२०८३ जेष्ठ ४ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ४ सोमबार

सर्लाही, ०४ फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ ।

आजदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरमा ३ रूपैयाँ बढेको हो । खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ भने यथावत छ  ।

चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ १ सय ५४ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ ।

त्यस्तै डिजेल र मट्टीतेलको भाउ लिटरको १ सय ३९ रूपैयाँ ५० पैसा पर्नेछ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ १ सय ५६ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको भाउ १ सय ४१ रूपैयाँ प्रतिलिटिर पर्नेछ ।

काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १ सय ५७ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १ सय ४२ रूपैयाँ पर्नेछ ।

मलंगवा, ३ फागुन । सर्लाही सदरमुकाम मलंगवामा एक सव-इन्जिनियरमाथि गोली प्रहार गरि हत्या भएको छ। मलंगवा नगरपालिका-१० मा आइतबार साँझ सव-इन्जिनियरमाथि गोली प्रहार भएको हो।

मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवमाथि अपरिचित समूहले गोली प्रहार गरेको हो। यादवको देव्रे छातीमा गोली लागेको प्रहरीले जनाएको छ।

गोली लागेका यादवलाइ उपचारका लागी प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घाेषणा गरेका जिल्ला प्रहरी कायार्लय सर्लाहीले जनाएकाे छ ।

मलंगवा १० मा डेरा गरि बस्ने यादव सिराहाको सुखीपुर निवासी हुन्।

घटनाबारे अनुसन्धान भइरहेको तथा सदरमुकाम मलंगवाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि सरोज राईले बताएका छन्।  

लालबन्दी, ३ फागुन । पालिकाको कार्यसम्पादनमा सर्लाहीकाे बरहथवा नगरपालिका ६४.३९ अङ्क प्राप्त गरी पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार बरहथवा नगरपालिका पहिलो भएको हाे । जिल्लाका १० पालिकाले ५० अङ्क ल्याउन सफल भएका छन् भने १० वटा पालिकाले ५० भन्दा पनि कम अङ्क ल्याएका छन् ।

जिल्लामा चन्द्रनगर गाउँपालिकाले सबैभन्दा कम ३५.१६ अङ्क प्राप्त गरेको छ । अन्य नौ स्थानीय तहले भने ४० अङ्क कटाएका छन् । रामनगर गाउँपालिकाले ४०.५३, कविलासी नगरपालिकाले ४२.३६, हरिपुर्वा नगरपालिकाले ४२.८०, गोडैता नगरपालिकाले ४३.९६, ब्रम्हपुरी गाउँपालिकाले ४४.५१, बसबरिया गाउँपालिकाले ४५.६१, पर्सा गाउँपालिकाले ४६.०८, ईश्वरपुर नगरपालिकाले ४६.८३ र मलङ्गवा नगरपालिकाले ४९.२५ अङ्क प्राप्त गरेका छन् ।

जिल्लामा ५० अङ्क कटाएका पालिकामध्ये बलरा नगरपालिकाले ५०.२७, चक्रघट्टा गाउँपालिकाले ५१.८१, धनकौल गाउँपालिकाले ५३.३७, विष्णु गाउँपालिकाले ५४.३५, लालबन्दी नगरपालिकाले ५७.२३, बागमती नगरपालिकाले ५८.२१ र कौडेना गाउँपालिकाले ५९.२० अङ्क प्राप्त गरेका छन् ।

जिल्लाको २० पालिकामध्ये कार्यसम्पादन मुल्याङ्कलनमा बरहथवा नगरपालिका ६४.३९ अङ्क प्राप्त गरी पहिलो भएको छ । ६२.०२ अङ्क प्राप्त गरी हरिवन नगरपालिका दोस्रो र ६१.१९ अङ्क प्राप्त गरी हरिपुर नगरपालिका तेस्रो भएका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बजेट तर्जुमा र कार्यान्वयन, राजस्व परिचालन, लेखापरीक्षण, शिक्षा, स्वास्थ्य र सुशासनलगायतका १७ सूचकका आधारमा मूल्याङ्कन गरेको हो ।

सिन्धुली, ३ फागुन । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीको रातमाटामा अवस्थित रामेश्वरधाम परिसरमा महाशिवरात्रीकाे पावन दिनबाट आयोजना भएको श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्यामा शान्ति कलश यात्रा सम्पन्न गरिएको छ ।

