लालबन्दी । सर्लाहीको लालबन्दीबाट २ जना सडकमानवलाई उद्धार गरि मानवसेवा आश्रम हरिवन पठाईएको छ । लामो समयदेखि लालबन्दी आसपासमा बसिरहेका ३ जना मध्ये २ जनालाई उद्धार गरि आश्रम पठाईएको हो ।
आश्रममा उनिहरुको उचित हेरचाह र स्याहार हुने अपेक्षा लिइएको छ । जनज्योती माबिमा अध्याापन गराउने शिक्षक भरतलाल महतोको विशेष पहलमा उनिहरुलाई आश्रम पठाईएको हो ।
ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख, लालबन्दी ७ का वडाध्यक्ष कृष्ण कुमार कार्कि, स्थानीय ब्यवसायीहरु तथा सञ्चारकर्मिको उपस्थितीमा उनिहरुलाई प्रहरीकै गाडीमा आश्रम पु¥याईएको थियो । शिक्षक महतोले आफुले लामो समयदेखि उनिहरुलाई सडकमा असुरक्षित तवरबाट बसिरहेको देखेको र माया लागेपछि आश्रममा खबर गरेको बताएका छन ।

उनले यस अघिपनि यसैगरि सडक मानवलाई आश्रममा पठाउने कार्यमा सहजिकरण गरेका थिए ।
पिसाब गरिसकेपछि शौचालयबाट बाहिर निस्किएको केही सेकेन्ड वा मिनेटमै फेरि पिसाबका केही थोपा चुहिने समस्या पुरुषमा सामान्य मानिन्छ। यसलाई पोस्ट–मिक्टुरेसन ड्रिब्लिङ (पीएमडी) भनिन्छ।
समस्या सामान्यजस्तो देखिए पनि यसले कतिपय पुरुषको दैनिक जीवन, आत्मविश्वास र मानसिक स्वास्थ्यमा असर पार्न सक्छ। धेरैले यसलाई उमेर बढ्दै जाँदाको समस्या ठान्छन्। तर पीएमडी युवावस्थाका पुरुषमा पनि देखिन सक्छ।
विशेषज्ञहरूका अनुसार यसको प्रमुख कारण पेल्भिक फ्लोरका मांसपेशी कमजोर हुनु, मूत्रमार्गमा केही मात्रामा पिसाब बाँकी रहनु तथा पिसाब गर्ने गलत बानी हुन सक्छन्।
पीएमडी भनेको के हो ?
पिसाब गरिसकेपछि पनि मूत्रमार्गमा केही पिसाब बाँकी रहन्छ र शौचालयबाट बाहिरिएपछि त्यसका केही थोपा चुहिन्छन्। यही अवस्थालाई पोस्ट–मिक्टुरेसन ड्रिब्लिङ भनिन्छ।
यसको मुख्य लक्षण शौचालयबाट बाहिरिएको केही समयपछि अचानक पिसाबका थोपा चुहिनु हो। कतिपय अवस्थामा अन्डरवेयरसमेत भिज्न सक्छ।
मूत्र रोग विशेषज्ञहरूका अनुसार यो समस्या प्रायः मूत्रमार्गको तल्लो भागमा केही पिसाब अड्किएर बस्दा हुन्छ।
पिसाब गरिसकेपछि केही थोपा निस्कनुलाई परम्परागत अर्थमा ‘पिसाब नियन्त्रण गर्न नसक्ने अवस्था’ अर्थात् इन्कन्टिनेन्सको श्रेणीमा राखिँदैन। यो पिसाबसम्बन्धी फरक किसिमको समस्या हो।
पेल्भिक फ्लोरको भूमिका के हुन्छ ?
