२०८३ आश्विन १६ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन १६ शुक्रबार

२३ भदौ, जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति दिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका जिल्लामा १५४ दशमलव ५५ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमण मुक्त गरिएको मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामले जनाएको छ ।

वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीका सो अवधिमा सबैभन्दा बढी पर्सामा १२० हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको छ । त्यस्तै बारामा २१ हेक्टर, सप्तरीमा पाँच हेक्टर, धनुषामा तीन दशमलव २५ हेक्टर, सर्लाहीमा तीन हेक्टर, महोत्तरीमा दुई हेक्टर र सिरहामा शून्य दशमलव ३५ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको हो ।

वन क्षेत्रको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाएर ती क्षेत्रलाई पुनःवनको संरक्षण र व्यवस्थापनमा ल्याइएको सूचना अधिकारी चौधरीले बताए। उनका अनुसार वन अतिक्रमण नियन्त्रणसँगै चोरी–तस्करी नियन्त्रण र वन संरक्षणमा कार्यालयले सक्रियता बढाएको छ ।

वन संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि प्रदेशका विभिन्न जिल्लामा गत आवमा ३२ लाख ३९ हजार ८१० बिरुवा उत्पादन गरी २६१ दशमलव ७७ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ ।

जिल्लागत रूपमा सबैभन्दा बढी सर्लाहीमा आठ लाख ६३ हजार ९७०, सप्तरीमा पाँच लाख तीन हजार ६४०, सिरहामा चार लाख १५ हजार, धनुषामा चार लाख तीन हजार, महोत्तरीमा दुई लाख २० हजार, बारामा चार लाख ३४ हजार २०० र पर्सामा चार लाख बिरुवा उत्पादन गरिएको वन निर्देशनालयले जनाएको छ ।

वृक्षरोपणतर्फ सप्तरीमा ९५ हेक्टर, धनुषामा ६६ दशमलव ५ हेक्टर, बारामा ४३ दशमलव ५३ हेक्टर, महोत्तरीमा २० हेक्टर, सिरहामा २६ हेक्टर, सर्लाहीमा आठ दशमलव ५ हेक्टर र पर्सामा दुई दशमलव २४ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको सूचना अधिकारी चौधरीले जानकारी दिए।

चालु आर्थिक वर्षमा मधेस प्रदेशमा वन क्षेत्रबाट उल्लेख्य परिमाणमा काठ तथा दाउरा उत्पादन भएको छ । वन निर्देशनालयका अनुसार हालसम्म छ लाख ६५ हजार २७३ दशमलव २६ घनफिट काठ उत्पादन भएको छ ।

सबैभन्दा बढी सर्लाहीमा तीन लाख ५१ हजार ७५९ दशमलव ५ घनफिट काठ उत्पादन भएको छ । त्यस्तै सप्तरीमा ६५ हजार २९ दशमलव ४९, सिरहामा ६७ हजार ८७६ दशमलव ६७, धनुषामा सात हजार ६२३ दशमलव ७२, महोत्तरीमा ७८ हजार ५१६ दशमलव ९८ र बारामा ९४ हजार ४६६ दशमलव ९ घनफिट काठ उत्पादन भएको सूचना अधिकारी चौधरीले बताउनुभयो ।

सोही अवधिमा एक हजार २५६ चट्टा दाउरा उत्पादन भएको छ । सप्तरीमा ३५ दशमलव ३६, सिरहामा २२ दशमलव ५७, धनुषामा सात दशमलव ३८, महोत्तरीमा १९६ दशमलव ८९, सर्लाहीमा ७५१ दशमलव ९५ र बारामा २४२ चट्टा दाउरा उत्पादन भएको जनाइएको छ ।

वन पैदावारको बिक्री वितरणतर्फ भने हालसम्म पाँच लाख तीन हजार ७९९ दशमलव २७ घनफिट काठ बिक्री वितरण गरिएको छ । काठ बिक्रीबाट प्रदेश सरकारलाई उल्लेख्य राजस्वसमेत प्राप्त भएको छ ।

काठ तथा दाउराको बिक्री, वन पैदावारको उपयोग र अन्य वनजन्य गतिविधिलगायतका शिर्षकबाट रु पाँच करोड ८५ लाख ५० हजार १९० राजस्व सङ्कलन भएको सूचना अधिकारी चौधरीले बताए।