पञ्चेबाजा सहित पंडित, पुरोहित, सन्त महन्थको अगुवाईमा रामेश्वरधामको प्रांगणबाट शुभारम्भ गरिएको शान्तिकलश यात्रामा श्रद्धालु भक्तजनहरुको बृहत सहभागिता रहको थियो ।

कलशयात्राले सिन्धुलीमाडी बजारका अतिरिक्त कालीमाई लगाएत विभिन्न मठ/मन्दीर, चोक/चौताराहरुको परिक्रमा गरेकाे थियाे भने मण्डपमा १ सय आठ भन्दा बढीको संख्यामा कलश प्रतिस्थापना गरिएको थियो ।

फाल्गुण ३ गते पुर्वाङ्ग भै फाल्गुण १० गते साङ्गे गरिने श्रीमद्भागवत महायज्ञमा पण्डित कमल नयन काफ्लेको मुखारविन्दबाट श्रीमद्भागवत कथा प्रवचन हुने रामेश्वरधाम मन्दीर व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद कोईरालाले बताए ।

श्रीमद्भागवत ज्ञानमहायज्ञका अबसरमा दैनिक रुपमा कथा प्रवचन, पाठ पारायाण, भजन किर्तन, आरती हुने जनाईएको छ । ज्ञानमहायज्ञ समापनको अवसरमा सामुहिक व्रतबन्ध, लाखबति प्रज्वलन लगाएतका क्रियाकलाप हुने अध्यक्ष कोईरालाले जानकारी दिए ।

रामेश्वरधाम मन्दीर व्यव्स्थापन समितिले विगत लामो समयदेखि हरेक वर्षको महाशिवरात्रीकाे शुभदिनदेखि धाम परिसरमा विभिन्न पुराणको आयोजना गर्दै आएको छ ।

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीको रातमाटामा अवस्थित रामेश्वरधाम पछिल्लो समयमा धार्मिक तर्थिस्थलको रुपमा विकास भइरहेकाे छ ।

मलंगवा, ३ फागुन । पत्रकार बन्दना झाले प्रादेशिक अस्पताल मलंगवाका बिरामिलाई फुलफुल वितरण गर्दै र वाल मन्दिरका बालबालीकालाई भोजन सेवा गर्दै आईतबार आफ्नो जन्मदिन मनाएकी छिन ।

हरेक जन्मदिनमा फरक समाज सेवाका काम गर्दै आएकी पत्रकार झाले आज बिरामी र वालवालीकाको सेवा गरेकी हुन । जिल्लाका अन्य पत्रकारहरुलाईसमेत निमन्त्रणा गरेर झाले कार्यक्रम गरेकी हुन । यसरी एकदिन भएपनि बिरामी र वालवालीकालाई सेवा गर्न पाउँदा आफुलाई खुसि लाग्ने उनले प्रतिकृया दिईन ।

झा नेपाल पत्रकार महासंघ शाखा सर्लाहीकी उपाध्यक्ष र मधेश मिडिया काउन्सिलकी सदस्य समेत हुन ।

लालबन्दी, २ फागुन । सर्लाहीको लालबन्दी ८ मा रहेको रकभेल सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नो ३१ औँ स्थापना दिवश मनाएको छ । शुक्रबार स्कुलको प्रांगणमा एक औपचारीक कार्यक्रम गर्दै स्थापना दिवश मनाएको हो ।

यस क्षेत्रमा लोकप्रिय रहेका निजि विद्यालयहरु मध्येको एक विद्यालयले स्थापना दिवशसहित अभिभावक दिवश विशेष कार्यक्रम पनि संगै गरेको छ । लालबन्दी नगरपालिकाको शिक्षा शाखा प्रमुख लक्ष्मी सिवाकोटिको प्रमुख आतिथ्यतामा स्थानीय बोर्डिङ स्कुलका संचालकहरु, भैरवी दल गण पाँचकुमारीका प्रतिनिधिको समेत उपस्थितीमा कार्यक्रम गरिएको विद्यालयका संचालक सागर गीरिले जानकारी दिए ।

विद्यार्थीहरुले नै संचालन र ब्यवस्थापन गरेको कार्यक्रममा विद्यार्थी तथा शिक्षिकाहरुले समेत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा अतिथी तथा शिक्षक कर्मचारीहरुलाई मायाको चिनो तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

बलरा, २ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीसँग देश बदल्ने सोच, संकल्प र योजना रहेको बताएका छन् ।

