लालबन्दी, २७ माघ ।
लालबन्दी नगरपालिका-१ नवलपुरमा आयोजित प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) फाइनल खेल हुँदैछ ।
नगद ३ लाख सहित प्रथम उपाधिका लागि आयोजक जीवेश्वर युवा क्लब, सर्लाही र वेङ्गखाडी युवा क्लब, महोत्तरी भिड्दै छन् । फाइनल खेल दिउँसो १ बजेबाट सूरु हुने आयोजक समितिका राजु राईले जानकारी दिए । दोस्रो हुने टिमले नगद १ लाख ५० हजार रुपैंयामात्र प्राप्त गर्नेछ ।
गत माघ १६ गतेबाट जारी प्रतियोगितामा फाइनल प्रतिष्पर्धी बाहेक वीरगन्ज युनाइटेड क्लब पर्सा, रतनपुर युनाइटेड यूथ क्लब बारा, नेपाल खेलकुद क्लब रौतहट, धनुषा–११ धनुषा, गोलबजार स्पोर्टस् क्लब सिराहा, न्यू त्रियूगा स्पोर्टस् क्लब सप्तरी, गाइघाट यूवा क्लब उदयपुर, इनरुवा फुटबल क्लब सुनसरी, भरतपुर फूटबल क्लब चितवन र मकवानपुर जिल्ला फुटबल संघ हेटौंडाले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष दीप बहादुर बुढाथोकी (दीपेन्द्र)ले जानकारी थिए ।
गोलबजार स्पोर्टस् क्लब सिराहा, गाइघाट यूवा क्लब उदयपुर र न्यू त्रियूगा स्पोर्टस् क्लब सप्तरीलाई हराउँदै फाइनल प्रतिष्पर्धामा पुगेको आयोजक जीवेश्वर युवा क्लब तथा मकवानपुर फुटबल संघ हेटौंडा, इनरुवा फुटबल क्लब सुनसरी र वीरगन्ज युनाइटेड क्लब पर्सालाई पराजित गर्दै आयोजकसँग आमनेसामने भएको महोत्तरीबीचको खेल अत्यन्त प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको छ ।
लालबन्दी, २६ माघ ।
सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत २ ओटा माध्यमिक विद्यालयमा लायन्स क्लव अफ लालबन्दी सिटिले विद्यालय झोला वितरण गरेको छ ।
समाज सेवामा सक्रिय क्लवले लालबन्दी १२ मा रहेको नारायण जनता उमावि र वडा नम्बर १६ मा रहेको श्री डिम जनता माविमा झोला वितरण गरेको हो । क्लवले ति २ विद्यालयमा ५०/५० ओटा झोला वितरण गरेको हो । विद्यालय ब्यवस्थापन समितीका पदाधिकारी, वडाका जनप्रतिनिधिहरु, स्थानीय अभिभावक तथा शिक्षकहरुको उपस्थितीमा क्लवले विद्यालयमा झोला वितरण गरेकाे हो ।
कार्यक्रममा क्लवका तर्फबाट अध्यक्ष रेवन्तराज तिमल्सिना, संस्थापक अध्यक्ष दिपेन्द्र अधिकारी, पूर्व अध्यक्ष बिकल जर्गा मगर, सुरज थापासहितका पदाधिकारीहरु सहभागी भएका थिए ।
राजु श्रीवास्तव, रौतहट,
२६ माघ ।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरी (छाता छाप) ले आज धरहरी, गोनाही र उचिडिह गाउँमा प्रचार–प्रसार तथा मतदाता भेटघाट कार्यक्रम गरेका छन् ।
भेटघाटका क्रममा स्थानीय मतदाताहरूले उम्मेदवार चौधरीलाई २०४८ सालको चुनाव आमछापदेखि नै चिनिरहेको बताउँदै उनको लामो राजनीतिक अनुभव र निरन्तर सक्रियतालाई स्मरण गरेका थिए । मतदातासँगको संवादमा उम्मेदवार चौधरीले कुनै पनि किसिमको लोभ–लालचमा नपर्न आग्रह गर्दै भने, “चुनाव नजिकिँदै जाँदा धेरै जना विभिन्न प्रलोभन लिएर आउन सक्छन्, तर त्यसमा नफस्नुहोस् ।”