वन निर्देशनालयका निर्देशक सुभाषचन्द्र दासले वन कर्मचारीको सक्रियताका कारण वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाउन तथा वन चोरी–तस्करी नियन्त्रणमा सफलता मिलेको बताए। वन संरक्षणसँगै अतिक्रमण नियन्त्रण, वृक्षरोपण र वन पैदावारको व्यवस्थित उपयोगलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ। :Onlinekhabar

लालबन्दी, २३ भदौ । सर्लाहीकाे लालबन्दी नगरपालिका वडा नं. १० लाई नेपालको दोस्रो मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ । यही भदौ २५ गते बिहीबार लालबन्दी १० लाई देशभरमै दोस्रो मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्न लागिएको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराए ।

वडाभित्र महिनावारी हुँदा महिलामाथि हुने विभेद र छुवाछुत अन्त्य भएको दाबी गर्दै मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्न लागिएको वडा नम्बर १० का वडाध्यक्ष टोप बहादुर श्रेष्ठले बताए । वडाध्यक्ष श्रेष्ठले वडाभित्र प्रत्येक घरपरिवारमा महिनावारी हुँदा विभेद र बार्नेक्रम रोकिएको पत्रकार सम्मेलनमा दाबी गरे ।

महिला महिनावारी हुँदा गरिने विभेद अन्त्यका लागि लागि वडा कार्यालयले विगत ३ वर्षदेखि राधा पौडेल फाउन्डेसन र बाल संरक्षण संस्था लालबन्दीसँग समन्वय गरी सचेतनामूलक अभियान संचालन गर्दै आइरहेको बताईएको छ । बाल संरक्षण संस्था लालबन्दीकी अध्यक्ष राधा घिमिरेले महिनावारीसम्बन्धी पुरातन सोच र व्यवहार परिवर्तनका लागि भएका प्रयासबाट सकारात्मक परिणाम देखिए पनि विभेद पूर्ण रूपमा अन्त्य हुन बाँकी रहेको पत्रकार सम्मेलनमा बताइन् ।

उनका अनुसार वडामा मर्यादित महिनावारीसम्बन्धी समन्वय समिति गठन गरी संस्थागत संरचना निर्माण गरिएको छ। नीति तथा कार्यविधि निर्माणको प्रक्रिया अघि बढाउनुका साथै वडा कर्मचारी, सेवा प्रदायक र स्थानीय नेतृत्वको क्षमता अभिवृद्धि गरिएको छ।

विद्यालय तथा समुदायमा बाल क्लब, युवा समूह र महिला समूह परिचालन गरी तालिम, छलफल, अन्तरक्रिया तथा संवाद सञ्चालन गरिएको संस्थाले जनाएको छ। यस्ता कार्यक्रमबाट मर्यादित महिनावारीमैत्री घर, विद्यालय, समुदाय, स्वास्थ्य संस्था तथा वडा कार्यालय निर्माणमा सहयोग पुगेको जनाइएको छ।

स्वास्थ्य संस्थालाई महिनावारीमैत्री बनाउने, स्वास्थ्य सेवा तथा परामर्शमा पहुँच विस्तार गर्ने र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घरघरमा जनचेतना पुर्‍याउने कामसमेत गरिएको छ। महिनावारी विभेदलाई मानव अधिकारको हनन तथा घरेलु हिंसासँग जोडेर हेर्ने दृष्टिकोण विकास गर्न समावेशी कार्यक्रम सञ्चालन गरिएको संस्थाको भनाइ छ।

कार्यक्रममा जेनजी शहीदको सम्झनामा दीपप्रज्ज्वलन समेत गरिएको थियो ।

लालबन्दी, २३ भदौ । बिभिन्न स्वास्थ्य समस्या तथा अन्य पिडामा परेकाहरुको सेवा गर्दै आएका समाजसेवी सन्तोष दाहालले लालबन्दीका ३ जनालाई ह्विल चेयर प्रदान गरेका छन । आज मंगलबार बिहान उनिहरुको घरमै पुगेर दाहालसहितका ब्यक्तिहरुले सहायता सामाग्री अर्थात ह्विल चेयर प्रदान गरेका हुन ।

