सर्लाही | मंगलवार दिउँसो सर्लाही प्रहरीले १० किलो लागुऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कौडेना गाउँपालिका २ बस्ने बर्ष २४ का बिकास राउत रहेका छन ।
राउतलाई नेपालबाट भारततर्फ बिआर ३० डब्ल्यु ५४६४ नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाईकलको पछाडि सेतो बोरामा लुकिछिपि गाँजा लिएर जाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिष्णु गाउँपालिका २ स्थित नदिया पकडी जाने बाटोमा खटिएको प्रहरीटोलीले चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।
पक्राउ परेका राउतलाई मोटरसाईकल, गाँजा सहित हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सर्लाही | जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमवारबाट बिद्युतिय राहदानी (ई–पासपोर्ट) बितरण सुरु गरेको छ ।
तीन जना सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पासपोर्ट वितरण कार्यको शुभारम्भ गर्नुभयो । इ–पासपोर्ट बितरण कार्यको शुभारम्भ गर्दै प्रजिअ गौतमले आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीहरुलाई इ–पासपोर्ट वितरण उपलब्ध गराईने जानकारि दिनुभयो ।

करिव एक महिना अघिदेखि इ–पासपोर्टका लागि सेवाग्राहीहरुको फर्म भर्ने र आवश्यक कागजात संकलन गर्ने काम थालेको प्रशासन कार्यालयले राहदानी विभाग काठमाडौंबाट पहिलो पटक १५६ जना सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि वितरण सुरु गरेको जनाएको छ ।
विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुन्छ । एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने बताइएको छ ।
इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीहरुले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिएर जान सक्ने प्रजिअ गौतमले बताउनुभयो ।
सर्लाही | जिल्लाको हरिवनमा २ दिने पोषणसम्बन्धी पालिका स्तरीय समीक्षा गोष्ठी सम्पन्न भएको छ । नगर स्वास्थ्य समितिका संयोजक एवम् वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञविनोद ढुंगेलको अध्यक्षतामा प्रमुख अतिथि नगरप्रमुख गणेश प्रसाद प्रसाईंले आइतबार उद्घाटन गरेको गोष्ठी सोमबार सकिएको हो ।
गोष्ठीको उद्घाटन कार्यक्रममा उपमेयर रेणुका कुमारी पौडेल, प्रमुख प्रशासकीय अधिकृत उपसचिव नवराज निरौला, वडा नम्बर ५ का अध्यक्ष नागेन्द्र कुमार साह, ६ का वडा अध्यक्ष प्रह्लाद बुढाथोकी, १० का वडा अध्यक्ष शम्भु मैनाली, स्वास्थ्य शाखा संयोजक शशीकान्त सिंह, नगरका चारओटै हेल्थपोष्टका इन्चार्जहरु, पोषण कार्यक्रमका फोकल पर्सनहरुको उपस्थिति रहेको थियो ।
गोष्ठीका अवसरमा हरिवनमा पोषण कार्यक्रमको अवस्था कस्तो छ भनेर समीक्षा गरिएको थियो । सो अवसरमा नगरको पोषण स्वास्थ्यको अवस्थाका बारेमा स्वास्थ्यकर्मीहरुले सहभागिहरुलाई जानकारी गराएका थिए ।
पोषण कार्यक्रम अन्तर्गत नगरभित्रका २ वर्षमुनिका बच्चाहरुको वृद्धिको अवस्थाको बारेमा भएका अनुगमन, कुपोषण र रक्तअल्पता भएका बच्चाहरुको खोज पड्ताल र उपचारको अवस्था, जुकाको औषधी र १८० ट्याव आईरन चक्की खाएका गर्भवती महिला, भिटामिन ए र जुकाको औषधी खाएका ५ वर्षमुनिका बालबालिका, भिटामिन ए र ४५ ट्याव आइरन चक्की खाएका सुत्केरी महिलाहरु र बालभिटा खाएका ६ महिनादेखि २३ महिना सम्मका शिशुहरुको अवस्थाको बारेमा समीक्षा गरिएको थियो ।
समीक्षा गोष्ठीमा नगरमा सञ्चालित पोषण कार्यक्रम अन्यत्र भन्दा हरिवनमा प्रभावकारी भएको भन्दै आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिने स्वास्थ्यकर्मीहरुले प्रतिवद्धता जनाएका छन् । स्वास्थ्यकर्मीहरुले २ वर्ष मुनिका बच्चाहरुको प्रत्येक महिना नियमित तौल जाँच गर्नुपर्ने खाँचो औंल्याएका छन् ।
नगर स्वास्थ्य शाखाका सह संयोजक रामबाबु चौधरीका अनुसार हरिवन हेल्थ पोष्टले ५५ प्रतिशत, अत्रौली हेल्थपोष्टले ३८ प्रतिशत, घुर्कौली हेल्थपोष्टले ३९ प्रतिशत र सासापुर हेल्थपोष्टले ६१ प्रतिशत २ वर्षमुनिका बच्चाहरुको प्रत्येक महिना नियमित तौल जाँच गर्ने गरेका छन् ।
त्यस्तै गोष्ठीकै अवसरमा सहभागि स्वास्थ्यकर्मीहरुले गर्भवती महिलालाई नियमित १८० आईरन ट्यावलेट खान, टिडी खोपसहित गर्भअवस्थाभरीमा कम्तीमा चारपटक स्वास्थ्य जाँच गराउन पहल गर्नु पर्ने विषयमा जोड दिएका छन् ।
उनीहरुले यस विषयमा गर्भवती महिलाहरुको सम्पर्क नम्बर राखि नियमित आइरन चक्की सेवन गरेनगरेको र नियमित स्वास्थ्य जाँच गरेनगरेको बुझ्ने र आमा समूहरुहरुको छलफल तथा बैठकमा समेत यस्ता विषयमा जानकारी गराउने विषयमा जोड दिनु पर्नेमा जोड दिएका नगर स्वास्थ्य शाखाका सह संयोजक चौधरीले बताए ।
सर्लाही | वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज मस्तिष्काघातबाट निधन भएको छ । उनी ताना शर्माका नामबाट लोकप्रिय थिए । विसं १९९१ असार ९ गते इलामको बरबोटेमा जन्मिएका उनी ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन् ।
डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए । उनी पाठ्यपुस्तक लेखक पनि थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।
उनको पहिलो रचना २००८ सालमा साथी साप्ताहिकमा प्रकाशित रहेको थियो । दिवङगत शर्माका श्रीमती शान्ता शर्मा, छोराहरु अनलनाथ र सलिन छन् । । यसैगरी उनका भाइहरु पुष्पनाथ, लक्ष्मीनाथ, स्व. दुर्गानाथ, सागरनाथ, तेजनाथ र भुपेन्द्रनाथ तथा बहिनीहरु खेमकुमारी गड्तौला, रन्जना शर्मा, झुना शर्मा र मुना शर्मां हुन् ।