मलंगवा, ७ फागुन । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको मलंगवा नगरपालिकास्थित वडा नं. ४ ढाँका गाउँमा आज दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् ।
घर नजिकै रहेको निर्माणाधीन मन्दिरमा बेवारिसे अवस्थामा रहेको पेस्तोल पड्किएर स्थानीय रामविश्वास रामको छोरा १५ वर्षीय आकाश राम घाइते भएका हुन् । पेस्तोल पड्किँदा दाहिने हातमा गोली लागेर घाइते भएका अशोकको प्रादेशिक अस्पताल मलंगवामा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो १ः३० बजेदेखि निर्माणाधीन मन्दिरको कुनामा रातो कपडाले बेरिएको वस्तु फेला परेपछि बालक आकाशले कपडा खोलेर हेर्न खोजेका थिए । सोही बेला पेस्तोल पड्किएको बताइएको छ । घटनास्थलबाट पेस्तोल एक थान, पड्किएको गोलीको खोका एक थान र पेस्तोलमै अड्किएको एक थान गोलीको खोका बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
बरामद भएको हतियार जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ल्याएर थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए । पेस्तोल कस्ले राखेको हो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको डिएसपी राईको भनाइ छ ।
सर्लाही सदरमुकाम मलंगवामा चार दिनअघि मात्र गोली प्रहार गरी पूर्वाधार विकास कार्यालयमा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको थियो । सव-इन्जिनियर यादवको हत्यामा संलग्न मानिस अहिलेसम्म पक्राउ परेका छैनन् । उज्यालो अभियानबाट
लालबन्दी, ७ फागुन । सर्लाहीमा तिन ओटा भारतिय नम्बर प्लेटका मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजना युवकको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् ।
बुधबार राति ८ बजे ईश्वरपुर नगरपालिका–१३ बाँके–संग्रामपुर सडक खण्डको ठिल्ला नजिकै बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र एसपी सी ०६२३ नम्बरका तीनवटा मोटरसाइकल एकै ठाउँमा दुर्घटनाग्रस्त अवस्था फेला परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए ।
दुर्घटनामा सर्लाहीकै हरीपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने करिब ३० वर्षका मुकेश राय र सोही ठाउँका ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको डीएसपी राईले बताए । दुर्घटनामा अचेत अवस्थामा फेला परेका उनीहरूलाई लालबन्दीस्थित मोडल अस्पतालमा हुँदै मलंगवास्थित प्रादेशिक अस्पताल लगिएको थियो । गएराति १० बजे अस्पताल पु¥याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा सर्लाहीकै हरिपुर्वा नगरपालिका –९ बस्ने २२ वर्षीय बिक्रम राय र सोही ठाउँ बस्ने ४२ वर्षीय रामविश्वास राय सामान्य घाइते भएका छन् । उनीहरूलाई लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार पश्चात इलाका प्रहरी कार्यालय केशरगंजले नियन्त्रणमा लिएको छ ।
तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
मलंगवा, ०६ फागुन । सर्लाहीमा कार्यालय प्रमुखहरुको बैठकले अत्यावश्यक कामबाहेक निर्वाचन अवधिभर कर्मचारीहरु बिदामा बस्न नपाउने निर्णय गरेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय मलङ्गवामा सम्पन्न बैठकले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै राष्ट्रसेवक कर्मचारीलाई चुनाव अवधिभर बिदामा बस्न नदिने निर्णय गरेको हो । निर्वाचनमा खटाइएको स्थानमा खट्ने/खटाउने प्रवन्ध मिलाइ आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई सफल बनाउने कार्यालय प्रमुखहरुको बैठकले निर्णय गरेको छ ।