सर्लाही क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बनेका उनले आज शनिबार मतदातासँग भेटघाट गर्दै भने, ‘दोस्रो विशेष महाधिवेशनपश्चात् नेपाली कांग्रेस नयाँ भएको छ । यो नयाँ कांग्रेससँग आगामी पाँच वर्ष काम गर्ने योजना, उत्साह र संकल्प छ । हामीले विगतबाट सिकेका छौँ, त्यसैले आगामी दिनमा के गर्ने भन्नेमा स्पष्ट छौँ ।’

युवालाई स्वदेशमै राख्न रोजगारी सिर्जना गर्न नीति नियममार्फत निजी क्षेत्रलाई प्रोत्साहित गरिने उनले बताए ।

सर्लाही–४ मा आउँदो एक वर्षभित्रमै आफ्नो ज्ञान र नेटवर्कको प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलताका क्षेत्रमा काम गरी हाल देखिएका समस्या समाधान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच, उनले संविधानसभा सदस्य एवं जनता समाजवादी पार्टी, नेपालका नेता केदारनन्दन चौधरीसहितका नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गरे । सर्लाही–४ को बलरा नगरपालिका–९, अचलगढमा आयोजित कार्यक्रममा संविधानसभा सदस्य चौधरी, जसपा नेपालका केन्द्रीय नेता मनिषकुमार मिश्रलगायत पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

हरिवन, २ फागुन | सर्लाहीको हरिवनमा आज शनिबार नेपालका प्रथम शहीद लखन थापाको स्मृति दिवस मनाइएको छ ।

नेपाल मगर संघ सर्लाही जिल्ला कार्य समितिको आयोजनामा थापाको तस्बीरमा मार्ल्यापण र उहाँको जीवनीको चर्चा गर्दै स्मृति दिवस मनाइएको हो । विसं १९३३ फागुन २ गते तत्कालीन राणा शासकले गोरखाको शहीद लखन गाउँपालिका ८ बुङ्कोटको काहुले भङ्गारमा थापा र उहाँका सहकर्मी जैसिं चूमी मगरलाई फाँसी दिएका थिए ।

थापालाई नेपाल सरकारले २०७२ साल असोज ३ गते नेपालको पहिलो शहीद भएको मान्यता दिएको हो । यस्तै शहीद लखन थापाको स्मृति दिवसकै अवसरमा आज हरिवनमा नेपाल मगर संघ सर्लाही जिल्ला कार्य समितिको कार्यालयसमेत उद्घाटन गरिएको छ ।

कार्यालयको मधेश प्रदेश सभा सदस्य बेची लुंगेली, नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य लेखराम जर्गा मगर, संघका जिल्ला अध्यक्ष कमल बहादुर क्यापछाकी (कामना) लगायत भएर उद्घाटन गरेका नेपाल मगर संघ सर्लाही जिल्ला सचिव संजय बलम्पाकी मगरले जानकारी दिनुभयाे ।

लालबन्दी, १ फागुन । शुक्रबार ३१ औं जनयुद्ध दिवस मनाईएको छ । दिवसका अवसरमा सर्लाहीमा समेत कार्यक्रम गरिएको छ ।

जिल्लामा क्रियाशिल पुर्ब जनमुक्ति सेना नेपालले हरिवनमा ३१ औं जनयुद्ध दिवस विशेष कार्यक्रम गरि मनाएको हो । हरिवन ११ मा रहेको रोयल म:म सेन्टरको हलमा पुर्ब जनमुक्ति सेना नेपालले कार्यक्रम गरेको पुर्ब जनमुक्ति सेना नेपालका कमान्डर जीत बहादुर थोकरले बताए ।

कार्यक्रममा पुर्ब जनमुक्ति सेना नेपालका योद्धाहरुको उपस्थिति रहेको पुर्ब जनमुक्ति सेना नेपालका जिल्ला अध्यक्ष टंक बहादुर बोहोरा (सितल) ले जानकारी दिए । कार्यक्रमका सहभागीहरुले आसन्न प्रतिनिधिसभा निर्वाचन  सफल तुल्याउँदै जिल्लाका चारै क्षेत्रका उम्मेदवारलाई जिताउन मुख्य भुमिका खेल्ने संकल्प गरेका अध्यक्ष बोहोराले बताए ।

