२०८३ आश्विन १६ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन १६ शुक्रबार

फाल्गुन शुक्ल पूर्णिमाका दिन आज बेलुका ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रस्तोदित खण्डग्रास ग्रहण अर्थात् झन्डै आधा भाग ढाकिने चन्द्रग्रहण लाग्नेछ । हेरौँ आजको दिनको राशिफल कस्तो छ त !

मेष : दिन राम्रो छ । बोलीको प्रभावले राम्रो काम बन्नेछ । उपचारमा भए रोगबाट मुक्त हुने दिन छ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारबाट सुख मिल्नेछ । खर्च भने बढ्ने देखिन्छ ।

वृष : राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । परिवारको साथमा रमाइलो गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन सहज छ । साथीभाइले सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । परिवारमा सम्बन्ध सुमधुर बन्नेछ । प्रेम बढ्ने योग छ ।

कर्कट : आजको निर्णय दीर्घकालीन बन्ने योग छ । व्यापारमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

सिंह : अप्रिय शब्दले मन अशान्त बन्नेछ । राजनीतिक क्षेत्रमा विपक्षी साथीको प्रतिवाद सुन्नुपर्ने हुनसक्छ । ठुलो लगानीमा परिवारको तर्फबाट मात्र रकम खर्च गर्नु उचित हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । धार्मिक व्यक्तिसँगको भेटले तपाईंको महत्त्वपूर्ण काम बन्ने योग छ ।

तुला : परिवारको साथमा घुम्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या देखिने जोखिम छ । आज विपक्षी साथीबाट प्रशंसा सुन्न सकिने छ ।

वृश्चिक : एकल निर्णय नगर्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : भएको सम्पत्ति सदुपयोग गर्नुपर्ने दिन छ । गोपनीयता भंग नगर्नु उचित हुन्छ । परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ ।

मकर : दिन सामान्य छ । सोचेका काममा अवरोध सिर्जना हुनेछ । आफ्ना भनिएका भन्दा विपक्षी साथीले सहयोग गर्नेछन् । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कुम्भ : दाजुभाइसँग सहकार्य गरेर अगाडि बढेमा काम सफल बन्नेछ । सञ्चित धन खर्च हुने दिन छ । परिवारको सल्लाह लिएर अगाडि बढ्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्ने छ ।

मीन : गोप्य कुरा साथीलाई सुनाएमा घाटा हुने जोखिम छ । परिवार भित्र खेल्ने मान्छेले दु:ख दिने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ । सेवा गर्दा मन शान्त बन्नेछ ।

लालबन्दी, १८ फागुन । सर्लाही क्षेत्र नं. १ मा बहुजन एकता पार्टी नेपालका उम्मेदवार राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सर्लाही क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता पासवानसहित अन्य कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पासवानसहितका नेता, कार्यकर्तालाई नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नं. ४ का उम्मेदवार गगनकुमार थापाले पार्टीमा प्रवेश गराएका छन् ।

सभापति थापाले पासवानसहितलाई सर्लाहीको क्षेत्र नं. ४ स्थित धनकौल गाउँपालिकाको महिनाथपुरमा एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । पासवान जस्ताे दमदार दलित नेता नेपाली कांग्रेसमा प्रवेश गरेपछि खुसि हुँदै चारवटै निर्वाचन क्षेत्रमा आफूहरुको उम्मेदवार थप बलियो भएका कांग्रेस नेताहरुले दावी गरेका छन् ।

कांग्रेस प्रवेश गरेका पासवान २०७९ को निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार रहेका थिए । त्यसबेला पासवानले पाँच हजार १५८ मत प्राप्त गरेका थिए ।

पासवान कांग्रेसमा प्रवेश पश्चात हामिसँग भने ‘२५ वर्षदेखि आफ्नो समुदायको लागी एक्लै लडियो अब महाशक्तिसँग मिलेर समुदायको लागी लड्छु ।’

आफ्नो समुदायबाट एकजना उम्मेदवार रहेका पासवानलाई मतदान गर्न राजि भएका क्षेत्र नम्बर १ का दलित मतदाताहरु भने उनको यो कदमले अन्योलमा परेका छन ।

पासवान कांग्रेसमा प्रवेश गरेसँगै सर्लाही १ मा आधिकारिक रुपमा २८ जना उम्मेदवारको उम्मेदवारी कायम भए पनि अब २७ जना मात्र प्रतिस्पर्धामा रहने भएका छन् ।

सिन्धुली, १७ फागुन | हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमान्‌को बन्चरो प्रहार गरी श्रीमतीको हत्या भएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार हरिहरपुरगढी ३ रानीपानी बस्ने बर्ष ४५ को जिते भन्ने वीरबहादुर राईले घरको कोठामा आफ्नी श्रीमती अन्दाजी ४५/४६ वर्षीया रिता राईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेको जानकारी दिए ।

उनका अनुसार रिताको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी सहायक निरीक्षक नरेश कुमार रायको कमाण्डमा १२ जनाको टोली घटनास्थल गएका थिए ।

