रौतहटमा सञ्चालीत दुई ओटा स–मिलबाट प्रहरिले मध्यराती छापा मारि अवैध सालको काठ नियन्त्रणमा लिएको छ ।
जिल्लाको चन्द्रपुर १० बलुवामा बिश्वनाथ ठाकुरको स–मिल र बृन्दावन नगरपालीका ३ रामपुरटोलमा बिरेन्द्र ठाकुरले संचालन गरेको काठ मिलबाट अवैध सालको काठ लुकाई छिपाई राखिएको अवस्थामा प्रहरिले नियन्त्रणमा लिएको हो ।
यहि माघ १३ गते राती करिव साँडे ९ बजे र १४ गतेको बिहान करिव १ बजेको समयमा प्रहरिले ति २ काठ मिलमा सुचनाको आधारमा छापा मारेको थियो । ईलाका प्रहरि कार्यालय गरुडा बजारका प्रहरि निरिक्षक राम राजा केशरिको कमाण्डको टोली, प्रहरि चौकी बिश्रामपुरबाट प्रहरि सहायक निरिक्षकको टोली र डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले दुई काठमिलमा छापा मारेको हो ।
छापा मार्ने क्रममा बिश्वनाथ ठाकुरको चपुरको स–मिलबाट २२.०७ क्युफिट र बिरेन्द्र ठाकुरको बृन्दावन स्थित रामपुरको काठ मिलबाट १९.४८ क्युफिट सालको काठ बरामद भएको प्रहरिले बताएको छ ।
ति दुबै स्थानमा फेला परेको काठलाई आवश्यक कारवाहिका लागी डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा बुझाईएको रौतहट प्रहरिले जनाएको छ ।
सर्लाहीको लालबन्दीमा सँस्कृत भाषाको संरक्षण तथा प्रवद्र्धनका लागि सँस्कृत विद्यालय सञ्चालनको तयारी भएको छ ।
लालबन्दी नगरपालिका–७, स्थित डुमडुमे मन्दीर प्रांगणमा नवनिर्मित राधाकृष्ण धर्मशालामा गएको सोमबार बसेको सरोकारवालाहरुको आम भेलाले संस्कृत गुरुकुल सञ्चालन गर्ने निर्णय गरेको हो । श्रीमद् भागवत प्रचार प्रसार संघको आयोजनामा भएको भेलामा नेपाल महर्षि फाउण्डेसन फर वैदिक कल्चरका प्रतिनिधि ध्यान गुरु विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष पण्डित नारायण शरण काफ्लेको अध्यक्षता रहेको थियो ।
भेलाले सोमबारबाटै विद्यार्थी भर्ना सुरु गर्नेे र फागुन १ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । गुरुकुलमा निःशुल्क रुपमा खाने बस्ने तथा पठनपाठनको व्यवस्था गरिएको र नयाँ शैक्षिक शत्रबाट कक्षागत रुपमा पढाउन शुरु गरिने प्रचार प्रसार संघका सचिव माधव खरेलले जानकारी दिनुभएको खबर उज्यालो अभियानमा छ ।
सर्लाहीमा १२९ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान १० बजेबाट सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा सूरु भएको खोप लगाउने कार्यक्रममा साँझ ४ बजेसम्म १२९ जनाले सहभागिता जनाएका हुन् ।
जिल्ला अस्पताल मलंगवाका प्रमुख डा. संजिव सिंहले आफैलाई खोप लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए । लगतै जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधिवक्ता केशव गौतम, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकलले पनि खोप लगाएका छन् । खोप कार्यक्रम उद्घाटनका अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहित सुरक्षानिकायका प्रमुखहरु, विभिन्न सरकारी एवं गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बुधबार ४३ जना स्वास्थ्यकर्मी, २६ जना कार्यालय सहयोगि, भान्से र सफाई कर्मचारी, २० जना महिला स्वास्थ्य स्वयं सेविका, १ जना एम्बुलेन्स चालक र ३९ जना सुरक्षाकर्मीलाई खोप लगाईएको जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकले जानकारी दिए । बुधबार १०० जनालाई खोप लगाउने लक्ष्य राखिएकामा २९ जना बढीलाई लगाईएको छ । नायकका अनुसार विहिबार मलंगवा नगरपालिका अन्तर्गत सम्पूर्ण महिला स्वास्थ्य स्वयं सेविका, निजी स्वास्थ्य क्लिनिकका सञ्चालक लगायतलाई खोप लगाईने छ ।
त्यस्तै विहिबार नै ब्रम्हपुरी, पर्सा, हरिपूर्वा, चक्रघट्टा, गोडैता र बसबरियाका स्वास्थ्यकर्मी सहित सरोकारवालालाई मलंगवामा बोलाएर खोप सम्बन्धि विस्तृत जानकारी गराईने जनस्वास्थ्य प्रशासक नायकले जानकारी दिए । नायकका अनुसार शुक्रबार ब्रम्हपुरी, पर्सा र हरिपूर्वा तथा शनिबार चक्रघट्टा, गोडैता र बसबरियामा जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधिको उपस्थितीमा खोप कार्यक्रम संचालन गरिने छ ।
२० वटै पालिकाका स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, अग्रपंक्तिमा खटिने अन्य राष्ट्रसेवक कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविकालाई खोप लगाईने नायकले जानकारी दिए । नायकका अनुसार सर्लाहीमा ५३० भाईल अर्थात ५ हजार ३०० डोज खोप आएको छ । एउटा भाईलमा १० डोज खोप हुनेछ ।
अनुमानित तथ्यांक अनुसार जिल्ला स्थित २० पालिकामा फ्रण्टलाईनमा काम गर्ने झण्डै ६ हजार ६ सय ३९ जना रहेका छन् । सोही तथ्यांंकका आधारमा जिल्लामा कोरोना विरुद्धको ७ हजार डोज खोप माग गरिएको थियो । तथापी ५ हजार ३०० डोजमात्र प्राप्त भएको छ ।
पहिलो पटक लगाएका व्यक्तिलाई पूनः ४ हप्तापछि दोस्रो डोज खोप लगाएपछि कोरोना भाईरस विरुद्धको खोप पूरा हुनेछ । १० दिन भित्र जिल्लाभर अग्रपंक्तिमा काम गर्ने सरकारी तथा गैरसकारी क्षेत्रका व्यक्तिहरुलाई पहिलो डोज दिईसक्ने लक्ष्य राखिएको नायकले जानकारी दिए ।
भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप बुधबारबाट मुलुकभर लगाउन सूरु गरिएको हो । उक्त खोप भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको उज्यालो अभियानमा खबर छ ।