युवराज भट्टराई | वर्तमान परिस्थितिमा शरीरको तौल सबैको चासोको विषय हो । मानिसहरू आफ्नो शरीरको तौल नियन्त्रित राख्न र धेरै भएको तौल घटाउन विभिन्न उपाय अपनाउँछन् तथा तौल घटेमा खुसी व्यक्त गर्छन्। तर, तौल घट्नु सधैँ खुसीको खबर हुँदैन । खानपानमा सचेत भएर, व्यायाम गरेर वा शारीरिक सक्रियता बढाएर घटेको तौल स्वाभाविक हुन सक्छ; तर कुनै स्पष्ट कारणबिना तौल निरन्तर घटिरहेको छ भने त्यसलाई बेवास्ता गर्नु उचित हुँदैन । छ महिनाभित्र तीन किलोभन्दा बढी अनपेक्षित तौल घट्नुलाई सामान्य मान्न सकिन्न र कहिलेकाहीँ यसको पछाडि कुनै अन्तर्निहित रोग हुन सक्छ ।
तौल घट्नुका सबैको एउटै कारण हुँदैन
कोही व्यक्तिको शरीरको तौल अनपेक्षित रूपमा घट्छ भने यसका विभिन्न कारण हुन सक्छन् । तौल घट्नुका कारणलाई सामान्यतया शारीरिक स्वास्थ्यसम्बन्धी समस्या, मानसिक स्वास्थ्यसम्बन्धी समस्या, प्रणालीगत रोग, पाचन प्रणालीका रोग, हर्मोनसम्बन्धी समस्या र अन्य कारणका रूपमा बुझ्न सकिन्छ । तर, कतिपय अवस्थामा भने स्पष्ट कारण नदेखिन पनि सक्छ र केही समयपछि तौल आफैँ स्थिर वा पुनः बढ्न सक्छ ।
१. सामान्य शारीरिक अवस्था र जीवनशैली
गम्भीर रोग नभएका स्वस्थ व्यक्तिमा शारीरिक सक्रियता वा सामाजिक परिस्थितिमा आएको परिवर्तनसँगै तौल घट्न सक्छ । डाइटिङ, व्यायाम, भोकै बस्नु वा पोषणयुक्त खाना कम खानु यसका साधारण कारण हुन् । वृद्ध व्यक्तिमा खानपानको शैली वयस्कको भन्दा फरक हुन सक्ने भएकाले यस्तो अवस्थामा खानपानको वास्तविक अवस्था बुझ्नु महत्वपूर्ण हुन्छ ।
२. मानसिक स्वास्थ्यसँग सम्बन्धित कारण
खाना र खाने बानीलाई प्रत्यक्ष प्रभाव पार्ने विषय मानसिक स्वास्थ्य पनि हो, त्यसैले तौल घट्नुको कारण शरीरमै मात्र खोज्नुपर्दैन । एनोरेक्सिया नर्भोसा, बुलिमिया, भावनात्मक वा मानसिक अवस्थासँग सम्बन्धित समस्यामा तौल घट्न सक्छ । डिप्रेसनले पनि खानामा रुचि घटाएर तौल कम गराउन सक्छ । मदिरासम्बन्धी समस्यामा आत्महेरचाह र खानपान कमजोर हुँदा तौल घट्ने अवस्था देखिन सक्छ ।
३. संक्रमण र सुजनसम्बन्धी रोगहरू
दीर्घकालीन संक्रमण पनि अनपेक्षित तौल घट्नुको कारण हुन सक्छ । क्षयरोग, बारम्बार हुने पिसाब वा छातीका संक्रमण तथा केही परजीवीको संक्रमण पनि तौल घटाउने कारण हुन सक्छन्, त्यसैले यसलाई पनि विचार गर्नुपर्छ ।
साथै, हल्का ज्वरो आउनु, राति पसिना आउनु, जाडो लागेर काम्नु, लगातार खकारसहितको खोकी वा पिसाब गर्दा दुख्ने जस्ता लक्षणसँगै तौल घटेको छ भने यी संकेतहरू महत्वपूर्ण हुन्छन् ।
