सर्लाही | विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व आँकडाले मुटुसँग जोडिएका रोगलाई नियन्त्रण गर्न सकिने पनि प्रमाणित गरेको छ ।
नेपालमा पनि पछिल्लो समय हार्टअट्याकका विरामीको संख्या बढ्दै गएको देखिन्छ । सूर्ती सेवन तथा अस्वस्थ खानपान नगर्ने र रक्सी सेवनलाई कम गर्दै जीवनशैलीमा ध्यान दिन सकेमा हृदयरोग नलाग्ने विज्ञ चिकित्सक (कार्डियोलोजिस्ट) हरु बताउँछन् ।
हामीमध्ये अधिकांशलाई हृदयरोग कति घातक हुन्छ भन्ने थाहा छ । तर पनि यसको मूल कारणलाई हामी नजरअन्दाज गरिरहेका हुन्छौं । जब हामी यसको उपचार गर्नतिर लाग्छौं, तब निकै ढिला भइसकेको हुन्छ । मानिस अमर प्राणी त होइन, तर पनि हृदयरोग लाग्न नदिन गाह्रो भने छैन ।
कार्डियोलोजिस्टहरुका अनुसार, हृदयरोगबाट बच्न स्वस्थ आहार, नियमित व्यायाम, स्तरीय निद्रा र समय समयमा विशेषज्ञ चिकित्सकलाई स्वास्थ्य जाँच गराउन सक्दा रोग नियन्त्रण गर्न सकिन्छ । विज्ञ चिकित्सकहरु हृदयरोगबाट बच्न निम्न ६ उपाय सुझाउँछन्ः
दैनिक ४० मिनेट व्यायाम
हरेक मानिसले दैनिक ४० मिनेट व्यायाम गर्नु स्वास्थ्यका लागि उत्तम हुन्छ । चिकित्सकहरुका अनुसार, व्यायामले सातामा पाँच पटक तपाईंको कार्डियोभास्कुलर जोखिमलाई ३० प्रतिशत कम गर्न मद्दत गर्छ । तौल कम गर्न, ब्लडसुगर, ब्लडप्रेसर तथा कोलेस्टोरलको स्तर सुधार गर्न पनि व्यायाम अनिवार्य छ । व्यायामले त मानिसको यौनजीवनसमेत सुधार्ने चिकित्सकहरु बताउँछन् ।
आफूलाई खुशी राख्नुस्
हृदयरोग कम गर्ने प्रमुख उपायमध्ये एक आफूलाई खुशी राख्नु हो । तनावमा बस्नु हृदय रोग मात्र होइन अन्य रोग पनि बढाउनु हो । हामीले सकेसम्म हाँस्ने प्रयत्न गर्नुपर्छ । हाँस्दा शरीरबाट एन्डोर्फोन हार्मोन बाहिरिन्छ, जसले ब्लडप्रेसर कम गर्न र ब्लड सर्कुलेसनमा सुधार ल्याउन मद्दत गर्छ । संसारका कतिपय ठाउँमा अहिले ‘लाफिङ क्लास’ सन्चालन गर्ने संस्था स्थापित छन् । त्यस्ता ठाउँमा गएर साथीहरुसँग हाँस्ने र आफूभित्रका तनावहरु कम गर्ने कार्य गर्न सकिन्छ । पछिल्लो समय ‘स्टे«स म्यानेजमेन्ट’का कक्षासमेत सन्चालन हुन थालेका छन् ।
स्तरीय निद्रा सुत्नुस्
शरीरलाई आवश्यक आरामले कतिपय रोग कम गर्ने चिकित्सकहरु बताउँछन् । राम्रो र स्तरीय निद्राले शरीरलाई आराम दिन्छ । यस्तो निद्राले मानसिक र हृदयरोग नियन्त्रणमा मद्दत गर्छ । चिकित्सकहरुका अनुसार, हामीले दैनिक सातदेखि आठ घण्टा सुत्नु आवश्यक छ ।
धुम्रपान र रक्सीबाट बच्नुस्
डब्ल्यूएचओका अनुसार, हृदयरोगको अधिकांश मामिला धुम्रपान र रक्सीका कारण वृद्धि भइरहेको छ । डब्ल्यूएचओको आँकडाले धुम्रपान र रक्सी नपिउनेको तुलनामा पिउनेमा अचानक हार्टअट्याकबाट हुने मृत्युको जोखिम आधा बढ्ने देखाएको छ ।
त्यतिमात्र होइन, यो खराब आदतले हाई ब्लडप्रेसर, स्ट्रोक र हार्ट फेलियरजस्ता रोगको जोखिम बढाइदिन्छ । रक्सीमा मोडरेसन कार्डियो प्रोटेक्टिभ तत्व हुन्छ, तर यसको अधिक प्रयोग मुटुका लागि हानिकारक हुन्छ ।
