजगढ नगरपालिका कार्यालयको आयोजनामा संघीय प्रहरी कार्यालय प्रदेश २ जनकपुरधाम र ईलाका प्रहरी कार्यालय निजगढको सहयोगमा गोष्ठि सम्पन्न भएको हो । निजगढ नगरपालिकाको सभाहलमा आयोजित गोष्ठिमा स्थानीय तहका जनप्रतिनिधि र महिलाको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिका साथै अगुवा महिला नेतृहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागिलाई संघीय प्रहरी कार्यालय प्रदेश २ जनकपुरधामका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किशोर कुमार दाहालले सहभागिलाई प्रशिक्षण दिएका थिए ।
निजगढ नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिको संयोजक लिलादेवी खनाल सभाअध्यक्षमा भएको उद्घाटन कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल, एसएसपी दाहालको विशेष आतिथ्यता रहेको थियो भने सञ्चालन कार्यपालिका सदस्य सरिता राई र स्वागत जगतकुमारी अधिकारीले गरेकी थिईन् ।
कार्यक्रममा निजगढ नगरपालिकाकोतर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी किशोर कुमार दाहाललाई सम्मानपत्रसहित सम्मान गरिएको थियो भने सहभागिलाई खादासहित स्वागत गरिएको थियो ।गोष्ठिलाई जुम एप्समार्फत प्रशारण गरिएको थियो ।
प्राविधिक सहयोग सक्षम यादबले गरेका थिए ।
प्रदेश नम्बर दुईका उद्योग पर्यटन, बन तथा बातारबण मन्त्री रामनरेश रायले प्रदेशको समृद्धि उद्योगको बिकासमा निर्भर रहेको बताएका छन् ।
बाराको जितपुरमा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले आयोजना गरेको सुपथमुल्यको पसलको उद्घाटन गर्दै मन्त्री रायले प्रदेश सरकार उद्योग तथा पर्यटनको बिकासमा लागि परेको बताएका हुन । सो अवसरमा मन्त्री रायले आईतबार वस्ने प्रदेश संसदले उद्योग ऐन प्रदेश सभाबाट पारित हुन गईरहेको जानकारी समेत दिएका छन ।
उद्योग ऐन बनाउँने क्रममा आफुले बारम्बार उद्योगी ब्यवसायीसँग बैठक बसी सल्लाह, सुझाव लिएको जानकारी दिएका छन । ब्यवसायीहरुको सल्लाह बमोजिम नै उद्योग ऐन आउन लागेको बताएका छन ।
कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहले ५० प्रतिशत भन्दा बढी उद्योग कलकारखानाहरु यस नगरमा भएको जानकारी दिएका थिए । उहाँले साना तथा घरेलु उद्योगको शाखा कार्यालय जीतपुरमा खोल्न आग्रह सहितको ज्ञापनपत्र समेत उद्योग मन्त्री रायलाई बुझाएका थिए ।
मन्त्री रायले चाडपर्बहरु सके लगतै जीतपुरमा घरेलुको शाखा कार्यालय खोल्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा बिटु पानी उद्योगका सञ्चालक दिपक गुप्ताले नगर उद्योग बाणिज्य संघको भवन निर्माण गर्न १ लाख ६१ ह्जारको चेक नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहलाई हस्तान्तरण गरेका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय बाराको सहकार्यमा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले दशैँलाई लक्षित गरी सुपथ मुल्यको पसल सञ्चालनमा ल्याएको हो । सुपथ मुल्यको पसल क्षेत्रभित्र स्थानिय उत्पादन ,कपडा र दैनिक उपभोग्य सामग्रीहरुको २० वटा सटलहरु राखिएको छ ।
कार्तिक १ गतेबाट सुरु भएको सुपथ मुल्यको पसल कार्तिक ५ गतेसम्म चल्ने नगर उद्योग बाणिज्य संघले जनाएको छ । कार्यक्रममा पुर्वसंबिधान सभा सदस्य शोभाकार पराजुली, जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख डा.कृष्ण पौडेल, गढीमाई साझेदारी बनका अध्यक्ष गणेशजी प्रसाद साह, साना तथा घरेलु उद्योग कार्यालय बाराका अधिकृत अरबिन्द यादब, नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष घनश्याम गिरी , महासचिव शिवजी साह सोनार, रेडियो आकाशबाणीका अध्यक्ष राजुराज गिरी, समाजसेवी देवनारायण चौधरी, अफताब आलम लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष मनोज गुप्ताको स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछानेले गरेका थिए ।
रौतहटमा एक दम्पतिमाथी साङघातिक आक्रामण भएको छ । रौतहटको मौलापुर नगरपालिका वडा नं ५ पतौराका हरेन्द्र साह र उनकी श्रीमती शिला देवी माथि धारिलो हतियार प्रयोग गरि आक्रमण भएको हो ।
धारिलो हतियारको आक्रमणले हरेन्द्रको दाहिने कानका छेउमा र पत्नीको दाहिने पाखुरामा गम्भीर घाउ लागेको जनाइएको छ ।
शनिबार राती आक्रमणमा परि घाइते अवस्थामा रहेकाले थप उपचारका लागि राति नै एलएसमा न्युरो अस्पताल वीरगञ्ज पठाइएको थियो । उपचारारत दम्पतिको अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिनु भयो ।