प्रहरीले आरोपित श्रीमान्‌लाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कपिलाकोटमा राखिएको छ ।

प्रहरीका अनुसार घटनाको कारण हालसम्म खुलेको छैन । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षक अशोक कुमार यादवको कमाण्डमा मुचुल्का टोली घटनास्थलमा खटिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मलंगवा, १५ फागुन । पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सव–इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गर्ने तीन जना अभियुक्त पक्राउ परेका छन् ।

सिरहाको सुखीपुर नगरपालिका–९, बैशाखा घर भएका ३६ वर्षीय यादवको हत्यामा संलग्न अभियुक्तहरु तथा घटनाको सम्वन्धमा सर्लाही प्रहरीले आज जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सव–इन्जिनियर यादवको उनीसँगै मधेश प्रदेश लोक सेवा आयोगको परीक्षामा प्रतिस्पर्धामा रहेका र वैकल्पिक उम्मेदवारको सूचीमा परेका व्यक्तिको योजनामा हत्या भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काले जानकारी गराए ।

सव–इन्जिनियर यादवलाई महोत्तरीको रामगोपालपुर नगरपालिका–५, घर भइ सर्लाहीको बरहथवा नगरपालिका–९, शान्ति टोलमा डेरा गरी बस्ने ३४ वर्षीय गणेशकुमार महतोको योजनामा हत्या भएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको हो । मुख्य योजनाकार महतो सर्लाहीको रामनगर गाउँपालिकामा करारमा प्राविधिक सहायकको रुपमा कार्यरत रहेका थिए ।

२०८१ फागुन ४ गते मधेश प्रदेश लोक सेवा आयोगले लिएको सहायक पाँचौ तहको सव–इन्जिनियर पदमा मृतक प्रमोदकुमार यादवको नाम निस्किएको थियो । उनको हत्यामा संलग्न गणेशकुमार महतोको एक मात्र वैकल्पिक उम्मेदवारको रुपमा नाम रहेको थियो ।

नियुक्त भएको उम्मेदवारको एक वर्षभित्र मृत्यु भए वा मार्न पाए वैकल्पिक उम्मेदवारको नाम सिफारिस हुने भएकाले सोही लोभमा परेर वैकल्पिक उम्मेदवार गणेशकुमारले सव–इन्जिनियर प्रमोदकुमारको हत्या गरेको खुलेको एसपी खड्काले बताए । सव–इन्जिनियर यादवको यही फागुन ३ गते सदरमुकाम मलङ्गवा नगरपालिका–१०, स्थित डेरा गरेर बसेको घरको बरण्डामा गोली प्रहार गरी हत्या भएको थियो ।

गोली हानी हत्या गरिएका पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सव–इन्जिनियर प्रमोदकुमार यादव

सो दिन मुख्य योजनाकार गणेशकुमारले आफ्नो सालो सर्लाहीकै बसबरिया गाउँपालिका–२, मानपुर घर भइ आफूसँग डेरा गरेर बस्ने २२ वर्षीय चन्द्रकिशोर कुशवाहासँगै मोटरसाइकलमा मलंगवा पुगेर सव–इन्जिनियर प्रमोदकुमारमाथि गोली प्रहार गरेको खुलेको छ । प्रहरीले मुख्य योजनाकार गणेशकुमारका सालो चन्द्रकिशोर र भाई २२ वर्षीय विजयकुमार महतोलाई समेत पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सव–इन्जिनियर यादव र वैकल्पिक उम्मेदवार तथा मुख्य अभियुक्त गणेशकुमारबिच लोक सेवा आयोगले लिएको अन्तरवार्ताका दिन चिनजान भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यसअघि पनि पटक–पटक लोक सेवा आयोगले लिएको परीक्षामा वैकल्पिक सूचीमा परेका गणेशकुमारले हत्या गरिएका सव–इन्जिनियर प्रमोदकुमारलाई आफ्नो नाम राकेश यादव भनी बताएका थिए । रामनगर गाउँपालिकाका प्राविधिक सहायक एवं मुख्य अभियुक्त गणेशकुमारले सव–इन्जिनियर प्रमोदकुमारलाई कामको सिलसिलामा बारम्बार फोन सम्पर्क गर्ने गरेको र गोली प्रहार गरिएको दिन पनि केही बेरअघि मात्र फोन गरी कोठा बाहिर बोलाएर गोली प्रहार गरेको पाइएको प्रहरी उपरीक्षक खड्काले बताए ।

गणेशकुमारले सव–इन्जिनियर प्रमोदकुमारको हत्या गर्ने योजनासहित गएको दशैँभन्दा पहिले नै भाई बिजयकुमारलाई पेस्तोल खरिदका लागि ८० हजार रुपियाँ दिएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले सव–इन्जिनियर यादवको हत्यामा प्रयोग भएको एक थान पेस्तोल, पड्किएको एक थान गोलीको खोका, गोली प्रहार गर्न आउँदा गणेशकुमार र उनका सालो चन्द्रकिशोरले चढेको बीआर ०१ एफ जेड १०८२ नम्बरको मोटरसाइकल र तीन थान मोवाइल फोन बरामद गरेको छ ।

