सर्लाही । गएकाे १० गते रसुवाकाे भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (PABSON) सर्लाहीले रु. २१ लाख ३६ हजार १६० राहत रकम संकलन गरी हस्तान्तरण गरेको छ।

सर्लाही प्याब्सनका अध्यक्ष सागर गिरीका अनुसार प्याब्सन अन्तगर्त रहेका विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यालयबाट संकलित रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । शुक्रबार मधेश प्रदेशमा शिक्षामन्त्री सस्मित पोखरेलको समेत उपस्थितीमा भएको एक कार्यक्रममा पुगेर प्याब्सन सर्लाहीले संकलित रकम हस्तान्तरण गरेको हो ।
मधेश प्रदेशका शिक्षा मन्त्री मनोज कुमार सिंह तथा मन्त्रालयका अन्य कर्मचारीको उपस्थितीमा प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साह तथा भूगोल अध्यक्ष दीपक रेग्मीलाई संकलित राहत रकम हस्तान्तरण गरिएको अध्यक्ष गीरिले जानकारी दिए । उक्त रकम प्याब्सन सर्लाहीका सचिव मनोज थापा, कार्यसमिति सदस्यहरू दिलीप न्यौपाने, राजु पंजियार, नगरका क्षितिज प्रधान, प्रवेश पोखरेलको सामूहिक पहलमा संकलन गरिएको हो ।
बाढी तथा विपद्को कठिन परिस्थितिमा गरिएको यस सहयोगले पीडित परिवारमा आशा र भरोसा जगाउनुका साथै आवश्यक समयमा महत्वपूर्ण सहारा प्रदान गर्ने प्याब्सनले विश्वास गरेको छ। सर्लाही प्याब्सनले विपद्को समयमा मानवीय सहयोगका लागि हातेमालो गर्ने सम्पूर्ण प्याब्सनिस्ट साथीहरू, शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूलाई धन्यवादसमेत व्यक्त गरेको छ।











