सर्लाही, १९ फागुन । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो।
मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ। मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्नेगरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ।
मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजीमात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ।
मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सृजना गर्ने अपेक्षा गरिएको छ।
निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्ति, सुरक्षा र सुव्यवस्थासहित भयरहित वातावरणमा निर्वाचन गर्न मौन अवधि महत्त्वपूर्ण रहन्छ।
निर्वाचन प्रचारप्रसार अभियानका क्रममा मतदातालाई विभिन्न किसिमका तनाव, दबाब र आश्वासन निरन्तर प्राप्त भइरहने अवस्थामा सबैको कुरालाई मन्थन गरेर उपयुक्त व्यक्तिलाई मतदान गर्नका निम्ति ‘फ्रेस’ भएर जानसक्ने अवस्था सृजना गर्न मौन अवधिको परिकल्पना गरिएको हो। आआफ्नो दृष्टिकोण, योजना र कार्यक्रम लिएर मतदातासम्म पुगेका उम्मेदवार र राजनीतिक दललाई आफ्नो प्रचारप्रसारको ठण्डा दिमागले समीक्षा गरेर आनन्दले मतदान गर्न जाने र मतपरिणाम कुर्ने समयका रूपमा लिइने गरिएको छ।
मौन अवधिको समय निर्वाचन व्यवस्थापकीय हिसाबले पनि अत्यन्त महत्त्वपूर्ण हुनेछ। मौन अवधिले निर्वाचन गराउने जनशक्ति र सुरक्षा फौजलाई सबैखाले कामबाट मुक्त गरेर शान्तपूर्ण वातावरणमा निर्वाचनको व्यवस्थापन गर्ने अवसर प्रदान गर्छ।
यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्ति सुरक्षाको अवस्था मूल्याङ्कन गर्ने गरिन्छ। विश्वका कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्न चलन छ। भयरहित वातावरणमा प्रभावकारी ढङ्गले निर्वाचन सम्पन्न गर्ने र मतदातालाई सुसूचित भई सचेततापूर्वक खुला दिमागले ‘योग्य र रोजेको’ उम्मेदवारलाई मतदान गर्नका निम्ति निर्णयमा पुग्न प्रदान गरिएको समयका रूपमा मौन अवधिलाई लिइन्छ।
उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचारण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ।
सो अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन।
त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन।
काठमाण्डौं, १९ फागुन । रामेछापमा चुनावका सामग्री बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । हिजो मतदान सामग्री र निर्वाचन कर्मचारी भएको गाडी दुर्घटनामा घाइते भएका मतदान अधिकृतकाे पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन तिमल्सेनाले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा त्यसअघि असई पर्शुराम यादवको ज्यान गएको थियो ।
बाँकी ७ जना घाइतेको काठमाण्डौको छाउनी अस्पतालमा उपचार भइरहेको छ । रामेछाप नगरपालिका–२ देउराली जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी हिजो दुर्घटना भएको थियो ।
काठमाण्डौं, १९ फागुन । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज बेलुका ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रस्तोदित खण्डग्रास ग्रहण अर्थात् झन्डै आधा भाग ढाकिने चन्द्रग्रहण लाग्नेछ ।
चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । बेलुका ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदित खण्डग्रास भएकै अवस्थामा उदय हुनेछ । बेलुका ७ बजेर ४ मिनेटमा चन्द्रग्रहण सकिन्छ ।
नेपालबाट झन्डै एक घण्टा चन्द्रग्रहण देखिनेछ । चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने र आँखालाई असर नगर्ने खगोलविद्ले बताएका छन् । खुला ठाउँबाट पनि नाङ्गो आँखाले हेर्न सकिन्छ । यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक देखिन लागेको हो ।
यसअघि गएको भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायतका कर्म गर्ने शास्त्रीय परम्परा छ ।
आज बिहान ९ बजेदेखि बेलुका ७ बजेर ४ मिनेटसम्म भोजन गर्न नहुने भनिए पनि बालबालिका, रोगी, अशक्त, वृद्धवृद्धालगायतलाई नियम पालना अनिवार्य छैन । यसपछि २०८४ सालमा खण्डग्रास सूर्यग्रहण देखिनेछ ।
फाल्गुन शुक्ल पूर्णिमाका दिन आज बेलुका ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रस्तोदित खण्डग्रास ग्रहण अर्थात् झन्डै आधा भाग ढाकिने चन्द्रग्रहण लाग्नेछ । हेरौँ आजको दिनको राशिफल कस्तो छ त !
मेष : दिन राम्रो छ । बोलीको प्रभावले राम्रो काम बन्नेछ । उपचारमा भए रोगबाट मुक्त हुने दिन छ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारबाट सुख मिल्नेछ । खर्च भने बढ्ने देखिन्छ ।
वृष : राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । परिवारको साथमा रमाइलो गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुन : दिन सहज छ । साथीभाइले सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । परिवारमा सम्बन्ध सुमधुर बन्नेछ । प्रेम बढ्ने योग छ ।