त्यसैगरी लालबन्दीमा पनि कार्यक्रम भएको छ । तत्कालीन माओवादीको युवादस्ता वाइसीएलको आयोजनामा लालबन्दी ७ स्थित सहिद ईगलको शालिक रहेको स्थानमा कार्यक्रम गरिएको जिल्ला अध्यक्ष घमराज श्रेष्ठ (राजकुमार) ले जानकारी दिए ।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीकी नेत्री बेची लुंगेली, प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रमोद साहसहित नेपाली कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको वाईसीएल जिल्ला अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार साँझ दिप प्रज्वलन गर्दै कार्यक्रम गरिएको हो ।

यसैबीच नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इतिहासको सहि सम्मानसँगै र वर्तमान जोडेर मात्रै राष्ट्रको भविष्य सुदृड हुने बताएका छन ।
आगामी निर्वाचनमा रुकुम पूर्वका उम्मेदवारसमेत रहेका प्रचण्डले भूमे–२, खाबाङ बगरमा ३१औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले फागुन १ केवल गौरवमय अतीतको स्मरण मात्र नभई वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शनसमेत भएको उल्लेख गरे। उनले सामन्ती राज्यसत्ताविरुद्ध स्वतन्त्रता, समानता र न्यायका पक्षमा नेपाली जनताले ऐतिहासिक विद्रोहको मशाल यही दिन प्रज्वलित गरेको बताए ।

सम्बोधनको क्रममा उनले जनयुद्ध तथा विभिन्न कालखण्डमा भएका जनआन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपांग र बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरे । रुकुम पूर्वलाई क्रान्ति र शान्तिको साक्षी भूमि भन्दै उनले यही ठाउँबाट वंशमा आधारित शासन व्यवस्थाविरुद्ध विद्रोह सुरु भएको स्मरण गरे । महिलाहरूले घुम्टो फालेर स्वतन्त्रताको आवाज उठाएको, आदिवासी जनजाति समुदायले पहिचान र स्वाभिमानका लागि संघर्ष गरेको तथा दलित समुदायले जातीय उत्पीडनविरुद्ध आवाज बुलन्द गरेको इतिहास उनले उल्लेख गरे ।

सर्लाही, २९ माघ । २१ फागुनको निर्वाचन नजिकिँदै गर्दा सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । यतिवेला जिल्लाका सबै क्षेत्रमा उम्मेदवार घरदैलोमा व्यस्त छन् । मतदातासँग भेटघाट गर्ने, समस्या सुन्ने, समाधानको प्रतिबद्धता व्यक्त गर्ने मात्र होइन, उम्मेदवारहरू नयाँ योजना र आश्वासन बाँड्दै मतदाताको मन जित्न घरदैलोमा दौडधुप गरिरहेका छन् । विपक्षी उम्मेदवारका समर्थन र विरोधमा नेता तथा कार्यकर्ता चोक–चौतारादेखि सामाजिक सञ्जालसम्ममा खरो उत्रिएका छन् ।

चार निर्वाचन क्षेत्र कायम सर्लाहीमा १३२ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए । जेन–जी आन्दोलनका कारण दुई वर्ष पहिल्यै हुन लागेको निर्वाचनमा नयाँ पुस्ता र नयाँ दलको चर्चा हुँदै गर्दा यहाँ भने पुरानैको वर्चस्व देखिएको छ । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नै प्रतिस्पर्धामा देखिएका छन् । यी पाँच पार्टीले क्षेत्रदेखि वडासम्म निर्वाचन परिचालन कमिटी तयार गरेर प्रचारप्रचार तीव्र बनाएका छन् ।

कांग्रेसले क्षेत्र नम्बर १ मा हरि लुंगेली, २ मा कौशलकिशोर राय, ३ मा पुण्यप्रसाद घिमिरे र ४ मा रामआश्रय साहलाई निर्वाचन परिचालन कमिटी संयोजक बनाएको छ । क्षेत्रीय सभापतिले पालिका कमिटी र पालिकाले वडा निर्वाचन परिचालन कमिटी गठन गरेर काम गरिरहेको कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारले बताए ।

