अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनद्वारा ताइवानमाथि आक्रमण भएको खण्डमा अमेरिकाले सुरक्षा गर्ने बताएका छन् । एक अन्तरक्रिया कार्यक्रममा बोल्दै बाइडेनले ताइवानको रक्षा गर्ने बताएका हुन् ।
बाइडेनको पछिल्लो अभिव्यक्ति अमेरिकाले लामो समयदेखि लिँदै आएको नीतिसँग मेल खाँदैन । तर उनको अभिव्यक्तिलाई अमेरिकी नीतिमा आएको परिवर्तनको रुपमा बुझ्न नहुने ह्वाइट हाउसका एक प्रवक्ताले प्रस्ट पारेका छन् ।
त्यस्तै, बाइडेनले चीनसँग जानीजानी हुने द्धन्द्धबाट आफू चिन्तित नहुने समेत बताएका छन् ।
अमेरिका विश्व इतिहासमै सबैभन्दा शक्तिशाली सैन्य शक्ति हो भन्ने सबैलाई थाहा भएको र चीन थप शक्तिशाली हुने कुराबाट चिन्ता गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो ।
एसपी यादव/सर्लाही, कार्तिक ४ । धानबाली भित्र्याउने बेलामा बेमौसमी भारी वर्षाका कारण खेतमा काटिएका धानबाली पानीमा भिज्नुका साथै खेतमा पानीको सतह बढेकाले धानबाली डुबानमा समेत परेपछि किसानहरुलाई ठुलो क्षति व्यहोर्नु परेको छ ।
भारी वर्षाका कारण भएको धानबालीको क्षतिको तथ्यांक संकलन गर्ने जिम्मा प्रदेश सरकारलाई दिइएको संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी गराएका छन् ।
प्रदेश सरकारले भएको क्षतिको तथ्यांक संकलन पश्चात् क्षतिपूर्ति उपलब्धताका लागि आवश्यक पहल थाल्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
भारी वर्षाका कारण किसानहरुको धानबालीमा क्षति पुगेकोले किसानहरु मर्कामा परेका छन् ।
गएको आईतबारबाट परेको पानीले क्षति पु¥याएको बालीनालीको बिवरण उपलब्ध गराउन सर्लाहीको हरिवन नगरपालीकाले किसानसँग अनुरोध गरेको छ ।
नगरपालीकाको कृषि सेवा केन्द्रले बुधवार जारि गरेको सुचनामा गएको असोज ३१ गतेदेखि अबिरल रुपमा परेको पानीले किसानले लगाएको बिभिन्न बालीको क्षतिको बिवरण उपलब्ध गराउन भनिएको छ ।
शाखा अधिकृत गोपालनाथ श्रेष्ठद्वारा हस्ताक्षरित सुचनामा यहि कातिक ७ गतेसम्म बिवरण उपलब्ध गराउन भनिएको छ ।
सर्लाहीको लालबन्दीमा बुधवार आयोजना गरिएको एक दिने आँखा शिबिरमा ४७ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन ।
नेपाल रेडक्रस सोसाईटि उपशाखा लालबन्दीद्वारा संचालीत आँखा उपचार केन्द्रको आयोजना तथा जानकी आँखा अस्पताल जनकपुरको सहयोगमा भएको शिबिरमा १५० जनाको आँखा जाँच गरिएको नेपाल रेडक्रस उपशाखा लालबन्दीका सचिव भरत गौतमले जानकारि दिनुभयो ।
लालबन्दी नगरपालीका वडा नम्बर ५ स्थित जरुवापानीमा निर्माण भएको रेडक्रसको आफ्नै भवनमा शिबिर आयोजना गरिएको थियो ।
शिबिरमा पहिचान भएका ४७ जना मोतियाबिन्दुका बिरामीलाई बिहिवार जानकी आँखा अस्पतालमा निशुल्क अप्रेशनका लागी लगीने रेडक्रस सर्लाहीकी उपसभापती भवानी कोईरालाले जानकारि दिनुभयो ।
आँखा अप्रेशन गर्न जानेहरुलाई लिन बिहिवार बिहान ८ बजे जानकी आँखा अस्पतालको गाडि लालबन्दी आईपुग्ने बताईएको छ ।
मंगलवार बिहानैदेखि निरन्तर परिरहेको पानी यतिबेला सर्लाही सहितका जिल्लामा रोकिएको छ । पानीले देशका धेरै ठाउँमा बाढि पहिरो सहित डुबान भएको छ ।