कर्कट : आजको निर्णय दीर्घकालीन बन्ने योग छ । व्यापारमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।
सिंह : अप्रिय शब्दले मन अशान्त बन्नेछ । राजनीतिक क्षेत्रमा विपक्षी साथीको प्रतिवाद सुन्नुपर्ने हुनसक्छ । ठुलो लगानीमा परिवारको तर्फबाट मात्र रकम खर्च गर्नु उचित हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
कन्या : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । धार्मिक व्यक्तिसँगको भेटले तपाईंको महत्त्वपूर्ण काम बन्ने योग छ ।
तुला : परिवारको साथमा घुम्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या देखिने जोखिम छ । आज विपक्षी साथीबाट प्रशंसा सुन्न सकिने छ ।
वृश्चिक : एकल निर्णय नगर्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
धनु : भएको सम्पत्ति सदुपयोग गर्नुपर्ने दिन छ । गोपनीयता भंग नगर्नु उचित हुन्छ । परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ ।
मकर : दिन सामान्य छ । सोचेका काममा अवरोध सिर्जना हुनेछ । आफ्ना भनिएका भन्दा विपक्षी साथीले सहयोग गर्नेछन् । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
कुम्भ : दाजुभाइसँग सहकार्य गरेर अगाडि बढेमा काम सफल बन्नेछ । सञ्चित धन खर्च हुने दिन छ । परिवारको सल्लाह लिएर अगाडि बढ्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्ने छ ।
मीन : गोप्य कुरा साथीलाई सुनाएमा घाटा हुने जोखिम छ । परिवार भित्र खेल्ने मान्छेले दु:ख दिने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ । सेवा गर्दा मन शान्त बन्नेछ ।
लालबन्दी, १८ फागुन । सर्लाही क्षेत्र नं. १ मा बहुजन एकता पार्टी नेपालका उम्मेदवार राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सर्लाही क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता पासवानसहित अन्य कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पासवानसहितका नेता, कार्यकर्तालाई नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नं. ४ का उम्मेदवार गगनकुमार थापाले पार्टीमा प्रवेश गराएका छन् ।
सभापति थापाले पासवानसहितलाई सर्लाहीको क्षेत्र नं. ४ स्थित धनकौल गाउँपालिकाको महिनाथपुरमा एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । पासवान जस्ताे दमदार दलित नेता नेपाली कांग्रेसमा प्रवेश गरेपछि खुसि हुँदै चारवटै निर्वाचन क्षेत्रमा आफूहरुको उम्मेदवार थप बलियो भएका कांग्रेस नेताहरुले दावी गरेका छन् ।
कांग्रेस प्रवेश गरेका पासवान २०७९ को निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार रहेका थिए । त्यसबेला पासवानले पाँच हजार १५८ मत प्राप्त गरेका थिए ।
पासवान कांग्रेसमा प्रवेश पश्चात हामिसँग भने ‘२५ वर्षदेखि आफ्नो समुदायको लागी एक्लै लडियो अब महाशक्तिसँग मिलेर समुदायको लागी लड्छु ।’
आफ्नो समुदायबाट एकजना उम्मेदवार रहेका पासवानलाई मतदान गर्न राजि भएका क्षेत्र नम्बर १ का दलित मतदाताहरु भने उनको यो कदमले अन्योलमा परेका छन ।
पासवान कांग्रेसमा प्रवेश गरेसँगै सर्लाही १ मा आधिकारिक रुपमा २८ जना उम्मेदवारको उम्मेदवारी कायम भए पनि अब २७ जना मात्र प्रतिस्पर्धामा रहने भएका छन् ।
सिन्धुली, १७ फागुन | हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमान्को बन्चरो प्रहार गरी श्रीमतीको हत्या भएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार हरिहरपुरगढी ३ रानीपानी बस्ने बर्ष ४५ को जिते भन्ने वीरबहादुर राईले घरको कोठामा आफ्नी श्रीमती अन्दाजी ४५/४६ वर्षीया रिता राईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेको जानकारी दिए ।
उनका अनुसार रिताको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी सहायक निरीक्षक नरेश कुमार रायको कमाण्डमा १२ जनाको टोली घटनास्थल गएका थिए ।
प्रहरीले आरोपित श्रीमान्लाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कपिलाकोटमा राखिएको छ ।
प्रहरीका अनुसार घटनाको कारण हालसम्म खुलेको छैन । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षक अशोक कुमार यादवको कमाण्डमा मुचुल्का टोली घटनास्थलमा खटिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मलंगवा, १५ फागुन । पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सव–इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गर्ने तीन जना अभियुक्त पक्राउ परेका छन् ।
सिरहाको सुखीपुर नगरपालिका–९, बैशाखा घर भएका ३६ वर्षीय यादवको हत्यामा संलग्न अभियुक्तहरु तथा घटनाको सम्वन्धमा सर्लाही प्रहरीले आज जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सव–इन्जिनियर यादवको उनीसँगै मधेश प्रदेश लोक सेवा आयोगको परीक्षामा प्रतिस्पर्धामा रहेका र वैकल्पिक उम्मेदवारको सूचीमा परेका व्यक्तिको योजनामा हत्या भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काले जानकारी गराए ।