सव–इन्जिनियर यादवमाथि गोली प्रहार गर्न आउँदा अभियुक्तहरुले प्रयोग गरेको मोटरसाइकल रौतहटको गढिमाई नगरपालिका–५, बलुवास्थित बागमती नदी किनारको बाँधबाट बेवारिसे अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको पेस्तोल भने घटना भएको चार दिनपछि मलंगवा नगरपालिका–७, स्थित ढाँका बोर्डर टोलमा निर्माणाधीन मन्दिरभित्र स्थानीय एक बालकले खेलाउनेक्रममा पड्किएको पेस्तोल रहेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

मन्दिरमा बेवारिसे अवस्थामा रहेको पेस्तोल खेलाउँदा बालक घाइतेसमेत भएका थिए । प्रहरीले उक्त पेस्तोलको ‘फरेन्सिक जाँच’ गरिने जनाएको छ ।

सव–इन्जिनियर यादवको हत्या हुनासाथ फागुन २१ को निर्वाचनका लागि थप मद्धतमा खटिएर आएका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मा कार्यरत प्रहरी निरीक्षक वीरेन्द्र बिसी र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बिशालबहादुर बुढाथोकी नेतृत्वको प्रहरी टोली घटनाको सुक्ष्म अनुसन्धान र अभियुक्तको खोजीमा खटिएको थियो । सोही टोलीले अनुसन्धान गर्नेक्रममा घटनाका अभियुक्त पहिचान गरी पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका तीनै जना अभियुक्तविरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान तथा हातहतियार खरखजना कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी सरोज राईले बताए ।

सर्लाही, १५ फागुन ।

जिल्ला खेलकुद विकास समिति सर्लाहीका अध्यक्ष तथा फुटबलका पुर्व राष्ट्रिय खेलाडी रोजित केसीले इश्वरपुर -८ निवासी एक दलित परिवारको घर निर्माण तथा पालन पोषणको जिम्मेवारी लिएका छन् ।

आमा र बाबु दुवै साथमा नभएका मोनिका मिजार , मनिष मिजार ,खुसि मिजार,मन्दिप मिजार र सन्दिप मिजारको पिडा र दैनिक जीवनमा परिरहेको समस्या समाधानका लागि केसीले जिम्मेवारी लिएका हुन् । फौजदारी कसुरमा जेल परेका बाबु र दोस्रो बिबाह गरि गएकी आमाबाट छुट्टीएपछि सहारा विहिन भएका वालवालिकाको शिक्षा दिक्षा तथा घर निर्माणको जिम्मेवारी लिन आफु तयार भएको केसीले जानकारी दिए ।

आज विहान मिजारको घरमै पुगी उनले आगामी दिनमा पर्ने गाह्रो सारो र घर निर्माणको लागि आफुले जिम्मवारी लिने बताए । लामो समय राष्ट्रिय फुटबल टिममा रहेका उर्जावान खेलाडी केसी पछिल्लो समय सामाजिक कार्य सँगै राजनितीमा सकृय छन् ।नेपाली कांग्रेस इश्वरपुर -८, का सभापती समेत रहेका केसी युवा तथा खेलकुद प्रेमीमाझ लोकप्रिय मानिन्छन ।


क्षितिज विश्वकर्मा, लालबन्दी, १३ फागुन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सर्लाहीको लालबन्दीमा आफ्ना कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै जो जो जुन जुन पार्टीको सदस्य भएपनि यसपाली घण्टीमै भोट हाल्न आग्रह गरेका छन । मत बदल्यो भने मात्रै भाग्य बदलिन्छ र भाग्य बदल्ने हो भने मत बदल्नै पर्ने उनको भनाई थियो ।

रविलाई भेट्न र कुरा सुन्न लामो समयदेखि प्रतिक्षारत समर्थकलाई सम्बोधन गर्दै रविले सर्लाही क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी नितिमा कार्किलाई संसद भवनमा अग्रीम बुकिङ गर्न आएको म भोट दिनुहुन्छ ? भन्दै प्रश्न सोधेका थिए । त्यसैगरि कसैसँग नडराउने र कसैसँग नझुक्ने खम्बा डा. अमरेश सिंहलाई समेत जिताउन आग्रह गरे । डा.सिंह सर्लाही ४ बाट चुनावी प्रतिस्पर्धामा छन । यही क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा पनि उम्मेदवार छन् । यसअघि दुई पटक कांग्रेस र एकपटक स्वतन्त्र गरी तीनपटक जितेका अमरेशकुमार सिंहलाई रास्वपाले गगनविरुद्ध उतारेको छ । यही कारण सर्लाही–४ यसपटकको निर्वाचनको ‘हटसिट’ पनि हो ।