पेल्भिक फ्लोर पेटको तल्लो भागमा रहेको मांसपेशी, तन्तु र लिगामेन्टको संरचना हो। यसले मूत्राशय, मूत्रमार्ग, आन्द्रा तथा पुरुषमा प्रोस्टेटलाई आवश्यक सहारा दिन्छ।
यसका मांसपेशीले पिसाब र दिसा नियन्त्रण गर्ने स्फिंक्टरलाई पनि सहयोग गर्छन्।
खोक्दा, हाछ्युँ गर्दा, तौल उठाउँदा वा व्यायाम गर्दा पेटभित्रको दबाब बढ्छ। यस्तो अवस्थामा पेल्भिक फ्लोरका मांसपेशीले शरीरका यी अंगलाई स्थिर राख्न महत्वपूर्ण भूमिका खेल्छन्।
पीएमडी युवालाई पनि हुन सक्छ
पीएमडीको सबैभन्दा सामान्य कारण पेल्भिक फ्लोरका मांसपेशी कमजोर हुनु हो। यी मांसपेशीले मूत्रमार्गमा बाँकी रहेको पिसाब बाहिर निकाल्न सहयोग गर्छन्।
मांसपेशीले पर्याप्त रूपमा काम नगर्दा मूत्रमार्गमा केही पिसाब बाँकी रहन सक्छ र पछि थोपा–थोपा चुहिन सक्छ।
यसको अर्थ पीएमडी भयो भन्दैमा प्रोस्टेटमा समस्या छ भन्ने हुँदैन। प्रोस्टेट बढ्नु केही अवस्थामा कारण हुन सक्छ, तर विशेषगरी युवामा पीएमडी प्रायः मांसपेशीको कार्यसँग सम्बन्धित समस्या हुन्छ।
तर पिसाबका थोपा चुहिने समस्यासँगै अन्य लक्षण पनि देखिएमा चिकित्सकसँग जाँच गराउनु आवश्यक हुन्छ।
लक्षण
• पिसाब गर्दा जलन वा दुखाइ हुनु
• पिसाबको धार कमजोर हुनु
• पिसाब गर्न जोर लगाउनुपर्ने अवस्था
• बारम्बार पिसाब लाग्नु
• पिसाबमा रगत देखिनु
• पेल्भिक क्षेत्रमा दुखाइ हुनु
• बारम्बार मूत्र संक्रमण हुनु
व्यायामले सुधार गर्न सक्छ
पीएमडीको उपचारमा पेल्भिक फ्लोर व्यायाम महत्वपूर्ण मानिन्छ। तर व्यायाम सही तरिकाले गर्नु आवश्यक हुन्छ।
पिसाब गरेपछि अण्डकोषको पछाडिको भागबाट अगाडितर्फ हल्का दबाब दिई मूत्रमार्गमा बाँकी रहेको पिसाब बाहिर निकाल्ने प्रविधिलाई युरेथ्रल मिल्किङ भनिन्छ।
यस्तै, पेल्भिक फ्लोर मांसपेशी बलियो बनाउन गरिने कीगल व्यायाम पनि उपयोगी हुन सक्छ।
तर कीगल व्यायाम गर्दा गलत मांसपेशी कस्ने, पेट, नितम्ब वा तिघ्राका मांसपेशी अत्यधिक प्रयोग गर्ने, सास रोक्ने वा अनियमित रूपमा व्यायाम गर्ने गल्ती हुन सक्छ।
त्यसैले व्यायामको तीव्रताभन्दा सही प्रविधि महत्वपूर्ण हुन्छ।
यदि मूत्र संक्रमण, प्रोस्टेट बढ्ने वा अन्य कुनै कारण छैन भने पीएमडीका लागि सामान्यतया औषधि आवश्यक नपर्न सक्छ ।
कहिले चिकित्सकलाई देखाउने ?
