२०८३ असार ५ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार ५ शुक्रबार

गजलकार विवश पौडेल सर्लाहीको हरिपुर नगरपालीका वडा नम्बर १ घर भई लामो समयदेखि लालबन्दी नगरपालीका स्थित वडा नम्बर ९ मा बस्दै आउनुभएको छ । करिव १८ बर्ष देखि शिक्षण पेशामा आवद्ध पौडेलले करिव ४०० वटा गजल रचना गर्नुभएको छ ।

राष्ट्रिय स्तरका सञ्चारमाध्यम सम्म राम्रो पकड बनाउन सफल गजलकार पौडेलका २ ओटा संयुक्त कृति प्रकाशन भएका छन भने पौडेलकै सम्पादनमा सर्लाहीका प्रतिनिधि गजलकार नामक कृति यथाशिघ्र प्रकाशन हुँदै छ । पौडेल शिक्षण पेशा सँगै बिबिध कार्यक्रम तथा रेडियो कार्यक्रम सञ्चालनमा समेत राम्रो दख्खल राख्नुहुन्छ ।

प्यारी! अँगाल आऊ थालौँ नयाँ सफर
तिम्रा विरुद्ध मेरा छैनन् कुनै कसर

सत्ता चलाउनेको औकात के रह्यो
घट्तै गएछ उद्यम बढ्दै गएछ कर

लौ हेर आज भ्रष्टाचारी जताततै
कानुन कता हरायो भाग्दै गएछ डर

संसार तार्छु भन्ने ढोँगी कतै थिए
प्यासी मुहार तिनका लोभी थिए नजर

यो राज्य जित्न सक्थेँ भन्थ्यौ जित्यौ भने
ठान्नेछु आज तिम्ले पूरा गर्यौ रहर

पूरा हुनै नसक्ने इच्छा गरीबका
खैँचेर राज गर्नेका चैँ सबै सदर

यस्तै छ यो दुनियाँ कसको कुरा गरौँ
कमजोर देखिएकै बन्ने भयो प्रखर

फुर्ती ठुला बडाको सुन्दा अचम्म भो
झर्थ्यो भने तिनैले थाम्ने थिए सगर

मर्दा लिएर जान्नौ राख्छौ कमाइ के
सेवा गरेर जाऊ बन्छौ भने अमर

सर्लाही : चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जमा मंगलवार ६० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

समाजसेवी शिवनाथ राउतले निःशुल्क रुपमा पढाउँदै आएका ६० जना बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो । काठमाण्डौंमा रहेको पिस फर पिपुल नामक संस्थाले पठाएको शैक्षिक सामग्री मंगलवार बिहान विद्यार्थीलाई प्रदान गरिएको राउतले जानकारी दिए ।

राउतका अनुसार प्रति विद्यार्थी चारवटा कापी, दुईवटा सिसाकलम र एउटा कटर तथा इलेजर प्रदान गरिएको हो । शैक्षिक सामग्री पाउनेमा अधिकांश मुसहर समुदायका र एक÷दुई जना मुस्लिम समुदायका बालबालिका समेत रहेका छन् ।

आफै अपांगता भएको व्यक्ति भएपनि समाजसेवी राउतले ती बालबालिकालाई बबरगञ्जकै बिर्ता बजारमा विगत दुई वर्ष १० महिनादेखि निःशुल्क रुपमा टिउसन पढाउँदै आएका छन् ।

सगुन बचत तथा ऋण सहकारी संस्था लि. हरिवनले प्रदेश नम्बर दुई भरीकै उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले आर्थिक वर्ष २०७६/०७७ को काम कारबाहीका आधारमा प्रदेश स्तरीय उत्कृष्ट साकोस विधा अन्तर्गत सगुनलाई छनौट गर्दै प्रशंसा पत्र प्रदान गरेको हो । सोमबार वीरगंजमा आयोजित दुई नं. प्रदेश स्तरीय प्रादेशिक विस्तारित मञ्चमा नेफ्स्कुनका केन्द्रीय अध्यक्ष परितोष पौड्यालले सगुनका अध्यक्ष बाबुराम घिमिरेलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

दुई हजार भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु रहेको प्रदेश नम्बर दुई भरीबाट उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत हुन पाउनु संस्था एवं सम्पूर्ण शेयर सदस्का लागि गौरवको विषय भएको भन्दै सगुनका अध्यक्ष घिमिरेले खुशी प्रकट गरे । सगुनले दुई वर्षअघि नेपाल राष्ट्रिय सहकारी महासंघबाट पनि प्रदेश नम्बर दुईकै उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत भईसकेको छ ।

२०५७ सालमा स्थापना भएको सगुनले आर्थिक वर्ष २०७६/०७७ मा एकअर्ब ३० करोड बढीको कारोबार गर्दै साँढे चार करोड भन्दा बढी मुनाफा आर्जन गरेको अध्यक्ष घिमिरेले जानकारी दिए । सगुनमा हाल ११ हजार भन्दा बढी शेयर सदस्य रहेका छन् ।

