महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।
दश वर्षका उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ ।
नाट्यसम्राट् बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मेको बताएका थिए ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिए । महाकवि देवकोटाले अंग्रेजी साहित्यका फ्रान्सिस बेकन, चार्ल्स ल्यास जस्ता १५ गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्धसंग्रह’ प्रकाशन गरेका थिए ।
विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । साथै वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा पनि उनले सक्रिय योगदान दिएका थिए ।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । आशुकवि देवकोटाको कविप्रतिभा, कविताको गुणात्मक मूल्य र संख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता मानिन्छ ।
महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैंले अंग्रेजीमा अनुवाद गरेका थिए । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौं गाथाको नेपालीकरण गरेका छन् । विसं २०२४ मा प्रकाशित ‘मायाविनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।
सरकारी जग्गा कब्जा गरी व्यक्तिको नाममा पुर्जा बनाइएको १२२ विगाहा जग्गाको साढे पाँच बर्ष पश्चात श्रेष्ता बदर गरेर नेपाल सरकारको नाममा कायम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी गरिएको विज्ञप्तीमा राष्ट्रिय वन क्षेत्रको १२२ विगाहा जग्गा केही भुमाफियाहरुले षड्यन्त्रपूर्वक कित्ताकाट गराई विभिन्न व्यक्तिको नाममा श्रेष्ता खडा गरेर पारित गराएको भन्दै बिभिन्न सञ्चारमाध्यबाट समाचार प्रकाशित प्रशारित भएका थिए । उक्त समाचारको तथ्य पत्ता लगाउने क्रममा राष्ट्रिय वनको जग्गा मास्न ठूलो गिरोह संलग्न रहेको पाईएपछि आवश्यक काम कारवाहीको प्रक्रिया पुरा गर्दै मालपोत कार्यालय चन्द्रपुरले व्यक्तिको नाममा रहेको श्रेष्ता बदर गरेर नेपाल सरकारको नाममा कायम कायम गरेको हो ।
हालको गुजारा नगरपालिका, साविक रंगपुर गाविस अन्तर्गत पर्ने राष्ट्रिय वनको १२२ विगहा सार्वजनिक जग्गा २६ जना व्यक्तिको नाममा दर्ता रहेको भेटिए पछि २०७६ पुस ७ गते उक्त जग्गाको लगत कट्टा गरेर डिभिजन कार्यालय चन्द्रपुरले मालपोत कार्यालयमा सक्कल पत्र सहितको पठाएको थियो । विभिन्न प्रक्रियागत हिसावको कारण लामो समय सम्म उक्त जग्गा नेपाल सरकारको नाममा कायम हुन नसकेको अवस्थामा यहि कार्तिक २३ गते जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, डिभिजन वन कार्यालयको संयुक्त वैठकबाट अतिक्रमित जग्गाको श्रेष्ता बदर गरेर नेपाल सरकारको नाममा कायम गर्ने निर्णय भएपछि उक्त व्यक्तिको नाममा दर्ता भएको जग्गाको श्रेष्ता बदर गरी नेपाल सरकारको नाममा कायम गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो ।
१२२ विगाहा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा श्रेष्ता पारित भएपनि अझै व्यक्तिले भोगचलन गर्दै आइरहेका छन ।
सार्वजनिक जग्गा खाली गराई राष्ट्रिय वनको जिम्मेवारीमा ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर खाली गराउने समेत निर्णय भएको हुँदा यथाशिघ्र उक्त जग्गा विना बाधा अडचनको खाली गरिदिन प्रजिअ यादवले आग्रह समेत गर्नु भएको छ ।
नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ ।
कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि शनिबार बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि छ । जसका कारण कुकुर पूजा बिहान गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ । भोली आइतबार बिहान आंैसी तिथि भए पनि बिहान ११ बजेर २७ मिनेटपछि प्रतिपदा तिथि लाग्ने भएकाले लक्ष्मीपूजा अघिल्लै दिन साँझ मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिको निर्णय छ ।
शनिबार दिउँसो १ बजेर ४९ मिनेटपछि औंसी तिथि लाग्छ । लक्ष्मीको पूजा साँझ गर्नुपर्ने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष प्राडा. रामचन्द्र गौतम बताउँछन् । कात्तिक कृष्ण औंसीका दिन धन सम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरिन्छ ।
कात्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य स्वरूप घर घरमा बत्ती बाली लक्ष्मीलाई स्वागत गरिन्छ । सुख, सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्ने धार्मिक परम्परा छ ।
आज साँझ बाट भैलो पनि खेल्ने परम्परा छ तर यसपटक कोभिड १९ का कारण देउसी भैलो प्रभावित हुने भएको छ ।