सव–इन्जिनियर यादवलाई महोत्तरीको रामगोपालपुर नगरपालिका–५, घर भइ सर्लाहीको बरहथवा नगरपालिका–९, शान्ति टोलमा डेरा गरी बस्ने ३४ वर्षीय गणेशकुमार महतोको योजनामा हत्या भएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको हो । मुख्य योजनाकार महतो सर्लाहीको रामनगर गाउँपालिकामा करारमा प्राविधिक सहायकको रुपमा कार्यरत रहेका थिए ।
२०८१ फागुन ४ गते मधेश प्रदेश लोक सेवा आयोगले लिएको सहायक पाँचौ तहको सव–इन्जिनियर पदमा मृतक प्रमोदकुमार यादवको नाम निस्किएको थियो । उनको हत्यामा संलग्न गणेशकुमार महतोको एक मात्र वैकल्पिक उम्मेदवारको रुपमा नाम रहेको थियो ।
नियुक्त भएको उम्मेदवारको एक वर्षभित्र मृत्यु भए वा मार्न पाए वैकल्पिक उम्मेदवारको नाम सिफारिस हुने भएकाले सोही लोभमा परेर वैकल्पिक उम्मेदवार गणेशकुमारले सव–इन्जिनियर प्रमोदकुमारको हत्या गरेको खुलेको एसपी खड्काले बताए । सव–इन्जिनियर यादवको यही फागुन ३ गते सदरमुकाम मलङ्गवा नगरपालिका–१०, स्थित डेरा गरेर बसेको घरको बरण्डामा गोली प्रहार गरी हत्या भएको थियो ।