पीएमडीसँगै पिसाबमा रगत आउने, जलन हुने, ज्वरो आउने, पेरिनियल क्षेत्रमा दुखाइ हुने, पिसाबको धार कमजोर हुने वा बारम्बार संक्रमण हुने जस्ता समस्या देखिएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ।
यस्ता लक्षण अन्य मूत्रसम्बन्धी समस्याको संकेत पनि हुन सक्छन्।
आवश्यक परे चिकित्सकले लक्षणको इतिहास र शारीरिक परीक्षणका साथै युरोफ्लोमेट्री वा पिसाब परीक्षण जस्ता जाँच गर्न सक्छन्।
घरमै लक्षणको रेकर्ड राख्न सकिन्छ
पीएमडी भएका व्यक्तिले केही समय आफ्नो लक्षणको रेकर्ड राख्न सक्छन्। उदाहरणका लागि, पिसाब चुहिएको समय, कति पटक भयो, कति मात्रामा चुहियो र शौचालयमा केही समय थप बस्दा त्यसमा परिवर्तन आयो कि आएन भन्ने कुरा टिपोट गर्न सकिन्छ।
यस्तो रेकर्डले चिकित्सकलाई समस्याको प्रकृति र ढाँचा बुझ्न सहयोग गर्न सक्छ ।
तर समस्या निरन्तर भइरहेमा केवल घरमै निगरानी गरेर बस्नु उचित हुँदैन । लक्षण बढ्दै गएमा चिकित्सकबाट जाँच गराउनु आवश्यक हुन्छ।
मानसिक स्वास्थ्यमा पनि असर
पीएमडी सामान्यतया गम्भीर रोग नभए पनि यसले पुरुषमा लाज, चिन्ता र आत्मविश्वासमा कमी ल्याउन सक्छ।
अन्डरवेयरमा दाग लाग्ने वा अरूले थाहा पाउने डरले कतिपय व्यक्ति सामाजिक गतिविधिबाट समेत टाढिन सक्छन्।
तर विशेषज्ञहरूका अनुसार यसबारे लाज मान्नुपर्ने कारण छैन। पीएमडी सामान्य र व्यवस्थापन गर्न सकिने समस्या हो।
सही तरिकाले पेल्भिक फ्लोर व्यायाम गर्ने, आवश्यक परे युरेथ्रल मिल्किङको प्रविधि अपनाउने र अन्य लक्षण देखिएमा चिकित्सकसँग परामर्श गर्ने हो भने धेरै अवस्थामा समस्या सुधार गर्न सकिन्छ । स्वास्थ्य खबरबाट…
लालबन्दी । सर्लाहीको लालबन्दी ८ मा रहेको श्री आधारभुत विद्यालय, खतिवडा चोकमा अध्ययनरत एक विपन्न जेहेन्दार छात्रालाई साईकल प्रदान गरिएको छ । शुक्रबार विद्यालयले प्रथम त्रैमासिक परिक्षाको परिक्षाफल सार्वजनिक गर्ने क्रममा कक्षा ७ कि प्रथम स्थान हासिल गर्न सफल जेहेन्दार छात्रा लक्ष्मी विश्वकर्मालाई साईकल प्रदान गरेको हो ।
लालबन्दी ६ निवासि कृष्ण प्रसाद दाहालद्वारा विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीका लागी प्रोत्साहनस्वरुप साईकल प्रदान गर्ने उद्देश्यले पाँच हजार रकम प्रदान भएको र त्यसमा नपुग रकम विद्यालयका शिक्षक कर्मचारीको सहयोगमा थप गरि साईकल खरिद गरि विद्यार्थीलाई प्रदान गरिएको विद्यालयका ब्यवस्थापन समिती अध्यक्ष मिन बहादुर ब्लोनले जानकारी दिए । उनका अनुसार अबदेखि हरेक वर्ष एकजना जेहेन्दार बिपन्न विद्यार्थीका लागी एउटा साईकल प्रदान गरिने छ ।
विद्यार्थीको हौसला वृद्धि र पठन पाठन सुधारका लागी ब्यवस्थापन समितीका तर्फबाट हरसम्भव प्रयास गरिने कार्यक्रममा उपस्थित ब्यवस्थापन समिती सदस्य श्याम गोलेले बताए ।