निर्वाचनका लागि सर्लाहीका ६२८ मतदान केन्द्रमा तीन हजार ७६८ कर्मचारी खटाइँदै छ । यस्तै बैठकले निर्वाचन प्रयोजनका लागि अत्यावश्यक हुने सवारी साधन जुनसुकै बेला आवश्यक परी माग गर्नुपर्ने भएकाले आफ्ना कार्यालयमा रहेका सवारी साधनहरु चालु अवस्थामा राखी माग भए बखत तत्काल उपलब्ध गराउने निर्णय गरिएको हो ।
बैठकले पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव–इन्जिनियर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिद्वारा गोली हानी हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गरेको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा सम्पन्न निर्वाचन लक्षित कार्यालय प्रमुखहरुको बैठकले राष्ट्रसेवक कर्मचारीले सेवा प्रवाहको कारण सेवाग्राही वा अन्य कुनै पक्षबाट कुनै प्रकारको असुरक्षा महसुस भएको अवस्थामा प्रमुख जिल्ला अधिकारी वा सुरक्षा निकाय समक्ष तत्काल जानकारी गराउने निर्णय गरेको छ ।
फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब दुई साता बाँकी रहँदा जिल्लामा यस प्रकारका बैठकसहित तयारीका काम तीव्र रुपमा भइरहेका छन् ।
काठमाडौँ, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस सभापति ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा घोषणा गरेकी छन् । रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा वर्तमानमा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी हुन् ।
“राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु’, उनले राजीनामा पत्रमा भनेकी छिन् ।
शर्माले थप भनेकी छिन’सङ्गठनमा दिनरात खटिएका क्षमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्याङ्कन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरू माथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यश पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु ।’
शर्मा बाराकी हुन् । उनी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति हुन् । यसपालि टिकट पाउने आशामा रहेकी उनले अन्तिम समयमा टिकट नपाएपछि असन्तुष्ट रहँदै आएकी थिइन् । समानुपातिकमा पनि ममताले निवेदन दिएकी थिइन् । उनले प्राइमरी निर्वाचनबाट तेस्रो नम्बरमा नाम निकाल्न सफल भएकी थिइन्, तर लिस्ट बनाउँदा पार्टीले उनको नाम सात नम्बरमा पु¥याएको थियो, त्यसपछि उनले समानुपातिकमा बस्न अस्वीकार गरेकी थिइन् । रातोपाटीबाट
लालबन्दी, ०४ फागुन । सर्लाही जिल्लाका सरकारी कर्मचारीले फागुन ५ गते मंगलबारका दिन कार्यालयको कामकाज ठप्प पार्ने भएका छन । आईतबार साँझ मलंगवामा एकजना सव–ईन्जिनियरलाई गोली हानि हत्या गरिएपछि त्रसित भएका कर्मचारीले घट्नाको विरोध गर्दै दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन दवाब सृजना गर्न मंगलबार पेन डाउन गर्ने निर्णय गरेका हुन ।
सोमबार कर्मचारी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पेन डाउनको घोषणा गरे । कर्मचारी मिलन केन्द्र सर्लाही, निजामति कर्मचारी संगठन सर्लाही, निजामति कर्मचारी युनियन सर्लाही, राष्ट्रिय कर्मचारी संगठन सर्लाही लगाएतले संयुक्त विज्ञप्ति जारी गर्दै सम्पुर्ण कर्मचारीको पूर्ण सुरक्षाको ग्यारेन्टी गरी कार्यक्षेत्र र व्यक्तिगत सुरक्षाको पूर्ण प्रत्याभुति गराउन राज्यसँग जोडदार माग गरेको उल्लेख गरेका छन ।
विज्ञप्तिमा जनताको सेवामा अहोरात्र खटिने एक कर्मचारीमाथि कायरतापूर्वक गरिएको हत्याको निन्दा गरिएको छ । त्यसैगरि घटनामा संलग्न अपराधीहरुको यथाशिघ्र पहिचान गरी उनीहरुलाई पक्राउ गर्न र कानूनी कठघेरामा उभ्याई हदै सम्मको कार्वाही गर्न र पिडित राष्ट्रसेवक कर्मचारीलाई शहिद घोषणा गरि परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन विज्ञप्तिमार्फत सरकारसँग माग गरिएको छ ।