सो दिन मुख्य योजनाकार गणेशकुमारले आफ्नो सालो सर्लाहीकै बसबरिया गाउँपालिका–२, मानपुर घर भइ आफूसँग डेरा गरेर बस्ने २२ वर्षीय चन्द्रकिशोर कुशवाहासँगै मोटरसाइकलमा मलंगवा पुगेर सव–इन्जिनियर प्रमोदकुमारमाथि गोली प्रहार गरेको खुलेको छ । प्रहरीले मुख्य योजनाकार गणेशकुमारका सालो चन्द्रकिशोर र भाई २२ वर्षीय विजयकुमार महतोलाई समेत पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सव–इन्जिनियर यादव र वैकल्पिक उम्मेदवार तथा मुख्य अभियुक्त गणेशकुमारबिच लोक सेवा आयोगले लिएको अन्तरवार्ताका दिन चिनजान भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यसअघि पनि पटक–पटक लोक सेवा आयोगले लिएको परीक्षामा वैकल्पिक सूचीमा परेका गणेशकुमारले हत्या गरिएका सव–इन्जिनियर प्रमोदकुमारलाई आफ्नो नाम राकेश यादव भनी बताएका थिए । रामनगर गाउँपालिकाका प्राविधिक सहायक एवं मुख्य अभियुक्त गणेशकुमारले सव–इन्जिनियर प्रमोदकुमारलाई कामको सिलसिलामा बारम्बार फोन सम्पर्क गर्ने गरेको र गोली प्रहार गरिएको दिन पनि केही बेरअघि मात्र फोन गरी कोठा बाहिर बोलाएर गोली प्रहार गरेको पाइएको प्रहरी उपरीक्षक खड्काले बताए ।
गणेशकुमारले सव–इन्जिनियर प्रमोदकुमारको हत्या गर्ने योजनासहित गएको दशैँभन्दा पहिले नै भाई बिजयकुमारलाई पेस्तोल खरिदका लागि ८० हजार रुपियाँ दिएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले सव–इन्जिनियर यादवको हत्यामा प्रयोग भएको एक थान पेस्तोल, पड्किएको एक थान गोलीको खोका, गोली प्रहार गर्न आउँदा गणेशकुमार र उनका सालो चन्द्रकिशोरले चढेको बीआर ०१ एफ जेड १०८२ नम्बरको मोटरसाइकल र तीन थान मोवाइल फोन बरामद गरेको छ ।
सव–इन्जिनियर यादवमाथि गोली प्रहार गर्न आउँदा अभियुक्तहरुले प्रयोग गरेको मोटरसाइकल रौतहटको गढिमाई नगरपालिका–५, बलुवास्थित बागमती नदी किनारको बाँधबाट बेवारिसे अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको पेस्तोल भने घटना भएको चार दिनपछि मलंगवा नगरपालिका–७, स्थित ढाँका बोर्डर टोलमा निर्माणाधीन मन्दिरभित्र स्थानीय एक बालकले खेलाउनेक्रममा पड्किएको पेस्तोल रहेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
मन्दिरमा बेवारिसे अवस्थामा रहेको पेस्तोल खेलाउँदा बालक घाइतेसमेत भएका थिए । प्रहरीले उक्त पेस्तोलको ‘फरेन्सिक जाँच’ गरिने जनाएको छ ।
सव–इन्जिनियर यादवको हत्या हुनासाथ फागुन २१ को निर्वाचनका लागि थप मद्धतमा खटिएर आएका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मा कार्यरत प्रहरी निरीक्षक वीरेन्द्र बिसी र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बिशालबहादुर बुढाथोकी नेतृत्वको प्रहरी टोली घटनाको सुक्ष्म अनुसन्धान र अभियुक्तको खोजीमा खटिएको थियो । सोही टोलीले अनुसन्धान गर्नेक्रममा घटनाका अभियुक्त पहिचान गरी पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका तीनै जना अभियुक्तविरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान तथा हातहतियार खरखजना कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी सरोज राईले बताए ।