त्यसैगरि विद्यार्थीहरुलाई गृहकार्य पुस्तिका (होमवर्क डायरी) पनि प्रदान गरिएको छ । लालबन्दी ७ का ब्यवसायी कैलाश ट्रेडर्सका प्रोप्राईटर उमाशंकर साहबाट सो डायरीका लागी दश हजार रुपैँया सहयोग प्राप्त भएपछि डायरी छपाई गरि विद्यार्थीलाई वितरण गरिएको विद्यालयका प्रधानाध्यापक निराजन झाले बताए । उनले हरेक दिन विद्यार्थीलाई दिईने गृहकार्यको शिर्षक सो डायरीमा हुने र अभिभावकको हस्ताक्षर गराएर विद्यालयमा ल्याउनुपर्ने भएकोले विद्यार्थीसँगै अभिभावकलाई पनि विद्यालयमा जोड्न डायरी सहायक सिद्ध हुने धारणा ब्यक्त गरे ।
सर्लाही । गएकाे १० गते रसुवाकाे भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (PABSON) सर्लाहीले रु. २१ लाख ३६ हजार १६० राहत रकम संकलन गरी हस्तान्तरण गरेको छ।
सर्लाही प्याब्सनका अध्यक्ष सागर गिरीका अनुसार प्याब्सन अन्तगर्त रहेका विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यालयबाट स्वेच्छाले संकलित रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । शुक्रबार मधेश प्रदेशमा शिक्षामन्त्री सस्मित पोखरेलको समेत उपस्थितीमा भएको एक कार्यक्रममा पुगेर प्याब्सन सर्लाहीले संकलित रकम हस्तान्तरण गरेको हो ।
मधेश प्रदेशका शिक्षा मन्त्री मनोज कुमार सिंह तथा मन्त्रालयका अन्य कर्मचारीको उपस्थितीमा प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साह तथा भूगोल अध्यक्ष दीपक रेग्मीलाई संकलित राहत रकम हस्तान्तरण गरिएको अध्यक्ष गीरिले जानकारी दिए । उक्त रकम प्याब्सन सर्लाहीका सचिव मनोज थापा, कार्यसमिति सदस्यहरू दिलीप न्यौपाने, राजु पंजियार, नगरका क्षितिज प्रधान, प्रवेश पोखरेलको सामूहिक पहलमा संकलन गरिएको हो ।
बाढी तथा विपद्को कठिन परिस्थितिमा गरिएको यस सहयोगले पीडित परिवारमा आशा र भरोसा जगाउनुका साथै आवश्यक समयमा महत्वपूर्ण सहारा प्रदान गर्ने प्याब्सनले विश्वास गरेको छ। सर्लाही प्याब्सनले विपद्को समयमा मानवीय सहयोगका लागि हातेमालो गर्ने सम्पूर्ण प्याब्सनिस्ट साथीहरू, शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूलाई धन्यवादसमेत व्यक्त गरेको छ।
कलैया, भदौ २५ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाराको जिल्ला अधिवेशनबाट विनोद कुमार भारती जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
बुधबार कलैयास्थित एभरेष्ट होटलको सभा हलमा सम्पन्न अधिवेशनले निजगढ निवासी राप्रपाका केन्द्रीय सदस्य तथा युवक संगठनका पूर्व केन्द्रीय महासचिव भारतीलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
अधिवेशनमा राप्रपाका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र लिंदेन
प्रमुख अतिथिका रूपमा सहभागी थिए। अधिवेशनको सभाध्यक्षता राप्रपा बाराका निवर्तमान जिल्ला अध्यक्ष गिरिधारी चौधरीले गरेका थिए।
कार्यक्रममा राप्रपा मधेश प्रदेशका अध्यक्ष तथा माननीय भरत गिरी, राप्रपा सहमहामन्त्री मोहन यादव, केन्द्रीय सदस्य वीरेन्द्रलाल कर्ण लगायतका नेताहरूको उपस्थिति रहेको थियो। अधिवेशनमा राप्रपा बाराका जिल्ला परिषद् सदस्यहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।
