सर्लाही, २८ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटाइएका म्यादी प्रहरीको विदाइ कार्यक्रम सर्लाहीमा आज सम्पन्न गरिएको छ । जिल्लामा कुल ३ हजार ९२६ जना म्यादी प्रहरी छनोट गरिएकोमा ९ जना अनुपस्थित भएपछि ३ हजार ९१७ जनालाई औपचारिक रूपमा विदाइ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।

निर्वाचन अवधिभर राज्यले दिएको जिम्मेवारी इमानदारी र कुशलतापूर्वक निर्वाह गरेको भन्दै धन्यवाद दिँदै विदाइ गरिएको हो । सो अवसरमा सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र खडकाले म्यादी प्रहरीले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रशंसापत्र प्रदान गरेका थिए । कार्यक्रममा एसपी खडकाले म्यादी प्रहरीको योगदानको प्रशंसा गर्दै भविष्यमा पनि राष्ट्र र समाजका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालयसहित जिल्लाका बिभिन्न प्रहरी कार्यालयमार्फत म्यादी प्रहरीलाई विदाई गरिएको हो ।
लालबन्दी, २८ फागुन । सर्लाहीको लालबन्दीमा ५ जरुवापानीमा रहेको नेपाल रेडक्रस सोसाइटी सामुदायिक परोपकार आँखा उपचार केन्द्रमा निःशुल्क मोतीविन्दु परीक्षण शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ लालबन्दी सिटी, लालबन्दी सिटी लियो क्लब र लालबन्दी नगरपालिका ७ नं. वडा कार्यालयले संयुक्त रुपमा शिविरको आयोजना गरेका हुन । शिविरमा मोतीयाविन्दुका ८० जना बिरामी भेटिएका छन् ।
मोतीविन्दु देखिएका ४० जना बिरामीलाई फागुन ३० गते र बाँकी ४० जनालाई चैत ७ गते सोहि स्थानमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ ।
लालबन्दी, २५ फागुन । लामो विदापछि खुलेको लालबन्दी नगर अस्पतालमा सेवाग्राहीको भिड लागेको छ । फागु पर्व (होली) देखि संघीय संसदको चुनावको लामो विदापछि आजदेखि सर्लाहीसहित देशभरका सरकारी कार्यालयहरु खुलेका छन ।
लामो विदा भएकाले अहिले अस्पतालमा सेवाग्राहीको भिड बढेको अस्पतालका प्रशासन शाखा प्रमुख जनस्वास्थ्य अधिकृत हिमान्सुशेखर कर्णले बताउनुभयो ।

अहिले मौसम परिवर्तनका बेला देखिने स्वास्थ्य समस्या, धुलोका कारण हुने डस्ट एलर्जी, जेनेरल ओपीडि र बिमाको औषधि सेवन गर्नेहरुको आगमनले अस्पतालमा भिड बढेको जनस्वास्थ्य अधिकृत कर्णको भनाई छ । दिउँसो २ बजेसम्म करिव ३०० जनाले स्वास्थ्य जाँचका लागी पुर्जी लिएका छन । बेलुकासम्म यो संख्या अझै बढ्ने जनस्वास्थ्य अधिकृत कर्णले जानकारी दिनुभयो ।

पछिल्लो समय लालबन्दी नगर अस्पतालले यस क्षेत्रका नागरिकको विश्वास जित्न सफल भएको छ । बिभिन्न विशेषज्ञ सेवा, प्रसुति सेवा, ल्याव सेवा तथा नगरभित्र प्रसुति हुन आउनेका लागी निशुल्क एम्बुलेन्स सेवाका कारण नगर अस्पताल प्रति सेवाग्राहीको विश्वास बढ्दो रहेको लालबन्दी नगर स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत मुमताज मिक्रानीले जानकारी दिए ।

लालबन्दी र आसपासका पालिकाबाट नगर अस्पतालमा दैनिक सेवा लिन आउनेको संख्या ठुलो रहेको छ ।
सर्लाही, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको ुइपिसेन्टरु बनेको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह ९बालेन० ठूलो मतान्तरसहित विजयी भएका छन् ।
रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले पनि झापा-५ मा धेरैको चासो थियो । काठमाडौं महानगरपालिकाका पूर्व-नगरप्रमुख शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा थिए । शाह रास्वपाका वरिष्ठ नेता हुन् ।
ओलीलाई उनले ४९ हजार ६१४ मतले पराजित गरेका हुन् । निर्वाचन आयोगका अनुसार शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मै सीमित भए ।
ओली ०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । त्यतिबेला ओलीले ५२ हजार ३ सय १९ मत पाउँदा अधिकारीले २३ हजार ७ सय ४३ मत मात्रै ल्याएका थिए ।
मलंगवा, २३ फागुन । सर्लाही क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रविन महताे भारी मतान्तरले बिजयी भएका छन् ।
महताे ४२ हजार ५१२ मत प्राप्त गर्दै बिजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्र राय यादवले ८ हजार ५२३ मत मात्र पाए । यादव यसै निर्वाचन क्षेत्रका निवर्तमान सांसद समेत हुन् ।
त्यस्तै नेपाली कांग्रेसका डा. सराेज कुमारले ७ हजार ३९, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष समेत रहेका राजेन्द्र महताेले ५ हजार ९९२, नेपाल संघीय समाजवादी पार्टीका रजी अहमद्ले २ हजार २८३, नेपालका लागि नेपाली पार्टीका कृष्ण यादवले २ हजार २२७ र नेकपा एमालेका नागेश्वर साहले १ हजार ६६३ मत प्राप्त गरे ।
विजयी महताेलाई मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले प्रमाणपत्र प्रदान गरेका छन् । यस क्षेत्रमा १ लाख २५ हजार ३११ कुल मतदाता मध्य ७७ हजार ७८९ मत खसेकामा ७२ हजार ३८१ मत सदर भएकाे छ ।
लालबन्दी, २३ फागुन । सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार नीतिमा कार्की (भण्डारी) निर्वाचित भएकी छन् ।
भण्डारी ३६ हजार ३१० मतान्तरले प्रतिनिधि सभा सदस्यमा चुनिएकी हुन् । भण्डारी ४४ हजार १८१ मतसहित बिजयी भएको सर्लाही क्षेत्र नं. १ का निर्वाचन अधिकृत टीकाबहादुर थापाले बताए । उनलाई निर्वाचन अधिकृत टीकाबहादुर थापाले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाण पत्र प्रदान गरे ।
सर्लाही १ मा एक जना संविधान सभा सदस्य र दुई जना पूर्व प्रतिनिधि सभा सदस्यलाई पराजित गर्दै रास्वपाकी भण्डारीले संसदको यात्रा तय गरेकी हुन् । सर्लाही १ मा दोस्रो भएका संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले सात हजार ८७१, नेकपा एमालेका मनोजकुमार देवकोटाले छ हजार १०१, पूर्व प्रतिनिधि सभा सदस्य नेपाली कम्युनिष्ट पार्टीका प्रमोद साहले पाँच हजार ४९८ र निवर्तमान प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टी नेपालका रामप्रकाश चौधरीले तीन हजार ९९१ मत प्राप्त गरेका छन् ।