उज्यालो अभियानबाट…

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।

मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उहाँले बताउनुभयो । नवलपरासी (बर्दघाट सुस्तापश्चिम), नवलपरासी (बर्दघाट सुस्तापूर्व) र चितवनका पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको भ्रामक समाचार र गलत सूचना न्यूनीकरणसम्बन्धी दोस्रो चरणको तालीम समापन कार्यक्रममा आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “तपाईँको अभियानमा मन्त्रालयले पनि सहयोग गर्छ, सञ्चार क्षेत्रका कानून पनि सुधार गर्छौँ, ती कानूनमा मर्यादित पत्रकारिता थपिनेछ ।”

भ्रम फैलाउने र नकारात्मक समाचारलाई बढी प्राथमिकता दिँदा पछिल्लो समय पत्रकारिताप्रतिको विश्वास कमजोर हुँदै गएको उहाँको भनाइ थियो । मन्त्री गुरुङले सञ्चार क्षेत्रमा रुपान्तरण गर्ने गरी आफू लागेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले समाजले भरोसा गरेको पत्रकारिता जगत्ले भ्रम र अफवाह फैलाउनेतर्फ नभई विश्वास बढाउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले यस तालीमले पत्रकारितालाई जिम्मेवार र विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल टिभी अन्लाईनबाट…

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर थप २२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या देशभर १ हजार १ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ।

चीनले विदेशी नागरिकलाई चीन प्रवेशमा कडाई गरेको छ। अक्टोबरमा चीनमा ५१५ कोभिड-१९ का इम्पोर्टेड केस दर्ता भएका छन्। जुन गत सेप्टेम्बर भन्दा ४५ प्रतिशतले बढी हो।

गत साता मात्र २३ जना भारतीय नागरिकमा संक्रमण पुष्टि भएको थियो। ४ कन्फर्म केस थिए भने १९ लक्षण बिहिन केसहरु। उनीहरु दिल्लीबाट अक्टोबर ३० मा वुहान पुगेका थिए। चीनका विज्ञहरुले विदेशबाट आउने मध्ये न्युक्लिक एसिड टेस्टका २० देखि ५० प्रतिशत सम्म फल्स नेगेटिभ केस हुन सक्ने भन्दै सतर्कता अपनाउन भनेका छन्।

त्यस्तै पछिल्लो सूचना अनुसार ११ देशका नागरिकहरुलाई चीन प्रवेशमा रोकसमेत लगाइएको छ। जसमध्ये फ्रान्स, रुस, भारत, बंगलादेश, इटाली, युक्रेन, इथियोपिया, युके, बेल्जियम, फिलिपिन्स र नाइजेरिया रहेका छन्।

आइतवारको नियमित प्रेस ब्रिफिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले कुनै पनि परीक्षणले सतप्रतिशत नतिजा नदिने भन्दै न्युक्लिक एसिड टेस्टसँगै इमुनोग्लोविन (आईजिएम) एन्टिबडी टेस्ट पनि गर्नुपर्ने बताए।

यो प्रक्रिया यसअघि केही देशहरुमा लागु गरिएको प्रभावकारीसमेत भएको उनले जानकारी दिए। त्यस्तै एक भन्दा बढी स्थानमा ट्रान्सिट भएर आउने यात्रुहरु यात्रा सुरु गर्नुपूर्व नेगेटिभ भए पनि ट्रान्सिट हुने स्थानमा संक्रमित हुन सक्ने कुरालाई ध्यान दिँदै ट्रान्सिट भएको स्थानमा पनि परीक्षण गर्नुपर्ने उनले बताए। त्यसैले पनि यात्र गर्न अत्यावश्यक भए सिधा उडान लिनसमेत उनले आग्रह गरेका छन्।

यसैबीच नेपालबाट चीन प्रवेश गर्ने यात्रुहरुमा समेत चीनले कडाइ गरेको छ। काठमाडौं स्थित चिनियाँ दूतावासले सूचना जारी गर्दै चीन प्रवेश गर्नु अगाडि न्युक्लिक एसिड टेस्टसँगै आईजीएम एन्टिबडी टेस्ट गर्नुपर्ने जनाएको छ। नेपालबाट चीन उडान गर्ने सबै विदेशी नागरिकले दुबै परीक्षण गरी ‘एसएस’ मार्क उल्लेखित ग्रिन हेल्थ कोड अथवा प्रमाणित हेल्थ डिक्लेरेसन पेश गर्नुपर्ने जनाएको छ।

परीक्षणका लागि दूतावासले दूई वटा प्रयोगशालासमेत निर्धारण गरेको छु। चीन जाने यात्रुले स्टार अस्पताल सानेपा र ह्याम्स अस्पताल धुम्बाराहीबाट उडान भर्नु भन्दा अघि कोभिड-१९ को न्युक्लिक एसिड टेस्ट र आईजीएम एन्टबडी टेस्ट गराउनुपर्ने छ। जुन उडान पूर्व ४८ घण्टाको मान्यता दिइएको छ।