अधिवेशनले अध्यक्ष भारतीसहित २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ। समितिका सदस्यहरूमा महावीरप्रसाद यादव, बुद्धिप्रसाद पाण्डे, जागेश्वर गिरी, खड्गप्रसाद उप्रेती, होमबहादुर रखाल, लक्ष्मण राणाभाट, दिपा यादव, महन्तप्रसाद यादव, विश्वनाथ शाह कानु, मेघबहादुर कार्की, शम्भुप्रसाद चौधरी, शिवप्रसाद तिमल्सिना, रामानन्द चौधरी, सीतादेवी चौधरी, अन्जली कुमार शाह, मन्जुर मिया मनसुर, लक्ष्मीप्रसाद शाह लगायत रहेका छन्।
कार्यक्रममा स्वागत मन्तव्य राप्रपा क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष जलिल देवानले दिएका थिए भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव लालबाबु शाहले गरेका थिए।
नवनिर्वाचित अध्यक्ष भारतीले पार्टीको नीति, विचार र सिद्धान्तलाई केन्द्रमा राख्दै संगठनलाई जिल्लाका गाउँ–टोलसम्म थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ नेतृत्वले राप्रपाको संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सर्लाही । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९ औं राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरिएको छ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी असोज १६, १७ र १८ गते महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको थियो। तर विशेष परिस्थितिको कारण उक्त मितिमा महाधिवेशन सम्पन्न गर्न सम्भव नभएपछि नयाँ मिति तय गरिएको प्रतिष्ठानले जनाएको छ।
बिहीबार बसेको प्रतिष्ठानको सचिवालय बैठकले महाधिवेशन असोज २२, २३ र २४ गते गर्ने निर्णय गरेको अध्यक्ष रीता थापा मगर र महासचिव शिव हमालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
महाधिवेशन महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आयोजना हुनेछ । बर्दिबासमा महाधिवेशन हुने भएपछि तिब्र रुपमा त्यसको तयारी तथा ब्यवस्थापनका लागी प्रदेश समिती जुटिसकेको जनाईएको छ ।
प्रतिष्ठानको महाधिवेश मिति यसअघि पनि सरेको थियो ।
लालबन्दी । सर्लाहीको लालबन्दीस्थित नगर अस्पतालमा ‘कल्चर परीक्षण सेवा’ सुरु गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा कल्चर परीक्षण सेवा भन्नाले बिरामीको शरीरमा कुन ब्याक्टेरिया, फङ्गस वा भाइरसको सङ्क्रमण भएको छ र त्यसका लागि कुन एन्टिबायोटिकले ठीक गर्छ भनी पत्ता लगाउन गरिने ल्याब परीक्षण हो । नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार अस्पतालमा रगत (ब्लड) र पिसाब (युरिन) मार्फत कल्चर टेष्ट गरिने छ ।
यो सेवा लिन सर्लाहीका स्थानीय वीरगन्ज वा जनकपुर धाउन बाध्य थिए । नगर अस्पताल लालबन्दीले आफूसँग उपलब्ध भएका र थप एक जना प्रयोगशालाका कर्मचारीसमेत नियुक्त गरेर कल्चर परीक्षण सेवा सुरु गरेको हो ।
उक्त सेवाको बिहीबार नगरप्रमुख वासुदेव अधिकारीले उद्घाटन गर्नुभयो । नगरप्रमुख अधिकारीले लालबन्दी नगरवासी र यस भेगका स्थानीयलाई सुलभदरमा विश्वसनीय विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउन नगरपालिकाले निरन्तर लगानी बढाउँदै लगेको उल्लेख गर्नुभयो ।