एमालेले चारवटै क्षेत्रमा निर्वाचन परिचालन समिति संयोजक तोकेर चुनावी गतिविधि सुरु गरेको जिल्ला अध्यक्ष राजनारायण साहले बताए । सर्लाही १ मा गोविन्द महत, २ मा जयप्रकाश यादव, ३ मा विदुर प्याकुरेल र ४ मा शिवपूजन यादव निर्वाचन परिचालन कमिटीको संयोजक तोकिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले चारवटै क्षेत्रमा चुनाव प्रचारप्रसार अभियानलाई तीव्र जनाएको छ । निर्वाचन गतिविधिलाई प्रभावकारी बनाउन सबै निर्वाचन क्षेत्रमा संयोजक तोकेर जिम्मेवारी प्रदान गरिएको जिल्ला इन्चार्ज अच्युतम काफ्लेले बताए । उनका अनुसार १ नम्बर क्षेत्रमा उद्धव पाठक, २ मा अशोक यादव, ३ मा राजकुमार यादव र ४ मा राजनारायण यादव संयोजक तोकिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १ मा गोविन्द ढुंगेल, २ मा शम्भु पण्डित, ३ मा रत्नप्रसाद भट्टराई र ४ मा रामविश्वास महतोलाई क्षेत्रीय कमान्डर घोषणा गरेर निर्वाचन परिचालनको जिम्मेवारी सुम्पिएको जिल्ला सभापति सरोज बानियाँले बताए । सर्लाहीमा पुराना दल र उम्मेदवारको वर्चस्व देखिएको छ । मुख्य ठुला पार्टीबाट समेत पुरानै उम्मेदवारको उम्मेदवारी परेको छ । नयाँ दलमा समेत पुरानै अनुहार छन् । केही उम्मेदवारले क्षेत्र र केहीले पार्टी परिवर्तन गरेका छन् ।

सर्लाही १ मा पुरानै उम्मेदवारबिच भिडन्त
सर्लाही १ मा ठुला दलका तर्फबाट पुरानै नेतालाई अघि सारिएको छ । यस क्षेत्रमा १९ वटा दलसहित २९ जनाको उम्मेदवारी परेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले गत निर्वाचनमा विजयी रामप्रकाश चौधरीलाई यसपटक पनि उम्मेदवार बनाएको छ । चौधरी गत निर्वाचनमा कांग्रेस, एकीकृत समाजवादी र माओवादीको संयुक्त गठबन्धन उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । यसपटक उनले जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका छन् । एमालेबाट ०७४ को स्थानीय तह निर्वाचनमा ईश्वरपुर नगरपालिकाको मेयरमा निर्वाचित मनोजकुमार देवकोटा उम्मेदवार बनेका छन् । नेपाली कम्युनिस्ट पार्टीले अघिल्लो निर्वाचनमा जसपाबाट उम्मेदवार बनेका प्रमोद साहलाई अघि सारेको छ । कांग्रेसले शम्भुलाल श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले नीतिमा भण्डारी (कार्की) लाई मैदानमा उतारेका छन् ।

सर्लाही २ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
सर्लाही २ मा यसअघिका नियमित प्रतिस्पर्धीसँगै केही नयाँ उम्मेदवारसमेत मैदानमा उत्रिएका छन् । अघिल्लो निर्वाचनमा तत्कालीन माओवादीको चुनाव चिह्न लिएर उठेका महेन्द्र राय यादव निर्वाचित भएका थिए । उनले २३ हजार ५२९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतो २१ हजार ५१८ मतसहित दोस्रो स्थानमा थिए । यादव र महतो दुवै अहिले पनि उम्मेदवार छन् ।

सर्लाही २ मा यसपटक दलका १४ सहित ३१ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट कांग्रेसले डा. सरोज कुमार, नेपाली कम्युनिस्टले महेन्द्र राय यादव, नेकपा एमालेले नागेश्वर साह, राष्ट्रिय स्वतन्त्र पार्टीले रविन महतो, राष्ट्रिय मुक्ति पार्टी नेपालले राजेन्द्र महतो, गतिशील लोकतान्त्रिक पार्टीले उमेशकुमार सिंह, नेपालका लागि नेपाली पार्टीले कृष्ण यादव, आमजनता पार्टीले चन्द्रभूषण साह, युनाइटेड नेपाल डिमोक्य्राटिक पार्टीले चन्देश्वर साहलाई चुनावी मैदानमा उतारेको छ । जनता समाजवादी पार्टीबाट भरत चौधरी, नेपाल संघीय समाजवादी पार्टीबाट रवि अहमद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजकिशोर राय यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रामनरेश राय, जनमत पार्टीबाट विपिन कापरले उम्मेदवारी दिएका छन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक मततर्फ सबैभन्दा धेरै कांग्रेसले १४ हजार ९९३ मत पाएको थियो । १२ हजार ३३७ मतसहित जनमत दोस्रो, ११ हजार ४३ मतसहित लोसपा तेस्रो, १० हजार ८५९ मतसहित तत्कालीन माओवादी चौथो, सात हजार ५३३ मतसहित जसपा पाँचौँ र पाँच हजार ९३४ मतसहित एमाले छैटौँ स्थानमा थिए ।