मोडरेसनमा खानुस्
हामीले हरेक पटक खानेकुरा खाँदा तेलको मात्रा कम गर्न सक्नुपर्छ । वयस्क उमेरका मानिसले हरेक महिना आधा लिटर आलस, जैतुनलगायत ‘सेचुरेटेड’ तेलको प्रयोग गर्नु उत्तम हुन्छ । साग, बदाम, प्रोटिनको सेवन गर्न पनि राम्रो हुन्छ ।
नियमित स्वास्थ्य परीक्षण
फुल ब्लड काउन्ट, कोलेस्टोरल लेभल, किड्नी, लिभर तथा थाइरोइडका साथै ब्लडसुगर लेभल र इसीजी परीक्षण नियमित गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । स्वास्थ्यमा देखिने लक्षण तथा अवस्थाका अनुसार हृदयरोग विशेषज्ञसँग नियमित जाँच गराउनु पनि उत्तिकै आवश्यक छ ।
- क्षितिज बिश्वकर्मा | सर्लाही
प्रहरीले जबरजस्ती करणि मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । बरहथवा नगरपालिका १६ चाईनाटोलमा लुकेर बस्दै आएका चन्द्रनगर गाउँपालिका ३ बस्ने २० बर्षका चन्चुल भन्ने समिर महतोलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मुर्तियाबाट गस्तिमा खटिएको प्रहरिको टोलीले महतोलाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारी दिनुभयो ।
सर्लाही | प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र, नेपालद्वारा संचालित प्राकृतिक श्रोत द्वन्द रुपान्तरण कार्यक्रम छैटौ चरण अन्तरगत सर्लाहीको दक्षिण पश्चिमस्थित गोडैता नगरपालिकाको वडा नम्बर ३ मा अवस्थित सामुदायिक प्राथमिक विद्यालय सिमरा भगवतीपुर र सोही स्थानमा वस्ने सिमानाका किसानहरुविच २०७२ साल देखि चल्दै आएको जग्गा सम्वन्धी द्वन्द रुपान्तरण प्रक्रियामा सहजिकरण गर्न द्वन्दमा संलग्न पक्ष तथा सरोकारवालाहरुको सहभागितामा पुर्व तयारी बैठक सम्पन्न भएको छ ।
२०६५ सालमा स्थानीय शिक्षक राजिनन्द महतोलगायतका स्थानीयकै पहलमा स्थापना गरिएको सो सामुदायिक प्राथमिक विद्यालय भवनको वरिपरि स्थानीयवासीको घर रहेको थियो । विस्तारै विद्यालयको भवनहरु निर्माण हुदै जाँदा वरिपरिका व्यक्तिहरुको जग्गा च्यापिदै गयो । केही व्यक्तिहरुसंग विद्यालयले सम्झौता गरेर जग्गा साटोफेरो गरेपनि केही व्यक्तिहरुलाई भने विद्यालयमा जागिर लगाई दिएर जग्गा लिईयो ।
सिमानाका केही व्यक्तिहरसंग सहमती हुन नसक्दा विद्यालयले कम्पाउण्डवाल समेत लगाउन पाएको छैन । विद्यालयले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी दिएर वल प्रयोग गरी वस्ती उठाउने प्रयास गरेपनि सफल हुन भने सकेन । पटक–पटक सहमति गर्ने प्रयास असफल भएपनि सेफ द चिल्डेन नामक संस्थाले विद्यालयको वाल लगाउन दिएको वजेट समेत फ्रिज भएर भएर गयो । वरिपरि विद्यालयको भवन विच भागमा व्यक्तिहरुको घर रहेको कारण विद्यालयको अवस्था नाजुक देखिएको छ । विवाद समाधानको लागि सहजिकरण गरिदिन विद्यालयको प्रधानाध्यापक राजिनन्द महतोले प्राकतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र्र, नेपालमा लिखित निवेदन दिएपछि संस्थाले पुर्व तयारी बैठक राखी प्रकृया अगाडी वढाएको हो ।