सर्लाही १ मा कूल खसेको ७९ हजार २०७ मतमध्ये ७३ हजार ८४२ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सर्लाही, २० फागुन । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
मतदाता परिचयपत्रको सक्कलप्रति नभएमा नेपाली नागरिकता, नागरिकता नभएमा सवारी चालक अनुमतिपत्र, चालक अनुमतिपत्र नभएमा राहदानी, राहदानी नभएमा राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र पनि नभएमा जग्गा धनी प्रमाण पुर्जाको सक्कलप्रति बोेकेर मतदान केन्द्र जान सकिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आयोगले तोकेका छ प्रकारका कागजातमध्ये कुनै एक अनिवार्य लिएर मतदान केन्द्र गएमा मतदान गर्न सकिने उनले स्पष्ट पारे ।
भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र छन् भने १४३ अस्थायी मतदानस्थल छन् । ती केन्द्रमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदान गर्ने आयोगले जनाएको छ ।
लालबन्दी, २० फागुन । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा दिने तयारी भइरहेको जानकारी दिएका हुन् । प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सँगसँगै अगाडि बढ्ने उनले बताए ।
‘पहाडी र हिमाली भूभागबाट मतपेटिका संकलन गर्न समय लाग्छ, तर हामी छिटोभन्दा छिटो संकलन गर्ने प्रयासमा छौँ । अधिकांश छिटो आउन नसक्ने ठाउँमा नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गर्छौं,’ उनले भने ।
विश्वका जुनसुकै प्रजातान्त्रिक मुलुकमा पनि निर्वाचनको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आमन्त्रण गरी वस्तुस्थितिको जानकारी गराउने र आतिथ्यता प्रदान गर्ने सामान्य प्रक्रिया रहेको भण्डारीले बताए ।

लालबन्दी, २० फागुन । नारायणखोलाका एक अशक्तलाई ह्विल चेयर प्राप्त भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायणखोलाका सोम बहादुर दोङ्गलाई लालबन्दी बजारमा रहेको एजुकेशन जोनले ह्विल चेयर प्रदान गरेको हो ।
३६ वर्षिय दोङ्ग ३ वर्षअघि घाँस काट्ने क्रममा रुखबाट लडेका थिए । आर्थीक अवस्था कमजोर भएका दोङ्गलाई एजुकेशन जोनका संचालक उद्धव थापासहितले घरमै पुगेर चेयर हस्तान्तरण गरेका हुन । ह्विल चेयर पाएपछि अब अशक्त दोङ्गलाई हिँडडुल गर्न सहायता पुगेको भन्दै परिवारले खुसि भएर एजुकेशन जोन र थापासहितलाई धन्यवाद दिएका स्थानीय युवा रोशन दोङ्ग तामाङ्गले बताए ।
एजुकेशन जोनका संचालक थापाले सामाजिक उत्तरदायित्व अन्तर्गत केहि समाजसेवी युवाहरुको आग्रह अनुसार अशक्त दोङ्गलाई सहयोग गर्न पाउँदा खुसि लागेको बताएका छन ।
लालबन्दी, १७ फागुन । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतोको निधन भएको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट प्राप्त जानकारी अनुसार मंगलबार दिउँसो २ बजे मतदान केन्द्रमै अचानक बेहोस भएपछि महतोलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पताल पुर्याएको करिब आधा घण्टापछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
महतो जिल्ला रौतहटको माधव नारायण नगरपालिका–६ का स्थायी बासिन्दा हुन् । उनी जिल्ला सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबको रूपमा कार्यरत थिए ।
उनको निधनबारे प्रादेशिक अस्पताल मलंगवाका एक प्रहरी कर्मचारीमार्फत जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
घटना भएको उक्त जिगडवा आधारभूत विद्यालय मतदान केन्द्र जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट करिब १० किलोमिटर पूर्व दिशामा पर्दछ। मृत्युको कारणबारे विस्तृत जानकारी नआइसकेको र चिकित्सकहरूले पोस्टमार्टमपछि मात्र मृत्युको यकिन कारण खुल्ने बताएका छन् । शव हाल प्रादेशिक अस्पताल मलंगवामै राखिएको र परिवारलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ ।