वीरगञ्ज कारागारमा थुनुवा भेट्न आएका एक व्यक्ति लागूऔषध चरेससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का २२ वर्षीय मिङमा शेर्पा रहेका छन् ।
लागूऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका आफ्ना भाइ २० वर्षीय लाक्पा शेर्पा भेट्न गएका मिङमा पक्राउ परेका हुन् ।
कारागार ड्युटीमा खटिएको प्रहरी टोलीले कैदीबन्दी भेटघाटका लागि आएका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा मिङमा पक्राउ परेका हुन् । मिङमाले प्लाष्टिकको झोलाभित्र राखेर भाइको लागि भनेर ल्याएको स्पोर्ट्स जुत्ताको तलुवाभित्र करिब १० ग्राम चरेस बरामद भएको पर्साका प्रहरी नावय उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
नियन्त्रणमा लिएका शेर्पालाई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको उनले बताए ।
आफ्नै नाबालक छोरोको हत्या गरेको आरोपमा बैतडीबाट एक व्यक्ति पक्राउ परेका छन् ।
तीन महिनाको नाबालक छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-५ खनाडी बस्ने ४० वर्षीय राजबहादुर चन्द मंगलबार पक्राउ परेका हुन् ।
राजबहादुरले नाबालक छोरालाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजबहादुरले आफ्नो ७० वर्षीय बुबा मन्धिर चन्दलाई समेत कुटपिट गरेका छन् ।
स्वास्थ्य परीक्षणका क्रममा भारतको नयाँदिल्लीमा रहेका जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय मिडिया एसियन न्युज इन्टरनेसनल (एएनआई) सँग कुरा गर्दै नेपाल संकटबाट गुज्रिरहेको जनाएका छन् ।
एएनआईले सामाजिक सञ्जाल ट्विटरमा राखेको डा. भट्टराईको प्रतिक्रियामा उल्लेख छ, ‘बहुमतको साथ सरकार गठन गरेको नेपाल कम्युनिस्ट पार्टी लगभग २ गुटमा विभाजित छ, देशको लोकतन्त्रका लागि यो ठीक होइन ।’
.स्थिरता, आर्थिक विकास र भारत–नेपाल सम्बन्ध राम्रो भएको सुनिश्चित गर्न नेपालका सबै पक्षहरूसँग कुरा गर्ने डा. भट्टराईले एएनआईलाई बताएका छन् ।
क्यान्सरको आशंकामा परीक्षणका लागि नयाँदिल्ली गएका डा. भट्टराई क्यान्सर नदेखिएपछि मंगलवार स्वदेश फर्किंदैछन् ।