सम्बोधनका क्रममा रविले कांग्रेस सभापति गगन थापामाथि आक्रोश पोखे । नामै नलिएर उनले थापालाई ‘मधेशको बेटा’ भन्दै सर्लाही आएको टिप्पणी पनि गरे । ‘मलाई थाहा छ अमरेश जी जित्नुहुन्छ । तर, यदि यो ठाउँमा अमरेश जी नभएपनि एउटा मधेशको मान्छे जित्थ्यो, मधेशीले जित्थ्यो,’ लामिछानेले भने, ‘तर, काठमाडौंबाट कोही आएर मधेशको बेटा हुँ भन्दै एउटा ठाउँ लिने जुन प्रयास भएको छ, यसपटक ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईँको ।’

अब मधेश, देश, हिमाल, पहाड भनेर चुनावमा भोट माग्ने सटर बन्द गर्ने उनले बताए । ‘अब पहाडी र मधेशी भनेर, म यहाँको मान्छे, म त्यहाँको मान्छे भनेर होइन, एकैपटक देशलाई न्याय दिनेगरी नेपालको कुरा गर्ने हो, देशको कुरा गर्ने हो,’ लामिछानेले भने । पहिले आफूले पटकपटक सर्लाहीलाई न्याय दिएको दाबी गर्दै लामिछानेले यसपटक आफूलाई न्याय दिन आग्रह गरे । उनले अगाडि भने, ‘हिजो सर्लाहीलाई अन्याय पर्दा म उभिएको हुँ, यसपटक अलिकति न्याय मलाई चाहिएको छ । धेरै न्याय र सहयोग देशलाई चाहिएको छ ।’

उनको भाषणमा समर्थकले मन्त्रमुग्ध भएर समर्थन गरेको देखिन्थ्यो । रविको भाषण सुन्न लालबन्दी र आसपासका बालकदेखि बुढासम्म लालबन्दीस्थित डुमडुमे मन्दिरको दक्षिणी क्षेत्रमा जम्मा भएका थिए । आजैमात्र रविले लालबन्दीसहित सर्लाहीका बिभिन्न भागमा समर्थकलाई सम्बोधन गरेका थिए ।

लालबन्दी, १३ फागुन । विदेशी विचार र विदेशी सहयोग बिना यही देशमा दुःख गरेर अगाडी आउनुपर्छ भन्ने विचार बोकेको पार्टी श्रम संस्कृति पार्टी हो भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सर्लाहीको लालबन्दीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गरेका छन् । उनले यो देश बनाउन चाहने सबैको पार्टी यहि भएकोले सबैले साथ दिन अनुरोध गरे ।

मधेशमा पहिलो पटक सम्बोधन गर्न आएको भन्दै अध्यक्ष साम्पाङले यहाँ अन्त भन्दा धेरै समस्या रहेको जिकिर गरे । यहाँ के समस्या छ भन्ने नखुलाएपनि उनले यहाँको समस्या समाधान गर्न पनि श्रम संस्कृति पार्टीलाई सबैले साथ दिन आवश्यक रहेको बताए ।

हर्क साम्पाङको भाषण सुनीरहेको भिड । तस्बिर : सुमन तामाङ

अध्यक्ष साम्पाङले सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार सुमन अधिकारीलाई देखाउँदै असल ब्यक्ति हुनुहुन्छ भने भोट दिएर जिताउन आग्रह गरे । उनले ठट्यौली शैलिमा कार्यकर्तालाई सम्बोधन गर्दै सुमन अधिकारी खराब ब्यक्ति भए भोट नदिन र नजिताउन पनि आग्रह गरेका थिए ।

उनले आफु मेयर हुँदा साँढे ३ वर्षमा धरानबासिको लागी ढुंगा बोकि बोकि काम गरेको र शनिबार पनि काम गरेर श्रम संस्कृतिको विकाश गरेको बताए । उनले यो पार्टीमा कोहि नेता र कोहि कार्यकर्ता नहुने भन्दै आफु श्रम गर्न आएको बताए । अध्यक्ष साम्पाङले भने ‘हर्क साम्पाङ खरो जस्तो लागेपनि हर्क साम्पाङ छाम्दा खस्रो र चाख्दा मिठो हो ।’ उनले भने हामि बिदेशिसँग झुक्दैनौ भन्दै हामि बिदेशिसँग राम्रो मिल्छौ तर हाम्रो टाउकोमा टेक्न दिनेछैनौँ, नेपाल आमाको छातिमाथी बिदेशि बुट बजार्न दिनेछैनौँ ।

हर्क साम्पाङको भाषण भाषणका बेला लालबन्दीमा लागेको भिड ।

विकाश मात्रै ठुलो होईन विकाश भन्दा ठुलो हुन्छ देश, त्यसैले देश विकाशका निम्ति आएको पार्टी हो श्रम संस्कृति पार्टी भन्दै अध्यक्ष साम्पाङले देशको स्वाभिमान र अभिमानलाई जोगाउनका निम्ति आफ्नो पार्टीलाई दुई अञ्जुलीको माटोमा भोट दिन आग्रह गरे ।