उनले यसपटक जनताले वास्तविक परिवर्तन चाहेको उल्लेख गर्दै भने, “परिवर्तनको एक मात्र बलियो विकल्प मेरो उम्मेदवारी हो । मेरो जितका धेरै आधार छन्—मेरो आफ्नै समुदायको पूर्ण साथ र समर्थन, लामो समयदेखि साथमा रहेका राजनीतिक सहयात्रीहरूको सहयोग, र तपाईं मतदाताहरूको विश्वास ।”
मतदाताहरूको साथ र सहयोग रहेमा यसपालि रौतहट–३ मा परिवर्तन निश्चित हुने दाबी गर्दै उम्मेदवार चौधरीले छाता छापमा मतदान गर्न अपिल गरेका छन् ।
सर्लाही । मधेश प्रदेश सरकारले खर्चलाई कटौती गर्न लिखित रूपमा निर्देशन दिएको छ । मधेश प्रदेशको अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/८३ मा हुने सार्वजनिक खर्चमा कटौती गर्न सम्पूर्ण मन्त्रालय, निर्देशनालय तथा मन्त्रालय मातहतका कार्यालय तथा परियोजनालाई अत्यावश्यकबाहेकका खर्च नियन्त्रण गर्न परिपत्र गरेको हो ।
परिपत्रमा गाडी खरिद, फर्निचर खरिद, कार्यालय सजावट एवम् महँगा सामान खरिद, अनावश्यक गोष्ठी, भ्रमण तथा अतिथि सत्कारजस्ता खर्चमा पूर्णरूपमा कडाइ गर्न निर्देशन छ । जथाभाबी बजेटको दुरुपयोग नगर्न तथा बजेटमा सुशासन कायम गर्न तथा सीमित स्रोत साधनलाई प्रभावकारी रूपमा परिचालन गर्न पछिल्लो निर्णय गरिएको पत्रमा उल्लेख छ ।
प्रदेश अर्थ मन्त्रालयका उपसचिव जयकुमार राउतद्वारा हस्ताक्षरित पत्रमा अत्यावश्यक सेवा प्रवाह, विकास निर्माणका चालू आयोजना तथा प्राथमिकता प्राप्त योजनामा कुनै असर नपर्ने गरी खर्च व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।
आवश्यकताबाहेक गाडीको प्रयोग नगर्न, इन्धन तथा खर्च घटाउन तथा मर्मत–सम्भारमा मितव्ययिता अपनाउन पनि आग्रह गरिएको छ । साथै खर्च कटौतीसम्बन्धी जारी भएको विषयमा खर्चको पालना भएको वा नभएको सम्बन्धमा अनुगमन गरिनेछ ।
सर्लाही । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा बढीलाई दादुरा विरुद्धको खोप लगाइएको जनाएको छ ।
स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले मङ्गलवा–२, ३, ४, ८, ९ र १० मा लक्ष्यभन्दा बढी बालबालिकालाई खोप लगाइएको बताए।
उनका अनुसार उक्त ठाउँमा करिब १० हजार ३२ जनालाई दादुरा विरुद्धको खोप लगाइको छ । दादुरा फैलिएको ठाउँमा सात हजार ५१९ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो ।
“हाम्रो अनुमानभन्दा धेरै बालबालिका ती वडामा थिए”, उनले भने, “त्यही भएर हाम्रो लक्ष्यभन्दा दुई हजार ४५२ जना बढी बालबालिकालाई खोप लगायौँ ।”
दादुराको सङ्क्रमण फैलिएको ती वडामा छ महिनादेखि १५ वर्षमुनिका सबैलाई दादुरा विरुद्धको खोप लगाइएको छ । अहिलेसम्म उक्त ठाउँमा सात जना दादुराका बिरामी भएको पुुष्टि भएको छ ।
“सात जनामा मात्र दादुरा देखिए पनि फैलन सक्ने जोखिम भएकाले प्रभावित वडासँग जोडिएका वडामा पनि खोप लगाएका हौँ”, उनले भने । गत पुस २५ गते मलङ्गवा नगरपालिका–३ र ४ मा दादुरा महामारी फैलिएको थियो ।
सर्लाही । आइसिसी टि२० विश्वकप क्रीकेटमा नेपालले इंग्ल्याण्डसंग ४ रनको हार व्यहोरेको छ ।
१८५ रनको विजयी लक्ष्य पाएको नेपालले उत्कृष्ट प्रदर्शनी गरेपनि अन्तिम २ बलमा ६ रन चाहिएको स्थितिमा १ रनमात्र बनाउन सक्दा हार व्यहोरेको हो ।
लोकेश बमले आक्रमक ब्याटिङ गर्दै जित नजिक पुर्याएपनी त्यो सम्भव भएन ।
लोकेशले २० बलमा ४ चौका र २ छक्काको मद्दतमा ३९ रनको योगदान दिदैँ नट आउट रहे । करण केसि १ रनमा नट आउट रहे ।
नेपालको सुरुवात राम्रो रह्यो । सुरुवाती ३ ओभरमा विना विकेट गुमाउँदै ३१ रन जोडेको नेपालले चौथो ओभरको पाचौं बलमा पहिलो विकेट गुमायो ।
डासोनको बलमा आसिफ क्याच आउट भए । यस्तै कुशल भुर्तेल छैटौं ओभरको दोस्रो बलमा आउट भए । विल ज्याक्सले उनलाई आउट गराए ।
ओपनर कुशल भुर्तेलले १७ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा २९ रन जोडे ।
आशिफ शेख ७ रनमा आउट भए ।
पावर प्ले को समाप्ति सम्म नेपालले २ विकेट गुमाउँदै ४७ रन जोडेको थियो ।
त्यसपछी कप्तान रोहित पौडेल र उपकप्तान दिपेन्द्र सिंह ऎरिले सम्हाल्दै इनिङ उकास्ने काम गरे ।
१५ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा दिपेन्द्र ४४ रनमा आउट भए । उनले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
१६ औं ओभरको तेस्रो बलमा कप्तान पौडेल पनि आउट भए ।
उनले ३४ बलमा २ चौका, २ छक्का प्रहार गर्दै ३९ रन बनाए । उनी लियाम दसोनको बलमा आउट भए ।
आरिफ शेख आर्चरको बलमा क्याच आउट भए उनले १० रन जोडे ।
६ बलमा १० रन चाहिएको स्थितीमा गुल्सन झा वोल्ड आउट भए । १९ ओभरको अन्तिमबलमा लुके वुडले आउट गरे ।
त्यस अघि वनखडे रंगशालामा टस जितेर व्याटिङ थालेको इंग्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो।
इंग्ल्याण्डका जाकोब बेथेलले ५५ तथा कप्तान ह्यारी ब्रोकले ५३ रन जोडे ।
नेपालका लागि शेर मल्लले पहिलो विकेट लिए । राष्ट्रिय टिममा डेब्यु गरेका मल्लले पहिलो बलमा नै विकेट लिएका थिए ।
दोस्रो ओभरको पहिलो बलमा ठूलो सट खेल्ने प्रयास गरेका ईंग्ल्यान्डका ओपनर फिल साल्ट क्याच आउट भए । सन्दीप लामिछानेले क्याच गरेका थिए ।
नेपालका नन्दन यादवले ईंग्ल्यान्डका ओपनर जोस बटलरलाई आउट पार्दै दोस्रो सफलता दिलाए । ५.२ ओभरमा विकेट गुमाएको हो । नन्द यादवले १८.२ ओभरमा अर्को विकेट लिए ।
नेपालका सन्दीप लामिछानेले ईंग्ल्यान्डका टम बान्टनलाई आउट पार्दै तेस्रो सफलता दिलाए । उनले सातौं ओभरको पहिलो बलमै विकेट लिए ।
नेपालका दीपेन्द्र सिंह ऐरीले ईंग्ल्यान्डका जेकोब बेथेललाई आउट पार्दै चौंथो सफलता दिलाएका हुन् । उनी ५५ रन जोडेर आउट भए । उनले उनले साम कुरनलाई बोल्ड आउट गराए । जोफ्रा आर्चर १९.५ औं ओभरमा रन आउट भए ।