सर्लाही, १५ फागुन ।
जिल्ला खेलकुद विकास समिति सर्लाहीका अध्यक्ष तथा फुटबलका पुर्व राष्ट्रिय खेलाडी रोजित केसीले इश्वरपुर -८ निवासी एक दलित परिवारको घर निर्माण तथा पालन पोषणको जिम्मेवारी लिएका छन् ।

आमा र बाबु दुवै साथमा नभएका मोनिका मिजार , मनिष मिजार ,खुसि मिजार,मन्दिप मिजार र सन्दिप मिजारको पिडा र दैनिक जीवनमा परिरहेको समस्या समाधानका लागि केसीले जिम्मेवारी लिएका हुन् । फौजदारी कसुरमा जेल परेका बाबु र दोस्रो बिबाह गरि गएकी आमाबाट छुट्टीएपछि सहारा विहिन भएका वालवालिकाको शिक्षा दिक्षा तथा घर निर्माणको जिम्मेवारी लिन आफु तयार भएको केसीले जानकारी दिए ।
आज विहान मिजारको घरमै पुगी उनले आगामी दिनमा पर्ने गाह्रो सारो र घर निर्माणको लागि आफुले जिम्मवारी लिने बताए । लामो समय राष्ट्रिय फुटबल टिममा रहेका उर्जावान खेलाडी केसी पछिल्लो समय सामाजिक कार्य सँगै राजनितीमा सकृय छन् ।नेपाली कांग्रेस इश्वरपुर -८, का सभापती समेत रहेका केसी युवा तथा खेलकुद प्रेमीमाझ लोकप्रिय मानिन्छन ।

क्षितिज विश्वकर्मा, लालबन्दी, १३ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सर्लाहीको लालबन्दीमा आफ्ना कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै जो जो जुन जुन पार्टीको सदस्य भएपनि यसपाली घण्टीमै भोट हाल्न आग्रह गरेका छन । मत बदल्यो भने मात्रै भाग्य बदलिन्छ र भाग्य बदल्ने हो भने मत बदल्नै पर्ने उनको भनाई थियो ।

रविलाई भेट्न र कुरा सुन्न लामो समयदेखि प्रतिक्षारत समर्थकलाई सम्बोधन गर्दै रविले सर्लाही क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी नितिमा कार्किलाई संसद भवनमा अग्रीम बुकिङ गर्न आएको म भोट दिनुहुन्छ ? भन्दै प्रश्न सोधेका थिए । त्यसैगरि कसैसँग नडराउने र कसैसँग नझुक्ने खम्बा डा. अमरेश सिंहलाई समेत जिताउन आग्रह गरे । डा.सिंह सर्लाही ४ बाट चुनावी प्रतिस्पर्धामा छन । यही क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा पनि उम्मेदवार छन् । यसअघि दुई पटक कांग्रेस र एकपटक स्वतन्त्र गरी तीनपटक जितेका अमरेशकुमार सिंहलाई रास्वपाले गगनविरुद्ध उतारेको छ । यही कारण सर्लाही–४ यसपटकको निर्वाचनको ‘हटसिट’ पनि हो ।
सम्बोधनका क्रममा रविले कांग्रेस सभापति गगन थापामाथि आक्रोश पोखे । नामै नलिएर उनले थापालाई ‘मधेशको बेटा’ भन्दै सर्लाही आएको टिप्पणी पनि गरे । ‘मलाई थाहा छ अमरेश जी जित्नुहुन्छ । तर, यदि यो ठाउँमा अमरेश जी नभएपनि एउटा मधेशको मान्छे जित्थ्यो, मधेशीले जित्थ्यो,’ लामिछानेले भने, ‘तर, काठमाडौंबाट कोही आएर मधेशको बेटा हुँ भन्दै एउटा ठाउँ लिने जुन प्रयास भएको छ, यसपटक ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईँको ।’

