सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका १० वटा निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको छ । बुधबार हरिवन नगरपालिका सामाजिक विकास समितिका संयोजक एवम् वडा नं. ८ का अध्यक्ष प्रज्वल ढुंगानाको नेतृत्वमा निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले हरिवनका दुईवटा निजी अस्पताल, दुईवटा आयुर्वेदिक क्लिनिक, एउटा पोलिक्लिनिक तथा डाइग्नोस्टिक सेन्टर, एउटा स्वास्थ्य क्लिनिक, एउटा आँखा उपचार क्लिनिक र तीनवटा डेन्टल क्लिनिक गरी जम्मा १० वटा स्वास्थ्य संस्थाको स्थलगत निरीक्षण गरेको थियो । अनुगमनका क्रममा सातवटा निजी स्वास्थ्य संस्थाले सम्बन्धित निकायबाट सञ्चालन अनुमति लिएको भए पनि तीमध्ये चारवटाले अनुमति नवीकरण नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
त्यस्तै, तीनवटा स्वास्थ्य संस्थाले सम्बन्धित निकायबाट आवश्यक स्वीकृति नै नलिई सञ्चालन गरेको पाइएको छ । स्वीकृति नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई आवश्यक कागजातसहित हरिवन नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।
अनुगमन टोलीमा हरिवन नगर अस्पताल सासापुरका मेडिकल अधिकृत डा. राजुकुमार साह, हरिवन नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख रामबाबु चौधरी, जनस्वास्थ्य अधिकृत शान्ता निरौला, मेडिकल ल्याब टेक्नोलोजिस्ट किस्मत थापा, रेडियोग्राफी सुपरभाइजर सिजन बुढाथोकी, इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी सहायक निरीक्षक किशोर साहसहित दुई जना प्रहरी र सशस्त्र प्रहरीका दुई जना सुरक्षाकर्मी सहभागि थिए ।
निजी स्वास्थ्य संस्थाहरूलाई प्रचलित कानुन तथा मापदण्डअनुसार सञ्चालन गराउने, सेवा प्रवाहलाई व्यवस्थित बनाउने र नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्ने उद्देश्यले अनुगमन गरिएको पालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।