राति १ बजे साह दम्पती सुतिरहेका अवस्थामा अज्ञात समुहले धारिलो हतियारले आक्रमण गरेको थियो ।
आक्रमणको ठोस कारण खुल्न नसके पनि घटनास्थलको प्रकृति अनुसार साहका घरमा चोरी गर्ने उद्देश्यले आएको र जाग्राम भएपछि आफू बच्नलाई दम्पतीमाथि आक्रमण गरेर भागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
भरतपुर महानगरपालिकाले चितवनमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि थप १ करोड ५० लाख रुपैया सहयोग गरेको छ ।
महानगरपालिकामा आयोजित समारोहमा मेयर रेणु दाहालले रंगशाला निर्माण अभियानका संयोजक सीताराम कट्टेल ‘धुर्मुस’लाई सो रकम हस्तान्तरण गरेकी हुन् ।
‘क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाबाट आज धुर्मुस सुन्तली फाउण्डेसनलाई १ करोड ५० लाख थप सहयोग प्रदान गरिएको छ’ मेयर दाहालले भनिन् ।
हाल क्रिकेट रंगशाला निर्माणको काम जारी रहेको छ ।
फ्रान्समा मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको कार्टुन देखाएर विद्यार्थीलाई पढाएका एक शिक्षकको टाउको काटिएको छ । घटना शुक्रवारको हो ।
राजधानी पेरिसनजिकैको उपनगर सेन्ट होनेरिनमा एक १८ वर्षीय व्यक्तिले मोहम्मदको कार्टुन देखाउने शिक्षकको हत्या गरेका हुन् । हत्या गर्ने ती व्यक्तिलाई पछि प्रहरीले मारिदिएको छ ।
डु बोइस डीआउने नाम गरेका ती इतिहास र भूगोलका शिक्षकलाई रसियन चेचेन्या विद्रोही समूहबाट फ्रान्समा शरणार्थी बन्न आएका १८ वर्षीय एक युवकले टाउको काटेर हत्या गरेका थिए ।
इस्लाम धर्ममा प्रवर्तक मोहम्मदको तस्वीर, कार्टून या मूर्ति बनाउन प्रतिबन्धित छ ।
सन् २०१५ मा मोहम्मदको कार्टून बनाएको शार्ली हेब्दो नामको पत्रिकाको कार्यालयमा इस्लामिक समूहले आक्रमण गरेको थियो ।
आक्रमणमा परी ११ पत्रकारसहित १७ व्यक्ति मारिएका थिए ।
कोरोना भाइरस (कोभिड-१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ ।
सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।
‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।
उनका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुनेछ ।
उदयपुर – सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकअन्तर्गत कटारी नगरपालिका–१४ भदौरे भिरमा शनिबार राति स्करपियो जिप खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते छन् ।
भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जान लागेको बा२०प ७१७१ नम्बरको स्करपियो दुर्घटनाग्रस्त भएको हो । मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ–९ माधवपुरका ४६ वर्षीय रामबहादुर सार्की, २७ वर्षीय कर्मे भन्ने कर्णबहादुर सार्की, ४० वर्षीय खड्गबहादुर सार्की, ३५ वर्षीया नरिमाया सार्की र उदयपुर कटारी नगरपालिका – ८ शिरिसेका ३० वर्षीय महेशबहादुर विक रहेको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । उनीहरू सबैको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की ३१ वर्षीया कुमारी सार्की, १८ वर्षीया कल्पना सार्की र चालक रूपन्देहीको त्रिदम्बा नगरपालिका–१५ बस्ने २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । कुमारीलाई कटारी अस्पतालमा र कल्पना र पवनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
प्रहरीका अनुसार उनीहरू सबै जना भारतको लद्दाखबाट दसैं मान्न आउने क्रममा भैरहवा क्वारेन्टाइनमा बसी गाडी रिजर्भ गरेर घर फर्कंदै थिए ।
‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको अनुमान गरेको प्रहरीले गाडी सडकबाट करिब एक किलोमिटर तल खसेको जनाएको छ ।
कान्तिपुरमा समाचार छ ।
कैलाली : धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मृत फेला परेका छन्।
हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्दबहादुर साउँदको शव आज बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परेको हो। उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साँउद भने फेला परेका छैनन्।
चौकीबाट मोटरसाइकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुवैजना साढे १० बजे देखि सम्पर्कविहीन भएका थिए। आज बिहान उनीहरूको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरू चढेको मोटरसाइकल फेला परेको र करिब तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले तस्करहरूसँगको भीडन्तमा उनीहरू मारिएको हुन सक्ने आशंका गरेको छ। थाहा खबर बाट