अब मधेश, देश, हिमाल, पहाड भनेर चुनावमा भोट माग्ने सटर बन्द गर्ने उनले बताए । ‘अब पहाडी र मधेशी भनेर, म यहाँको मान्छे, म त्यहाँको मान्छे भनेर होइन, एकैपटक देशलाई न्याय दिनेगरी नेपालको कुरा गर्ने हो, देशको कुरा गर्ने हो,’ लामिछानेले भने । पहिले आफूले पटकपटक सर्लाहीलाई न्याय दिएको दाबी गर्दै लामिछानेले यसपटक आफूलाई न्याय दिन आग्रह गरे । उनले अगाडि भने, ‘हिजो सर्लाहीलाई अन्याय पर्दा म उभिएको हुँ, यसपटक अलिकति न्याय मलाई चाहिएको छ । धेरै न्याय र सहयोग देशलाई चाहिएको छ ।’
उनको भाषणमा समर्थकले मन्त्रमुग्ध भएर समर्थन गरेको देखिन्थ्यो । रविको भाषण सुन्न लालबन्दी र आसपासका बालकदेखि बुढासम्म लालबन्दीस्थित डुमडुमे मन्दिरको दक्षिणी क्षेत्रमा जम्मा भएका थिए । आजैमात्र रविले लालबन्दीसहित सर्लाहीका बिभिन्न भागमा समर्थकलाई सम्बोधन गरेका थिए ।

लालबन्दी, १३ फागुन । विदेशी विचार र विदेशी सहयोग बिना यही देशमा दुःख गरेर अगाडी आउनुपर्छ भन्ने विचार बोकेको पार्टी श्रम संस्कृति पार्टी हो भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सर्लाहीको लालबन्दीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गरेका छन् । उनले यो देश बनाउन चाहने सबैको पार्टी यहि भएकोले सबैले साथ दिन अनुरोध गरे ।

मधेशमा पहिलो पटक सम्बोधन गर्न आएको भन्दै अध्यक्ष साम्पाङले यहाँ अन्त भन्दा धेरै समस्या रहेको जिकिर गरे । यहाँ के समस्या छ भन्ने नखुलाएपनि उनले यहाँको समस्या समाधान गर्न पनि श्रम संस्कृति पार्टीलाई सबैले साथ दिन आवश्यक रहेको बताए ।

अध्यक्ष साम्पाङले सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार सुमन अधिकारीलाई देखाउँदै असल ब्यक्ति हुनुहुन्छ भने भोट दिएर जिताउन आग्रह गरे । उनले ठट्यौली शैलिमा कार्यकर्तालाई सम्बोधन गर्दै सुमन अधिकारी खराब ब्यक्ति भए भोट नदिन र नजिताउन पनि आग्रह गरेका थिए ।
उनले आफु मेयर हुँदा साँढे ३ वर्षमा धरानबासिको लागी ढुंगा बोकि बोकि काम गरेको र शनिबार पनि काम गरेर श्रम संस्कृतिको विकाश गरेको बताए । उनले यो पार्टीमा कोहि नेता र कोहि कार्यकर्ता नहुने भन्दै आफु श्रम गर्न आएको बताए । अध्यक्ष साम्पाङले भने ‘हर्क साम्पाङ खरो जस्तो लागेपनि हर्क साम्पाङ छाम्दा खस्रो र चाख्दा मिठो हो ।’ उनले भने हामि बिदेशिसँग झुक्दैनौ भन्दै हामि बिदेशिसँग राम्रो मिल्छौ तर हाम्रो टाउकोमा टेक्न दिनेछैनौँ, नेपाल आमाको छातिमाथी बिदेशि बुट बजार्न दिनेछैनौँ ।

विकाश मात्रै ठुलो होईन विकाश भन्दा ठुलो हुन्छ देश, त्यसैले देश विकाशका निम्ति आएको पार्टी हो श्रम संस्कृति पार्टी भन्दै अध्यक्ष साम्पाङले देशको स्वाभिमान र अभिमानलाई जोगाउनका निम्ति आफ्नो पार्टीलाई दुई अञ्जुलीको माटोमा भोट दिन आग्रह गरे ।