जिल्लामा पानीले पु¥याएको क्षतिको कुनै विवरण भने यतिखेरसम्म प्राप्त नभएको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।
ईलाका प्रहरि कार्यालय लालबन्दीका अनुसार बाउनी खोलाले एउटा ट्रयाक्टर बगाएको छ । लालबन्दी नगरपालीका वडा नम्बर ११, १२ र १३ जाने बाटोमा स्थानिय राम बहादुर श्रेष्ठको जोह्न डियर ट्रयाक्टर बगाएको हो ।
यसैबिच सर्लाहीका किसानलाई पानीले समस्यामा पारेको छ । दशैँको बिचमै धान काटेर खेतमा छोडेका किसानको धान पानीले भिजाएको छ । काट्ने बित्तिकै खेतमा सुकाएर राखेको धान भिजेपछि आफुहरु समस्यामा परेको लालबन्दी १६ परवानीपुरकी जानकाु पाठकले बताउनुभयो । पाकेको धान समेत राम्रोसँग समयमै भित्र्याउन नपाउँदा उहाँ चिन्तित बन्नु भएको हो ।
धान मात्रै नभएर पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीका उत्तरीभेगका किसानले लगाएको तरकारि खेती पानीले गर्दा बजारसम्म पु¥याउन समस्या भएको छ । लालबन्दी १५ का चन्द्र थामि भन्नुहुन्छ दिनहुँ बजार पु¥याउनुपर्ने परवल, बोडि लगाएतका तरकारि पानीले गर्दा बजार पु¥याउन समस्या भएको छ ।
यता धान सुकाएर केहि झारीसकेको धान समेत खलोमै भिजेको रानिगञ्जकी सरस्वती भुजेलले बताउनुभयो । यतिबेला कतिपय किसानको धान पाकेर उठाईसक्नुपर्ने बेला भएको छ भने कतिपय किसानका धान धमाधम पाक्दैछन ।
मौसमविदले बुधवारसम्म पानी पर्ने बताएका छन । केहि दिन धान नकाट्न कृषि बिज्ञले यस अघि नै सचेत गराएका थिए ।
सार्वजनिक खरिद ऐन २०६३ मा समसायिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न एक कार्यदल गठन गरिने भएको छ ।
सार्वजनिक खरिद ऐन संशोधन गर्ने विषयमा अर्थमन्त्रालयमा मंगलवार आयोजित बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको संयोजकत्वमा मस्यौदा कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ, कानुन, भौतिक पूर्वाधार, सहरी विकास, उर्जा, वन, भूमि व्यवस्था मन्त्रालयलगायतका प्रतिनिधिहरु सदस्य रहनेछन् ।
कार्यदलले सार्वजनिक खरिद ऐन, नियमावली, बोलपत्र सम्बन्धी कागजात, निर्माण व्यवसायी महासंघसहित विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सुझावहरुको अध्ययन गरी १५ दिनभित्र मस्यौदा पेश गर्नेछ ।
मंगलवार अर्थमन्त्रालयमा आयोजित छलफलमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनमा संशोधन गर्नुपर्ने विषयहरुबारे प्रारम्भिक मस्यौदा प्रस्तुत ग¥यो । प्रस्तावित व्यवस्थाबमोजिम सार्वजनिक निर्माणको लागि बोलपत्र पेश गर्ने साविकको समय घटाउने प्रस्ताव गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको हकमा १० दिन घटाएर ३५ दिन तथा राष्ट्रिय स्तरको बोलपत्रको हकमा नौ दिन घटाएर २१ दिन प्रस्ताव गरिएको छ । यस्तै बोलपत्र स्वीकृत भएपछि प्रकाशन गरिने आशयको सूचनाको समयावधि पनि घटाउने प्रस्ताव गरिएको छ । नयाँ व्यवस्थाअनुसार राष्ट्रिय स्तरको बोलपत्रको हकमा तीन दिन र अन्तर्राष्ट्रिय बोलपत्रको हकमा सात दिन लाग्ने व्यवस्था गरिएको छ । शिलबन्दी दरभाउपत्र पेश गर्ने समयावधिलाई पनि १५ दिनबाट सात दिनमा झारिएको छ ।
