सर्लाहीमा आगोमा जलेर २ बालिका र १ बृद्ध सहित ३ जनाको ज्यान गयो

354
Friendship Mobile

क्षितिज बिश्वकर्मा । सर्लाहीमा गएराती आगोले पोलेर २ बालिका र १ बृद्ध गरि ३ जनाको ज्यान गएको छ ।

जिल्लाको कबिलासि नगरपालिका ७ स्थित सिरसियाका जोगी महरा चमारको फुसको घरमा बुधवार राती करिव सवा ९ बजे बिद्युत सर्ट भई आगो लागेको थियो ।

आगलागीबाट चमारको छोरीहरु ८ बर्षकी लक्ष्मी कुमारी, ५ बर्षकी सुधा कुमारी र ३ बर्षकी सोगन्धि कुमारी जलेर घाईते भएका थिए । घाईते बर्ष ८ कि लक्ष्मी र बर्ष ३ कि सोगन्धिलाई जिल्ला अस्पताल मलंगवामा उपचार पश्चात काठमाण्डौं पठाईएकोमा लैजाँदै गर्दा बिहिवार बिहान ३ बजेतिर बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

५ बर्षकी सुधा कुमारीलाई स्थानिय मेडिकलमा उपचार गरिएको र उनको अवस्था सामान्य रहि घर फर्किएकी छिन ।

आगलागीबाट बिपन्न चमारको घर सहित घरमा भएको लत्ता कपडा र भाडावर्तन जल्दा अन्दाजी ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका सुचना अधिकृत प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको टोली र स्थानीयको सहयोगमा करिव आधा घण्टा पछि आगो नियन्त्रणमा आएको थियो ।

त्यस्तै गएराती साँडै ११ बजे मलंगवा नगरपालिका ६ खुटौनाका ७० बर्षिय नसिर खाँको आगो तापिरहेका अवस्थामा जलेर ज्यान गएको छ । घरभन्दा अन्दाजी ५०० मिटर टाढा बाटोको छेउमा आगो तापिरहेको अवस्थामा कपडामा आगो सल्किएर पोली छटपटाई रहेका खाँ नजिकैको नालीमा खसेका थिए ।

सोहि क्रममा गस्तिमा रहेको प्रहरीको टोलीले देखि उद्धार गरी जिल्ला अस्पताल मलंगवामा उपचारका लागि पठाएकोमा बिहिवार बिहान सवा ७ बजेतिर उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।