हरिवन, २५ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही स्थित ४ वटा निर्वाचन क्षेत्रमा २६ राजनैतिक दलले ६१ जना उम्मेद्वार मैदानमा उतारेका छन् । ७१ जनाको स्वतन्त्र उम्मेद्वारी परेको छ । दलहरुबाट उम्मेद्वार बन्नेमा २७ वर्षीय युवादेखि ८८ वर्षीय वृद्धसम्म रहेका छन् ।
पछिल्लो समय युवा पुस्तालाई प्राथमिकता दिने भनेर सबै राजनैतिक दलका नेताहरुले सार्वजनिक भाषणवाजी गर्दै आएका छन् । अझ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले त राजनीतिमा युवाको प्रतिनिधित्व बढाउन सबै राजनैतिक दलहरुलाई दबाब पर्यो ।
यद्यपी चुनावमा उठाएका उम्मेद्वारहरुको उमेर हेर्ने हो भने दलहरुले युवा पुस्तालाई वेवास्ता गरेको स्पष्ट देखिन्छ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट पछिल्लो समय स्वीकृत राष्ट्रिय युवा नीति-२०८२ मा १८ देखि ३५ वर्ष उमेर समुहकालाई युवा भनिएको छ । जसअनुसार अधिकांश दलहरुले उठाएका उम्मेद्वारको उमेर हेर्ने हो भने युवा पुस्तालाई वेवास्ता गरेको देखिन्छ ।
मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालयहरुले सार्वजनिक गरेको उम्मेद्वारहरुको अन्तिम नामाबली अनुसार ६१ जनामध्ये १० जना मात्र ३५ वर्षसम्मको युवा उमेर समुहका छन् । जुन कुल उम्मेद्वारको १६ प्रतिशत मात्र हो ।
त्यस्तै ३६ वर्षदेखि ५० वर्ष उमेरका २३ जना अर्थात ३८ प्रतिशत रहेका छन् । उमेर समुहका हिसाबले ५० वर्ष माथिबाट सबैभन्दा बढी २८ जनाको उम्मेद्वारी परेको छ । जुन कुल उम्मेद्वारीको ४६ प्रतिशत हो ।
दलहरुका तर्फबाट यस निर्वाचनमा सबैभन्दा कान्छा उम्मेद्वार क्षेत्र नं. ४ मा नेकपा एमालेबाट उठेका २७ वर्षे अमनिश कुमार यादव हुन् भने सबैभन्दा जेठा नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नं. २ मा उठेका पूर्व मन्त्री ८८ वर्षे महिन्द्र राय यादव हुन् । कान्छा उम्मेद्वार अमनिश २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा क्षेत्र नं. ६ बाट निर्वाचित शिवपुजन रायका छोरा हुन् ।
क्षेत्र नं. १ मा १९ जना उम्मेद्वारमध्ये ३५ वर्षसम्मको उम्मेद्वारी संख्या ४ जना मात्र रहेको छ । जसमा राष्ट्रिय मुक्ति पार्टी नेपालबाट कविलासीका विकास कुमार ठाकुर (३४), जनमत पार्टीबाट चन्द्रनगरका श्रीन्जय महतो (३४), श्रम संस्कृति पार्टीबाट लालबन्दीका सुमन हरि अधिकारी (३३) र राष्ट्रिय मुक्ति आन्दोलन, नेपालबाट लालबन्दीका टेक बहादुर श्रेष्ठ (३०) रहेका छन् ।
त्यसैगरी क्षेत्र नं. २ मा १४ जना उम्मेद्वारमध्ये ३५ वर्षसम्मको उम्मेद्वारी संख्या ३ जना मात्र रहेको छ । त्यहाँ आम जनता पार्टीबाट ईश्वरपुरका चन्द्र भुषण साह (३३), नेपाल संघीय समाजवादी पार्टीबाट कौडेनाका रजी अहमद (३४) र नेपालका लागि नेपाली पार्टीबाट मलंगवाका कृष्ण यादव (२७) रहेका छन् ।