शारिरिक समस्याका कारण हिँडडुल गर्न समस्या भएका उनिहरुलाई अर्का समाजसेवी समिर बराईलीको पहलमा सहायता सामाग्री प्रदान गरिएको हो । लालबन्दी ६ घर भएका प्रज्वल कार्कि, कर्णमाया विश्वकर्मा र अविनास विश्वकर्मालाई उनिहरुको घरमै पुगेर ह्विल चेयर प्रदान गरिएको समाजसेवी बराईलीले जानकारी दिए ।

दाहालले यस अघि पनि जटिल स्वास्थ्य समयस्या भएकादेखि अन्य सहयोग माग्नेसम्मलाई बिभिन्न खाले सहयोग गर्दै आईरहेका छन । सहयोग गर्ने स्वभावका कारण नै दाहाल यस क्षेत्रमा मनकारी ब्यक्तिका रुपमा परिचित छन ।

सर्लाही, २२ भदाै । जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहल तथा समन्वयमा वैदेशिक रोजगारीका नाममा ठगी भएको १२ लाख रुपैयाँ पीडितहरूले फिर्ता पाएका छन् । मौरिसस पठाइदिने प्रलोभन देखाउँदै ईश्वरपुर नगरपालिका–१ निवासी राजेन्द्र महतोका छोरा नथुनी महतोले विभिन्न व्यक्तिबाट १२ लाख रुपैयाँ रकम असुल गरेको बताइएको छ ।

महतोले मलंगवा नगरपालिका–१० का राजकुमार रौनियार र अजय ठाकुर, ईश्वरपुर नगरपालिका–६ का पहलाद सहनी तथा ब्रह्मपुरी गाउँपालिका–६ का सन्दीप यादवसँग मौरिसस पठाइदिने भन्दै रकम लिएका थिए । रकम लिएपछि लामो समयसम्म विदेश नपठाएको र लिएको रकमसमेत फिर्ता नगरेपछि पीडितहरूले न्यायका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए ।

पीडितहरूको निवेदनपछि जिल्ला प्रशासन कार्यालयले आवश्यक पहल तथा समन्वय गर्दै प्रशासनको रोहवरमा रकम फिर्ता गराउने प्रक्रिया अघि बढाएको थियो । सोही क्रममा आरोपी नथुनी महतोका बुबा राजेन्द्र महतोले पीडितहरूलाई ठगी भएको रु. १२ लाख रकम फिर्ता गरेका हुन् ।

प्रशासनको पहलमा रकम फिर्ता भएपछि पीडितहरूले राहत महसुस गरेका छन् ।

बागमती, २० भदौ । यहि भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित र घाइते भएकाहरूको सहयोगका लागि सर्लाहीको बागमतीमा रक्तदान कार्यक्रम गरिएको छ । बागमति नगरपालिका–१, मिलनचोकस्थित मिलनचोक युवा क्लबले नगरपालिकाको स्वास्थ्य शाखा सँगको समन्वयमा खुला रक्तदान कार्यक्रम गरेको हो ।

स्थानिय ९३ बर्षिय कृष्ण कुमारी रायमाझिको हातबाट दिप प्रज्वलन गरेर रक्तदान कार्यको आरम्भ गरिएको क्लवले जनाएको छ । क्लवका अध्यक्ष गोकर्ण रुपाखेतिको अध्यक्षता तथा नगरका कार्यबाहक मेयर कृष्ण बहादुर लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ८४ जना पुरुष र १६ जना महिला गरि १०० जनाले रगतदान गरेका कार्यक्रम संयोजक दुर्गा बहादुर भुजेलले जानकारी बताए । नेपाल रेडक्रस सोसाईटि रक्तसञ्चार सेवा धनुषाको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा रक्तदाताहरुको संख्या उल्लेख्य भएपनि रगत संकलन गर्ने झोलाको अभावका कारण रक्तदान कार्यक्रम रोकिएको थियो ।

रक्तदान जिवन दान भन्ने नारासहित बाढिबाट घाईते भएकाहरुको उपचारका लागी रक्तदान कार्यक्रम गरिएको क्लवका सदस्य किरन रामदामले बताए । विपद्का बेला देश तथा विदेशमा रहेका नेपालीहरूले आ–आफ्नो क्षमताअनुसार सहयोग गरिरहेका बेला आफूहरूले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको उनको भनाई छ ।