सर्लाही ३ मा चारपक्षीय भिडन्त
सर्लाही ३ मा केही पुराना र केही नयाँ अनुहार देखिएका छन् । ठुला दलले पुरानै नेतालाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् । यस क्षेत्रमा ०७९ को निर्वाचनमा विजयी उम्मेदवार हरिप्रसाद उप्रेती यसपटक पनि एमालेबाट उम्मेदवार बनेका छन् । कांग्रेसले विनोद खनाललाई, नेपाली कम्युनिस्ट पार्टीले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट नागेन्द्र साह कलवार उम्मेदवार बनेका छन् । एमाले नेता उप्रेती विजयी यात्रालाई दोहोर्‍याउने दाउमा छन् ।

यस क्षेत्रमा जनता समाजवादी पार्टीले जयप्रकाश यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीले ढोलराम बारकोटी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले पवनकुमार महतो, राष्ट्रिय मुक्ति पार्टी नेपालले महेशराज दहाल, नेपाल मजदुर किसान पार्टीले रमा कोइराला, प्रजातान्त्रिक पार्टी नेपालले रामबहादुर महतो कोइरी, मंगोल नेसनल अर्गनाइजेसनले वीरबहादुर रुम्बा, बहुजन एकता पार्टी नेपालले शिवदयाल महरालाई चुनावी मैदानमा उतारेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सविउल शेष, जनमत पार्टीबाट सुनीलप्रसाद गुप्ता र उज्यालो नेपाल पार्टीबाट त्रिभुवनकुमार सिंह चुनावी मैदानमा होमिएका छन् ।

गगन र अमरेशको भिडन्तले सर्लाही ४ चर्चामा
सर्लाही ४ यसपटक चर्चाको केन्द्रमा छ । भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका कांग्रेस सभापति गगन थापाको उम्मेदवारीले यहाँको चुनावी माहोल भिन्न बनेको हो । यस क्षेत्रलाई देशकै हेभीवेट उम्मेदवारबिचको प्रतिस्पर्धाका रूपमा हेरिएको छ । कांग्रेस गढका रूपमा रहेको यस क्षेत्रमा गुमेको बिरासत फिर्ता गर्ने लक्ष्यसहित सभापति थापा चुनावी मैदानमा छन् । पहिलो संविधानसभा निर्वाचनमा शिवपूजन राय यादव निर्वाचित यस क्षेत्रमा तीन कार्यकालदेखि अमरेशकुमार सिंह सांसद बनेका छन् । ०६४ र ०७० मा कांग्रेसबाट निर्वाचित भएका सिंह ०७९ मा भने स्वतन्त्र उम्मेदवारी दिएर विजयी भए । यसपटक उनी रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका छन् । पार्टीको संगठनबाहेक यस क्षेत्रमा सिंहको व्यक्तिगत वर्चस्व पनि छ । यस क्षेत्रमा प्रभावशाली नेताको छवि बनाएका संविधानसभा सदस्य शिवपूजन रायले आफ्नो छोरा अमनिशकुमार यादवलाई एमालेबाट उम्मेदवार बनाएका छन् । नेपाली कम्युनिस्ट पार्टीले रजनिश रायलाई टिकट दिएपछि शिवपूजनले पार्टी परित्याग गरी छोरालाई एमालेको टिकट दिलाएका हुन् । शिवपूजन रायकी छोरी मधुमालाकुमारी यादवको स्वतन्त्र उम्मेदवारीसमेत छ । यस क्षेत्रबाट प्रभावशाली भनिएका अधिकांश पार्टीले उम्मेदवार मैदानमा उतार्दा यहाँको चुनावी माहोल निकै रोमाञ्चक बनेको हो । राष्ट्रिय मुक्ति पार्टी नेपालबाट उदयकान्त मिश्र, उज्यालो नेपाल पार्टीबाट पीताम्बरसिंह कुसवाह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदीपकुमार झा, जनमत पार्टीबाट राकेशकुमार मिश्र, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रामचरित्र सहनी, आमजनता पार्टीबाट रिंकीकुमारी साहलगायत छन् । नयाँ पत्रिकाबाट

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।