बैठकमा निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुले प्र्र्रस्तावित मस्यौदामा गरिएको व्यवस्था आफूहरुलाई स्वीकार्य रहेको प्रतिक्रियासहित यतिले मात्र पर्याप्त नहुने भन्दै संस्थागत हिसावले ३९ बुँदे सुझावपत्र पेश गरेका छन् ।

बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माण कार्यलाई गति प्रदान गर्ने, गुणस्तरीय काम गर्ने र पुँजीगत खर्च बढाएर राष्ट्रिय पुँजी निर्माणमा समेत योगदान गर्ने उद्देश्यले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा समसामयिक संशोधन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले सार्वजनिक निर्माणको गुणस्तर, पारदर्शिता र प्रतिष्पर्धाको मर्मलाई ध्यान दिएर संशोधन प्रस्ताव तयार गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री शर्माले सार्वजनिक निर्माण कार्यको लागि परामर्शदाता छनौट गर्दा संभव भएसम्म स्वदेशी जनशक्तिलाई प्राथमिकता दिनेगरी व्यवस्था गर्न निर्देशन समेत दिनुभयो । उहाँले श्रम सहकारीमार्फत १० करोडसम्मको काम गर्न पाउने व्यवस्था कार्यान्वयन हुनेगरी कानुनी व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, मुख्यसचिव शंकरदास बैरागी, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालयसहित विभिन्न मन्त्रालयका सचिवहरु, सहसचिव तथा विज्ञहरुले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा भएका त्रुटी र सच्याउनुपर्ने विषयहरुको सम्बन्धमा धारणा राख्नुभयो । सो क्रममा उहाँहरुले नयाँ सार्वजनिक खरिद ऐनको मस्यौदा तयार गर्नुपर्ने, निर्माण व्यवसायीहरुको वास्तविक क्षमता पहिचान नगरी धेरै ठेक्का एउटै कम्पनीलाई थुपार्ने परिपाटीको अन्त्य गर्नुपर्ने, निर्माण व्यवसायीहरुले तोकिएको समयमा आयोजना सम्पन्न नगरेर वर्षौंसम्म अलपत्र पार्ने गरेको, असल नियतले गरेका निर्णयमासमेत कानुनी संरक्षण नपाउदा खरिद सम्बन्धी निर्णयहरुमा ढिलाई हुने गरेकोलगायतका विषयहरु उठाउनुभयो ।
अर्को वर्ष कतारमा आयोजना हुने विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वस्थ खेल समारोह बनाउने घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा यसको घोषणा भएको हो ।
घोषणा सभामा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल–थवाडी, अन्तर्राष्ट्रिय फुटबल संघ(फिफा) का अध्यक्ष जिआनि इन्फान्टिनो र विश्व स्वास्थ्य संगठन मध्यपर्वि क्षेत्रका संयोजक डा. अहमद विन सलेम अल–मन्धारीको उपस्थिति रहेको बताइएको छ ।
कतार सरकार तथा विश्वकप फुटवल प्रतियोगिताका आयोजक संस्था सुप्रिम कमिटी तथा लेगसीले फिफासँगको सहकार्यमा सबै कृयाकलापलाई जनस्वास्थ्यका दृष्टिकोणमा उपयुक्त बनाउंन काम गर्ने जनाइएको छ । त्यस्तै स्वस्थ्य जीवनयापनका विषयवस्तुहरूको विज्ञापनका माध्यमबाट बुझाउने काम पनि गरिनेछन् ।