गोडैता नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विजय प्रसाद यादवको अध्यक्षतामा सञ्चालित बैठकको संविद्यानसभा सदस्य एवं नेकपा एमालेकी केन्द्रीय सदस्य कमलादेवी महतो प्रमुख अतिथी रहनुभएको थियो । बैठकमा स्थानिय राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरु ने.क.पा. माओवादीका लक्ष्मी राय, नेपाली कांग्रेस गौरीशंकर महतो, सम्भु महतो, विद्यालयका प्रधानाध्यापक राजिनन्द महतो, वहुजन समाजवादी पार्टीका वडा सभापती विरेन्द्र पासवान, सिमानाका किसान प्रतिनिधिसरोज कुशवाह, जय किसुन महतो लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र, नेपाल सहजकर्ता गंगा वहादुर विश्वकर्मा संचालन गर्नु भएको कार्यक्रममा राष्ट्रिय श्रोत व्यक्ति पार्वती विश्वकर्माले सहजीकरण गर्नुभएको थियो । वैठकको सहजीकरण गर्नुहुँदै स्रोत व्यक्ति विश्वकर्माले प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र, नेपालको परिचय, संस्थाले संचालन गर्दै आएको अभियानको परिचय, संस्थाद्वारा संचालित कार्यक्रमहरु, अभियानवाट प्राप्त उपलब्धिहरु र प्राकृतिक श्रोत द्वन्द रुपान्तरण प्रकृयाको परिचय दिनुको साथै द्वन्द रुपान्तरण प्रकृयामा द्वन्दमा संलग्न पक्ष तथा सरोकारवालाहरु र सहजकर्ताहरुको भुमिकाको वारेमा प्रकाश पार्नुभएको थियो ।
साथै उहाँले विवादको विषयमा संक्षिप्त जानकारी संकलन गरी द्वन्द नक्शाकनको लागि स्थलगत कार्ययोजना तर्जुमा समेत गर्नुभएको थियो । पूर्व तयारी बैठकमा बोल्नुहुँदै प्रमुख अतिथी एवं संविधानसभा सदस्य कमलादेवी महतोले सबैलाई चित्त बुझाएर समासस्याको समाधान गर्नुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय किसानलाई पनि विस्थापित गर्न नहुने र विद्यालयलाई पनि मार्का पार्न नहुने धारणा राख्नुहुँदै आफ्नो गाउँमा आएर कार्यक्रम गरेकोमा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रलाई धन्यवाद दिनुभयो । उहाँले द्वन्द रुपान्तरण सम्बन्धी तालिम मधेशका गाउँगाउँमा गएर दिन सके त्यो प्रभावकारी हुने बताउनुभयो । पूर्व तयारी वैठकमा वडा अध्यक्ष विजय प्रसाद यादवले विद्यालय र स्थानीय किसानबीच देखिएको द्वन्द रुपान्तरणमा आफू र वडा कार्यालयले भरपूर सहयोग गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समस्या समाधानका लागि सहजकर्ताहरुलाई जिम्मा लगाएर ढुक्कले बस्नु हुँदैन, समस्या समाधानमा हामी आफै पनि लाग्नुपर्छ ।’ उहाँले किसानको चित्त बुझाएर आफूले समस्या समाधान गर्ने भन्नुहँुदै आफूलाई सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।
उहाँले वडा कार्यालबाट बजेट विनियोजन गरेरै भएपनि वडावासीलाई समेत द्वन्द रुपान्तरण सम्बन्धी तालिम सञ्चालन गर्ने बताउनुभयो ।