लालबन्दी, २० भदौ । जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा आज देखि २ दिने प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन, २०८३ सुरु भएको छ ।

क्याम्पसकै आयोजना तथा लालबन्दी नगरपालिका कार्यालयको सह–आयोजनामा नवीन शिक्षण अभ्यासलाई स्थानीयस्तरमा प्रवद्र्धन गर्दै सामुदायिक क्याम्पसहरुमा वित्तीय दिगोपनका आधारहरु तय गर्ने उद्देश्यले शैक्षिक सम्मेलन आयोजना गरिएको क्याम्पसको अनुसन्धान व्यवस्थापन इकाइ संयोजक रमेश भट्टराईले जानकारी दिए ।

‘कक्षाकोठादेखि समुदायसम्म : सामुदायिक क्याम्पसहरुमा आर्थिक दिगोपनाका लागि नवीन शिक्षण विधि’ भन्ने मूल विषयमा केन्द्रित रहेर आयोजना गरिएको सम्मेलनमा देशका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट प्राप्त ६६ वटा अनुसन्धानपरक सामग्री प्रस्तुत हुने क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले बताए । सम्मेलनमा नेपालको पूर्व मेचीदेखि पश्चिम कैलालीसम्मका विभिन्न क्षेत्र, विश्वविद्यालय र क्याम्पसबाट अनुसन्धानकर्ता तथा शिक्षाविद्हरुको सहभागिता रहेको छ ।

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरिसकेको जनज्योति बहुमुखी क्याम्पसलाई पहिलो पटक आयोजना गर्न लागिएको यो शैक्षिक सम्मेलनबाट स्तरवृद्धिमा समेत टेवा पुग्ने आस गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारीले बताए ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राध्यापक डा. महानन्द चालिसेको प्रमुख आतिथ्यतामा आज बिहान सम्मेलनको उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा सर्लाही १ की प्रतिनिधि सभा सदस्य नीतिमा भण्डारी कार्की, मधेश प्रदेश सभा सदस्य बेची लुंगेली, नगरप्रमुख वासुदेव अधिकारी, संविधान सभा सदस्य शम्भुलाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

सम्मेलनमा प्रा.डा. चालिसेसहित प्रा. डा. गोविन्द सुवेदी, प्रा. डा. रामप्रसाद भट्टराई र प्रा. डा. अञ्जयकुमार मिश्रालगायत दर्जनभन्दा बढी विज्ञहरुको विशेष सहभागिता रहेको छ ।

मलंगवा, २० भदौ । सर्लाहीको कबिलासी नगरपालिका–८, कबिलासी बजारस्थित मलंगवा–नवलपुर सडकखण्डमा ई–रिक्साले पैदलयात्रीलाई ठक्कर दिँदा एक बृद्धाको मृत्यु भएको छ ।

शनिबार दिउँसो नवलपुरबाट कबिलासीतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ह ०६९७ नम्बरको ई–रिक्साले पैदल हिँडिरहेकी स्थानिय ६० वर्षीया स्वागबती ठाकुरलाई ठक्कर दिएको थियो । ई–रिक्साको ठक्करबाट घाईते ठाकुरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर प्राप्त हुँदासम्म मृतकको शव प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ । घटनापछि ई–रिक्सा र चालक लालबन्दी ५ मेजरगञ्ज घर भएका हरिप्रसाद धमलालाई हरिपुर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

लालबन्दी, १६ भदौ । भोटेकोशिमा आएको बाढिबाट प्रभावितहरुका लागी लालबन्दीका तरकारी ब्यवसायीहरुले नगद संकलन गरि प्रदान गरेका छन ।

सर्लाहीको लालबन्दीस्थित कृषि थोक बजारका ब्यवसायीहरुले नगद रु २,७०,००० (दुई लाख सत्तरी हजार रुपैँया) संकलन गरि आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका तरकारी ब्यवसायी बाबुराम योञ्जनले जानकारी दिए । यो रकम तरकारी बजार ब्यवसायी संघको तर्फबाट कोषमा जम्मा गरिएको हो ।

गएको भदौ १० गते नेपाल–चीन सीमा नजिकै गएको हिमपहिरो र त्यसपछिको बाढीबाट प्रभावितहरुका लागी मानविय सहायतास्वरुप ५४ जना ब्यवसायीहरुबाट नगद संकलन गरेर कोषमा दाखिला गरिएको ब्यवसायीहरुले बताए । सो बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएको सरकारले सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदनमा उल्लेख छ ।

