विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक दुई अत्याधुनिक उपचार प्रविधि हेमोपर्फ्युजन (Hemoperfusion) र प्लाज्माफेरेसिस (Plasmapheresis) सेवा सुरु गरेको छ । यी प्रविधिमार्फत बिरामीको रगतमा रहेका हानिकारक पदार्थ, विषाक्त तत्व तथा असामान्य एन्टिबडी हटाएर उपचार गरिन्छ ।
हेमोपर्फ्युजन प्रविधिमा बिरामीको रगतलाई विशेष किसिमको फिल्टरमार्फत प्रशोधन गरी शरीरमा रहेका विष, हानिकारक औषधिका अवशेष तथा विभिन्न रासायनिक पदार्थ हटाइन्छ। यो सेवा विशेषगरी विष सेवन (Poisoning), औषधिको अत्यधिक सेवन (Drug Overdose) तथा गम्भीर संक्रमण (Sepsis) भएका बिरामीका लागि प्रभावकारी मानिन्छ ।
त्यस्तै, प्लाज्माफेरेसिस उपचार प्रक्रियामा रगतको प्लाज्मा भागबाट हानिकारक एन्टिबडी तथा विषाक्त पदार्थ छुट्याएर हटाइन्छ । यो विधि मुख्यतः स्नायु प्रणालीसम्बन्धी रोग, मृगौलासम्बन्धी जटिलता तथा अन्य गम्भीर अवस्थाका बिरामीको उपचारमा प्रयोग गरिन्छ ।
विराट मेडिकल कलेज टिचिङ हस्पिटलका कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट तथा क्रिटिकल केयर फिजिसियन डा. दीपक पौडेल का अनुसार, यी अत्याधुनिक सेवा सुरु भएपछि पूर्वी नेपालका बिरामीहरूले अब यस्ता उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता कम हुने भएको छ ।
डा. पौडेलले यी सेवाले पूर्वी नेपालमै विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने बताउँदै यसबाट बिरामी तथा परिवारको आर्थिक र शारीरिक बोझसमेत कम हुने अपेक्षा गरिएको जानकारी दिनुभयो ।
विराट मेडिकल कलेजले पछिल्लो समय जटिल तथा गम्भीर अवस्थाका बिरामीलाई लक्षित गर्दै आधुनिक चिकित्सा सेवाको विस्तार गर्दै आएको छ ।
लालबन्दी, ४ असार । सर्लाहीको लालबन्दीमा रहेको लर्डबुद्ध सिप तथा तालिम केन्द्रले ब्युटिसियनहरुको सम्मानमा ‘मिस ब्युटिसियन मधेश २०८३’ कार्यक्रम आयोजना गर्ने भएको छ । केन्द्रले मधेश प्रदेशका ८ वटै जिल्लामा रहेका ब्युटिसियनहरुलाई समेटेर कार्यक्रम गर्न लागेको हो ।
हरेक जिल्लामा १५ वर्षदेखि ब्युटिपार्लर संचालन गर्दै पेशामा आवद्ध ब्युटिसियनहरुलाई सम्मान गर्ने, ३ वटा विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गर्ने लगाएतका कार्यक्रम ब्युटिसियनहरुको सम्मानमा गर्न लागीएको केन्द्रका संचालक घमराज श्रेष्ठले जानकारी दिए । ब्युटिसियन पेसा, पेसा मात्रै नभएर समाज परिवर्तन गर्ने पेशा पनि भएकोले उनिहरुको सम्मानका निम्ति कार्यक्रम आयोजना गरिएको श्रेष्ठको भनाई छ ।
यस कार्यक्रमको संयोजक सरु श्रेष्ठ रहेकी छिन । उनि २०८१ को मेकप विजेता हुन । कार्यक्रमको बिषयमा थप बृहत् पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने श्रेष्ठले बताए ।
मलंगवा, ४ असार | अदालतबाट विभिन्न मुद्धामा दण्ड सजाय ताेकिए पनि फरार रहेका १५ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेकाे छ ।
चेक अनादर मुद्धाका १ जना, जालसाजी मुद्धाका ९ जना, अनुचित लेनदेनका १ जना, ज्यान मार्ने उद्याेगका २ जना र घर भत्काई जग्गा खिचोला चलन मुद्धाका २ जना गरी १५ जनालाई पक्राउ गरी सर्लाही जिल्ला अदालत मलंगवामा बुधबार दाखिला गरिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गाैतमले जानकारी दिए ।
प्र.ना.उ. गाैतमका अनुसार उनिहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे टाेलीले पक्राउ गरेकाे हाे ।
सर्लाही, ४ असार | सरकारको आगमी आर्थिक २०८३/८४ को बजेट प्रतिनिधि सभाबाट पारित भएको छ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसलाई सभामुख डोलप्रसाद अर्यालले निर्णायर्थ प्रस्तुत गरेका थिए।
बहुमतका आधारमा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो। सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएको छ। बजेट अन्तर्गतकै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि भने छलफल हुन बाँकी छ।
यसअघि बिहीबार प्रतिनिधि सभामा विभिन्न मन्त्रालयको विनियोजित बजेटमाथि छलफल भएको थियो। त्यसमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिएका थिए।