दीर्घकालीन सुजनयुक्त रोगहरू, जस्तै रुमेटोइड आर्थराइटिस र पोलिमायल्जिया र्युमाटिका पनि तौल घट्नेसँग सम्बन्धित हुन सक्छन् । उन्नत अवस्थाका केही गम्भीर रोगमा पनि तौल घट्नु देखिन सक्छ ।
४. पाचन प्रणालीका रोग
पाचन प्रणालीसँग सम्बन्धित लगभग सबै रोगले तौल घटाउन सक्छ । खाना निल्न गाह्रो हुनु वा पेटबाट खाना अगाडि सर्न अवरोध हुनु, खाना पचाउन गाह्रो हुनु र पचेको खाना आन्द्राबाट शोषण हुन गाह्रो हुनु आदि समस्यामा तौल घट्ने देखिन सक्छ । क्रोहन रोग वा अल्सरेटिभ कोलाइटिस जस्ता आन्द्राका सुजनयुक्त रोगमा भोक कम हुनु, खाना खान डर लाग्नु तथा आन्द्राबाट प्रोटिन, रगत र पोषक तत्त्व गुम्नु पनि कारण बन्न सक्छ ।
५. हर्मोनसम्बन्धी समस्या तथा अन्य कारण
मधुमेह र थाइराइडसम्बन्धी समस्यामा पनि तौल घट्न सक्छ । अन्तिम चरणका श्वासप्रश्वास तथा मुटुसम्बन्धी रोगमा पनि तौल घट्ने देखिन सक्छ । त्यसैगरी, दीर्घकालीन दुखाइ वा निद्राको अभाव, सामाजिक रूपमा एक्लोपन वा कुकुपोषण, पहिलेबाट रहेको गम्भीर फोक्सोको रोग वा मुटुको विफलता जस्ता अवस्थाहरू पनि सजिलै छुट्न सक्ने कारणका रूपमा उल्लेख गरिएको छ । एडिसन रोग/प्यानहाइपोपिटुइटारिज्म तथा केही अन्य अवस्थालाई पनि चिकित्सकीय मूल्याङ्कनमा ध्यान दिनुपर्छ ।
ध्यान दिनुपर्ने कुरा:
छ महिनामा तीन किलोभन्दा बढी अनपेक्षित तौल घट्नु उल्लेखनीय हुन सक्छ ।
कारण नखुलेमा के गरिन्छ?
तौल घट्नुको कारण बिरामीको इतिहास र शारीरिक परीक्षणबाट स्पष्ट नभए चिकित्सकले आवश्यकताअनुसार थप जाँचको सहारा लिन सक्छन् । यस सन्दर्भमा पिसाबमा प्रोटिन र रगत परीक्षण; रगतका सामान्य परीक्षणसँगै कलेजोको कार्य, रक्त ग्लुकोज र थाइराइडको जाँच; सीआरपी र इएसआर तथा दिसामा फिकल क्यालप्रोटेक्टिन जस्ता परीक्षण पर्दछन् । केही अवस्थामा हड्डीको मासी परीक्षण, कलेजोको बायोप्सी वा पेट तथा श्रोणिको सिटी स्क्यान जस्ता थप जाँच पनि आवश्यक पर्न सक्छन् ।
अन्त्यमा
तौल घट्नु आफैँमा एउटा रोगको नाम होइन; यो शरीरमा भइरहेको परिवर्तनको संकेत हुन सक्छ । त्यसैले ‘तौल त घटेको मात्र हो’ भनेर पन्छिनुको सट्टा तौल कहिलेदेखि र कति घट्यो, खानपान वा सक्रियतामा के परिवर्तन भयो र अन्य कुनै लक्षण छन् कि छैनन् भन्ने कुरामा ध्यान दिनु उपयोगी हुन्छ । कारण स्पष्ट नभएको तौल घटाइमा समय–समयमा तौल पुनः जाँच्नु र आवश्यक परे चिकित्सकीय मूल्याङ्कन गराउनु नै सुरक्षित बाटो हो । -स्वास्थ्य खबरबाट