बाढीपहिरोमा परी हालसम्म ९८७ जनाको मृत्यु पुष्टि भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

लालबन्दी, १५ भदौ । भोटेकोशिमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गरी पालिकामा बुझाउन लालबन्दी नगरपालिकाले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायतका जिल्लाका पीडित नागरिकलाई उपलब्ध गराउन संकलन गरिएको राहत सामाग्री पालिकामा बुझाउन आग्रह गरेको थियो ।

सोही निर्णयअनुसार लालबन्दी नगरपालिकाले प्रभावित परिवारका लागि संकलन गरिएको नगद तथा वस्तुगत राहत सामग्री पालिकामा बुुझाउन भनेको हो । राहत सामग्रीमा चामल, दाल, पिठो, लत्ताकपडा, त्रिपाल, टर्चलाइट, साबुन, ब्रस, टावेल, बाल्टिन÷जग तथा शुद्ध खानेपानी लगायतका सामग्री समावेश गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नगरपालिकाले पालिकाभित्रका संघ–संस्था, व्यक्ति तथा समुदायलाई स्वेच्छाले नगद तथा राहत सामग्री संकलन गरी भदौ १७ गते बुधबारभित्र पालिकामा बुझाउन अनुरोध गरेको छ । त्यसरी संकलन भएको नगद तथा वस्तुगत राहत सामग्री भदौ १८ गते बिहीबार जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा बुझाइने नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख वासुदेव अधिकारीद्वारा जारी विज्ञप्तिमा संकलित राहत सामग्री लालबन्दी नगरपालिका, वातावरण तथा विपद् व्यवस्थापन शाखामा बुझाउन आग्रह गरिएको छ ।

मलंगवा, १४ भदौ | यहि भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको बाढीबाट पीडित भएकाका लागि सर्लाहीमा स्थानीय तह (पालिका) को कार्यालयमार्फत मार्फत राहत सङ्कलन गरिने भएको छ ।

आईतबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति सर्लाहीको बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीपछि रसुवा, नुवाकोटलगायत जिल्लामा पीडित भएकाका लागि राहत सङ्कलन गर्ने निर्णय गरेको हो । पीडितका लागि राहतस्वरुप नगद तथा वस्तुगत (चामल, दाल, पिठो, कपडा, त्रिपाल, टर्चलाइट, साबुन, ब्रस, टाबेल, बाल्टी, जग, शुद्ध खानेपानीलगायत सङ्कलन गर्ने निर्णय गरिएको छ ।

बाढी प्रभावित क्षेत्रका लागि स्वेच्छाले सहयोग गर्न चाहने सङ्घसंस्था, निजी क्षेत्र, नागरिक समाज, उद्योगी, व्यवसायी र सम्पूर्ण जनसमुदायलाई नगद तथा वस्तुगत राहत सामग्री आ–आफ्नो पालिकाको कार्यालयमा उपलब्ध गराइदिन बैठकमार्फत आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार भदौ १७ गतेसम्म राहत सङ्कलन गरेर १८ गते प्रभावित क्षेत्रमा पठाउने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले राहत सङ्कलन प्रणालीलाई पालिकामार्फत एकद्धार बनाउने, बर्खाको बेला सर्लाहीमा समेत आइपर्न सक्ने डुबान, कटान र बाढीबाट राजमार्ग अवरुद्ध हुनेसक्ने विषयमा पालिका, निर्माण व्यवासी सबै सजग भइ औजार तथा सवारी साधन तयारी हालतमा राख्ने निर्णय गरिएको छ ।

बैठकमा सर्लाही २ का प्रतिनिधि सभा सदस्य रवीन महतो, पालिकाका प्रमुखहरु, सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक अगुवालगायतको उपस्थिति रहेको थियो ।

भोटेकोशी नदी बाढी पीडितका लागि सहयोगस्वरुप सर्लाहीमा अहिले व्यक्तिगत तथा संस्थागतरुपमा प्रधानमन्त्री राहत कोषको बैङ्क खातामा क्यूआर गरेर रकम जम्मा गर्नेक्रम चलिरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।