प्रेमचन्द्र झा/राैतहट

नेपाल आज इतिहासकै जटिल मोडमा उभिएको छ। राजनीतिक संक्रमण, आर्थिक अस्थिरता, वैदेशिक ऋणको बढ्दो भार, शिक्षा र स्वास्थ्य क्षेत्रको कमजोर अवस्था, युवाशक्तिको पलायन, सामाजिक ध्रुवीकरण—यी सबैले राष्ट्रको आधारभूत संरचनालाई नै चुनौती दिइरहेका छन्। संविधान जारी भएको एक दशक नपुग्दै संघीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षित स्थायित्व र सुशासन दिन नसकेको गुनासो जनतामा व्यापक छ।

विगतका दशकहरूमा विभिन्न राजनीतिक शक्ति र नेतृत्वले बारम्बार शासनको अवसर पाए। तर, जनताको जीवनस्तरमा संरचनात्मक परिवर्तन ल्याउनेभन्दा सत्ता-सन्तुलन, दलीय स्वार्थ र व्यक्तिगत लाभलाई प्राथमिकता दिएको आरोप उनीहरूमाथि लाग्दै आएको छ। अहिले फेरि त्यही पुराना अनुहारहरू नयाँ नारासहित जनतामाझ उभिएका छन्। यस्तो अवस्थामा भावनात्मक आवेग होइन, तथ्य र कार्यसम्पादनका आधारमा निर्णय गर्ने समय आएको छ।

नेपालको राजनीतिक इतिहासमा परिवर्तनको कमी कहिल्यै रहेन—नेपालमा२०४६ सालको जन आन्दोलन देखि २०६२/०६३को लोकतान्त्रिक आन्दोलनहरूले शासन प्रणाली नै परिवर्तन गरिदिए। त्यसपछि संविधान सभा मार्फत नेपालको संविधान बनाउनका लागि २०६४ सालमा पहिलो संविधन सभा निर्वाचन मार्फत नयाँ संविधान निर्माणको प्रक्रिया अघि बढ्यो र अन्ततः नेपालीको संविधान २०७२ जारी भयो। तर संरचना परिवर्तन भए पनि राजनीतिक संस्कार र शासकीय चरित्रमा अपेक्षित रूपान्तरण हुन सकेन भन्ने अनुभूति व्यापक छ।

पटक–पटक सत्तामा पुगेका केही नेताहरूले विकासको भाषण गरे, तर परिणाम कागजमै सीमित रह्यो। सरकार फेरबदल, गठबन्धन राजनीति र सत्ताको अस्थिरताले दीर्घकालीन नीति निर्माणलाई कमजोर बनायो। राजनीतिक दलहरूभित्र आन्तरिक लोकतन्त्रको अभावले नयाँ र सक्षम नेतृत्वलाई माथि उठ्न कठिन बनायो। एउटै अनुहार फरक–फरक गठबन्धनमा देखिने पुनरावृत्तिले जनताको भरोसा क्षीण बनाएको छ।

देश आधारभूत आवश्यकतासमेत धान्न नसक्ने अवस्थामा पुगेको भन्ने जनगुनासो निराधार छैन। वैदेशिक ऋण क्रमशः बढ्दै गएको छ, उत्पादनमुखी अर्थतन्त्र कमजोर छ, आयातमा अत्यधिक निर्भरता छ, र युवाशक्ति रोजगारीका लागि विदेशिन बाध्य छन्। नेपालको अर्थतन्त्र ठूलो मात्रामा रेमिट्यान्समा टिकेको छ। हजारौँ युवा खाडी मुलुक र अन्य देशमा श्रम बेचिरहेका छन्। यसले अल्पकालीन आर्थिक राहत दिए पनि दीर्घकालीन रूपमा देशभित्रको उत्पादन, सीप र नवप्रवर्तनलाई कमजोर बनाएको छ।

छिमेकी देशहरू जस्तै चीन र भारतले विगत केही दशकमा पूर्वाधार, उद्योग, प्रविधि र शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेका छन्। तुलना गर्दा नेपाल विकासको दौडमा निकै पछाडि परेको देखिन्छ। तर यो तुलना केवल निराशा होइन, सिकाइको अवसर पनि हो। दीर्घकालीन नीति, लगानीमैत्री वातावरण, प्रशासनिक सुधार र भ्रष्टाचार नियन्त्रणजस्ता पक्षहरूबाट नेपालले पाठ सिक्न सक्छ।