यसबाहेक विश्वकप फुटबल आयोजना हुने समय, आगामी वर्षको नोभेम्वर २१ देखि डिसेम्वर १८ सम्मको अवधिभर स्वास्थ्य सुरक्षा र शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा समेत जानकारी गराइने कार्यक्रम रहेको उल्लेख गरिएको छ । कार्यक्रम आगामी दिनमा खेलकुद सम्बन्धि ठुला कार्यक्रमहरूको आयोजना गर्दा स्वास्थ्यसंग सम्बन्धित विषयमा पुर्याउंन सकिने सुरक्षा तथा सावधानीका विषयमा पहिले नै जानकारी लिन उपयुक्त हुने विश्वास पनि गरिएको छ ।
अर्को वर्ष विश्व कप आयोजना गर्ने कतारले सन् २०३० मा एसियली खेलकुदको आयोजना गर्दैछ ।
सर्लाही । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले किसानलाई मलखादको अभाव हुन नदिने र सरकारले जिटुजीमार्फत खरिद गरी किसानलाई उपलव्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्री यादवले कृषि प्रधान देश भएकाले कृषि क्षेत्रलाई उपेक्षा हुन नदिनेमा आफू प्रतिवद्ध रहेको समेत बताउनुभयो ।
प्रेस मन्च नेपालले सोमबार सदरमुकाम मलंगवामा गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले कृषि क्षेत्रमा बजेटको अभाव रहेको भन्दै बजेट बढाउनु जरुरी रहेको बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै मन्त्री यादवले सर्लाहीको हुलाकी सडक यस वर्ष निर्माण गरेरै छाड्ने दाबी गर्नुभयो । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला सर्लाही आउनुभएका मन्त्री यादवले हुलाकी सडक निर्माणमा अब ढिलाइ नहुने बताउनुभएको हो ।
यसअघि बजेट विनियोजन गर्दा प्रदेश सरकारअन्तर्गत परेको भएपनि यस वर्ष भने संघीय सरकारमातहत राष्ट्रिय गौरवको आयोजनामा परेकाले सडक बन्नेमा आफू विश्वस्त रहेको मन्त्री यादवको भनाइ छ ।
सर्लाहीको निर्वाचन क्षेत्र २ का संघीय सांसद एवं जनता समाजवादी पार्टी (जसपा)का नेतासमेत रहेका मन्त्री यादव हुलाकी सडकको निर्माण अघि बढाउन माग गर्दै केही महिनाअघि सदरमुकाम मलंगवामा धर्नामा बस्नुभएको थियो ।
त्यस्तै मन्त्री यादवले देशमा राजनीतिक स्थिरता कायम गरि नेपालमा सम्वृद्धी र शान्ती ल्याउने गठबन्धन सरकारको प्राथमिकता भएको बताउनुभएको छ । नेपालको संविधान र संसदलाई बचाउनको लागि विशेष परिस्थितिमा निर्माण भएको ५ दलको गठबन्धन सरकारको निति तथा कार्यक्रम राजनीतिक स्थिरता कायम गरि नेपाली जनताको सबै समस्याको हल गर्ने प्राथमिकतामा रहेको मन्त्री यादवले बताउनुभयो ।
साथै उहाँले देशमा भएका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा, सुशासनका सवालहरु लगायत देशका विभिन्न समस्याहरुलाई राष्ट्रिय सहमतिको आधारमा मुलुकलाई निकाश दिने, ध्वस्त भइसकेको अर्थ व्यवस्थालाई सुदृढीकरण गर्ने सरकारको मुल प्राथमिकतामा रहेको उहाँले पत्रकारहरुलाई जानकारी गराउनुभयो ।
आज दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित आजदेखि दशैँ पर्व समापन हुँदैछ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ ।
नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ ।