विशेषज्ञ चिकित्सकहरुले भरपर्दो स्वास्थ्य सेवा प्रदान गरिरहेकाले नगर अस्पताल लालबन्दीप्रति पछिल्लो समय स्थानीय बासिन्दाको भरोसा बढ्दै गइरहेको छ । अस्पतालमा दैनिक तीन सय जनासम्म बिरामी उपचारका लागि आउने गरेका अस्पतालका सूचना अधिकारी हिमान्सु कर्णले बताउनुभयो ।
नयाँ–नयाँ स्वास्थ्य सेवा थप गर्दै लगेको नगर अस्पताल लालबन्दीले कल्चर परीक्षण सेवा अन्तर्गत रगतमार्फत गरिने परीक्षणका लागि ३५० रुपियाँ र पिसाबमार्फत गरिने परीक्षणका लागि १५० रुपियाँ शुल्क तोकेको छ । गाडी भाडा, हैरानी र महँगो शुल्क तिरेर वीरगन्ज वा जनकपुर गएर कल्चर परीक्षण गर्ने बिरामीका लागि नगर अस्पतालमै उपलब्ध सेवाले ठूलो राहत मिल्ने अपेक्षा गरिएको अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् ।
हरिवन । ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नाराका साथ सर्लाहीको हरिवन नगरपालिकामा आत्महत्या रोकथामसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
आत्महत्या रोकथामका लागि समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई खुलेर संवाद गर्ने वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, विद्यालय नर्स, सुरक्षित आप्रवासन कार्यक्रमका प्रतिनिधि, महिला समूह, पत्रकार तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा लालबन्दी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा कन्सल्टेन्ट मनोचिकित्सक डा. चन्दन चौधरी, इलाका प्रशासन कार्यालय हरिवनका कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक सुरेन्द्र विक्रम बर्तौला र स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य, जोखिममा रहेका व्यक्तिको पहिचान तथा आवश्यक सहयोगका विषयमा सहजीकरण गरेका थिए ।

उपसचिव हरिप्रसाद दहालको अध्यक्षता तथा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अन्तरपार्टी महिला सञ्जाल हरिवनकी अध्यक्ष पद्मा दोङ मोक्तान तथा अपाङ्गता अधिकार अभियन्ता रबिन मैनालीले संक्षिप्त मन्तव्य राख्दै आत्महत्या रोकथामका लागि परिवार, समुदाय, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रमका सहभागीहरूले आत्महत्या रोकथामलाई केवल स्वास्थ्य क्षेत्रको विषयका रूपमा नहेरी सामाजिक तथा सामुदायिक विषयका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए । मानसिक तनावमा रहेका व्यक्तिलाई समयमै पहिचान गरी सुन्ने, साथ दिने र आवश्यक परे स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायसम्म पुर्याउने वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।
सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले आत्महत्या रोकथामका लागि संवाद, सहकार्य र सकारात्मक दृष्टिकोणको आवश्यकता थप स्पष्ट पारेको आयोजकले जनाएको छ ।
लालबन्दी | सर्लाहीकाे लालबन्दी नगरपालिका वडा नम्बर १० लाई दोस्रो मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिएको छ । महिनावारी हुँदा महिलामाथि हुने विभेद र छुवाछुत अन्त्य भएको दाबी गर्दै मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेलीको प्रमुख आतिथ्यतामा लालबन्दी १० लाई देशभरमै दोस्रो मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिएको हो ।

कार्यक्रममा नगरप्रमुख वासुदेव अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल, राधा पौडेल पाउण्डेसनकी अध्यक्ष राधा पौडेल, बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेलगायतले मन्तव्य व्यक्त गरे । सोही कार्यक्रममा फूलबारी महिला समूह लालबन्दी–१० की सदस्य मनिसा विकले महिनावारी त महिलामा हुने सामान्य प्राकृतिक स्वास्थ्य प्रक्रिया हो रहेछ भन्ने कुरा बुझेपछि महिनावारीको समयमा खाना पकाउने, पूजाअर्चनालगायत सबै काम गर्न थालिएको सुनाईन् ।
महिनावारीकै कारण हुने विभेद अन्त्यका लागि लागि लालबन्दी–१० मा वडा कार्यालयले विगत तीन वर्षदेखि राधा पौडेल फाउण्डेसन र बाल संरक्षण संस्था लालबन्दीसँग समन्वय गरी सचेतनामूलक अभियान सञ्चालन गर्दै आइरहेको थियो । अभियानलाई सफल बनाउन सहयोग गर्ने व्यक्तिहरुलाई कार्यक्रमकै अवसरमा सम्मानसमेत गरिएकाे छ ।

यसअघि गत बैशाख ११ गते लालबन्दी नगरपालिका ३ नं। वडालाई नेपालकै पहिलो मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिएको थियो ।
लालबन्दी, २५ भदौ । सर्लाहीको लालबन्दीमा आजबाट फुटबल प्रतियोगीता सुरु भएको छ । लालबन्दी नगरपालिका ६ मा रहेको श्री जनजागृति सामुदायिक युवा क्लवबको आयोजनामा प्रतियोगीता सुरु भएको हो ।
‘विश्वशान्ति बौद्ध गुम्बा कप २०८३’ नाम दिईएको प्रतियोगीताको लालबन्दी नगरप्रमुख तथा अन्य जनप्रतिनिधिको उपस्थितीमा उद्घाटन गरिएको छ । प्रतियोगीतामा १२ ओटा टोलीको सहभागीता रहने आयोजकले जनाएको छ ।

आज भएको उद्घाटन खेलमा भगवति एकेडेमि महोत्तरी र नवलपुर एकेडेमि लालबन्दी १ बिच प्रतिस्पर्धा भएको थियो । जसमा नवलपुरलाई भगवतिले १ का विरुद्ध २ गोल गर्दै जित हात पारेको छ । खेलमा भगवति एकेडेमिका जर्सि नम्बर १५ का दिपेश राई म्यान अफ दि म्याच भए । प्रतियोगीताको फाईनल खेल असोज ६ गते हुने आयोजक क्लवका अध्यक्ष लंक कुमार योञ्जनले बताए ।

प्रतियोगीतामा लालबन्दी भेट्रान फुटबल क्लवले दोश्रो पुरस्कार बापतको २५ हजार प्रदान गर्ने बाचा गरेको क्लवका अध्यक्ष योञ्जनले जानकारी दिए । खेलमा समाजसेवी सन्तोष दाहालसहितका बिभिन्न ब्यक्तिहरुले सहयोग गरेका आयोजकको भनाई छ ।
प्रतियोगीता उद्घाटन समारोहमा नगरप्रमुख बासुदेव अधिकारी, प्रमुख प्रशासकिय अधिकृत पितानाथ लुईटेल, आयोजक वडाका वडाध्यक्ष लाल कुमार योञ्ज्न, ३ का वडाध्यक्ष बुद्धदेव चौधरी, ७ का कृष्ण कुमार कार्कि, ८ का शुक्र पाख्रिन, १६ का गणेश थापासहित नगर खेलकुद विकास समितीका सदस्य बिभुसिंह थापा, लालबन्दी भेट्रानका अध्यक्ष कृष्ण बछार थारु, विश्वशान्ति बौद्ध गुम्बाका अध्यक्ष तिलक लामा, श्री आधारभुत विद्यालय, लालबन्दी ८ को ब्यवस्थापन समिती अध्यक्ष मिन बहादुर ब्लोन, नेपाल तामाङ्ग घेदुङ समितीका जिल्ला अध्यक्ष बुद्ध लामा, लालबन्दी खानेपानी उपभोक्ता समितीका कोषाध्यक्ष कपिल देवकोटा लगाएत खेलाडी तथा खेलप्रेमिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