त्यस्तै नेपाल ट्रान्सिट भएर चीन जाने यात्रुलाई पनि यो लागु हुनेछ। नेपालबाट अन्य कुनै देशमा ट्रान्सिट भए त्यहाँ पनि परीक्षण गर्नुपर्ने छ। साथै हेल्थ कोडका लागि त्यहाँको दूतावासमा निवेदन दिनुपर्ने छ।

चिनियाँ यात्रुका लागि भने वीच्याट हेल्थकोड एपमा फोटोसहितको नेगेटिभ न्युक्लिक एसिड टेस र आईजीएम एन्टिबडी टेस्टको नतिजा पेस गर्नुपर्नेछ।

विदेशी यात्रुले हेल्थकोडका लागि परीक्षणको रिपोर्टको कपिका साथै पासपोटको कपि र हेल्थ डिक्लेरसन फर्म साइन गरेर दुतवासमा मेल आइडी consulate_npl@163.com मा मेल गर्नुपर्नेछ। दूतावासले एक दिन भित्र हेल्थ कोड मेल गर्ने छ। सो हेल्थ कोड विमानस्थलमा देखाउनुपर्ने छ।

पहिलो पोस्टमा खबर छ ।

कार्टुन सिरिज ‘स्कुबी-डु’का रचनाकार केन स्पेयर्सको निधन भएको छ। लुई बडी डिमेन्सिया भएका उनी ८२ वर्षको उमेरमा मरेका हुन्।

उनका छोरा केभिनले खबर पुष्टि गरेको हलिउड रिपोर्टरमा लेखिएको छ।

केनले जो रुबीसँगको सहकार्यमा चर्चित काटुन सिरिज बनाएका थिए। रुबीको तीन महिनाअघि निधन भएको थियो।

सन् १९६९ मा प्रसारण भएको ‘स्कुबी डु, ह्वेर आर यू’ सन् दुई सिजन चल्यो। तर, ५० वर्षसम्म कथा अगाडि बढाउने टेम्प्लेट बन्यो ती दुई श्रृङ्खला।

हलिउडको निर्माण कम्पनी वार्नर ब्रोजका प्रमुख साम रजिस्टरले उनी एक सच्चा रचनाकार भएको र पूरा उद्योग र दर्शकलाई हाँसो उपहार दिएको बताए। भने,’उनको मृत्युले दु:खी तुल्याएको छ। उनको प्रियजनहरूमा समवेदना।’  

पूर्वसञ्चार सचिव जितबहादुर मानन्धरको निधन भएको छ । मधुमेह तथा मिर्गाैला रोगबाट पीडित ८६ वर्षीय मानन्धरको उपचारको क्रममा मंगलबार निधन भएको हो ।

पछिल्लो केही दिनयता अस्वस्थ रहनुभएका मानन्धरलाई उपचारका लागि ललितपुरको स्टार अस्पताल भर्ना गराइएको थियो ।

तत्कालीन राजपरिषद्को सचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएका मानन्धरले चार दशक प्रशासनिक सेवामा रहेर काम गर्नुभएको थियो । प्रशासन क्षेत्रमा पुर्‍याएको योगदानवापत् उहाँलाई विभिन्न सम्मान र पदकबाटसमेत विभूषित गरिएको थियो ।

उहाँको मंगलबारै अन्त्येष्टि गरिने पारिवारले जनाएको छ ।

रौतहटको कटहरियाबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय गरुडा मातहतको इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरी गस्ति टोलीले सवारी ज्यान मुद्दामा फरार रहेका ४० बर्षिय शेख मोकदम देवान पक्राउ गरेको हो ।

जिल्ला अदालत रौतहटको लगत नं. ३५२ अनुसार २ बर्ष कैद फैसला भएका देवान फरार रहेका थिए । बिशेष सुचनाको आधारमा देवानलाई कटहरिया नगरपालिकाको वडा नम्बर ४ मा लुकिछिपि आफ्नै गाउँघरमा बस्दै आएको अवस्थामा पक्राउ गरिएको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । हिजो सोमबार विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट प्र.ना.उ.हेम बहादुर शाहीको कमाण्डमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज समेतबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चन्द्रपुर न.पा.वडा नं.४ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने धनसर देखि जंगलसहिया जाने बाटोमा लागु औषध सहित एक ब्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने बारा निजगढ न.पा.वडा नं. ७ भवराटोल बस्ने बर्ष २३ का सोम बहादुर लामा रहेका छन । उनले सर्लाहीको बागमती तर्फबाट चलाई ल्याएको ना १६ प ७८२५ नं.को डिस्कभर मोटर साईकल रोकी चेकजाँच गर्ने क्रममा मोटर साईकल पछाडी सवार सर्लाहीको बागमती न.पा.वडा नं.१२ बागमती वस्ने बर्ष ३० का दिल बहादुर थिङ्गले मोटर साईकलको बिच भागमा पोलिथिन झोलामा लागु औषध अफिम १ किलो ८०० ग्राम लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारि पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई थप कारवाहीका लागी अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेम बहादुर शाहीले बताउनु भयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।