निजामति कर्मचारी युनियनका केन्द्रिय सदस्य कपिलदेव साह र पुर्व सिबिए अध्यक्ष उमेश मिश्र समेतको हस्ताक्षर रहेको विज्ञप्तिमा ‘आसन्न निर्वाचनको संघारमा कर्मचारीहरु फिल्ड र कार्यक्षेत्रमा खटिनुपर्ने अवस्था छ यस्तो समयमा भएको यो घटनाले कर्मचारीहरुको मनोबल गिराएको छ ।’ उल्लेख गरिएको छ ।
आइतबार साँझ मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवमाथि अपरिचित समूहले गोली प्रहार गरि हत्या गरेकाे थियाे ।

काठमाडौँ, ०४ फागुन । सर्लाहीको बागमती नगरपालिकाका तत्कालिन मेयर भरतकुमार थापाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित भएको छ। साेमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा तोकिएको पेसी थापाको तर्फबाट कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध माछापोखरी निर्माणका नाममा ५६ करोड ७१ लाख रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको भन्दै सोही बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
अख्तियारले बागमतीको वडा ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिट्टी, बालुवा, माटो उत्खनन गरी परेको खाल्डोमा माछापोखरी निर्माणका नाममा करोडौँ रकम सङ्घ र प्रदेशबाट माग गरी हिनामिना गरेको अभियोग छ ।
आयोगले मेयर थापासहित उपमेयर लिलाकुमार मोक्तान र पूर्वमन्त्री विजय कुमारविरुद्ध जनही ५६ करोड ७१ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ ।
अख्तियारले मेयर थापासहित बिमलकुमार पोखरेल, सागर पौडेल, विश्वराज पोखरेल, निरञ्जन लामिछाने, विजय कुमार, गोकुल भुजेल, लीला कुमारी मुक्तानलाई विपक्षी बनाएको छ । प्रतिवादीले माछापोखरी निर्माणको नाममा पोखरी समेतका गैरकानुनी संरचनाहरू निर्माण गरी साबिक वन ऐन, २०४९ एवं प्रचलित वन ऐन, २०७६ बमोजिम कसुर गरेको अभियोग छ ।
मधेस प्रदेश सरकारबाट पटक–पटक माछाविहीन पोखरीका लागि अनुदान लिइएको, निर्माण पूरा नभएको भनी तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमारले एमओयूमा आफैँले हस्ताक्षर गरी ३० करोड रुपैयाँ अनुदान दिएको अभियोग छ । रातोपाटीबाट
सर्लाही, ०४ फागुन । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र चुनाव प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो चुनाव सम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।
त्यही व्यवस्थाअनुसार आजदेखि १८ गते राति १२ बजेसम्म दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन् । दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यममा पनि विज्ञापनबाट प्रचार–प्रसार गर्न सक्नेछन् । चुनाव प्रचार–प्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।
निर्वाचन आयोगले प्रचार प्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । आचारसंहिताको सीमा रेखाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारको उल्लंघन नगर्न आयोगले सचेत गराएको हो । आयोगले चुनावी प्रचारप्रसारमा हिंसा, धम्की, लोभ लालच र सामाजिक बहिष्कार जस्ता गतिविधिमा कडाइका साथ रोक लगाएको छ ।
आयोगले खर्चको सीमा पालना गर्न, मतपत्र दुरुपयोग नगर्न र आचारसंहिताको पालना गर्न सबै दलहरूलाई अनुरोध गरेको छ । निर्देशन उल्लंघन गरेमा सम्बन्धित निर्वाचन अधिकृत वा आयोगमा उजुरी दिन सकिने आयोगले जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता पालना गर्नु दलहरूको कानूनी र नैतिक दायित्व रहेको भन्दै यो दायित्व पूरा गरी कारवाहीको झमेलामा नपर्न आग्रह गर्नुभयो ।
कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा चुनावलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवम् संगठित रूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले जनाएको छ ।
सर्लाही, ०४ फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ ।
आजदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरमा ३ रूपैयाँ बढेको हो । खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ भने यथावत छ ।
चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ १ सय ५४ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ ।
त्यस्तै डिजेल र मट्टीतेलको भाउ लिटरको १ सय ३९ रूपैयाँ ५० पैसा पर्नेछ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ १ सय ५६ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको भाउ १ सय ४१ रूपैयाँ प्रतिलिटिर पर्नेछ ।
काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १ सय ५७ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १ सय ४२ रूपैयाँ पर्नेछ ।
मलंगवा, ३ फागुन । सर्लाही सदरमुकाम मलंगवामा एक सव-इन्जिनियरमाथि गोली प्रहार गरि हत्या भएको छ। मलंगवा नगरपालिका-१० मा आइतबार साँझ सव-इन्जिनियरमाथि गोली प्रहार भएको हो।
मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवमाथि अपरिचित समूहले गोली प्रहार गरेको हो। यादवको देव्रे छातीमा गोली लागेको प्रहरीले जनाएको छ।
गोली लागेका यादवलाइ उपचारका लागी प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घाेषणा गरेका जिल्ला प्रहरी कायार्लय सर्लाहीले जनाएकाे छ ।
मलंगवा १० मा डेरा गरि बस्ने यादव सिराहाको सुखीपुर निवासी हुन्।
घटनाबारे अनुसन्धान भइरहेको तथा सदरमुकाम मलंगवाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि सरोज राईले बताएका छन्।
लालबन्दी, ३ फागुन । पालिकाको कार्यसम्पादनमा सर्लाहीकाे बरहथवा नगरपालिका ६४.३९ अङ्क प्राप्त गरी पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार बरहथवा नगरपालिका पहिलो भएको हाे । जिल्लाका १० पालिकाले ५० अङ्क ल्याउन सफल भएका छन् भने १० वटा पालिकाले ५० भन्दा पनि कम अङ्क ल्याएका छन् ।
जिल्लामा चन्द्रनगर गाउँपालिकाले सबैभन्दा कम ३५.१६ अङ्क प्राप्त गरेको छ । अन्य नौ स्थानीय तहले भने ४० अङ्क कटाएका छन् । रामनगर गाउँपालिकाले ४०.५३, कविलासी नगरपालिकाले ४२.३६, हरिपुर्वा नगरपालिकाले ४२.८०, गोडैता नगरपालिकाले ४३.९६, ब्रम्हपुरी गाउँपालिकाले ४४.५१, बसबरिया गाउँपालिकाले ४५.६१, पर्सा गाउँपालिकाले ४६.०८, ईश्वरपुर नगरपालिकाले ४६.८३ र मलङ्गवा नगरपालिकाले ४९.२५ अङ्क प्राप्त गरेका छन् ।

जिल्लामा ५० अङ्क कटाएका पालिकामध्ये बलरा नगरपालिकाले ५०.२७, चक्रघट्टा गाउँपालिकाले ५१.८१, धनकौल गाउँपालिकाले ५३.३७, विष्णु गाउँपालिकाले ५४.३५, लालबन्दी नगरपालिकाले ५७.२३, बागमती नगरपालिकाले ५८.२१ र कौडेना गाउँपालिकाले ५९.२० अङ्क प्राप्त गरेका छन् ।
जिल्लाको २० पालिकामध्ये कार्यसम्पादन मुल्याङ्कलनमा बरहथवा नगरपालिका ६४.३९ अङ्क प्राप्त गरी पहिलो भएको छ । ६२.०२ अङ्क प्राप्त गरी हरिवन नगरपालिका दोस्रो र ६१.१९ अङ्क प्राप्त गरी हरिपुर नगरपालिका तेस्रो भएका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बजेट तर्जुमा र कार्यान्वयन, राजस्व परिचालन, लेखापरीक्षण, शिक्षा, स्वास्थ्य र सुशासनलगायतका १७ सूचकका आधारमा मूल्याङ्कन गरेको हो ।