भोट दिनुअघि आफ्नै गाउँको विद्यालयको अवस्था हेर्नु भन्ने सन्देश अत्यन्त सान्दर्भिक छ। सार्वजनिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाको अभाव, शिक्षक व्यवस्थापन र उत्तरदायित्वमा कमजोरी, पाठ्यक्रम र बजारको मागबीच असन्तुलन, ग्रामीण र सहरी शिक्षाबीच गहिरो विभेद यी सबैले शिक्षा प्रणालीलाई कमजोर बनाएका छन्। निजी र सार्वजनिक शिक्षाबीचको खाडल बढ्दै जाँदा सामाजिक असमानता पनि बढिरहेको छ। शिक्षा सुधारका लागि शिक्षकको पारदर्शी नियुक्ति र मूल्यांकन प्रणाली, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड, स्थानीय तहको प्रभावकारी निगरानी र डिजिटल शिक्षाको विस्तार अपरिहार्य छन्।
अस्पतालको सेवा सम्झनुहोस् भन्ने आग्रहले स्वास्थ्य क्षेत्रको वास्तविकता उजागर गर्छ। सरकारी अस्पतालमा उपकरण र जनशक्तिको अभाव, ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको कमी, उपचार खर्च अत्यधिक महँगो हुनु र बीमा प्रणालीको कमजोर कार्यान्वयनले नागरिकलाई असुरक्षित बनाएको छ। स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो, तर जब सेवा पहुँचभन्दा बाहिर हुन्छ, राज्यप्रतिको विश्वास कमजोर हुन्छ। प्राथमिक स्वास्थ्य केन्द्र सुदृढीकरण, औषधि खरिदमा पारदर्शिता, विशेषज्ञ चिकित्सकलाई ग्रामीण क्षेत्रमा प्रोत्साहन र आपतकालीन स्वास्थ्य संरचना मजबुत बनाउने नीति आवश्यक छ।
राजनीतिक लाभका लागि जातीय, क्षेत्रीय वा धार्मिक भावना उचाल्ने प्रवृत्ति समाजका लागि घातक हुन्छ। नेपाल विविधताले भरिएको देश हो र यही विविधता हाम्रो शक्ति हो। समावेशी नीति, समान अवसर, कानूनी शासन र पारदर्शी प्रशासनले मात्र सामाजिक सद्भाव कायम राख्न सक्छ।

युवा र नयाँ अनुहारहरू राजनीतिमा प्रवेश गर्दै छन्। उनीहरूसँग ऊर्जा, प्रविधि–ज्ञान र परिवर्तनको आकांक्षा छ। तर केवल नयाँ हुनु पर्याप्त छैन। नीतिगत स्पष्टता, दीर्घकालीन दृष्टिकोण, नैतिक प्रतिबद्धता र संस्थागत सुदृढीकरण अनिवार्य छन्। नयाँ नेतृत्वले भावनात्मक भाषणभन्दा स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुपर्छ। सबै पुराना नेता भ्रष्ट छैनन्। केही अनुभवी र इमान्दार व्यक्तित्वहरूले सीमित स्रोतका बाबजुद जनताका लागि काम गरेका छन्। अनुभव र युवाशक्तिको संयोजन नै सफल लोकतन्त्रको आधार हो। “पुराना सबै खराब, नयाँ सबै असल” भन्ने सरल निष्कर्ष समाधान होइन। मूल्यांकन व्यक्तिको काम, पारदर्शिता र निष्ठाका आधारमा हुनुपर्छ। लोकतन्त्रमा अन्तिम शक्ति जनतासँग हुन्छ। भोट दिनुअघि उम्मेदवारको विगतको कार्यसम्पादन जाँच्नु, सम्पत्ति विवरण र पारदर्शिता हेर्नु, स्थानीय विकासको वास्तविक अवस्था मूल्यांकन गर्नु र भाषणभन्दा कामको प्रमाण माग्नु अत्यावश्यक छ। झुटा आश्वासन दिएर मत ठग्ने प्रवृत्तिलाई पराजित गर्ने शक्ति मतदातासँगै छ। नेपाल भूराजनीतिक रूपमा संवेदनशील स्थानमा छ। दुई ठूला छिमेकीबीच सन्तुलित कूटनीति अपरिहार्य छ। राष्ट्रिय हितलाई पहिलो प्राथमिकता दिँदै आर्थिक कूटनीति सुदृढीकरण, लगानी आकर्षण र प्रविधि तथा पूर्वाधार सहकार्यलाई प्राथमिकता दिनुपर्छ।