सर्लाही | हरिवन नगरपालिका ११ मा कुल १ करोड ९९ लाखको लागतमा औधोगिक ग्राम निर्माणको काम भईरहेको छ । एक स्थानीय तह एक औधोगिक ग्राम निर्माणको अवधारणा अनुरुप नै यहाँ पनि ग्राम निर्माणको काम तिब्र रुपमा भइरहेको हो ।
स्थानीय चापिनी नदी किनारमा झण्डै १२÷१३ विगाह नदी उकास जमिनमा नगरपालिकाले कम्पाउण्ड घेरेर ग्राम स्थापनाका लागि भौतिक निर्माणको काम भइरहेको नगरपालिकाका प्रमुख ईन्जिनियर जकी अहमदले जानकारी दिए । उनले ग्राम निर्माण अन्तर्गत त्यहाँ विजुलीबत्ती, सोलारबत्ती लगाउनेदेखि लिएर अहिले प्रशासनिक भवन निर्माणको काम भईरहेको बताए ।
‘नेपाल सरकारको योजना अनुरुप नै यहाँ पनि औधोगिक ग्राम निर्माणको काम भइरहेको छ ।’, प्रमुख ईन्जिनियर अहमदले भने, ‘कुल लागत एक करोड ९९ लाख मध्ये ठेक्का प्रक्रियामार्फत बिलोमा अबानिश निर्माण सेवा फुलपरासीले कुल एक करोड ३२ लाख २२ हजार ३९६ रुपैयाँ ८ पैसामा त्यहाँ भौतिक संरचना निर्माणको काम गरिरहेको छ । तर औधोगिक ग्राम बनाउने बहानामा जनप्रतिनिधिले त्यहाँको जग्गा विक्रीवितरण गर्न लागेको भन्ने विषय साँचो होईन र त्यो भ्रम मात्रै होे वास्तविकता नबुझीकन गरिने त्यस्ता प्रचारले राम्रो सन्देश जाँदैन ।’ उनले फागुन सम्ममा संरचना निर्माणका काम सम्पन्न हुने समेत जानकारी दिए ।

निर्माणाधीन औधोगिक ग्राम निर्माणको काम तिब्र गतिमा अघि बढिरहेकै बेला केही व्यक्तिहरुले केही मिडिया र मिडियाकर्मीको प्रयोग गरी ग्रामको विषयमा भ्रम छर्न खोजिएको नगरप्रमुख मेयर गणेश प्रसाद प्रसाईंका स्वकीय सचिव युवराज आचार्यले बताए । उनले भने, ‘औधोगिक ग्रामको जग्गामा जनप्रतिनिधिको गिद्धे नजर भन्दै केही संचारमाध्यममा आएको समाचारमा सत्यता छैन ।
नगरपालिकाले नगरवासीकै हितका लागि नदीको बगरलाई सदुपयोग गर्दै औधोगिक ग्राम बनाउन लागेको हो । त्यो जग्गा जनप्रतिनिधिले कुनै पनि हालतमा विक्री गर्न सक्ने कुरै छैन । त्यो सब अनर्गल अफवाहा फैलाईएको छ ।’ उनले औधोगिक ग्रामका विषयमा त्यहाँ के के भइरहेको छ र मिडियामा आएजस्तो छ छैन भनेर हरिवनवासी जानकार भएकोले नगरपालिकालेसमाचारको खण्डन गर्न आवश्यक नठानेको बताए । उनले केही विकास विरोधीहरुले दाबी गरेजस्तो नभएको भन्दै त्यस्ता हल्लाका पछि नलाग्न पनि नगरवासीलाई अनुरोध गरे ।
औधोगिक ग्रामको जग्गामा जनप्रतिनिधिले चलखेल गर्न लागेको भन्ने समाचार आफूसमेत सुनेको भन्दै हरिवन ११ का स्थानीय सुरेश भट्टराईले समाचारमा आएजस्तो नभएको बताए । उनले भने, ‘औद्योगिक ग्रामको जग्गाको विषयमा आएको समाचार मैले पनि हेरेँ, तर समाचारमा भनेजस्तो यहाँ छैन ।
ग्राम आसपासमा कुनै प्लानिङ्ग समेत नभएको अवस्थामा आसपासका जग्गा विक्रिबाट जनप्रतिनिधिले लाभ र कमिसन लिन खोजे भन्नु हास्यस्पद कुरा हो ।’ उनले ग्रामको विषयमा अनावश्यक हल्ला फैलाएर नगरवासीलाई भ्रममा पार्न खोज्नु राम्रो नभएको पनि बताए ।