क्षेत्र नं. ३ मा प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट हरिवनका सविउल शेष (३०) को मात्र उम्मेद्वारी परेको छ । क्षेत्र नं. ४ मा एमालेका अमनिश तथा नेकपाबाट गोडैताका रजनिस राय (३२) रहेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेपुस मसान्तभित्र नै विशेष महाधिवेशन हुन्छ- गगन थापासका महामन्त्री गगन थापाले विशेष महाधिवेशन हुने बताएका छन् ।

शुक्रबार काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै महामन्त्री थापाले बैठकले गरेका निर्णयप्रति असहमति जनाउदै पुस मसान्तभित्र नै विशेष महाधिवेशन हुने स्पष्ट गरेका हुन् ।
उनले नेतृत्वले एक दुई दिनमा केन्द्रीय समिति बैठक बोलाएर विशेष महाधिवेशन गर्ने निर्णय नगरे आफुहरुले महामन्त्रीको अधिकार प्रयोग गरेर विशेष महाधिवेशनमा जाने बताएका हुन् ।
उनले देशभरका काँग्रेस कार्यकर्तालाई विशेष महाधिवेशनका लागि काठमाडौँ आउन समेत आव्हान गरेका छन् । महामन्त्री थापाले विधान मिचेको टुलुटुलु हेरेर बस्न नसकिने बताउदै विशेष महाधिवेशन हुने स्पष्ट गरेका छन् । उनले आजको बैठकले विधानमा व्यवस्था भए अनुसार विशेष महाधिवेशनको प्रस्तावनै नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
निजगढ/बारा
नगरपालिका वडा नम्बर ४ स्थित बाघ भैरव युवा क्लव र राष्ट्रिय सांगितकर्मी संघ मधेस प्रदेशको संयुक्त आयोजनामा मंगलवारबागदेवमा ‘तीज विशेष सांस्कृत कार्यक्रम’ आयोजना गरिएको छ ।जनकल्याण आधारभूत विद्यालयको प्राङ्गणमा भएको सो सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रममा बहुप्रतीभाशाली हास्यकलाकार उमेश राई(फुलन्देको आमा), ख्यातिप्राप्त लोकगायिका विन्दा परियारसहित स्थानीय कलाकार बद्री राउत, प्रमिला आले र नवराज राउतले एक दर्जनभन्दा बढी गीत तथा नृत्य प्रस्तुती दिएका थिए ।
निजगढ़ नगर कार्यपालिका कार्यालय, वडा नम्बर ४ को कार्यालय र नगरपालिकाको कार्यपालिका लक्षित कोषको आर्थिक सहयोगमा भएको सो कार्यक्रममा सहयोगी विभिनन संस्था र व्यक्तिहरुलाई मायाको चिनो र प्रशंसापत्र प्रदान गरिएको थियो ।
क्लबका अध्यक्ष अम्बरबहादुर अधिकारी ‘इश्वर’ को अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशसभा सदस्य मिना लामा, विशिष्ट अतिथिमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया लामा, वडा अध्यक्ष विशन सापकोटा रहेका थिए । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले कार्यक्रम सफलताको लागि शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा सयौं श्रद्धालु महिलाहरुको सहभागिता रहेको थियो ।क्लबले हरेक वर्ष नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिकाको अवसरमा बागदेवमा तीज विशेष कार्यक्रम आयोजना गर्दैआएको छ ।