देशलाई पछाडि पार्ने, व्यक्तिगत हितलाई राष्ट्रहितभन्दा माथि राख्ने प्रवृत्तिलाई पराजित गर्ने अवसर यही हो। परिवर्तन केवल नाराले सम्भव हुँदैन; संस्थागत सुधार, कानूनी शासन, पारदर्शी प्रशासन, उत्तरदायी नेतृत्व र सचेत मतदाता अनिवार्य छन्। हामीले आज गर्ने निर्णय भोलिको पुस्ताले मूल्यांकन गर्नेछ। यदि हामी भावनामा बगेर निर्णय गर्छौं भने परिणाम फेरि उही हुनेछ। तर यदि तथ्य, कार्यसम्पादन र इमान्दारिताको आधारमा नेतृत्व चयन गर्छौं भने नेपालले नयाँ दिशा लिन सक्छ। लोकतन्त्र केवल व्यवस्था होइन—यो निरन्तर अभ्यास हो, र देशको भविष्य प्रत्येक सचेत नागरिकको हातमा छ।हामीले बारम्बार देखेका छौँ—निर्वाचन नजिकिँदै जाँदा सडक कालोपत्रे हुन्छन्, अधुरा भवनमा रंगरोगन गरिन्छ, हतारमा शिलान्यास गरिन्छ, र जनताका घरदैलोमा पुगेर मीठा भाषण सुनाइन्छ। तर निर्वाचन सकिएपछि ती प्रतिवद्धताहरू प्रायः कागजमै सीमित हुन्छन्। विकासलाई निरन्तर प्रक्रियाको रूपमा होइन, चुनावी कार्यक्रमको रूपमा हेर्ने प्रवृत्तिले राष्ट्रलाई दीर्घकालीन रूपमा कमजोर बनाएको छ।
देशको आर्थिक अवस्था गम्भीर चुनौतीको सामना गरिरहेको छ। उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्र कमजोर हुँदा आयातमा निर्भरता बढेको छ। व्यापार घाटा चुलिँदै गएको छ। वैदेशिक ऋणको भार बढ्दै जाँदा भावी पुस्तामाथि आर्थिक दायित्व थपिँदै गएको छ। ऋण आफैंमा समस्या होइन, तर ऋणको सदुपयोग नहुनु समस्या हो। यदि ऋण उत्पादनशील क्षेत्रमा लगानी भएर उद्योग, कृषि, ऊर्जा र पूर्वाधारमा रूपान्तरण हुन्थ्यो भने त्यसले दीर्घकालीन प्रतिफल दिन्थ्यो। तर योजनाबद्ध दृष्टिकोणको अभाव र भ्रष्टाचारका कारण अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन।

कृषि, जुन नेपालको ठूलो जनसंख्याको जीवनाधार हो, अझै परम्परागत प्रणालीमा सीमित छ। युवा पुस्ता कृषिप्रति आकर्षित हुन सकेको छैन। मल, बीउ, सिंचाइ, भण्डारण र बजार व्यवस्थापनमा कमजोरी छ। कृषिलाई आधुनिकीकरण, व्यावसायिकीकरण र मूल्य शृंखलासँग जोड्न नसक्दा देश खाद्यान्नमा समेत आत्मनिर्भर हुन सकेको छैन। उद्योग क्षेत्र पनि नीतिगत अस्थिरता, ऊर्जा आपूर्ति, लगानी सुरक्षाको अभाव र प्रशासनिक जटिलताका कारण अपेक्षित रूपमा विकास हुन सकेको छैन। वैदेशिक लगानी आकर्षित गर्ने वातावरण बनाउने कुरा भाषणमा सीमित रहँदा पूँजी पलायन र लगानीकर्ता निराशा बढेको छ।


युवाशक्ति देशको सबैभन्दा ठूलो सम्भावना हो। तर अवसरको अभावले गर्दा हजारौँ युवा विदेशिन बाध्य छन्। यसले परिवार विखण्डन, सामाजिक असर र सीप पलायन जस्ता समस्या निम्त्याएको छ। यदि देशभित्र उद्यमशीलता, प्रविधि, नवप्रवर्तन र रोजगारी सिर्जनालाई प्राथमिकता दिइन्थ्यो भने यही युवा शक्ति देश निर्माणको मेरुदण्ड बन्न सक्थ्यो। भ्रष्टाचार विकासको सबैभन्दा ठूलो अवरोध हो। सार्वजनिक खरिद, ठेक्का प्रणाली, नियुक्ति प्रक्रिया र प्रशासनिक निर्णयमा पारदर्शिताको अभावले राज्य संयन्त्रप्रति अविश्वास बढाएको छ। भ्रष्टाचार केवल आर्थिक हानि होइन; यसले नैतिक पतन र सामाजिक अन्यायलाई पनि प्रोत्साहन गर्छ। जब इमान्दार व्यक्ति हतोत्साहित हुन्छ र अनियमितता गर्नेहरू पुरस्कृत हुन्छन्, तब प्रणाली नै कमजोर हुन्छ।
यस अवस्थामा नागरिक समाज, सञ्चारमाध्यम र न्यायपालिका पनि महत्वपूर्ण स्तम्भ हुन्। उनीहरूले निगरानी, खबरदारी र उत्तरदायित्व सुनिश्चित गर्न भूमिका खेल्नुपर्छ। तर यी संस्थाहरू पनि राजनीतिक प्रभाव र दबाबबाट पूर्ण रूपमा मुक्त हुन नसक्दा अपेक्षित प्रभावकारिता देखाउन सकेका छैनन्। नयाँ नेतृत्वको उदयले आशा जगाएको छ। तर केवल नाराले परिवर्तन सम्भव हुँदैन। नयाँ नेतृत्वले पारदर्शी कार्यशैली, सार्वजनिक जवाफदेहिता र स्पष्ट नीति प्रस्तुत गर्नुपर्छ। डिजिटल प्रविधिको प्रयोग, खुला डाटा प्रणाली, सामाजिक लेखापरीक्षण र नागरिक सहभागिताले शासनलाई प्रभावकारी बनाउन सक्छ।
साथै, पुराना इमान्दार र अनुभवी व्यक्तित्वहरूको योगदानलाई नजरअन्दाज गर्नु उचित हुँदैन। उनीहरूको अनुभव, नीति निर्माणको ज्ञान र प्रशासनिक समझलाई समेट्दै नयाँ पुस्तासँग सहकार्य गराउनु आवश्यक छ। पुस्तान्तरण भनेको टकराव होइन, सहकार्य हो।


राष्ट्र निर्माण दीर्घकालीन प्रक्रिया हो। पाँच वर्षको कार्यकालमा सबै समस्या समाधान नहुन सक्छन्, तर सही दिशा तय गर्न सकिन्छ। त्यसका लागि स्पष्ट राष्ट्रिय प्राथमिकता आवश्यक छ—शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पूर्वाधार, सुशासन र सामाजिक सद्भाव। मतदाता सचेत भए परिवर्तन सम्भव छ। भावनात्मक भाषण, जातीय वा क्षेत्रीय उत्तेजना, क्षणिक लोभ र व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्छ। उम्मेदवारको पृष्ठभूमि, विगतको काम, सम्पत्ति विवरण, सार्वजनिक व्यवहार र नीतिगत स्पष्टता मूल्यांकनका आधार हुनुपर्छ। यदि जनताले बारम्बार उही असफल नेतृत्वलाई जिताइरहन्छन् भने परिवर्तनको अपेक्षा गर्नु व्यर्थ हुन्छ। लोकतन्त्रमा मत नै सबैभन्दा ठूलो शक्ति हो। सही प्रयोग भयो भने यसले देशको दिशा बदल्न सक्छ; गलत प्रयोग भयो भने पछुतो मात्र बाँकी रहन्छ। देशलाई बर्बाद पार्ने, व्यक्तिगत स्वार्थलाई राष्ट्रहितभन्दा माथि राख्ने, झुटा आश्वासन दिएर मत ठग्ने प्रवृत्तिलाई यसपटक निर्णायक रूपमा पराजित गर्न सकिन्छ। यो अवसर गुमाइयो भने फेरि वर्षौं पछाडि धकेलिन सक्छौं ।


अन्ततः राष्ट्रको भविष्य कुनै एक नेता, दल वा समूहले मात्र निर्धारण गर्दैन। यो सामूहिक चेतना, उत्तरदायित्व र सक्रिय सहभागिताबाट निर्माण हुन्छ। आज हामीले गर्ने निर्णय भोलिको पुस्ताको आधार हुनेछ। त्यसैले निर्णय सोचेर गरौँ, प्रमाण र कामका आधारमा गरौँ, इमान्दार र सक्षम नेतृत्वलाई अवसर दिऔँ, र देशलाई आत्मनिर्भर, समृद्ध र न्यायपूर्ण मार्गतर्फ अघि बढाऔँ ।

लालबन्दी, १० फागुन । सर्लाहीमा इजाजत प्राप्त ६४ थान हातहतियार प्रहरी समक्ष बुझाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार माघ २० को समय सीमाभित्र ६४ थान हतियार प्राप्त भएको हो । जिल्लामा ३३४ थान इजाजत प्राप्त हतियार छन । जिल्ला प्रशासन कार्यालय सर्लाहीले गएको पुष २८ गते सुचना प्रकाशन गर्दै आफुसँग हरेका हातहतियारु सुचना प्रकाशन भएको मितिले १५ दिनभित्र नजिकैको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउन अनुरोध गरेको थियो ।

तोकिएको समय सीमाभित्र हातहतियार नबुझाएमा वा अटेर गरेमा प्रचलित कानून बमोजिम हातहतियार जफत गरी कानून बमोजिम कारवाही अगाडी बढाइने व्यहोरा समेत सूचनामा उल्लेखित थियो । सो बमोजिम इजाजत प्राप्त हतियार नबुझाएको निगरानी पनि भइरहेको प्रहरीले जनाएको छ ।

मलंगवा, ०८ फागुन । यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मौन अवधि सुरु भएपछि मदिराजन्य पदार्थ (जाँड, रक्सी) बिक्री, वितरणमा रोक लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मलंगवामा आज जिल्लाका सुरक्षा अधिकारी र होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका पदाधिकारीबिच भएको बैठकले मौन अवधि (फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म) मदिराको बिक्री पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचन र होली पर्वलाई मध्यनजर गर्दै फागुन १५ गतेदेखि १८ गतेसम्म बेलुका ८ः३० बजेसम्म मात्र होटल सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

चुनावलाई स्वच्छ र मर्यादित बनाउन भन्दै सर्लाहीमा दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे बिदेशी सवारी साधनलाई फागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुन नदिने भनी राजनीतिक दलसमेतको उपस्थितिमा यसअघि नै निर्णय भइसकेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।