आजको रात जाग्राम बस्नेहरुका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वाध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने भोलि बुधबार रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
आज ३१ घडी ४६ पला अर्थात् बेलुका ६ बजेर ४९ मिनेटसम्म चतुर्दशी तिथि छ । त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ ।
कार्तिक स्नान र आकाशदीपदान पनि भोलिदेखि नै सुरु हुने समितिले जनाएको छ ।
जनयुद्धको क्रममा देशमा घटित सम्पूर्ण घटनाको जिम्मेवार हामी र हाम्रो पार्टी रहेको माओवादी नेता एवं पुर्व मन्त्री मातृका यादवले बताउनुभएको छ ।
पुराना प्रजातन्त्र सेनानी हृदय नारायण चौधरीद्वारा लिखित तथा प्रकाशित ‘साहित्य समाजका दर्पण है’नामक पुस्तकको शनिबार सर्लाहीको सदरमुकाम मलंगवास्थीत जिल्ला समन्वय समितिको सभाहलमा विमोचन गर्दै सो कुरा बताउनुभएको हो। जनयुद्धमा लागेको ब्यक्ति भएकोले जतिपनि घटनाहरु भएका छन् त्यसको नैतिक रुपमा जिम्मेवार आफु रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हाम्रो पार्टी (माओवादी) सरकारमा रहेको तर सरकार हाम्रो नरहेको उल्लेख गर्दै यस्तो भ्रममा नपर्न आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुसँग आग्रह समेत गर्नुभयो।
विमोचित पुस्तकका लेखक तथा प्रकाशक सर्लाही पडरिया वडा न-१ निवासी चौधरीले पुस्तकको बारेमा प्रकाश पार्दे यसमा झुठ ,फरेव, जाल, साजिश, बेइमानी ,पाखण्ड र अत्याचारीहरुको पर्दाफास गर्नुका साथै भगवान राम, कृष्ण, जिसस -क्राइस्ट, बुद्ध, महाविर, जुन्नैद, लाओत्से, आइन्सटाइन, लालबहादुर शास्त्री, लक्ष्मी प्रसाद देवकोटा लगायतको चर्चा समेत गरिएको उहाँले जानकारी गराउनुभयो । उहाँले पुस्तक मार्फत भ्रष्टाचार र त्यसको निदानकोलागि नयाँ बाटो देखाउनु भएको छ ।
बि.स २०३६ सालको जनक्रान्तीमा सक्रिय भूमिका खेल्नु भएका चौधरीले यस पुस्तक मार्फत सामाजिक ,राजनीतिक , धार्मिक तथा राजनीतिक घटनाक्रमको विस्तृत रुपमा चर्चा गर्नुभएको छ । चौधरीले यसलाई एक्काइसौं सताब्दीको लागि एउटा अनौठो पुस्तकको रुपमा प्रस्तुत गरेको बताउनुभएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी,माओवादी नेता अच्युतम काफ्ले,पुर्व सर्लाही क्याम्पस प्रमुख कृष्णदेव यादव, पुर्व सभासद हलिमा खातुन सेखिन, उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष बिरेद्र साह, बारएसोसिएशन अध्यक्ष नरेश चौधरी, नागरिक समाज अध्यक्ष उग्रकान्त झा, नेपाल मानवाधिकार संगठन अध्यक्ष रजनिकान्त झा, जनविकास समाजका अध्यक्ष रामदेव ठाकुर, कानून विद मदन राय, राम बदन साह, मोहन यादव, स्थानीय समाजसेवी कौशल सिंह, पत्रकार महासंघ नेपाल प्रदेश न-२ कोषाध्यक्ष अजित सिंह, विनती चौधरी, रिपोर्टस क्लब नेपाल प्रदेश न-२ अध्यक्ष बख्तियार अली, शिक्षाप्रेमी रामचन्द्र महतो, दयाकांत मिश्र, रमेश लाल कर्ण, गजेद्र प्रसाद गुप्ता, आयोजक संस्था होस्टे हैंसे का शीर्ष व्यक्तित्व विनय चौधरी, मैथिली गायक सन्तोष कर्ण र पत्रकार लगायतका अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमका संचालक एवं शिक्षक जितेन्द्रलाल दासले जनाएको छ।